सानो छँदा यदि तपाई गाउँमा हुर्किनुभएको हो भने सम्झनुहोस् त तारा, घाम र जूनको गतिसँगै तपाई हुर्किनुभयो । बिहानैको सूर्योदय, साँझको सूर्यास्त, साँझ वा झिसमिसे बिहानीमा देखिने शुक्र वा वृहस्पति, राती देखिने तीन तारा, सप्तर्षि तारासँगै अन्य हजारौँ तारा, ग्रह र जगमगाउने चन्द्रमा । यी सबै पूर्वमा उदाएर समयक्रममा पश्चिमतिर अस्ताउँथे । सूर्य पनि उस्तै पूर्वमा उदाएर पश्चिममा अस्ताउने । अनि पृथ्वी घुम्ने होइन, सूर्य र अरु तारा, ग्रह पृथ्वीको परिक्रमा गर्ने रहेछन् होला भन्ने लाग्थ्यो । हुन त इटालियन वैज्ञानिक ग्यालिलियो ग्यालिली (सन् १५६४–१६४२) ले पृथ्वी गोलो छ र यसले सूर्यको परिक्रमा गर्छ भनेर पत्ता लगाए । यद्यपि यो मान्यता इसापूर्व पाँचौँ सताब्दीदेखि ग्रीक चिन्तकहरूले गर्ने गरेका भए पनि उनीहरूसँग पुख्ता प्रमाण थिएन ।
ग्यालिलियोलाई यो सिद्धान्त सार्वजनिक गरेदेखि नै पापी र अपराधी करार गर्दै क्याथोलिक चर्चले सन् १६३३ देखि घरमै कैद गर्यो । उनले आवासीय कैदमै सन् १६४२ मा देह त्याग गरे । चर्चले उनको वैज्ञानिक सिद्धान्तको भर्त्सना मात्रै गरेन, उनको मान्यतामा प्रतिबन्ध लगाइदियो । किनभने बाइबलले पृथ्वी च्याप्टो भएको मान्यता राख्थ्यो । ग्यालिलियोलाई सजाय दिएको ३५९ वर्षपछि सन् १९९२ मा क्याथोलिक चर्चका तर्फबाट पोप जोन पल सेकेण्डले ग्यालिलियोमाथि लगाइएको अभियोग र दिइएको दण्ड फिर्ता लिँदै औपचारिक रूपमा माफी मागे ।
भूगोल र खगोल शब्द संस्कृतबाट आएका हुन् र यिनको अर्थ क्रमशः पृथ्वी र आकाशमण्डल भन्ने लाग्छ । तर हाम्रा पौराणिक शास्त्रहरूले रथमा चढेर सूर्य भगवानले चक्कर लगाउने कुरा गरे । पृथ्वीले सूर्यको चक्कर लगाउने कुरा गरेनन् । यद्यपि यहाँको खगोलशास्त्रले (जसलाई ज्योतिष शास्त्र पनि भनिन्छ) ले ग्रहहरूको दूरी र गति नाप्न जानेको थियो । त्यसैले औँसी, पूर्णिमा तथा ग्रहणको सटिक गणना गरेको पाइन्छ । हामीकहाँ पनि आम जनमानसमा पृथ्वी गोलो छ र यसले सूर्यको परिक्रमा गर्छ भन्ने ज्ञान नभएको पाइन्छ । सूर्य ग्रहण वा चन्द्र ग्रहण नियमित खगोलीय घटना हुन् भन्ने नबुझ्दा राहु र केतुले सूर्य वा चन्द्रमालाई निलेको भन्ने अर्थमा शङ्ख–घण्ट बजाउने, पूजा–प्रार्थना गर्ने, ब्रत बस्ने, नुहाइधुवाइ पवित्र हुने, स्तोत्र पाठ गर्ने तथा दान दक्षिणा गर्ने चलन बस्यो । दास, अल्पसङ्ख्यक दलित जातिलाई सूर्य वा चन्द्रमा निलेको आरोप लगाई गाली गर्ने जस्ता अमानवीय कुरीतिपूर्ण कार्य समेत विभिन्न समाजमा निकै पछिसम्म रह्यो ।
पृथ्वी घुम्ने हो भने हाम्रो घरका झ्याल-ढोका किन घुम्दैनन् ?
सानै कक्षामा हो, विज्ञान पढेर थाहा पाइयो, पृथ्वी घुम्छ, सूर्य होइन । तर गाउँघरमा ठूलाले प्रश्न गर्थे, त्यसो भए हाम्रा घरका झ्यालढोका सधैँ किन एकैतिर देखिन्छन् त? सानो कक्षामा हुँदा त्यो तर्क गर्न अलिक सामर्थ्य पुग्दैनथ्यो । अलिक पछि थाहा पाइयो, पृथ्वी र अन्तरिक्षको सीमा करीब १०० किलोमिटरसम्मको समग्र वातावरण नै पृथ्वीसँगै घुमिरहेको हुँदोरहेछ । हाम्रा झ्यालढोका त के, देखिएको क्षीतिज पनि पृथ्वीको गतिसँगै घुम्ने नै भयो ।
हामीले एउटा छत नभएको चलिरहेको गाडीमा बसेर वा उठेर कुनै कलम वा वस्तु एक तहसम्म आकाशमा उफार्दा त्यो वस्तु हाम्रै हातमा आउनु वा कटेर पछाडि नजानुको कारण पनि त्यही हो– पृथ्वीको गुरुत्वाकर्षण शक्तिले गतिशील वस्तुलाई कम प्रभाव पार्छ । अनि गतिशील वस्तुले पनि आफ्नो क्षमता अनुसारको वातावरण आफैँसँग लिएर दौडिरहेको हुन्छ । त्यसैले गतिशील पाङ्ग्रा गुडिन्जेल लड्दैन । अनि गाडी वा रेलको गतिले पनि आफूसँगको वातावरण सँगै लिएर दौडिरहेको हुन्छ र हामीले निश्चित उचाइसम्म उफारेको वस्तु रेल वा वसमै खस्छ, बाहिर खस्दैन । रेल वा वस जता घुमे पनि यात्रु जता फर्केर बसेका हुन्छन्, त्यतै नै तिनको मोहोडा कायम रहन्छ । रेल, वस वा हवाइजहाजमा लामखुट्टे वा झिंगा आफ्नै गतिमा उडिरहेका हुन्छन् । तिनलाई रेल, वस वा हवाइजहाजको गतिले कुनै बाधा पारेको हुन्न । पृथ्वीका दुईवटा नियमित गति रहने गर्छन्– आफैँमा फन्को लगाउने (रोटेसन) र सूर्यको वरिपरि परिक्रमा गर्ने (रिभोल्युसन) गति ।
हामी सोचौँ न, १६७० किलोमिटरको गतिमा पृथ्वीले आफैलाई फन्को लगाएर घुमिरहेको हुन्छ (यद्यपि यो घुमाइको गति ध्रुवीय क्षेत्रमा कम र बीच भागमा बढी हुने गर्छ) । १०००/११०० किलोमिटर प्रतिघण्टाका दरमा हामी चढ्ने बोइङ जहाज उडिरहेका हुन्छन् । सामान्यतया घडीको उल्टो गतिमा (पश्चिमबाट पूर्वतिर) पृथ्वी घुम्ने भएकाले हामी कुनै तारा, सूर्य, चन्द्रमा वा ग्रह त्यसको विपरीत दिशा पूर्वबाट झुल्केको देख्छौँ र पश्चिममा अस्ताएको देख्छौँ । अब मानौँ, काठमाडौँबाट कुनै बोइङ जहाज यात्रु बोकेर लण्डन उड्ने तयारी गर्दैछ । काठमाडौँ र लण्डनको दूरी करीब नौ हजार किलोमिटर छ र यो दूरी पार गर्न हवाइजहाजलाई झण्डै १२ घण्टा लाग्छ । काठमाडौँ ८५.५ डिग्री पूर्वी देशान्तरमा पर्छ भने लण्डन शून्य डिग्री देशान्तर अर्थात् पूर्वी वा पश्चिमी देशान्तरको ठीक बीचमा पर्छ । पृथ्वीको घुमाइको गतिका हिसाबले नौ हजार किलोमिटर दूरी पार गर्न साढे पाँच घण्टाभन्दा केही मात्रै बढी समय लाग्छ । त्यही दूरी पार गर्न बोइङलाई १२ घण्टा जति लाग्छ ।
अब कल्पना गरौँ, काठमाडौँबाट बोइङले भुइँ छोडेर समुद्री सतहबाट ३० हजारदेखि ४२ हजार फिटमाथिसम्म उठेर पश्चिमी मोहडामा पर्खिरहेमा साढे पाँच घण्टामा लण्डन बराबरको भूभागको नजीक पुगिएला त ? झट्ट हेर्दा लण्डन पूर्वतिर सरिरहेको छ । जहाज भुई छोडेर आकाशमा छ । अनि लण्डनतिर उडिरहँदा त पृथ्वीको घुमाइको गतिले छिटै लण्डन पुग्नुपर्ने हो नि । तर त्यस्तो हुँदैन । किनभने पृथ्वीले आफ्नो सिङ्गो वायुमण्डल सहितको यात्रा गरिरहेको हुन्छ र हामीले उडाउने जहाज पनि त्यही वातावरणभित्रै उडिरहेको भएकाले चलिरहेको वसको पछाडि बसेको मान्छेले धपाएको झिंगा ड्राइभर सिटमा पुग्न जसरी उसको गति अनुसार नै उडेर जान समय लाग्छ, त्यस्तै गरी घुमिरहेको पृथ्वीको कुनै भागबाट उडेर अर्को भागमा जान हवाइजहाजलाई आफ्नै गति अनुसारकै समय लाग्छ ।
यहाँ आकाश पनि करीब १०० किलोमिटरभित्र पृथ्वी नै हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ । अनि हामीले उडाएका जहाज पृथ्वीको कक्षबाहिर जान पनि सक्दैनन् किनकि पृथ्वीको कक्ष छोड्न कम्तीमा प्रतिघण्टा ४० हजार किलोमिटरको गतिमा उड्ने क्षमता चाहिन्छ, जुन रकेटमा मात्रै हुन्छ । अहिलेसम्म अमेरिकी स्पेस एजेन्सी नासाले बनाएको जहाज ११ हजार ८५४ किलोमिटर प्रतिघण्टाका दरले उड्ने क्षमता राख्छ । अहिलेसम्मकै छिटो यात्रुबाहक सुपरसोनिक विमान कंकड हो, जसको गति प्रतिघण्टा करीब २१४६ किलोमिटर थियो । सुपरसोनिक जेट पनि प्रतिघण्टा १२०० देखि २२५० किलोमिटरको गतिमा मात्रै उड्न सक्छन् ।
माघे संक्रान्ति र सूर्यको उत्तर यात्रा
अब कुरा गरौँ, माघे संक्रान्तिको सन्दर्भमा उत्तरायणको प्रसंगबाट । माघ लाग्यो । माघे संक्रान्ति धेरै समुदायको चाड पनि हो । कसैको नयाँ वर्ष, कसैको तीर्थ-ब्रत । नेपालमा पनि हिजो राष्ट्रिय चाडको रूपमा मनाइयो । केही वर्षयता सरकारले यो चाडलाई महत्त्वका साथ विदा पनि दिने गरेको छ । माघ लागेसँगै हाम्रा पात्राहरूमा उत्तरायण सुरु भयो भनेर लेखेको पाइन्छ । सामान्य अर्थमा भन्नुपर्दा यो भन्नुको अर्थ हो– सूर्य उत्तरतिर लाग्यो है । किनभने उत्तरी गोलार्द्धमा बसोवास गर्ने तपाई–हामीले भदौदेखि याद गर्नेगरी दिन घट्न थालेका हुन्छन् र सूर्य पनि हाम्रो टाउकोभन्दा दक्षिणतिर जान थालेको हुन्छ । कात्तिकदेखि जाडो पनि बढ्छ भने दिन पनि घट्दै गइरहेका हुन्छन् । रात लम्बिँदै जान थालेका हुन्छन् । घाम पनि दक्षिण हुँदै गइरहेको हुन्छ । मंसिर र पुसमा त दिन निकै छोटा हुन्छन् । विहान सात बजेपछि मात्रै घाम देखिन्छ भने साढे चार नबज्दै अस्ताइसक्छ । घाम झुल्केको बेला पूर्वमा हेर्यो भने निकै पूर्वी–दक्षिण (आग्नेय) कोणबाट घाम झुल्किन्छ । अनि मध्य दिउँसो पनि टाउकोभन्दा निकै दक्षिणतिर आकाशमा घाम हुन्छ र पश्चिम–दक्षिण (नैऋत्य) कोणबाट घाम अस्ताउँछ । रात लामा हुन्छन् । यो क्रम पुसको पहिलो वा दोस्रो हप्ताको सुरुसम्मै रहन्छ र पुसको ७–९ गते (डिसेम्बर २१) मा सबैभन्दा छोटो दिन हुन पुग्छ । अनि डिसेम्बर २२ देखि विस्तारै फेरि दिन बढ्न थाले पनि त्यसको एक हप्तापछि मात्रै हामीले अनुभव गर्ने गरी हरेक दिन करीब दुई मिनेट (बर्खामा एक मिनेट) का दरले दिन बढ्न थाल्छन् । माघ १ गते वा माघे संक्रान्तिसम्म आइपुग्दा त प्रष्टै दिन बढेको थाहा पाउन सकिन्छ ।
तपाई हरेक दिन नभए पनि एउटै स्थानबाट ४/५ दिनको फरक पारेर झुल्किँदो घामको तस्बिर खिच्नुहोस् र त्यो घाम झुल्किने क्षीतिजको विन्दु याद गरिरहनुहोस् । अनि ४/५ दिन पहिलेको तस्बिरसँग त्यो पछिल्लो तस्बिर तुलना गरेर हेर्नुस् । डिसेम्बर २२ पहिले र जून २१ भन्दा पछिको समयमा घाम पहिलेको भन्दा केही दक्षिण वा दायाँपट्टि सरेर झुल्केको पाउनुहुन्छ । डिसेम्बर २२ पछि भने केही उत्तर वा बायाँपट्टिबाट उदाइरहेको पाउनुहुन्छ । अनि घाम अस्ताउने प्रक्रियालाई पनि यसैगरी याद गर्नुस् । डिसेम्बर २२ पहिले र जून २१ भन्दा पछिका दिनहरूमा हरेक दिन घाम अस्ताउँदा अलिकति दक्षिण वा बायाँपट्टि सरेर अस्ताउँछ । अनि डिसेम्बर २२ देखि जून २१ सम्म हरेक दिन अलिकति दायाँ वा उत्तरपट्टि सरेर घाम अस्ताउँछ । घाम झुल्किने र अस्ताउने यो प्रक्रियाको अवलोकन गर्न पनि बडो रमाइलो हुन्छ । यसबाट कुन समयमा घाम कहाँबाट झुल्किन्छ र कहाँबाट अस्ताउँछ भनेर आफू बसेको स्थानका आधारमा अनुभूत गर्न सकिन्छ ।
गोलो पृथ्वी घडीको विपरीत गतिमा घुम्ने भएका कारण हामीले दिन र रात अनुभव गर्छौँ । पृथ्वीको पूरा गोलाइलाई मापन गर्न पूर्व (पश्चिम छुट्याउने ठाडा काल्पनिक रेखा (देशान्तर) लाई ३६० डिग्रीमा विभाजन गरिएको छ । एक डिग्री देशान्तर रेखा बराबर ४ मिनेट समय घटबढ हुने गर्छ । ग्रिनविच (लण्डन) देखि पूर्व समय बढ्दै जाने र पश्चिम समय घट्दै जाने हुन्छ । सन् १८८४ मा प्रशान्त महासागरको बीचोबीच कोरिएको अन्तर्राष्ट्रिय तिथि रेखाले भने एक दिन बढी र एक दिन ढिलो गरी २४ घण्टा बराबर समय छुट्याउँछ ।
नेपालभित्रको कुरा गर्ने हो भने पश्चिमी सीमा महाकाली ८० डिग्री पूर्वी देशान्तरमा पर्छ भने पूर्वी सीमा मेची ८८ डिग्री पूर्वी देशान्तरमा पर्छ । यसरी नेपाल ८ डिग्री पूर्व–पश्चिममा फैलिएका कारण पूर्व मेचीमा घाम झुल्केको ३२ मिनेटपछि मात्रै महाकालीमा घाम झुल्किन पुग्छ । मेचीका हिसाबले समय राखेमा मेचीमा बिहानको सात बजेर ३२ मिनेट जाँदा महाकालीमा सात मात्रै बज्ने रहेछ । अर्थात् नेपाल राज्यको सरहद्भित्र बढीमा ३२ मिनेटको समय ढिलो छिटो हुँदो रहेछ । यो समयको फरकलाई कम गर्न दोलाखा जिल्लास्थित ८६ डिग्री २० मिनेट ०९ सेकेण्ड पूर्वी देशान्तरमा रहेको गौरीशंकर हिमालको समयलाई नेपालको मानक समय मानिएको छ ।
पृथ्वीको परिक्रमा, सूर्यको यात्राः ऋतु परिवर्तन
जून २२ देखि डिसेम्बर २१ सम्म उत्तरी गोलार्द्धमा घाम दक्षिणतिर सर्छ । डिसेम्बर २१ को दिन त सबैभन्दा धेरै दक्षिण घाम पुगेको हुन्छ । अनि फेरि घामलाई फर्केर पूरै उत्तरी गोलार्द्धमा आइपुग्न ६ महिना लाग्छ । डिसेम्बर २२ देखि सर्दै जून २१ को दिनसम्म घाम पूर्ण रूपमा उत्तरी गोलार्द्धमा आइपुग्छ । हाम्रो पृथ्वीमा दक्षिणी गोलार्द्धमा केबल ३२ देश पर्दछन् । ब्राजिल, दक्षिण अफ्रिका, अङ्गोला, मोजाम्बिक, ब्राजिल र चिली जस्ता अफ्रिकी र दक्षिण अफ्रिकी मुलुकहरू, इण्डोनेसिया जस्तो एसियाली देश तथा अस्ट्रेलिया र अन्टार्काटिका दक्षिणी गोलार्द्धका भूभागहरू दक्षिणी गोलार्द्धको प्रतिनिधित्व गर्छन् । भूमध्य रेखामा पर्ने १३ देशले भने उत्तरी र दक्षिणी दुबै गोलार्द्धलाई छोएका छन् ।
नेपाल लगायत मुख्य एसियाली भूभाग, उत्तरी र मध्य अमेरिका, मध्य र उत्तरी अफ्रिका तथा युरोप उत्तरी गोलार्द्धमा रहेका छन् । जमिनको हिसाबले पृथ्वीको ठूलो भूभाग उत्तरी गोलार्द्धमा पर्दछ । उत्तरी तथा दक्षिणी भूभागलाई छुट्याउन हरेक गोलार्द्धमा एक सय असी वटा काल्पनिक रेखा कोरिएका छन् र हरेकलाई एक डिग्रीका दरले मापन गरिन्छ । जस्तै नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांसमा पर्छ । अस्ट्रेलियाले १० डिग्रीदेखि ४४ डिग्री दक्षिणी अक्षांस ओगटेको छ । जसरी दिन र रातका हिसाबले पूर्वी र पश्चिमी गोलार्द्धमा विपरीत स्थिति हुन जान्छ, त्यस्तैगरी ऋतुजन्य यामहरूमा उत्तरी र दक्षिणी गोलार्द्धबीच विपरीत स्थिति हुन पुग्छ । उत्तरमा गर्मी भए दक्षिणमा जाडो, दक्षिणमा गर्मी भए उत्तरमा जाडो । अहिले हामी नेपाल लगायत उत्तरी गोलार्द्धका वासिन्दाहरू जाडोको मौसम वा हिउँदमा छौँ भने यति नै खेर अस्ट्रेलिया लगायतका दक्षिणी गोलार्द्धका वासिन्दाहरू गर्मी या बर्खायाममा छन् ।
यस्तो कसरी हुन्छ त ? अब त्यतातिर लागौँ । अघि माथि कतै भनियो– पृथ्वी गोलो गतिशील ग्रह भएकाले दिन र रात छुटिए । पृथ्वी घुम्दै जाँदा एकातिर सूर्यको प्रकाश पर्छ भने त्यसको विपरीत राती हुन्छ । यसैगरी पृथ्वीको धुरी २३.५ डिग्रीले झुकेको छ । पृथ्वीले सूर्यको नियमित परिक्रमा गर्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्दा एक लाख सात हजार किलोमिटर प्रति घण्टाको गतिमा यात्रा गर्छ । पृथ्वी सूर्यभन्दा सरदर १४.९६ करोड किलोमिटरको दूरीमा रहेर सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । कुनै बेला केही नजीक र केही टाढा हुने कुरा सामान्य नै हो ।
त्यसो त सूर्यले ८ लाख ९६ हजार किलोमिटर प्रतिघण्टाको गतिमा आकाशगङ्गाको परिक्रमा गरिरहेको हुन्छ । सूर्यलाई आकाशगङ्गाको परिक्रमा गर्न हाम्रो (पृथ्वीको) हिसाबले २ करोड पच्चीस लाख वर्ष लाग्छ, जसलाई एक ग्यालेक्टिक इयर वा एक सौर्य वर्ष मानिन्छ । त्यसैले सूर्य पृथ्वीभन्दा कैयन गुणा छिटो गतिमा यात्रा गर्छ । सूर्य गुरुत्वाकर्षण बलका कारण आफ्ना सबै ग्रहहरूलाई आफैँसँग लिएर आकाशगङ्गाको चक्कर काटिरहेको हुन्छ । जसलाई सौर्य परिवार पनि भन्ने गरिन्छ । पृथ्वीले सूर्यको एक चक्कर काट्ने क्रममा मुख्य गरी (एक वर्षमा) चारवटा याम पृथ्वीमा अनुभव गर्न सकिन्छः जाडोयाम वा हिउँद । जाडो गएर गर्मी चढ्नुअगाडिको अवस्था– न जाडो न गर्मी (वसन्त) । गर्मी अर्थात् बर्खायाम । गर्मी जाँदै गरेको र जाडो आउन लागेको याम– न गर्मी न जाडो (शरद्) । अनि फेरि जाडोयाम वा हिउँद । हरेक वर्ष यी यामहरू उसैगरी दोहोरिरहन्छन् ।
यसरी हुने यामको परिवर्तनमा उत्तरी गोलार्द्धमा बर्खा भए दक्षिणी गोलार्द्धमा हिउँद । उत्तरी गोलार्द्धमा जाडोबाट गर्मी हुने क्रमको न जाडो न गर्मीको अवस्था (वसन्त) मा दक्षिणी ध्रुवमा गर्मीबाट जाडो आउन लागेको यामको न जाडो न गर्मीको अवस्था (शरद) रहन पुग्छ । पृथ्वी २३.५ डिग्री झुकेका कारण सूर्यको परिक्रमा गर्ने क्रममा जून (असार) महिनामा सूर्यको प्रकाश सिँधै उत्तरी गोलार्द्धमा पर्न जान्छ । यति बेला दक्षिणी गोलार्द्धमा सूर्यको प्रकाश तेर्सो पर्ने, कम पर्ने र केही समय मात्रै देखिने भएकाले त्यहाँ जाडो बढी हुन पुग्छ । पृथ्वीका दुबै गोलार्द्धका प्रमुख रेखाहरूमध्ये यस बेला सूर्य २३.५ डिग्री उत्तर (कर्क रेखा अर्थात् ट्रपिकल क्यान्सरमा) आइपुगेको हुन्छ । जसका कारण उत्तरी गोलार्द्धमा पूर्व–उत्तर (ईशान) बाट घाम उदाएको र दिनमा टाउकामाथि घाम लागेको अनुभव हुन्छ । सूर्यका किरण लामो समयसम्म लाग्ने भएका कारण दिन लामा हुनुका साथै रात छोटा हुन पुग्छन् । तर दक्षिणी गोलार्द्धबाट घाम धेरै उत्तर गएकाले ध्रुवीय क्षेत्रमा त घाम नै नदेखिने अवस्था हुन्छ ।
यसको विपरीत उत्तरी गोलार्द्धका ४० डिग्री उत्तरी अक्षांसभन्दा माथिका ध्रुवीय देशहरूमा बेलुका निकै लामो समयसम्म घाम लाग्छ । रात असाध्यै छोटा हुन पुग्छन् । ठीक यसको उल्टो डिसेम्बरमा पृथ्वी सूर्यको परिक्रमा गर्दै यसको ठीक विपरीत दिशामा पुग्दा दक्षिणी गोलार्द्धमा सूर्यका किरण सिँधा पर्नुका साथै पूरै भाग ढाकेर लामो समयसम्म घाम लाग्छ । त्यस समयमा पृथ्वीबाट हेर्दा सूर्य भूमध्य रेखाबाट २३.५ डिग्री दक्षिण गएको हुन्छ । जसका कारण उत्तरी गोलार्द्धको ध्रुवीय क्षेत्रमा कैयन समय घाम नै देखिँदैन । जस्तै नर्वे लगायतका ध्रुवीय देशलाई उदाहरणका लागि लिन सकिन्छ ।
नेपाल जस्तो २६ डिग्री २२ मिनेट उत्तरी अक्षांसमा रहेको देशबाट हेर्दा हिजोआजका दिनमा सूर्य निकै दक्षिण पूर्व (आग्नेय कोण बाट झुल्केको देखिन्छ । किनकि सूर्य यसबेला भूमध्य रेखाबाट २३.५ डिग्री दक्षिणस्थित मकर रेखा (ट्रपिकल क्यान्सर) मा पुगेको हुन्छ । मकर रेखा (ट्रपिकल क्यान्सर) बाट भूमध्य रेखा (इक्वेटर) मा आउन सूर्यलाई झण्डै तीन महिना लाग्छ । अहिले सूर्य मकर रेखाबाट भूमध्य रेखातर्फ बढ्न थालेकाले उत्तरायण भनिएको हो । मकर रेखाबाट सूर्य उत्तर लागेकाले मकर नुहाउने परम्परागत चलन पनि हाम्रोमा चल्दै आएको छ । अर्थात् सूर्य डिसेम्बर २२ देखि उत्तरतर्फ लाग्न थालेको छ । हामीले अनुभव गर्ने गरी माघदेखि देखिने भएकाले माघ १ लाई उत्तरायण प्रारम्भ पनि भन्ने गरिएको छ । अबका दुई महिनामा सूर्य सबैभन्दा दक्षिणी रेखा (मकर) रेखाबाट भूमध्य रेखामा आइपुग्छ । अनि हामीलाई पनि न जाडो न गर्मी (वसन्त) को अनुभव हुन्छ । त्यतिखेर सूर्यको परिक्रमा गर्ने क्रममा पृथ्वीका दुबै गोलार्द्धमा सूर्यको प्रकाश बराबर पर्ने भएकाले दुबै गोलार्द्धमा एकै खालको मौसम हुन पुग्छ । रात र दिन बराबर हुन्छन् ।
तर उत्तरी गोलार्द्धमा गर्मी चढ्ने क्रम भएकाले वसन्त हुन जाने क्रममा नवपालुवा पलाउन सुरु हुन्छ । ठीक विपरीत दक्षिणी गोलार्द्धमा शरदबाट शिशिर ऋतु प्रवेश हुने भएकाले क्रमशः रूख विरुवाका पात झर्ने क्रम सुरु हुन्छ । जून २१/२२ अर्थात् असारको पहिलो र दोस्रो हप्तातिर पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने (रिभोल्युसन) क्रममा सूर्य उत्तरी गोलार्द्धको २३.५ डिग्री अक्षांसमा पुग्छ । जसका कारण उत्तरी गोलार्द्धमा दिन लामा हुन्छन् । हामीले घाम झुल्किने दिशा पूर्वको क्षीतिजमा चिनो लगायौँ भने हरेक दिन अलिअलि गर्दै अब घाम उत्तरतिर सरिरहेको सजिलै थाहा पाउन सकिन्छ । अर्थात् ३६५.२५ दिनमा पृथ्वीले एक चक्कर काट्दा सूर्यले पनि पृथ्वीमा उत्तरी गोलार्द्धको २३.५ डिग्री अक्षांसस्थित कर्क रेखादेखि शून्य डिग्री अक्षांसको भूमध्य रेखा हुँदै दक्षिणी गोलार्द्धको २३.५ डिग्री अक्षांस (मकर रेखा) सम्म ४७ डिग्रीको यात्रा पूरा गरिसकेको हुन्छ । पृथ्वीले सूर्यको चक्कर ३६५.२५ दिनमा गर्ने भएकाले .२५ वा चौथाइ दिनलाई व्यवस्थापन गर्न हरेक चार वर्षमा एक दिन जोड्ने गरिन्छ, जसलाई अधिक मास, मलमास (लीप इयर) भन्ने गरिन्छ ।
यो रोचक अवस्था सूर्यको वरिपरि पृथ्वीले काटेको चक्कर (परिक्रमण) बाटै उत्पन्न भए पनि यो परिक्रमणका क्रममा पृथ्वीमा सूर्यको किरण पर्ने हिसाबले सूर्यले पनि यी तीनै रेखा (मकर, भूमध्य र कर्क) भित्रका १२ राशी र २७ नक्षत्र (तारापुञ्जका हिसाबले खगोलशास्त्रीहरूले विभाजन गरेको दक्षिणदेखि उत्तरसम्मका आकाशीय क्षेत्र) मा यात्रा गर्ने गरेको पाइन्छ । पृथ्वीको नियमित परिक्रमाका कारणबाट सम्भव २३.५ डिग्री उत्तरदेखि २३.५ डिग्री दक्षिणसम्म वा २३.५ डिग्री दक्षिणदेखि २३.५ डिग्री उत्तरसम्मको नियमित सौर्य–यात्राले नै हाम्रा याम र ऋतुहरू फरक–फरक बनाइदिएको छ । यदि पृथ्वी २३.५ डिग्री नझुकेको भए र सूर्यको नियमित परिक्रमा नगरेको भए सूर्यको उत्तर–दक्षिण वा दक्षिण–उत्तरको यो यात्रा पनि हामीले अनुभव गर्ने थिएनौँ । विविध याम र ऋतु हुने थिएनन् । एउटै याम भइरहन्थ्यो । छैन त रमाइलो ?