बुवाले हामी सानै छँदा भन्ने गर्नुहुन्थ्यो–– ‘केटा हो, पहिला नाम कमाउन गाह्रो, पछि नाम जोगाउन गाह्रो !’ जीवनमा नाम कमाउन त सकिएन, तर नाम जोगाउन चाहिँ निकै गाह्रो रहेछ भन्ने शिक्षा शिशु कक्षादेखि विद्यावारिधि गर्दासम्मै पाएको छु ।
मेरो नाम त मैले राखिनँ । त्यो त पण्डित र बुवाले राख्नुभयो । बुवा धुरन्धर ज्योतिषि । नाम त मैले बुवा र पण्डितबाट न्वारानकै दिन पाएको रहेछु–– घमराज लुइटेल । जब म शिशु कक्षामा भर्ना हुन स्कूल गएँ, ठूलोबुवा स्कूलको शिक्षक हुनुहुन्थ्यो । ठूलोबुवाले प्रेमपूर्वक मेरो नाम लेखिदिनुभयो–– घमचन्द्र लुइटेल । उहाँको हिसाबले त्यो नाम राम्रो थियो । तर घमराज नाममा मेरो प्रेम बसिसकेको थियो । प्रेम गरिरहेको नाम परिवर्तन हुने भयो । मलाई निकै ठूलो पराजय भोगेको जस्तो, ठूलै कुरा गुमेको जस्तो अनुभव भयो । अनि साहस जुटाएर भनेँ, मेरो नाम घमराज लुइटेल हो । ठूलोबुवाले मैले अस्वीकृति जनाएको देखेपछि भन्नुभयो, ल तेरै जीत भयो । तेरो नाम घमराज नै राखिदिएँ ।
अर्थबिनाको नामः कागजको फूल !
ठूलोबुवाको यो अभिव्यक्तिपछि मलाई लाग्यो, मैले निकै ठूलो जीत हासिल गरेँ । ठूलोबुवाले स्कूलमा पढाइन्जेल मेरो नाम घमराज नै कायम रहिरह्यो । ठूलोबुवाले स्कूल छोड्दा म कक्षा एकमा पुगेको थिएँ । तर त्यसपछि शिक्षकपिच्छे मेरो नाम फेर्ने होडबाजी नै चल्यो ।
एक शिक्षकले मेरो नामको अर्थ नै नभएकाले त्यस्तो नाम राख्नुहुन्न भन्ने सल्लाह दिए । उनले भने — ‘अर्थबिनाको नाम र कागजको फूल उस्तै हुन्, दुबैले सुवास दिन सक्दैनन् ।’ उनको यो महान अभिव्यक्ति सुन्दा मीठो सुनिए पनि यसको उद्देश्य मेरो नामको हत्या नै थियो । यो महान अभिव्यक्तिमै उनी रोकिएनन् । परिवर्तित नाम पनि प्रस्ताव गरिदिए–– धर्मराज लुइटेल । यसको अर्थ स्वयं धर्मराज देवतासँग जोडिने भएकाले धेरै राम्रो हुने र नामको सुवास फैलिने उनको सुझाव थियो । उनी सुझावमा मात्रै सीमित रहेनन् । हाजिर बोलाउँदा त्यही नाम –– धर्मराज बोलाउन पनि थाले । मैले अस्वीकृति स्वरूप ‘मलाई मेरो नाम घमराज नै मन पर्छ, अर्को नाम मान्दिनँ’ भनेको थिएँ पनि । तर उनले जबरजस्ती गरे । खै किन हो, जान्ने भएदेखि मलाई मेरो नाम प्यारो लाग्थ्यो र लाग्छ। अरुलाई पनि त्यस्तै हुन्थ्यो (हुन्छ) कि, मैले यसबारेमा कसैसँग कुरा त गरेको छैन ।
अब म ती शिक्षकको पेलानमा परिसकेको थिएँ । मैले ‘सर’… भन्ने बित्तिकै ‘चूप’ भनेर सातो टिप्ने नीति उनले अख्तियार गरे । अनि हाजिर बोलाउँदा धर्मराज लुइटेल भनेर बोलाउनै थाले । उनले त्यो नाम बोलाउँदा म चूपचाप बस्न थालेँ । अनि हाजिर बोलाउँदा किन नबोलेको भनेर कन्सिरी पनि तान्न थाले । मैले मेरो नामै हैन त म किन बोल्छु भनेर अडान लिइरहेँ । एक हप्ताको रस्साकस्सीपछि उनी हारे । ‘ल भैगो तेरो नाम घमराज नै भयो, कहीँ नभएको तेरो नाम’ भनेर हाजिरमा सही नाम नै बोलाउन थाले । अहिले सम्झँदा लाग्छ, बिचरा उनले पनि उनका हिसाबले मेरै भलाइका लागि त्यसो गरेका थिए होलान् ।अलिक पछि अर्का अलि खुला हृदयका शिक्षक आए । उनले मेरो नामलाई प्रशंसा गरे र भने–– ‘यस्तो नाम साह्रै कमको हुन सक्छ । यो नाम राख्न सकिस् भने राम्रो हुन्छ ।’ मलाई तिनका वचनले निकै राहत मिल्यो ।
यत्तिकैमा तीन कक्षासम्मको शिक्षा पनि समाप्त भयो । त्यो स्कूल तीन कक्षासम्मको थियो । त्यसपछि अर्को स्कूल पढ्न एक घण्टा टाढाको बाटो जानुपर्ने भयो । गाउँमा सानो कान्छो, साने, सानु भनेर बोलाउने भएपछि न्वारानको नाम नै किन चाहिन्थो र । त्यो न्वाराने नामको सकस त स्कूलमा मात्रै थियो । न्वारानमा पनि मिथुन राशीमा सूर्य प्रवेश गर्दा जन्मेकाहरूको नाम होडाचक्रका आधारमा ‘कुघङछ’ यस्तै अक्षरबाट जुराउनुपर्दो रहेछ । मेरो नाम ‘घ’ बाट जुराइएको रहेछ ।
नामै नाम, कति धेरै नाम !
जब चार कक्षा पढ्न सात कक्षासम्म भएको स्कूलमा गइयो, फेरि नामको पुरानै रामकहानी दोहोरिन पुग्यो । हाजिरमा धर्मराज बनिसकेको रहेछ । आफूले घमराज भने पनि लेख्नेका हातले स्वतः धर्मराज लेखिसक्दो रहेछ । त्यहाँ पनि नाम सच्याउन ठूलै युद्ध लड्नुपर्यो । हेडसरकोमा गुनासो लिएर गएको त उहाँले ‘ठीकै त हो नि । धर्मराज नाम राख्नू । कतै नभएको पनि नाम राख्छन्?’ भनेर खिप्नुभयो । म तार्किक कुरा गर्न कोशिस गर्थेँ । मैले यौटा तर्क राखेँ–– त्यसो भए सरको नाम पनि त कतिलाई मन पर्दैन, सबैले आआफ्नै हिसाबका नामले बोलाए भने सरलाई मन पर्छ त ? उहाँको नाम थियो चोलारमण चापागाईं । उहाँको नाम पनि अलिक भिन्दै खालको थियो । आमा दिदी बहिनीले लगाउने चोलो वा चोलीसँग जोडेर विद्यार्थीहरूले जिस्क्याएको मैले सुनेको थिएँ । मैले उहाँको त्यसै नामलाई आधार बनाएर भनेँ, ‘सरको नाम पनि त अनौठै नाम हो, सरले त त्यही नाम चलाउनुभइरहेको छ, अनि मैले चाहिँ मेरो यही नाम राख्न किन नमिल्ने ?’ त्यसपछि एकछिन् सोचेर हेडसरले भन्नुभयो, ‘लू जा तेरो नाम तेरै भयो ।’ अनि उहाँले सबै शिक्षकलाई भन्नुभयो, ‘यो घमचन्द्रको नाम धर्मराज नबनाइदिनू !’ पाँच कक्षासम्म उहाँले पढाउनुभयो तर घमचन्द्र नै भनिरहनुभयो ।
स्कूले शिक्षकहरूले चलाउन बल गरेका केही प्रस्तावित नाम यस्ता थिए–– कुमारप्रसाद, घनप्रसाद, घरप्रसाद, घरेलुकुमार, घडीकुमार, धर्मेन्द्र, धर्मकुमार, कुमार, कमल । बारम्बार नामलाई लिएर लड्नुपरेपछि यौटा जुक्ति झिकेँ, अंग्रेजीबाट रोमनमा नामको स्पेलिङ जोडेर भन्ने । जस्तैः Gha घ ma म Ra रा j ज Lu लु i इ te टे l ल ।
पढाइमा तेज थिएँ । तार्किक थिएँ । कसैलाई हेप्न दिन्नथेँ । आफ्नो कुरामा अडिग हुन्थेँ । स्कूलमा हुने वादविवाद प्रतियोगिता, हजिरी जवाफ प्रतियोगिता, कविता प्रतियोगिता, खेल र अन्य अतिरिक्त क्रियाकलापमा प्रथम स्थान हासिल हुनु र वार्षिक परीक्षामा पहिलो वा दोस्रो अवस्था हासिल हुनुले मेरो नाम कायम रहनमा बल पुग्यो । कक्षामा शिक्षकलाई नजानेको र नबुझेको कुरा निसङ्कोच सोध्ने र शिक्षकले सोधेका प्रश्नको जवाफ सटिक दिने स्वभावले शिक्षकको नजरमा परेँ । उहाँहरूले मेरो नाम ‘घमराज’ लाई स्नेहपूर्वक लिन थाल्नुभयो। मलाई आफ्नो नाममा गर्व लाग्न थाल्यो । विद्यालयमा धेरै साथीका नाम एकअर्कासँग जुध्थे । तर मेरो नाम कसैसँग मिल्दैनथ्यो । मेरो नाम भिन्दै थियो ।
‘नामको अर्थ के हो’?
म सात कक्षामा पढ्दै थिएँ । एक दिन एक जना शिक्षकले तेरो नामको अर्थ के हो भनेर सोधे । मैले भनिदिएँ–– घाम हो । उनले सोधे–– कसरी? मैले उत्तर दिएँ–– घाम, घमाइलो हुन्छ नि, हो त्यही घाम र घमाइलो बीचमा घम हुन गयो । त्यस बेला सामान्यतया परम्परागत रूपमा नामको अर्थ खुल्नुपर्ने हुन्थ्यो । हाम्रो परिवेशमा पौराणिक पात्र, स्थान वा परिवेशहरूका नाम नै प्रायः राख्ने चलन रहेछ नाममा । मेरो अलि भिन्दै भयो नाम । अनि मैले पनि घुमाइफिराइ गरेर घामसँग आफूलाई जोडेर भन्न थालेँ । अनि पत्याउनेले पनि पत्याउन थाले । खासमा मलाई कसरी घामसँग मेरो नाम जोडिन्छ भनेर थाहा पनि थिएन । यो त नामको प्रतिरक्षाका लागि खोजेको यौटा उपाय मात्रै थियो ।
तर पछि मैले पत्रकारिता गरिरहँदा भाषाविद् बालकृष्ण पोखरेल, मदनमणि दीक्षित, कमलमणि दीक्षित तथा माधवप्रसाद पोखरेलज्यूसँग मेरो नामको अर्थ के हो भनेर सोध्ने मौका पाएँ । उहाँहरू चारै जनासँग मैले छुट्टाछुट्टै भेटमा कुरा गरेको थिएँ । चारै विद्वानले घामबाट घर्म अनि घम्म हुँदै अपभ्रंशबाट घम बनेकाले घाम नै अर्थ हुन जन्छ भन्नुभएपछि नजानी घामसँग जोडेको नामले पुष्टि पाएको अनुभव गरेको थिएँ ।
नागरिकता लिँदा, सिफारिश बनाउँदा, डाक्टरकोमा जाँदा, टेलिफोन कल उठाउँदा वा मान्छेले आफूलाई सम्बोधन गरेर बोलाउँदा अधिकांश ठाउँमा नाम गल्ती बनाइदिएको देख्दा दिक्क पनि लाग्थ्यो । आफूले प्रष्ट उच्चारण गरेर नाम भन्दा पनि अर्कै बनाइदिने कति ब्रह्मज्ञानी मान्छे ! अनि कहिलेकाहीँ लाग्थ्यो, आ.. यो बारम्बारको प्रतिरक्षा र लडाइँभन्दा त शिशु कक्षामै धर्मराज वा अरु कुनै चल्तीको नाम स्वीकारेको भए यति दुःख त पाउनुपर्ने थिएन । फेरि अर्को मनले भन्थ्यो, नाम पनि अलिक अनौठो नै छ, यो नामलाई सार्थक पार्न पाए हुन्थ्यो ।
अहिले आएर पो ब्रह्मज्ञान पाइयो– नाम सार्थक बनाउने यात्रा त साह्रै दुरुह हुँदो रहेछ । हामी जस्तो सामान्य मान्छेले नाम सार्थक बनाउन त परै जाओस्, नाम जोगाउन समेत निकै झुत्ती खेल्नुपर्ने रहेछ । यो त महापुरुषहरू वा महान नारीहरूले मात्रै गर्ने काम रहेछ । दैनिकीमै जीवनका पल बिताइरहेका मजस्तालाई नाम कमाउन वा सार्थक बनाउन त परै जाओस्, नाम जोगाउन नै महाभारत बन्दोरहेछ !
एसएलसीमा बिग्रेन, कलेजले अर्कै लेख्यो !
किशोर अवस्था (टिनेजर) सुरु भएपछि पहाड (भोजपुर) बाट तराई (मोरङ) मा बसाइँ सरियो । तराईमा पनि नयाँ स्कूलमा नाम लेख्ने बेलामा उही कथा दोहोरियो । उसैगरी प्रतिरक्षा गरियो । अब मैले नाम बिगारिदिने र नाम सच्याउन गर्नुपर्ने प्रतिरक्षाका उपायमा नयाँ पन अनुभव गर्न छोडेँ । समाज नाम बिगारिरहन्छ । म सच्याइरहन्छु । यही सिलसिला चलिरह्यो । तर नयाँ स्कूलमा पनि भिज्दै जाँदा शिक्षकहरूको र साथीहरूको प्रिय बन्न पुगियो । एसएलसीको प्रमाणपत्र भने एक अक्षर पनि नबिग्री प्राप्त हुँदा अनौठोपनसँगै गौरव र राहत अनुभव हुन पुग्यो ।
म कलेज पढ्न विराटनगर सहर छिरेँ । कलेजमा भर्ना गर्न अब एउटा गतिलो आधार एसएलसीको प्रमाणपत्र बनिसकेको थियो । तर भर्ना रजिष्टरमा नाम चढाउने कर्मचारीले चाहिँ त्यहाँ पनि धर्मराज नै चढाइदिएछन् । एकपल्टको मेरो नाम सच्याउने प्रयासपछि उनले ‘यस्तो नाम आजसम्म नदेखेकाले हुँदैन होला भनेर धर्मराज लेखेछु, म सच्याउँछु’ भने । उनले अगाडि भने–– ‘म झण्डै दुई दशकदेखि यहीँ काम गर्दै आएको छु । तपाईको नाम अहिलेसम्म आएका विद्यार्थीहरूसँग मिल्दैन । जोगाएर नाम चलाउनुहोला ।’ मलाई कताकता उनका कुराले भरोसा मिले जस्तो अनुभव भयो । तर त्यहाँ म कमर्स पढ्न गएको थिएँ, जसमा मैले आइकमपछि पूर्ण विराम लगाइदिएँ ।
विराटनगरमा कलेज पढदै गर्दा मैले पत्रिकामा काम गर्ने अवसर पाएको थिएँ । म अक्षर कम्पोज गर्थेँ । प्रुफ हेरिदिन्थेँ । समाचार पनि तानतुन लेखिटोपल्थेँ । जे होस् सबै काम गर्थेँ । त्यसमाथि कविता र कथा लेख्थेँ, छाप्थेँ । अलिअलि मान्छेले जान्न चिन्न थालेका थिए । साथीहरूले कमल भनेर पनि केही समय बोलाइटोपले ।
म २०४४ सालको माघदेखि काठमाडौँमा बस्न थालेँ । समाज दैनिकमा काम गर्ने अवसर जुर्यो । दाजुहरू हृदय र सोमले त्यहीँ काम गर्नुभएकाले उहाँहरूसँगै उही विराटनगरमा जानेकै काम अगाडि बढाइयो । बेलाबेलामा समाचार, लेख लेख्यो । कम्पोज गर्यो । प्रुफ हेरिदियो । यसरी नै काम चल्यो । नाम कमाउनुपर्छ भन्ने मनमा त थियो तर कसरी भन्ने स्पष्टता थिएन । नाम कमाउन पढाइ अधुरो राखेर त हुँदैन भन्ने लाग्यो । पढ्नुपर्छ भन्ने रहर मरेको पनि थिएन । एक मित्रले राम्रै सल्लाह दिए–– ‘विएसम्म चाहिँ जेनतेन पढ्नू । त्यति भए पुग्छ ।’ उनी अहिले रिटायर्ड जीवन सप्तरीतिर कतै बिताइरहेका छन् भन्ने सुन्छु ।
कामका सिलसिलामा पत्रकारिता पनि पढ्न पाइन्छ भन्ने थाहा भयो । रत्न राज्यलक्ष्मी कलेजमा आइए तहमा पत्रकारिता पढाइ हुन्छ र वीएमा पनि पत्रकारिता पढ्न पाइन्छ भन्ने सुनेपछि इच्छा त्यतै मोडियो । दुई वर्ष वातावरण सहज बनाउन खर्चिएँ । वरिष्ठ पत्रकार तथा नेपालमा सामुदायिक रेडियोका अभियन्ता (त्यसबेलाका विद्यार्थी नेता) डा. रघु मैनालीले फर्म भर्न सघाउनुभयो । भर्ना भइयो । पढ्दै समाज दैनिकमा काम गर्ने सिलसिला अघि बढ्यो । नाम पनि अलिअलि चल्दै जान थाल्यो । आइएको प्रमाणपत्र नाम नबिगारी हात पर्दा मक्ख परियो । तर बीएको प्रमाणपत्र नाम बिग्रेकै आयो । सच्याउनुको बिकल्प थिएन । धर्मराजबाट घमराज बनाइयो ।
पत्रिकाले नाम उठायो, रेडियोले गाडा बनायो
यसबीचमा नेपालको एक गनेचिनेको पत्रकारहरूमा मेरो नाम पनि स्थापित भइसकेको थियो । छापिएका बाइलाइनका भ्रममा नाम कमाउनुपर्छ भनेको सार्थक भए जस्तो पनि लाग्यो । नाम कमाउनुपर्छ र जोगाउनु पनि पर्छ भन्ने बुवाको वचनको हेक्का थियो । नाम जोगाउन सकेसम्म जीवनमा गल्ती नगरी अगाडि बढ्ने निधो गर्दै आइएको थियो । बरु पछि परियोस्, तर नाम चाहिँ नबिग्रोस् भन्ने आदर्शलाई आत्मसात गर्दै अगाडि बढियो । समाज दैनिकमा छ वर्षको सेवापछि समकालीन साप्ताहिक हुँदै श्रीसगरमाथा दैनिकमा काम गर्न गइयो । नाम जोगाउनुपर्छ भन्ने मान्यतालाई कायमै राखियो । मलाई मेरै नामले चिन्नेको सङ्ख्या पनि ठूलै हुन थाल्यो ।
रेडियो सगरमाथा स्थापनाको अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहभागिता र शुभेच्छा त थियो । तर २०५४ मा यसको स्थापना भएसँगै नियमित काम गर्ने अवसर पाइयो । रेडियोले पत्रिकाबाट आर्जेको मेरो नाममा चार चाँद लगाइदियो । लोकप्रियताको तह बढ्न पुग्यो । परिचय गर्ने क्रममा मेरो आवाज सुनेपछि तपाई रेडियोमा बोल्ने घमराज होइन? भनेर अहिले पनि कैयौँले भनेको पाउँछु । अनि लाग्यो, अब त नाम जोगाइयो । मेरो नाम चलेपछि घमराज नामका केही नाम मेरो प्रेरणाले पछिल्लो पुस्तामा राखिएको पनि पाएँ । त्यो पनि खुशी लाग्यो । यस विपरीत मेरो नाम रासस लगायत धेरै सञ्चारमाध्यमले धर्मराज लुइँटेल बनाएको देख्दा अझै नाम जोगाउन सकिएको रहेनछ र यो मोर्चाको लडाइँ सकिएको रहेनछ भन्ने हेक्का दिलाइरहेको थियो ।
विद्यावारिधिको अर्कै नामः ‘Ghamraj Luirel’!
यसै कडीमा यसपल्ट पत्रकारिता तथा आमसञ्माचार विषयमा विद्यावारिधि सम्पन्न भएर त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त कार्यक्रममा सहभागिताका लागि अनलाइन फर्म भर्ने बेलामा नाम कतै भेटिएन । आपत् पर्यो । मलाई अगाडि नै अनुभव लिएका डा. श्रीराम पौडेल र डा. रघु मैनालीले तलमाथि गर्न सक्छन् सजग हुनुहोला है भनेर सुझाव दिइसक्नुभएको थियो । के भएछ भनेर परीक्षाको सम्बन्धित शाखामा बुझ्न जाँदा अंग्रेजी अक्षरमा Ghamraj Luirel अङ्कित भएको रहेछ । सम्बन्धित शाखाका कर्मचारी मित्रले मलाई बुझाएअनुसार, यो त डीन कार्यालयबाट नेपालीमा नाम आउँदा अङ्ग्रेजी स्पेलिङ परीक्षाका कर्मचारीले मिलाएर लेखिदिने गर्दा जथाभावी हुने रहेछ । डीन कार्यालयमा पनि यसको पुष्टि भयाे– ग्रेस लिष्टमा नाम पठाउँदा नेपालीमा लेखेर पठाइँदो रहेछ । यसअघि त्यही परीक्षा नियन्त्रण कार्यालयले दिएको स्नातकोत्तर तहसम्मको प्रमाणपत्रमा मेरो नाम Ghama Raj Luitel हुने गर्थ्यो ।
मैले अनलाइनको नाम सच्याउन अनुोध गर्दा सम्बन्धित शाखाका कर्मचारी मित्रले सल्लाह दिए, ‘अहिले त्यही Ghamraj Luirel नामबाट फर्म भर्नू, पछि सच्याएर प्रमाणपत्र दिइहाल्छौँ, धन्धा मान्नु पर्दैन, हामीसँग क्रस रेफरेन्स हुन्छ, हेरेर गर्छौँ । अनि अनलाइनमा बिग्रेको नामको इन्ट्रीबाटै फर्म भर्नुपर्ने भयो । फर्म भरेपछि फेरि तिनै मित्रलाई भेटेर मेरो नाम पछि प्रमाणपत्रमा तलमाथि हुने हो कि भनी चासो राखेँ । उनले मेरो नाम टिपेर राखिसकेका थिए । नाम अनलाइनमा जे आएको भए पनि कम्प्युटरमा सच्चिसकेकाले कुनै आपत्ति मान्नु नपर्ने ती मित्रको भनाइ रह्यो । उनकै कार्यकक्षमा बसेका अर्का भद्र व्यक्तिले पनि त्यसै भने ।
नभन्दै ढुक्क भएर २०८१ पुस १३ गते शनिबार ५० औँ दीक्षान्त समारोहमा भाग लिन गइयो । विद्यावारिधिका अरु समकक्षीकै जस्तो मेरो पनि नाम एउटा कुर्सीमा अङ्ग्रेजीमा टाँसिएको रहेछ तर गल्ती स्पेलिङका साथ–– Ghamraj Luitel. मेरो हुनुपर्ने रजिष्टर्ड नाम थियो–– Ghama Raj Luitel. धन्न कुर्सीमा Luirel टाँसिएको रहेनछ । खुशी नै लाग्यो–– अलिकति मात्रै नाम बिग्रेको रहेछ । किनभने यस्तो अलिअलि बिग्रेको नाम त यति धेरै पचाइसकेको छु, यहाँ कसैले कुनै गोष्ठी वा सम्मेलन गरेर वक्ताकै रूपमा बोलाए भने पनि नाम उनकै खुशीले राखिदिएको देख्दादेख्दा कतिपय अवस्थामा त म स्वयं थेत्तरो नै भइसकेको छु ।
दीक्षान्त समारोहमा प्रमाणपत्र लिन मञ्चमा बोलाउँदा सही उच्चारणका साथ नाम आयो । मञ्चमा गएर त्रिविका कुलपतिबाट प्रमाणपत्र ग्रहण गरियो । प्रमाणपत्र लिएर तल जब आफ्नो कुर्सीमा पुगेर बसेँ, प्रमाणपत्रको बाहिरको बोक्रा (खाम) मै ठूला अङ्ग्रेजी अक्षरमा गलत नाम Ghamraj Luirel देख्ने दुर्भाग्य प्राप्त भयो । कहाँ मेरो हुनुपर्ने नाम, कहाँ विश्वविद्यालयले आफैँले तल्लो तहदेखि दिएको प्रमाणपत्र विपरीत छापेको नाम । रजिष्टर्ड नम्बरबाट पनि विद्यार्थीको नाम देखिन्छ । डीन कार्यालयले पठाएको प्रोभिजनल सर्टिफिकेटमा पनि नाम हुन्छ ।
मैले हतारहतार खामभित्रबाट प्रमाणपत्र निकालेर हेरेँ । भित्र पनि मेरो नाममा त उही बाहिर बोक्राको हुबहु निरन्तरता–– Ghamraj Luirel नै छ । उपकुलपतिको हस्ताक्षर गिरेको प्रमाणपत्र । नाम नेपालीमा ठीक छ–– घमराज लुइटेल । तर अंग्रेजीमा Ghamraj Luirel छ । हुनुपर्ने रजिष्टर्ड नाम थियो–– Ghama Raj Luitel. दीक्षान्त समारोहमा दीक्षित भएकोमा एकातिर खुशी लागेको छ, अर्कातिर नाम बिग्रेकोमा दुःखी हुनु स्वाभाविकै हो । अनलाइन फर्ममा परीक्षा नियन्त्रण कार्यालयले गरेको हेलचेक्राइँ जति कोशिस गर्दा पनि प्रमाणपत्रमा समेत देखिएपछि ‘नाम जोगाउन गाह्रो हुन्छ है केटा हो’ भनेर बुवाले भनेको फेरि सम्झिएँ । अनि दीक्षान्त समारोहको बीचमै सँगै दीक्षित भएका पत्रकारिता विषयकै उपप्राध्यापक मित्रहरू डा. देवराज अर्याल र डा. जगत नेपालसँग विदा भएर म निस्केँ ।
अब फेरि मैले एकपटक नाम जोगाउने अभियानमा जुट्नुपर्ने भयो । परीक्षा नियन्त्रण कार्यालयको प्रमाणपत्र फाँटका उनै पहिले भेटेका मित्रलाई सम्पर्क गरेँ । उनले भने–– ‘अहो ! अन्तैबाट छापिएछ कि क्या हो ! मैले त सच्याइदिएको थिएँ । बिग्रेको प्रमाणपत्र लिएर आउनुस्, म सच्याएको प्रमाणपत्र दिइहाल्छु ।’ उनले सजिलै सच्याइदिने वचन दिएपछि नाम बिग्रेको गुनासोभन्दा पनि नाम सच्चिने आशाले मक्ख परेँ । अनि अर्को दिन त्यो नाम बिग्रेको खाम र प्रमाणपत्र सहित लिएर गई जिम्मा लगाइदिएँ ।
ती मित्रले डिन कार्यालयबाट आएको डिजिटल प्रोभिजनल सर्टिफिकेट आफ्नो डेस्कटपमा निकालेर हेरे । त्यसमा मेरो नाम दुरुस्त थियो । मैले पर्ला कि भनेर स्नातकोत्तर तहको प्रमाणपत्रको प्रतिलिपि पनि लिएर गएको थिएँ । तर त्यो हेर्नुपरेन । त्यहीँको डिजिटल रेकर्डले काम गरयो । उनले गोप्य कोठामा गएर प्रमाणपत्रमा मेरो नाम सच्याए अनि छापेर मलाई देखाए । अब नाम ठीक थियो । सच्चिएको प्रमाणपत्रमा मेरो फोटो टाँसे । अब उपकुलपतिको हस्ताक्षर भएर आएपछि पाउनुहुन्छ है, उनले भने । ती कर्मचारी मित्रले फर्म भर्ने बेलामा भेट्दा र पछि प्रमाणपत्र सच्याउने बेलामा भेट्दा दुबै पटक बडो सद्भावपूर्ण व्यवहार प्रदर्शन गरे । अर्को दुई दिनपछि उनलाई भेट्न गएँ । हातमा उनले सच्चिएको प्रमाणपत्र हालिदिए । मैले भनेँ–– मेरा कारणले तपाईलाई दुःख भयो । उनले विनम्रतापूर्वक भने–– हैन, ‘सरले हाम्रा कारणले दुःख पाउनुभयो, हामी क्षमा चाहन्छौँ’ । मैले भनेँ–– ‘म पनि विश्वविद्यालय परिवारकै सदस्य हुँ । नाम सच्चियो । खुशी नै छु ।’
अनि घर आएर बाहिर खाममा ठूला अक्षरमा टाँसेको त्यो देख्न पनि नचाहेको Ghamraj Luirel उप्काएर फ्याँकेँ । खामभित्रको प्रमाणपत्रमा छापिएको नाम देखियोस् भनेर राखिएको सेतो प्लाष्टिकमा गलत नाम टाँसेको गमलाई पुछपाछ पारेँ । सच्चिएको प्रमाणपत्रको फोटो खिचेँ र खाममा हालेर राखेँ ।
प्रेरणाका स्रोत !
टेलिफोन लिँदाको नाममा होस् या विजुलीको मिटर, पानीको धारा जोड्दा सबैतिर यस्तो हुँदै आएकै थियो । पासपोर्टमा लडिएन कि, ड्राइभिङ लाइसेन्समा परेन कि । बसको टिकटदेखि अन्य नाम उल्लेख गर्नुपर्ने प्रायः हरेक मोर्चामा नाम जोगाउने लडाई लड्न छोडिएन । तपाईलाई खुसुक्क भनौँ, त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई चाहिँ मेरो नाम धर्मराजमै प्रेम बसे जस्तो छ । अहिले पनि मसँग पत्रको व्यवहार गर्दा धर्मराज लेख्न छोड्दैनन् परीक्षा नियन्त्रण कार्यालयका साथीहरू । खासमा यो लेखको प्रेरणाको स्रोत नाम बिगारिदिने सबै हुन् । तर तीमध्ये पनि मुख्य प्रेरणाको स्रोतको जश त त्रिभुवन विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालयलाई नै जान्छ । मैले त्यहाँका केही साथीहरूलाई भनेँ पनि–– “तपाईहरूले मलाई लेख लेख्ने प्रेरणा दिनुभयो ।” “हामीले गर्दा सरको एउटा लेख आउनेभयो नि त !” परीक्षाका साथीहरूले ठट्टा गरे ।
जे होस् शिशु कक्षादेखि विद्यावारिधिसम्मको यो मोर्चामा नाम जोगाउने अभियानको एउटा श्रृङ्खला अहिलेलाई टुङ्गियो। तर अरु धेरै मोर्चामा मेरो लडाई जारी छ । तर यति धेरै मोर्चामा नाम जोगाउन लड्दालड्दै म पनि चाम्रो भइसकेछु । अनि कहिलेकाहीँ आफैँले आफैँलाई सम्झाउँछु, नाममा के छ र, काम चाहिँ गर्दै जानुपर्छ । तर नाम पनि त केही हो नि ! चाहे त्यो प्रमाणपत्रमा होस्, चरित्रमा होस् वा सामाजिक छविमा । नाम त जोगाउनै पर्छ । त्यही नाम जोगाउन नसक्दा कति महापुरुष र महान नारी मामाघरमा पुगेका छन् । तर फेरि पनि भन्छु, नाम कमाउनभन्दा पनि नाम जोगाउन साह्रै गार्हो रहेछ ! तपाईलाई पनि नाम जोगाउन मलाई जस्तै त परेको छैन नि !! अस्तु ।