दैवको लिला अपरम्पार भनेको यही हो क्यारे । हाम्रो पहिलो नेतृत्व अझै कुर्लिदै छन् “ २०८४ मा पहिलो पार्टी बनेर ओलीलाई जेल हाल्छु” भनेर । त्यो पनि काठमाडौंतिर होइन झापा पुगेर बोलेका । गिरी बन्धु टि स्टेटमा उभिएर बोल्दा अदालतबाट भएको फैसला भने काम्रेडले बिर्सिएछन् ।
काम्रेडलाई रिस उठ्नु स्वभाविक हो । एकातिर स्वादिलो सत्ताबाट विमुख हुनुपरेको पीडा अर्कोतिर यसैबेला शेरा दरबारको कुरा किन छताछुल्ल पार्नु ? आज शेरा खोज्नेले भोलि चितौनको केरा खोज्लान् । हुन पनि चितौनको केराबारी लुटेर बेचेकै हो । यही पारा हो भने पर्सि यिनारूले बोरा खोज्लान् । कुन बोरा भन्दा लुटेको सुन लुकाएको बोरा भन्लान् । फेरि अर्को दिन सुन र नगद खोज्लान् ।
एवंरितले केन्टोनमेन्टदेखि त्यो उसको हत्यासम्म । त्यस उप्रान्त वाइडबडी काम्रेड आफैँ प्रधानमन्त्री भएको अवस्था (०७३ अशोज ७ मा निर्णय गरेर ) हैट .?… … चिसो पानी होला भनेर हात हाल्यो जता हात हाल्यो उतै आगाको भुङ्ग्रो ?
सुगतरत्न पनि उस्तै रान, आइलागे, मरिहत्ते गरे “त्यो पद पाम” भनेर विन्तिपत्र जाहेर गरे । पार्टी चलाउन पनि रासन पानी चाहिने । यसो १०/२० अरबको गर्जो पनि टर्ने भनेर हाम्रो काम्रेडले “ओके” ठोकी दिएछन् । अहिले आएर शेरा दरबार र वाइडबडीको तरबार एक्कासी चक्कर मार्न थालेका छन् ।
“निर्णय गर्दाका बखत को प्रधानमन्त्री थियो” भनेर खोजी गर्न बेर छैन । एकातिर पञ्छाउन खोज्यो जेलिंदै जेलिंदै काम्रेडकै थाप्लोमाथि तरबार तेर्सिने । यसपछि काम्रेडसँग उतर्सिएर हामी युवा विलखबन्दमा परिउँ ।
हो यसैबेला काम्रेडलाई छाडेर, उही बेला डा. केसीको पछि लागेर दौडिएको थचक्कै बसियो । कौनै पार लागेन । अहिले केसी इतिहास भए हामी ब्यपत्ता । हामी परिवर्तनका संवाहक युवा चुपोलागेर बस्ने कुरै भएन । त्यसपछि कुलमान दाइ जिन्दावाद भन्दै उफ्रियौँ । कुलमान दाइले के गर्दै छन्, हाम्रो लागि त्यो खोजिको विषय बन्दै बनेन ।
बिस्तारै त्यताबाट पनि पन्छिएर हामी जोडसँग नारा लगाउँदै महान दाइ दुर्गा प्रसाईंको छायाँ बनेर हिडिउँ । ऋण मिनाहा गराउन हिंडेका हामी ऋणमा डुबेर फर्कियौँ । अहिले आएर भखरै दुर्गा दाइको परिचय खोज्दै छौं । भन्नु उसो होइन हामी युवालाई धेरै गाह्रो छ ।
दुर्गा दाइको परिचय प्राप्त भएपछि हामी तुफानी तालमा रवि, हर्क, बालेनतिर दौडियौँ । गाँजाको सुरमा, नशाले लठ्ठिएको अवस्थामा सहकारीमा पुगेर अहिले अलमल्ल परेका छौँ । कहिले हामी प्रचण्डलाई महान भन्छौ, कहिले हर्क दाइ जस्तो अर्को जन्मेकै छैन भन्छौ । हामी नै हो कहिले रवि दाइ जस्तो नेता नेपालको धर्तीमा जन्मिनु नै नेपालीको भाग्य ठान्छौँ ।
बालेन दाइको त कुरा गरिसाध्य छैन । काम गर्न सक्नेले गर्ने हो । हेर्नुहोस्त अहिले काठमाडौं दुलही सिङ्गारे जस्तो छ । गाँजाको तालमा गफ गरेको होइन क्या । त्यो गमलामा फूल फुलाउने बालेन दाइ । यो धरहरा, यो रानीपोखरी ए यो त हैन क्यारे अलि बढी भन्न पनि भएन । हुन त नारानहिती त हाम्रै बालेन दाइले बनाको हो भन्न मुन लागेर मलाई खपिनसक्नु भाछ तर गर्न त उजाति र केजाति त हो नि !
हाम्रो भाग्य चम्काउने गरी पूर्वमा हर्क दाइ, अलि ओर नानी छोरी, अझ ओर बालेन दाइ र ५/६ वटा जिल्लामा एकलौटी रवि दाइको हुँकार चलेको छ । किन कि हामीसँग युटुबेहरू प्रशस्त छन् । हर्क दाइ आफैँ युटुवे र अरू एक दर्जन । हाम्रो माउवादीकोबाट तलब खाने २१ जना, रवि दाइको २२ जना, बालेन दाइकोबाट तलब र भत्ता पढकाउने हामी २० जना गरी युटुबेहरू प्रशस्त खटेका छौँ । हामी युवा, राष्ट्रका कर्णधार चलायमान छौँ । जसले चलाउन सक्यो उसैको पक्षमा चल्छौँ । कसैले पनि युटुबेलाई पाताकस्ने कल्पना नगरे हुन्छ । होलाई होइन र होइनलाई हो बनाउने खुबी हामीसँग सुरक्षित छ ।
कतिपयले बढी गफ दियो भन्लान् । गफ दिएको होइन, सत्य साँचो भनेको हो । गजबको राजनीति छ हाम्रो नेपालमा । काम गर्ने कालु जस पाउने आलु भने जस्तो छ हाम्रो नेपालमा । नत्र हाम्रो काम्रेडले “यो देशमा मैले जति विकास कसैले गरेन” भनेर कमसेकम भाषण गर्दैन थे । हामी ताली ठोकेर “हो हो” भनी दिन्छौं, उनी मख्ख ।
आ होस् है यस्ता गनथन । अहिले हाम्रो रवि दाइ बाहिर भैदिएको भए जीबी राईहरू झ्यालखानामा हुने थिए । सहकारी र भकारी भनेका छन् । सहकारीमा कुवाएर मलखाद बनाउनुभन्दा त रवि दाइले यसमा किन आकास झरेजसरी चिच्याउनु पर्ने के छ । रवि दाइलाई तुरुन्त छाडेर दुर्गा दाइको शरणमा परे हुन्छ । नत्र तिमारुको खैरियत रहँदैन । बैंक र सहकारीबाट लगेको ऋण मिनाहा हुनैपर्छ । दुर्गा दाइ जिन्दावाद ! लौ जा त ।