षडानन्द राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार अर्पण

काठमाडौँ । विक्रम संवत् २०८१ सालका षडानन्द राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्रदान गरिएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको १७ औँ वार्षिकोत्सव तथा बालागुरु षडानन्दको १९० औँ जयन्तीका अवसरमा विभिन्न विधाका पुरस्कार प्रदान गरिएको हो ।

यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार नेपालको इतिहास, संस्कृति, कला तथा वास्तुकलाका अनुसन्धाता सुविख्यात विद्वान् प्रा.डा. जगदीश चन्द्र रेग्मी (गोकर्ण, काठमाडौँ) लाई अर्पण गरिएको प्रतिष्ठानले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार वरिष्ठ समाजसेवी, कलाकार तथा साहित्यकार भद्रकुमारी घले (डिल्ली बजार, काठमाडौँ) र षडानन्द क्षेत्रीय पुरस्कार सामाजिक जागृतिमूलक सशक्त कवि कुन्ता शर्मा, (धरान) लाई अर्पण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष प्रा.चेतोनाथ गौतमको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध वैज्ञानिक, वनस्पति तथा वातावरणविद् प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले ती पुरस्कार अर्पण गर्नुभएको हो । षडानन्द राष्ट्रिय पुरस्कार एक लाख, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार साथै एकाउन्न हजार एकाउन्न हजार रुपियाँ राशीका रहेका छन् ।

समारोहमा प्रमुख अतिथि प्राज्ञ डा. श्रेष्ठले पुरस्कृत व्यक्तित्व प्राध्यापक रेग्मी नेपालको राजनीतिक तथा सांस्कृतिक इतिहासका चर्चित अध्येता रहेको विचार व्यक्त गर्दै भन्नुभयो “डा. रेग्मीका पुस्तक सांस्कृतिक अध्ययन अनुसन्धानका प्रामाणिक उदाहरण बनेका छन् ।” षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कारद्वारा पुरस्कृत भद्रकुमारी घलेको समाज सेवा तथा साहित्य सृजनाको चर्चा भएको तर कलाकार (फाइन आर्ट) व्यक्तित्वको चर्चा नभएको टिप्पणी गर्दै प्राज्ञ डा. श्रेष्ठले भन्नुभयो “उहाँको कलाकार व्यक्तित्व बेजोड छ, यस पाटोलाई पनि बिर्सनु हुँदैन ।” षडानन्द क्षेत्रीय पुरस्कारबाट सम्मानित कवि कुन्ता शर्माले आफ्नो संघर्षको संस्मरण गर्दै अतीतका ज्योति बालागुरुको नाममा स्थापित पुरस्कार प्रतिष्ठित व्यक्तित्व प्राज्ञ डा.तीर्थबहादुर श्रेष्ठको हातबाट पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । समारोहमा प्रतिष्ठानले प्रकाशन गरेका ‘षडानन्द संस्मरण ग्रन्थ’ र कवि माधव वियोगीद्वारा लिखित ‘कर्मयोगी षडानन्द महाकाव्य’ तथा शब्दयात्रा प्रकाशनबाट प्रकाशित र सुदीप अधिकारीद्वारा लिखित ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ नामका ग्रन्थ लोकार्पण गरिए ।

समारोहमा ‘कर्मयोगी षडानन्द महाकाव्य’का महाकाव्यकार कवि माधव वियोगी र ‘आबाल ब्रह्मचारी षडानन्दको व्यवस्थापन कुशलता’ पुस्तकका लेखक व्यवस्थापनविद् यादवकुमार चापागाईंलाई सम्मान गरियो । प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने महानुभावहरुलाई दाता सम्मानपत्र र नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदानका साथै यस वर्ष दिवंगत भएका प्रतिष्ठानको जीवनमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्व, सल्लाहकार तथा आजीवन सदस्यहरूको देहमुक्त आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारणसमेत गरियो ।

Facebook Comments
gg
Comments (0)
Add Comment