ऊ गर्भमा आउँदा
जैविक क्षमता पुष्टि भएकोमा गर्व गरेँ
ऊ धर्तीमा आउँदा
अभिभावक हुन पाएकोमा
र वंश निरन्तरताको निश्चिततामा दंग परेँ,
मेरो मुटुको टुक्रा रे ऊ
उसको उल्झनमा अझै पनि मुटु दुख्छ
उसको अशान्तिमा ज्यान लल्याकलुलुक हुन्छ
उसले माया नदेखाए पनि उसको माया लाग्छ
ऊ टाढिँदै जाँदा झन् उसको सामीप्यको चाह हुन्छ !
उसलाई सन्तान भनुँ कि स्वच्छन्द प्राणी?
जसप्रति मेरो कर्तब्य छ अधिकार छैन
दायीत्व छ स्वामित्व छैन,
लाग्छ, उसलाई धर्ती दिएर देश दिन सकिनँ
माटो दिएर बाटो दिन सकिनँ !
अहिले यो शरिरजस्तै उजाडिएको
गाउँघरलाई नियाल्छु र कामना गर्छु
कुनै दिन यो माटोमा मकैको बीऊ रोप्दा
मनीको बिटो फल्ने प्रावधान बन्नेछ
अनि चरितार्थ हुनेछ
सन्तान जन्माउनु
जैविक क्षमता देखाउनुभन्दा
धेरै धेरै माथि हो !
Facebook Comments