नेपालमा २५ औं अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन हुँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था द सोसाइटी फर द स्टडी अफ द मल्टि इथनिक लिटरेचर अफ द वल्र्ड (मेलो) को संयुक्त आयोजनामा यही असोज ११ गतेदेखि १३ गतेसम्म तीन दिने २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ।

काठमाडौं विश्वविद्यालय, धुलिखेलमा आयोजना गरिन लागेको सम्मेलनमा अमेरिका, बेलायत, पोल्यण्ड जापान, मलेसिया, वंगलादेश, भारत लगायतका एक सय १० जना अन्तर्राष्ट्रिय प्रतिनिधि र ८० जना नेपाली प्रतिनिधिसहित करिब दुई सय प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । सम्पूर्ण तयारी कार्य सम्पन्न भइसकेको यस सम्मेलनमा कुल एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुने कुरा काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेनेजमेन्टका सहायक डीन तथा सम्मेलन आयोजक समितिका संयोजक डा. खगेन्द्र आचार्यले बताउनु भएको छ । दिल्ली विश्वविद्यालयका प्राध्यापक कृष्णन उन्नी र सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक अम्मराज जोशीले मुख्य सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । प्यानल छलफलमा प्राध्यापक कृष्णचन्द्र शर्मा, प्राध्यापक आनन्द शर्मा, प्राध्यापक रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटाका प्रस्तुति विशेष आकर्षणका रूपमा रहेने छन् ।

विश्वभरका बहुजातीय साहित्य अनुसन्धाता, लेखक, अध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहने अन्तर्राष्ट्रिय संस्था मेलो करिब तीन दशक अघि सन् १९९७ स्थापना भएको हो । यस संस्थाको मुख्य उद्देश्य विश्वभर बहुजातीय साहित्यको प्राज्ञिक गुणस्तर अभिबृद्धि गर्ने, युवा अध्यताहरूलाई प्रोत्साहित गर्ने, बहुजातीय साहित्यका विविध क्षेत्रमा क्रियाशील नयाँ तथा पुरानो पुस्ता वीच फलदायी आदानप्रदानका लागि मञ्च उपलब्ध गराउने रहेको कुरा सम्मेलन आयोजक डा. आचार्यले जानकारी दिनु भयो।

यस सम्मेलनमा साहित्य र प्रकृति वीचको सम्बन्धका बारेमा विश्लेषण गरिनेछ । विशेषत साहित्यिक कृतिहरू र लोक परम्पराहरूमा प्रकाश पारिएका प्रकृति र परिदृश्य सम्बन्धी विभिन्न पक्षहरूमाथि छलफल गरिनेछ । साहित्यमा प्रकृतिको चित्रण र उक्त चित्रणले हाम्रो वातावरण र परिदृश्य सम्बन्धी बुझाइमा पार्न सक्ने प्रभावका बारेमा गहन चिन्तन समेत गरिने कार्यक्रम छ।

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरूले वातावरण, आदिवासीपन र आध्यात्मिकता जस्ता उप–विषयवस्तुहरूमा छलफल केन्द्रित हुने कार्यक्रम रहेको छ । यसका साथै जङ्गल, कल्पना तथा पहिचान, प्रकृति तथा तीनको सौन्दर्य, समतल क्षेत्रहरू तथा सम्भावनाहरू, मरुभूमि तथा उजाड क्षेत्रहरू, हिमाल, पर्वतारोहण, रहस्य तथा खतरा र नदी, महासागर तथा जलयात्रा आदिका बारेमा पनि सम्मेलन चिन्तन गरिने कार्यक्रम तय गरिएको छ । सबै प्रस्तुतिहरू साहित्य र प्रकृतिसँग सम्बन्धित रहनेछन् ।

Facebook Comments
Comments (0)
Add Comment