पत्रकारमाथि राज्यको साइवर आतङ्क

काठमाडौं । समाचारको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गर्ने प्रयास गर्नु नेपाली पत्रकारिता जगतमाथिको खुल्ला आक्रमण हो । पत्रकारिताका विरुद्ध राज्यपक्ष वादी  भएर मुद्दा चलाउने नेपालको संविधान लगायत कुनै पनि कानुनहरुले परिकल्पना गरेका छैनन् । अधिनायकवादी मुलुकमा मात्र पत्रकारितामाथि राज्यपक्ष वादी बनेर स्वतन्त्र पत्रकारिताको तेजोवध गर्ने प्रचलन रहेको हुन्छ । पत्रकारिताले गलत गरेमा त्यसलाई हेर्ने विश्वव्यापी मान्यता अनुसार नेपालमा पनि प्रेस काउसिन्ल नेपाल छ र त्यसको निर्णयमा पनि चित्त नबुझउने व्यक्ति अदालत जाने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै सरकारले पत्रकारमाथि साइबर आतङ्क सुरु गरी सशस्त्र दमन थाल्नु खेदजनक कार्य भएको भनी पत्रकार सम्बन्ध संघसंस्थाहरुले आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घले हिजो प्रेस विज्ञप्ती प्रकाशित गरी प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति कडा शब्दमा निन्दा गरेको छ । प्रेस चौतारी नेपालले पनि यस विषयमा प्रेस विज्ञप्ति निकालेको छ ।

महासङ्घका महासचिव रोशन पुरीले  जारी गर्नुभएको प्रेस विज्ञप्तिमा काठमाडौंको एउटा होटलमा छलफल कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबरजस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको उल्लेख छ । प्रेस चौतारी नेपालले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

चौतारीका महासचिव हिरामान लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेका थिए । तर, कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको थियो । महासङ्घले समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको छ ।’

‘यसो हुँदाहुँदै पनि जनताटाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन रहेको प्रेस चौतारी नेपालको ठहर छ । यस घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको छानविन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहोर्याउन हामी चेतावनी दिन चाहन्छौं । अन्यथा, त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयम् सम्बन्धित निकायले लिनुपर्ने तर्फ बेलैमा सचेत गराउन पनि चाहन्छौं ।’

‘सम्प्रेषित समाचारप्रति परेका उजुरी तथा गुनासा हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार बस्नेतलाई पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको पत्रकार महासङ्घले जनाएको छ । ‘महासङ्घ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments
Comments (0)
Add Comment