प्रचन्नले पनि जनता जुरुक्कै उचाल्ने अरे!

हेर भिरघरे ! हाम्रो प्रचन्न काम्रेस फेरि जनतामा जाने रे । अब फेरि आइस ब्रेक हुन्छ । जनता जुरक्कै उचाल्छु भनेका छन् ।  हाम्रो प्रचन्नलाई ओली र देउवाले ठूलो धोका दिए । अहिले हाम्रो काम्रेसको मनमा उथलपुथल गर्ने सोच पलाएर झाँगिएको छ । जनतालाई भेटेर “लु फेरि करान्ति गरौ हौ” भन्न बेर छैन ।  हेर भिरघरे ! हाम्रो सदावहार अध्यक्ष प्रचन्नले चाहे भने जे पनि हुन्छ । बंगलादेशमा भन्दा ठूलो लुटपाट, जातीय र धार्मिक झगडा हुन सक्छ । कहिले देउवा कहिले ओली, कहिले आज, कहिले भोलि । पहिला पनि कहिले भारतीय विस्तारवाद, कहिले त्यही भारत जिन्दावाद । अम्रिकी साम्राज्यवाद पनि उस्तै । अर्थात जस्तालाई तस्तै, डिडालाई निस्तै गर्न हाम्रो महान सदासदाको लागि अध्यक्षले जानेको छ । उनकै कारनले हाम्रो महान गौरवशाली पार्टी यसरी रिष्टपुष्ट भएको हो ।

होर विध्वंसे काका ! हो हृष्टपुष्ट हुदैछ  ।  २०८४ मा झन् मोटाउने लक्षण देखिदै छ । त्यसै कारणले अब फेरि करान्ति गर्ने भए भने म पनि माउवादी बन्छु जस्तो छ । लुटपाट, काटमार, सप्पै गर्न पाइन्छ । सुन-चाँदी पोको पारो, पोको पारेको देख्ने साथी मारो, गाई काट्यो मासु दारो, खाको ठाममा सप्पै उधारो । तर, तिमार्ले मलाई पार्टीमा राख्दैनौ होला । मेरो पनि मान्यता के छ भने प्रचन्न जस्तो चप्परचण्डाल एउटा नेता नेपालमा चाहिन्छ । कहिले देउवाको काधमा कहिले ओलीको काधमा । फेरि देउवाको काधमा फेरि ओलीको काधमा । आफ्नो ३२ सिट भए पनि ८०/९० सिटकाहर्लाई फिनिनि घुमाइ दिए । अहिले मात्र धुर्तताको पराकाष्ठ बुझे र दुईवटा मिले । अब माधव नेपाल र विप्लवहर्को पार्टी आफ्नोमा मिसाएर तम्रो काम्रेसले उधुम गर्ने रे ।

खुवी हुनु पर्यो नि भिरघरे भतिज ! ३२ सिट भए पनि थर्काएर शासन गरे । गमर्क्याएर आफ्नो ढुकुटी भरे । हाम्रो अध्यक्षको जनता र गाम-घर भनेको कहाँ हो भनेर कसैले बुझेकै छैन ।  दिल्ली हो क्या भिरघरे दिल्ली । पछिल्लो पटक हाम्रो अध्यक्षलाई तीन बल्ड्याङ खुवाउन ओलीले झेल नगरेको भए अहिले पनि सत्ताको तातो तर हाम्रै अध्यक्षले खाई रहेको हुन्थे । के गर्नु प्रचन्नले त सक्दो गरेकै हुन क्यारे । कर्मले घिसारेर दैबले ठोकेपछि सत्ताको चतुर खेलाडी चार चित् । अब ८४ जपेर के गर्नु जनताले विश्वास गर्न छाडिहाले । पहिलाका हाम्रा कामरेसहरू कोही खाडी मुलुक, कोही घाइते अपाङ्ग, कोही एमालेतिर । पार्टी च्यात्तिएर धुजाधुजा अब ८४ मा अपशकुनले गाँजेर हामीलाई सक्छ होला ।

ठिक कुरो गरेउ काका ! हाम्रो देउवा दाइ र ओली भर २०८४ मा तिमारूलाई गाह्राे पार्छन् होला । तर, तिम्रो विद्रोही नेता प्रचन्नले कहिले देउवा कहिले ओली गरेर “आजित” बनाकै हो नि ! सधैं झुठको पोको बोकेर देउवा र ओलीको आँगन चहार्ने यीनलाई अब कसैले विश्वास गर्दैनन् । हाम्रो स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्ने विषयबाट राजनीतिमा “वेइमान खेल” सुरु गरेका यिनैले हुन । यिनले लामो समय सोझो देउवालाई भुलभुलैयामा राखे पनि अब देउवाले प्रचन्नको विश्वास गर्दैनन् । अहिले सत्ताविमुख भएका तिम्रा महान सदावहार अध्यक्ष प्रचन्न सच्चिएर जनतासँग आम्ने अरे । ओल्लो घर र पल्लो घरकाले पनि नपत्याउने कुरो ।

हुन त हो भिरघरे ! नाथे टिआरसि विधेयकसमेत यिनले ल्याउन नसकेर ओलीले ल्याइदिनु पर्छ भने यिनबाट पीडितहरूले के आशा गर्नु । आखिर जति सरापे पनि यी भन्दा ओली नै ठिक भनेर हाम्रै कार्जेकर्ताले भन्न थालीसके । प्रचन्न चार पटक प्रधानमन्त्री बने । सम्झेर ल्याउदा त कन्सिरी तात्छ नि भिरघरे तर के गर्नु आफ्नै अध्यक्ष परे । न यिनले पुन निर्माणको काम गरे, न नयाँ निर्माण गरे जनतामा भ्रम छरे । यता अस्तिनै पोखरा पुगेर “हाम्रो माओवादी केन्द्र पार्टी फेरि फुट्न लागेको छ । केही व्यक्ति पार्टी फुटाउन लागिरहेका छन्” भनेर कुर्लिए । अहिले आएर “पार्टी फुट्ने अवस्था छदै छैन” भनेर आफूले बोलेको सच्याउदै छन् । तर, हाम्रो प्रचन्नले धनार्जनलाई पार्टीबाट ननिकाली छाड्दैनन् ।

हौ काका ! धनार्जन भने नि जनार्दन भने नि तिम्रो पार्टी थाम्ने ३/४ जना मध्ये एकजना जनार्दन नै हुन । वर्षमान, शक्ति र अहिले आएर महराका छोरा, नन्द किशोरका छोराहर्ले ब्रम्हलुट गरेर स्यानो भा पनि पार्टी बचाएका छन् ।

पार्टीको नीति नै “झर्ला र खाउला, होइन भने लुटेर ल्याउला, त्यो पनि भएन भने सुन ओसारौंला” भन्ने भएपछि माओवादी कहाँ रहन्छर ! यो कुरा उ… परै राखौं अनि तिम्रो नेताले “नेपाललाई श्रीलंका र बंगलादेश बनाइ दिन्छु” भने छन् । अहिले त्यहाँ भइरहेको  घटना यिनलाई थाहा छैन क्यारे । त्यहाँ लुटपाट, आगजनी, हत्या भइरहेको छ । जातीय र धार्मिक आतंक रोकिएको छैन । हुनत योगेश भट्टराईले सदनबाटै सत्य कुरा बोलेकै छन् केरे । प्रचन्नलाई बिचरा “कहाँ जान्छस् हराउने विलाउनेको फेद” भनेको

ठ्याक्कै मिल्दै छ ।

जसले जे भने पनि अहिले हाम्रो माउवादी सिथिल अवस्थामा छ। अध्यक्ष पनि अण्टसण्ट बोल्छन्। कहिले पाँच हजार मान्छे मारेको आफू जिम्मा लिन्छन्, कहिले बंगलादेशको अवस्था नबुझी “नेपाललाई बंगलादेश बनाइ दिन्छु” भन्छन् । पार्टीमा पनि ४० वर्ष नेतृत्व गरे । अहिले पार्टी भित्रैबाट यिनका कर्तुत खोतलिन थालेका छन् । धनार्जन, जनार्दनहर्ले त्यसै ललकारेका होइनन् भिरघरे !

हौ विध्वंसे काका ! माउवादीले अब बैशाखी पाउदैन । २०८४ सम्म जिवित रहन्छ, त्यसपछि यसको एक मात्र विकल्प अन्त्यष्टी नै हो ।

लौ काका आजलाई जै नेपाल ! म लागे घरतिर !

Facebook Comments
Phutani
Comments (0)
Add Comment