गत हप्ता केही दिनको लागि भारतको हैदराबादको कार्यक्रममा जाँदा पाएको मौकाको उपयोग गर्नुपर्यो भनेर एउटा प्रतिष्ठित पुरस्कारको लागि छोटोसूचीमा परेको एउटा आख्यानको पुस्तक बाटोमा पढ्दै गएँ। एक दुई कथा पढेपछि नै चीसो पस्यो, ५-६ वटा कथा पढेपछि त अचम्म नै लाग्यो। झन्डैसबै कथामा पुराना हिन्दी चलचित्रमा झैं लगभग हुनै नसक्ने, तिलस्मी “संयोग”हरू नभई कथा अघि नै बढ्दैन। पात्र पनि कति त असाध्यै सपाटलाग्छन्। निश्चित भूगोल र त्यहाँका निश्चित भाषा र संस्कृति भएका समुदायको बारेमा राम्रो चित्रण ठाउँठाउँमा छ, तर त्यति मात्रले उत्कृष्ट कथा तबुनिंदैनन्। बलिवुडका चलचित्र र सतही “प्रगतिशील” साहित्य (गतिला, कला र सन्देश दुवैले भरिएका प्रगतिशील साहित्यको नेपालमा कमी छैन) मात्रहेरेर र पढेर बनेको साहित्यचेतले जन्माएका कथाहरू जस्ता देखिन्छन्। नेपालकै गोठाले, ब्राजाकी, विकल आदिको मात्र कथा पढेर बन्ने साहित्य चेतपनि त्यो भन्दा धेरै उन्नत हुनुपर्ने।
ल त्यो पनि ठिकै छ, कसैलाई लेख्न मन लाग्यो, तर त्यस्तो छापिइहाल्ने कसरी होला? विदेशमा भए कुनै मध्यम दर्जाको प्रकाशन गृहका सम्पादकलेपनि यदि ठाडै अस्वीकार गरेनन् भने पनि “यसमा संभावनाहरू राम्रा छन्, तर लगभग सबै कथाहरूका कथानकलाई अलि विश्वसनीय बनाएर, साहित्यको सिर्जना र कला पक्षलाई पनि केही अरु मजबुत बनाएर लेख्नुस्, अनि हेरौंला” भन्थे, र छापेछन् नै भने पनि छाप्नुअघि धेरै पटक पुनर्लेखन, परिमार्जन गराउँथे।
ल ठिकै छ, छाप्नेले छापिदिए पनि। तर पुरस्कारका लागि समीक्षा गर्नेले कसरी राम्रो अङ्क दिएका होलान्? कि समीक्षकको पनि साहित्य चेतत्यस्तैउस्तै हो?
हैदरावादमा मैले मध्यम वर्ग वा निम्न मध्यम वर्गका मानिसलाई त्यहाँको भित्री पुरानो सहरभन्दा बाहिरको युरोप-अमेरिका वा चीनको जस्तो देखिनेचिल्लो गगनचुम्बी विकासको भित्री अनुभवबारे सोध्थें, र विकासबारे प्रायः मिश्रित अनुभव नै सुनिन्थ्यो। अधिकांश सहरी मध्यमवर्गका ले पनि महँगानिजी पाठशालामा नै छोराछोरी पढाउँदा रहेछन्, अलि राम्रो निजी स्कुलमा वर्षको ३-४ लाख सम्म हालेर छोराछोरी पढाउनै पर्ने बाध्यता धेरैले महसुसगर्दा रहेछन् । तर एउटा राम्रो कुरा चाहिं सबैले निर्धक्क भने। मैले के यहाँ पनि तिमीहरूका महँगा निजी स्कुलमा पढ्ने छोराछोरी घरमा पनि अङ्ग्रेजीमात्र बोल्ने, मातृभाषा राम्ररी लेख्न बोल्न नसक्ने वा मातृभाषामा कुरा गर्न आत्मविश्वास नभएका बन्दैछन् कि भनेर सोधें। उनीहरूले भने – हैन, हाम्राछोराछोरी अंग्रेजी, तेलगु, र हिन्दी तीनवटै भाषामा फरर कुराकानि गर्न सक्ने नै हुन्छन्, अंग्रेजी मात्र लेख्न, पढ्न, बोल्न खोज्ने खालका छैनन्।
नेपालमा केटाकेटी र युवायुवतीलाई नेपाली वा आफ्ना अन्य मातृभाषाको प्रयोग गर्न रहर नलाग्ने वा लागे पनि त्यसो गर्न सक्छु भन्ने आत्मविश्वास नहुनेअवस्था आउनुका अनेक कारण होलान्। तर एउटा प्रमुख कारण चाहिं के भने पढ्न रमाइलो लाग्ने, पढ्दा घत लाग्ने वा गजबको कुरा पढें भन्ने लाग्नेसामग्रीकै खडेरी हो। अघिल्ला पुस्तालाई पारिजात, रिमाल, गोठाले, ब्राजाकी, काइँला, गोतामे, राई, आदिका कृति पढ्दा विश्वस्तरका कुरा पढ्दैछुभन्ने लाग्थ्यो होला, तर अहिलेको पुस्तासँग कनेक्ट गर्न अहिलेकै विषयवस्तु (कन्टेन्ट) हुनुपर्छ, जुन साँच्चै लेखिरहिएको छैन। र नलेखिनुको एउटा विशेषकारण हाम्रो पुस्तामा राम्रा समालोचक, समीक्षक नहुनु हो। पहिलेका बराल वा राईका समकक्षी समालोचक अहिले को छन् ? वास्तवमा प्रकाशन गृहलेआख्यान गैरआख्यान दुवैतिर अधिकांशत: भाषा मात्र मिलाइदिने तर कृतिको सिर्जनात्मक, कलात्मक पक्ष वा मौलिकता वा प्रामाणिकताबारे सुझाव रसमालोचना दिन नसक्ने अवस्थाले गर्दा प्रकाशित कृति र लेखक जति परिष्कृत र प्रतिस्पर्धी हुन सक्थे, त्यति नभएको देखिन्छ। अर्कोतिर, फेरि त्यस्तैकृतिलाई पुरस्कारगृहहरूले सम्मानको तक्मा दिएर टपरटुइँयापनलाई नै स्थापित गरेको देखिन्छ। साँच्चै राम्रा कतिपय कृति कसो कसो पुरस्कारकोचर्चामै नआएको पनि देखिन्छ।
अनि यही कारणले गर्दा पनि हो, जसरी अलिकति पनि कलाचेत हुनेले अधिकांश नेपाली चलचित्र हेर्दैनन्, त्यसरी पनि नेपाली साहित्य पनि नपढिने, रबिस्तारै नेपाली नै लेखि-बोलीमा हराउँदै जाने जोखिम बढ्दो छ।