संयुक्त राज्य अमेरिका केही वर्षअघिसम्म आफ्नो चुनावी प्रक्रिया संसारलाई देखाएर शालीन, उदार र सभ्य चुनावी प्रतिस्पर्धा हुने लोकतान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गर्न चाहन्थ्यो । आफ्नो लोकतान्त्रिक मूल्य, मान्यताको प्रसार र अनुसरण अरु देशले पनि गरिदेऊन् भन्ने वाशिंगटनको चाहना थियो । यसका लागि अमेरिकाले हरेक चार चार वर्षमा हुने आफ्नो चुनावी पद्धति र प्रक्रिया देखाउन संसारबाट प्रेसका साथै, सामाजिक तथा राजनीतिक व्यक्तिहरूलाई आमन्त्रण गर्ने गर्दथ्यो ।
चुनावी प्रतिस्पर्धा देखाउन आफ्नै खर्चमा वाशिंगटनले विश्वका विभिन्न महाद्विप र उपमहाद्विपको प्रतिनिधित्व हुने गरी हजारौँ व्यक्तिलाई अमेरिका भ्रमण गराउँदै आएको छ । यसका पछाडिको उसको मान्यता के रहिआएको थियो भने आवधिक चुनावको झण्डै साढे दुई सय वर्ष लामो इतिहासले खारिएको अमेरिकी राजनीतिक संस्कार उदार र शालीन लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धाको आत्मा हो, जुन शान्त र मर्यादित चाडका रूपमा स्थापित भइसकेको छ । बेलायतले स्वतन्त्र राष्ट्रको मान्यता दिएको (सन् १७८३) पाँच वर्षपछि अमेरिकामा सन् १७८८ को डिसेम्बरदेखि १७८९ को जनवरीसम्म पहिलो राष्ट्रपतीय चुनाव भएको थियो (यसअघि अमेरिका बेलायतको उपनिवेश थियो) ।
यही कारणले संयुक्त राज्य अमेरिकाले सन् १९४८ देखि आफ्नो राष्ट्रपतीय चुनावका दुई मुख्य प्रतिस्पर्धी उम्मेद्वारको बहस रेडियोबाट प्रत्यक्ष प्रसारण गर्ने चलन बसाल्यो । सन् १९६० देखि त राष्ट्रपतिका उम्मेद्वार (केनेडी र निक्सनबीच) को बहस टेलिभिजनबाट प्रसारण हुन थाल्यो, जुन अझै कायम छ ।
अमेरिकामा राष्ट्रपतिको उम्मेद्वार हुने रहर त धेरैले गर्छन्, जस्तै कुनै बेलाका विश्वकै सबैभन्दा धनी व्यक्ति रक फेलर, मिडियाका बादशाह विलियम र्यान्डल्फ हर्स्ट, खरबपति टेक्सान रोज पेरोट, पूर्व न्यायाधीश जर्ज वालेस, कंग्रेसम्यान जोन बी. एन्डर्सन आदिको नाम लिन सकिन्छ । तर अमेरिकामा त्यहाँको अनुदारवादी दल रिपब्लिकन र उदारवादी दल डेमोक्र्याटका उम्मेद्वारले नै चुनाव जित्दै आएका छन् । अर्थात् अमेरिका दुईदलीय प्रभावमा रहेको देश हो, जहाँ मतदाता पालैपालो दुबै दलका उम्मेदवारलाई सत्तामा पु¥याइरहन्छन् ।
तर, अमेरिकाले गौरव गर्ने लोकतान्त्रिक चुनावी संस्कारका खम्बामा देखिनेगरी धमिरा लगाउने क्रमको सुरुवात रिचार्ड निक्सनले सन् १९७२ को चुनावमा गरे । सन् १९६८ मा पहिलो एक कार्यकालका लागि चुनाव जितेका उनले दोस्रो कार्यकालको चुनावमा आफ्नो पद र राष्ट्रपति निवास ह्वाइटहाउस संयन्त्रको दुरुपयोग गर्दै विपक्षी डेमोक्र्याटको पार्टी कार्यालय वाटरगेटको जासूसी गरे । चुनावमा धाँधली गर्न डलरको चलखेल गरे । यति हतकण्डा अपनाएर आखिर सन् १९७२ मा दोस्रो कार्यकालको चुनाव जिते पनि । तर उनको यो धाँधलीपूर्ण, अनैतिक र आपराधिक कुकृत्यको पर्दाफास वाशिंगटन पोष्टका संवाददाता बब उडवार्ड र कार्ल बर्न्स्टाइनले फेडरल ब्यूरो अफ इनभेस्टिगेसन (एफबीआई) का अधिकारी मार्क फेल्ट (डीप थ्रोटका नामले प्रचारित) को सूचना चुहावटको मद्दतबाट पर्दाफास गरेपछि निक्सन बिरुद्ध कंग्रेसमा महाभियोग पारित हुने सुनिश्चित भयो । देशलाई दुई वर्षदेखि ढाँट्दैआएका राष्ट्पति निक्सनले केही उपाय नदेखेपछि चुनिएको दुई वर्षमै सन् १९७२ मा राजीनामा गर्न बाध्य भए । निक्सनले अमेरिकी चुनावी संस्कारको क्यान्सरको संज्ञा पाएका थिए ।
त्यसपछि फेरि अमेरिकी चुनाव लयमा फर्किएको जस्तो देखिँदै थियो । तर जब सन् २०१६ मा पूर्व प्रथम महिला हिलारी क्लिन्टन र धनाढ्य व्यापारी डोनाल्ड ट्रम्पबीच चुनावी प्रतिस्पर्धा भयो, तब फेरि अमेरिकी चुनावमा दक्षिण एशियाली गाली गलौजको संस्कार सुरु भयो । ट्रम्पले क्लिन्टनको मान मर्दन गर्न कुनै कसर बाँकी राखेनन् । चुनाव जितेपछि अमेरिकी मिडियालाई आफ्नो दुश्मन घोषणा गरे । अन्टसन्ट बोल्न केही बाँकी राखेनन् । अलेन मस्कले किनेपछि X मा परिणत भएको ट्वीटरले विद्वेषपूर्ण अभिव्यक्ति दिएको भनी उनको खाता नै बन्द गरिदियो । यही झोकमा फेरि ट्रम्पलाई ट्वीटरमा फर्काउन मस्कले ट्वीटरको स्वामित्व नै खरिद गरे र उनको खाता फर्काए पनि ।
सन् २०२० को बाइडेन र ट्रम्पको चुनावी प्रतिस्पर्धा पनि निकै तीतो हुन पुग्यो । बाइडेनको जीत ट्रम्पले स्वीकारेनन् मात्रै कंग्रेस भवन कब्जा गर्न आफ्ना कार्यकर्तालाई उक्साए र हिंसाको बीजारोपण गरे । उनीमाथि महाभियोग लागे पनि पारित भने हुन सकेन । उनको विदाइ भएन । त्यति मात्रै हैन, उनले कैयन मुद्दाको सामना गर्न न्यायालय धाइरहनुप¥यो । अझै कैयन मुद्दा उनीमाथि चलिरहेका छन् । ट्रम्पले अमेरिकामा नश्लीय विचारको पनि पक्षपोषण गरे । अर्को अर्थमा भन्दा राजनीतिक सञ्चारमा ट्रम्पले घृणाजन्य अभिव्यक्तिलाई स्थान दिए । अमेरिकी चुनावको स्तर गिरेर दक्षिण एशियाली खासगरी भारत, पाकिस्तान र बाङ्गलादेशको भन्दा तल पुग्न गयो ।
ट्रम्पका क्रियाकलाप र अभिव्यक्तिले अमेरिकी चुनावी मूल्य र मान्यताको गौरबमा तातोपानी खन्याइदियो । आफ्नो लोकतान्त्रिक चुनावी संस्कारको सिको अरुले पनि गर्नुपर्छ भन्ने अमेरिकी मान्यतामा आघात पुग्यो । अनि तल्लोस्तरको अमेरिकी राजनीतिक अभ्यासको संसार साक्षी हुन पुग्यो । अमेरिकी चुनावका नकारात्मक अभ्यासबाट पाठ सिक्नुपर्छ भन्ने अवस्थामा अन्य देशहरू पुगे ।
अहिले सन् २०२४ को अमेरिकी चुनावमा वर्तमान राष्ट्रपति बाइडेन र उनै ट्रम्पबीच भइरहेको प्रतिस्पर्धाले त झनै दुनियाँको ध्यान तानेको छ । अझ राजनीतिका छिचरो व्यक्ति ट्रम्पमाथि चुनावी अभियानको सभामै गोली प्रहार भएपछि अमेरिकी जनजीवन तनावमा आएको मात्रै छैन, विश्व नै यो घटना र यसपछिको विकास क्रमलाई चाख लिएर नियालिरहेको छ ।
राजनीतिमा असहमत हुन पाइन्छ, तर हिंसा गर्नु हुन्न र घृणाजन्य अभिव्यक्ति दिएर हिंसा भड्काउनुहुन्न भन्ने मान्यतालाई आत्मसात नगरेसम्म यस्ता घटना भइरहन्छन् । असहमत हुनासाथ गोड्सेले महात्मा गान्धीलाई गोली दाग्यो । भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी र उनैका छोरा प्रधानमन्त्री राजीव गान्धी असहमत पक्षको प्रहारबाटै मारिए । पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अली भुट्टो र उनकी छोरी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो असहमत पक्षबाटै मारिए । बाबुलाई सैनिक शासक (जुल्फिकरले भरपर्दो भनी नियुक्त गरेको जनरल जिया उल हक) ले र छोरीलाई चुनावी ¥यालीका त्रममा असहमत पक्षले हत्या गरे । श्रीलंकामा उत्पन्न घृणाजन्य परिदृश्य र उलटपुलटयुक्त गएको वर्षको घटना हामी सबैलाई यादै छ । भारतको भर्खरै सम्पन्न चुनावमा पनि घृणाजन्य अभिव्यक्तिको भरपूर प्रयोग भएकै हो ।
अहिले ट्रम्पमाथि ज्यानै लिनेगरी भएको गोली प्रहारमा कसोकसो भाग्यवश उनी बाँच्न सफल भए । कान छेडेर गोली गयो । उनी रक्ताम्य भए । यसको चौतफी भत्र्सना भयो पनि । हो, यस्तो घटना निन्दनीय छ । तर ट्रम्पले के बुझ्नुपर्छ भने यो उनले अघिल्ला दुई चुनावी अभियान र प्रतिस्पर्धामा रोपेको बीऊ उम्रेर बढ्न थालेको संकेत हो । अझ उनले रोपेको बीऊ झांगिदै गयो भने भोलिका दिनमा यसले कस्तो नराम्रो परिणाम ल्याउन सक्ला भन्ने पनि हेक्का राख्न आवश्यक छ । किनभने हिंसा र घृणाको बीऊ फैलन समय लाग्दैन । त्यसै पनि अमेरिकी समाजमा कसले कसलाई कतिखेर गोली हान्छ, टुंगो हुन्न । किनभने स्कूले बच्चाले गोली चलाएर एकै ठाउँमा धेरैको चिहान बनाएका समाचार दोहो¥याएर आइरहेकै छन् ।
अमेरिकी चुनावी प्रतिस्पर्धा निकै तल्लोस्तरमा झरिसकेको छ । यसबाट पुनः माथि उठ्न अमेरिकी समाजलाई पुनः समय लाग्नेछ । अब बाँकी विश्वले भन्नुपर्ने बेला भएको छ, अमेरिका जस्तो घृणाजन्य र हिंसात्मक प्रतिस्पर्धा चुनावमा गर्नुहुन्न । घृणा र हिंसाको ट्रम्पेली संस्कारले स्वयं ट्रम्पलाई मात्रै हैन, समग्र अमेरिकी चुनावी प्रतिस्पर्धाको संस्कारलाई गहिरो भासमा लैजान थालेको छ । यसबाट बाहिर निस्कन त्यति सहज छैन किनभने चुनावी संस्कारमा ट्रम्प निक्सनभन्दा खतरनाक क्यान्सर बनिसकेका छन् ।
(डा. लुइँटेल त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उप-प्राध्यापक हुन् ।)