भानु जयन्तीका दिन असार २९ गते विशेषतः दुईवटा कोणबाट उनलाई हेर्ने र विश्लेषण गर्ने गरेको पाइन्छः १) उनको साहित्यिक व्यक्तित्व र २) नेपाली भाषाको विकास र विस्तारमा उनको योगदान । आज असार २९, भानु जयन्तीका अवसरमा आम नेपालीभाषीले आआफ्नो गच्छेअनुसार भानुभक्तलाई सम्झेका छन् ।
मैले पनि भानुलाई सम्झने क्रममा केही लेख्न कलम उठाएको छु । भानुभक्तका बारेमा चर्चा गर्नु पहिले हामीले उनको समकालीन समाज, देश र परिवेशलाई केलाई हेरौँ । भानुभक्तको जन्म भएको समय विक्रम संवत् १८७१ हो । अर्को शब्दमा उनी भारतमा राज गरिरहेका अंग्रेज र नेपालबीचको युद्धको संघारमा जन्मेका थिए भन्दा हुन्छ । उनी झण्डै डेढ वर्षका हुँदा नेपाल–अंग्रेजबीच युद्ध भइवरि नेपालले हारेपछि सुगौलीको सन्धि भएको थियो । यसरी हेर्दा भानुभक्तको जन्मकाललाई नेपालको एकीकरणमा पूर्ण विराम लागेको र देशको ठूलो भूभाग गुमेसँगै नेपालीको मनोबल समेत खुम्चेको समयका रूपमा बुझ्नुपर्ने हुन्छ ।
प्राथमिककालीन नेपाली साहित्यिक धारका सबैभन्दा प्रभावशाली कविका रूपमा देखा परेका भानुभक्त आचार्यको बाल्यकाल र किशोरकालमा नेपाली वीरताको पाटो खुम्चेर भक्तिधारामा परिणत भइसकेको थियो । उनको युवा कालमा जङ्गबहादुर राणाले सत्ता हातमा लिइसकेको अवस्था थियो । पृथ्वीनारायण शाहलाई एकीकरणमा उक्साउने सुवानन्ददास जस्ता जोशिला कविहरूको चरण सकिइसकेको थियो । युद्धको हारपछि बहादुरीभन्दा पनि आखिर ईश्वर नै एक मात्र सहारा हो भन्ने भावनाको विकास भइसकेको थियो । राणाको जहानीयाँ शासनकालमा अरु कुरा सोच्न र बोल्न सम्भव पनि थिएन । यस परिवेशमा उनले धर्म, नैतिकता, अध्यात्म र त्यसबेलाको सामाजिक मान्यतालाई आफ्ना कवितामा उतारेको पाइन्छ ।
भानुभक्तले आफ्नै बाजे पण्डित श्रीकृष्ण आचार्य र बनारसमा संस्कृत भाषामा शिक्षा ग्रहण गर्दा उनमा संस्कृतमा रचिएका आध्यात्मिक र पौराणिक ग्रन्थहरूको गहिरो ज्ञान हुन पुग्नु स्वाभाविकै हो । ‘भानुभक्तको संक्षिप्त जीवनचरित्र’ मा सूर्यविक्रम ज्ञवाली लेख्छन्, ‘‘भानुभक्तलाई पढेको कुरो छिटै आउँथ्यो तथा १२ वर्षको उमेरमा नै जन्मपत्रको तत्त्व बुझ्ने भइसकेका थिए । यो कारणले यिनी मेधावी बालक थिए भन्ने अनुमान हुन्छ ।’’
भानुभक्त २२ वर्षका भएपछि घाँसीसँगको भेटले कृति राख्नुपर्ने रहेछ भन्ने ज्ञान र अठोट उनमा पलाएको र कविताको प्रेम हृदयमा पलाएको ज्ञवालीको कथन छ । सम्पन्न परिवारमा जन्मी हुर्केका भानुभक्त आचार्यले खासगरी त्यसबेला जनजीवनमा बोलिने तर दरवारका अभिजात्य पण्डितहरूले हेला गरेको नेपाली भाषामा कविता बनाए । उनले आम मान्छेले बोल्ने र व्यवहार गर्ने भाषालाई आफ्नो कविताको आधार बनाएको पाइन्छ । उनले कविता नेपालीमा लेखेको भनेर खिसिटिउरी गर्ने पण्डाहरूको कमी थिएन । तर दरबारमा पनि नेपाली भाषा प्रवेश भएको परिवेशमा राणा शासक पनि नेपाली भाषालाई बढावा दिन चाहन्थे । जङ्गबहादुर राणाका कान्छा भाइ कृष्णबहादुरले भानुभक्तलाई हौसला र सहयोग दिएको इतिहासमा पाइन्छ ।
छिमेकीसँगको झगडाले काठमाडौँ छिरेका उनले बालाजुको मीठो महिमा लेखे । सुरुमै मौलिकता दिएर उल्था गरेको बाल्मीकि रामायणका तीन काण्ड यिनले जागीर खाँदा हिसाब मिलाउन नसकेपछि कुमारीचोकको थुनामा परेका बेला लेखेका थिए । थुनाबाट मुक्त भएपछि पछिल्ला अयोध्या काण्ड र उत्तर काण्ड काठमाडौँमै बसेर लेखेको सूर्यप्रसाद ज्ञवालीले उल्ल्ेख गरेका छन् ।
भानुभक्तले भक्तमाला, प्रश्नोत्तरमाला, बधु शिक्षा र अन्य फुटकर कविता लेखेका छन् । मोतीराम भट्टले भानुभक्तका बारेमा खोज गरी लेख्नुका साथै उनका कृति प्रकाशित गरिदिएपछि भानुभक्तलाई दुनियाँले चिह्नेको कुरा पनि उल्लेखनीय छ । अरु कृतिभन्दा पनि उनको रामायण नै नेपालको सरहद काटेर सिक्किम, दार्जिलिङ, आसाम, मिरिक, गोहाटी, देहरादुन, बर्मा आदि क्षेत्रमा फैलन पुग्यो । नेपालबाहिर रहेका नेपालीभाषीहरूले भानुभक्तलाई आफ्नो पहिचानसँग जोडेर सम्मान गरे । नेपालमा उनलाई राष्ट्रिय विभूतिको सम्मान दिइयो ।
अहिले भानुभक्त आचार्य विश्वभरि छरिएर रहेका नेपाली जातिसँगै संसारमा फैलन पुगेका छन् । भानुभक्तलाई अहिलेको हिसाबले हेरेर आलोचना गर्ने पनि नभएका हैनन् । तर उनको समकालीन समाजभित्र छिरेर उनलाई हेर्दा मात्रै उनको योगदानको कदर हुन पुग्छ । नेपाली भाषाका यति सरल र मीठास पहिलो कवि भएका कारण मोतीराम भट्टले भानुभक्तलाई नेपाली भाषाका आदिकविको उपाधि दिएका थिए । यसमा कैयौँले मत विमत राखे पनि उनले जति सरल र जनजनमा पुग्न सक्ने कृतिको लेखनी अरुले गर्न सकेका थिएनन् ।
राणाकालमा पनि व्यंग्य गरेर नेपालको प्रशासनिक ढिलासुस्ती र ‘भोलिवाद’ विरूद्ध भानुभक्तको प्रहार अझै पनि सुशासनका लागि उत्ति नै सान्दर्भिक रहिआएको छ । उनका जेलमा रहँदा लामखुट्टे र उपियाँले सुत्न नदिएका मार्मिक कविता, घाँसीसँगको संवाद हामीले स्कूल र कलेजमा पढेकै हाे । रामायण त रामायण नै भइहाल्यो ।
उनको रामायण समयक्रमसँगै अझै लोकप्रिय बन्दै गएको छ । केही दशकअघि रामायणका श्लोकलाई धेरै व्यक्तिहरूका स्वरमा म्यूजिक नेपालले रेकर्ड गराएको थियो । यो निकै लोकप्रिय पनि बन्यो । भानुभक्तको बृत्तचित्र पनि बन्यो । उनका बारेमा सयौँ विद्वानले समालोचना र विवेचना लेखेका छन् । उनका आफ्नै हाँगाका प्रतिभाशाली सन्तति पनि अहिले उनका बारेमा कलम चलाइरहेकै छन् । कोभिड–१९ को कहरका बेला अमेरिकाबाट मुरारी गुरागाईंको सङ्गीत संयोजनमा सरु गुरागाईंले भानुभक्तीय रामायणका सबै काण्ड सुमधुर स्वरमा प्रस्तुत गरेपछि रामायण झनै जनजनमा लोकप्रिय बन्न पुग्यो । उनको युट्युव च्यानलमा राखिएको रामायण गायनको प्रस्तुति ४५ लाख दर्शकले हेर्नुले पनि यो कृतिको लोकप्रियताको अनुमान गर्न सकिन्छ ।
भानुभक्तप्रति असहमत हुने र उनको शालिक फुटाउनेहरूले पनि के सम्झनुपर्छ भने असहमत हुन पाइन्छ । तर नेपाली भाषाका आदिकविको शालिक फुटाउनेतिर लाग्ने हैन, बरु आफ्नो भाषाका आदिकविको पनि शालिक राख्नतिर पहल गर्नुपर्छ । नेपालका सबै भाषा हामी सबै नेपालीका अमूल्य सम्पदा हुन् र सर्जक अमूल्य निधि हुन् भन्ने हामीले बुझ्न ढिला गर्नुहुन्न । साहित्य र साहित्यिक प्रतिभालाई कुनै भाषा, जात, धर्म र सीमाको दायराले बाँध्न सक्दैन र उनीहरू सबैका साझा हुन्छन् ।
(डा. लुइँटेल त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका उप-प्राध्यापक हुनुहुन्छ ।)