‘बुद्धिविनोद’ को अर्को उत्तर ‘मतिविनोद’

“तँलाइ मालुम् छ कि यो कुरा मन ?” (कतै भन र कतै पूर्णविराम पनि दिएको पनि पाइन्छ ।) नेपाली कवितालाई आधुनिककालमा अवतरणगराउने ख्यातानाम कवि लेखनाथ पौड्यालको दार्शनिकताले भरिएको कवितांश हो यो ।

मेरा हजुबुवा, बुबा, म अनि केही हदसम्म मेरा छोराछोरी पुस्ताका प्रायः सबै नेपालीले यो कविता सुनेका छन् भन्न सकिन्छ । यद्यपि यीमध्येकेही नेपालीलाई मात्र यसको पहिलो श्लोक सम्झना होला; भइहाले पनि पहिलो हरफमा रहेको ‘कहाँ थियो वास अघि म को थिएँ’ सम्ममात्र ।

विक्रम संवत् १९७३ मा प्रकाशित ‘बुद्धिविनोद’ नामक कृतिको यो अंश मैले बालककालदेखि नै सुन्दै आएको हुँ । अक्षर पढ्न सक्ने हुँदा मैलेघरमा ‘बुद्धिविनोद–प्रश्नोत्तर’ शीर्षकको पुस्तक देखेको हुँ । त्यसका लेखकमा डा. पिनाकीप्रसाद आचार्य लेखिएको थियो । त्यससँगै लेखनाथपौड्यालको नाम पनि कतै समावेश गरिएको थियो ।

हाम्रा घरमा त्यो पुस्तक सम्भवतः मेरा बुवाले नै ल्याउनु भएको हुनुपर्छ । किनभने डा. पिनाकीप्रसादको बसोवास विराटनगरमा थियो । उहाँको रहाम्रो जग्गाजमिन चाहिँ पहिलेको मोरङ र पछि सुनसरी जिल्लामा पर्ने ठाउँमा करिब करिब सँगै थियो । त्यसैगरी, मोरङ र सुनसरीका पहाडियाब्राह्मण, क्षेत्री समुदायका प्रायः सबै मानिसबीच चिनजान हुने अवस्था थियो । भेटघाट पनि हुनेगर्थ्यो । यिनै क्रममा भेट हुँदा त्यो पुस्तक बुबाकोहातपरेको हुनुपर्छ ।

आमाको आदेशमा त्यतिबेला कहिले काहीँ लय हालेर पढेँ पनि । त्यसमा रहेका विषयवस्तुबारे जान्ने क्षमता ममा कहाँ थियो र ? विद्यालय,क्याम्पस पढ्दा त्यससम्बन्धी सामान्य चर्चा सुन्न पइन्थ्यो; अरूले गरेका । नेपाली विषयमा स्नातकोत्तर गर्दा पनि पौड्यालको ‘बुद्धिविनोद’ सँगभेट हुन पाएन ।

यतिबेला मेरो प्रवासको जीवन चलिरहेको छ । अस्ट्रेलियाको सिडनीमा छु । यस सहरको ब्ल्याकटाउन काउन्टीको स्कोफिल्ड्स भन्ने ठाउँमावास छ । यहाँ नजिकै ग्लोरी नामक पार्क छ । पार्कवरपर धेरै नेपालीको बसोवास छ । तीमध्ये अधिकांशका अभिभावक छोटो समयका लागिआउने गर्नुहुन्छ । त्यसरी आउने अभिभावकको भेला हुने ठाउँ भएको छ- ग्लोरी पार्क ।

विभिन्न क्षेत्रका अनुभव बोकेका अभिभावकसँग भेट हुन्छ । विभिन्न विषयमा कुराकानी हुन्छन् । समय कटाउन सजिलो हुनेगरेको छ ।केहीमात्रामा गाउँठाउँको न्यास्रो मेटिन्छ । अनुभव एवं जानकारीहरू आदान प्रदान हुन्छन् । नजानेका, नसुनेका कुराहरू जान्न, सुन्न पाइन्छन् ।एक किसिमले यो पार्क ‘ज्ञानशाला’ को रूपमा परिणत भएको छ ।

यसैक्रममा प्राध्यापक शिवहरि मरहट्टासँग भेट भयो । उहाँ पनि अभिभावकका रूपमा आउनुभएको रहेछ । पूर्वीय दर्शनका ज्ञाता उहाँ महेन्द्रसंस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति हुनुहुन्छ । उहाँसँगको भेटले मलाई त्यही बाल्यकालमा पुर्यायो । यसका लागि कारण बन्यो– मतिविनोद ।

म पनि संस्कृतकै विद्यार्थी भएकाले उहाँबाट विशेष आत्मीयता पाएँ । यसक्रममा उहाँले मलाई ‘मतिविनोद’ शीर्षकको आफ्नो कृति पढ्नदिनुभयो । ‘यसबारे प्रतिक्रिया पाऊँ है !’ पनि भन्नुभयो । उहाँको यो कृति पनि ‘बुद्धिविनोद’ कै शैली एवं छन्दमा रहेछ । यी दुवै कृति पूर्वीयदर्शनका दुई भिन्न मान्यतामा आधारित रहेछन् । यद्यपि, दर्शनप्रति रुचि हुँदाहुँदै पनि मेरो क्षमताले नभ्याउने विषय हो यो । त्यसैले मैले दिनेप्रतिक्रिया ज्यादै निम्छरो हुन्छ भन्ने मलाई थाहा छ ।

‘कविशिरोमणि लेखनाथ पौड्यालको बुद्धिविनोद काव्यको उत्तरावली’ उपशीर्षकको यो पद्यात्मक कृति न्यायवैशेषिक दार्शनिक मतका आधारमालेखिएको छ । पूर्वीय दर्शनमा पहिलो पल्ट ‘अणु’ को अस्तित्वका बारेमा उल्लेख भएको दर्शन हो- न्यायवैशेषिक । ब्रह्माण्डको निर्माण अणुबाटभएको हो भन्ने मत यस दर्शनले प्रस्तुत गरेको छ । यस अर्थमा अहिलेको विज्ञानले भन्ने गरेका कुरा न्यायवैशेषिक दर्शनका प्रतिपादक महर्षिकणादले धेरै अगाडि नै भनिसक्नुभएको रहेछ भन्न सकिन्छ ।

कविशिरोमणि पौड्याल वेदान्त दर्शनको प्रभावमा पाइनु हुन्छ । उहाँका प्रश्न पनि वेदान्त दर्शनकै आधारमा हुनुपर्छ भन्ने मेरो अनुमान छ । अतःवेदान्त मतका प्रश्नका उत्तर न्यायवैशेषिक दर्शनका ज्ञाता प्रा. मरहट्टाले न्यायवैशेषिक मतकै आधारमा दिनुभएको हुनुपर्छ भन्ने मलाई लाग्छ ।कतिपय श्लोकमा त्यसको उल्लेख पाइन्छ पनि ।

मतिविनोद कृति पढेपछि कविशिरोमणिको ‘बुद्धिविनोद’ सँग सम्बन्धित अन्य कुरा पनि जान्न पाइयो । बुद्धिविनोदका प्रश्नमा धेरै स्वनामधन्यसाहित्यानुरागीले उत्तर दिने यत्न गर्नुभएको रहेछ; डा. पिनाकीप्रसाद आचार्यमात्र कहाँ हुनुहुँदो रहेछ ? यसरी उत्तर दिनेमा नयराज पन्त, राजेश्वरदेवकोटा, आज्ञादास, श्रीभद्र शर्मा, कोमलदत्त तिवारी जस्ता सुप्रसिद्ध विद्वान्हरू पनि हुनुहुँदो रहेछ ।

‘मतिविनोद’ पुस्तकको सुरुमा समर्पण रहेको छ । त्यसमा पद्य (छन्द) मै भनिएको छ–

‘त्यो गोरखा उत्तरतर्फ सुन्दर

भच्चेकको उच्च पहाडमुन्तिर ।

जो जन्मिए ख्यात दुवाडिवंशमा

चिन्छन् सबै ‘ब्राह्मण’ नामले यहाँ ।।’

यसमा उल्लिखित ‘ब्राह्मण’ शब्दले नेपालका सुप्रशिद्ध महाविद्वान् पूर्णप्रसाद ‘ब्राह्मण’ लाई जनाइएको हुनुपर्छ । कृतिकार उहाँलाई कति सम्मानगर्नुहुँदो रहेछ भन्ने यसबाट थाहा हुन्छ ।

यो कृति ज्यादै छोटो छ । यसका मूल विषय जम्मा ३३ वटा पेजमा छन् । तिनमा पनि आधा त (देब्रेतिरका पेजमा) ‘बुद्धिविनोद’ का मूल अंशछन् । त्यसकै सोझो पर्ने गरी दाहिनेतिरका पेजमा प्रा. मरहट्टाको  ‘मतिविनोद’ का उत्तर छन् ।

बुद्धिविनोदका ६७ वटा श्लोकमा रहेका प्रश्नको त्यति नै सङ्ख्याका श्लोकमा उत्तर दिइएको छ । यसबारे उहाँले ‘आफ्नो भनाइ’ मा लेख्नुभएकोछ– ‘छन्दको मर्यादामा ध्यान दिंदै समच्छन्द र समश्लोकमा उत्तर दिन खोज्दा कतिपय बताउनै पर्ने कुरा पनि अटाउन सकिएको छैन । २/२श्लोकका उत्तर दिऊँ कि भन्ने पनि लाग्यो । तर… ।’

यस कृतिमा नेपालका विशिष्ठ तीन जना विद्वानका मन्तव्य रहेका छन् । वरिष्ठ साहित्यकार, राजनीतिज्ञ, जयतु संस्कृतम् आन्दोलनका योद्धाराजेश्वर देवकोटाको मन्तव्य यसमा छ । उहाँले ‘शिवहरिजीको कृति बढी मौलिक हुन गएको छ, कम कविजी (लेखनाथ पौड्याललाई सङ्केतगर्दै) को उत्तर’ भन्नुभएको छ ।

प्राध्यापक रामेश्वर शर्मा पोखरेल कृतिकारका गुरु हुनुहुँदो रहेछ । न्यायवैशेषिक शास्त्रका विशिष्ठ विद्वान् प्रा. शर्मा पोखरेलले प्रा. मरहट्टालाई‘मेरा अत्यन्त स्नेहभाजन शिष्य’ ले सम्बोधन गर्नुभएको छ । ‘मतिविनोद’ र यसको दार्शनिक पक्ष’ शीर्षकको मन्तव्यमा ‘मतिविनोद’ मा रहेकादार्शनिक पक्षको रौंचिरा गरिएको छ ।

प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको मन्तव्यले कृतिको ओज बढाएको छ । उहाँ नेपाली भाषा साहित्यका क्षेत्रमा ‘महागुरु’ नै हुनुहुन्छ भन्नेलाग्छ मलाई । ‘मन्तव्य’ शीर्षकमा उहाँले कृतिको समालोचना गरिदिनु भएको छ । उहाँले ‘लेखनाथ पौड्यालको कवित्वको विश्लेषण रमूल्याङ्न’ शीर्षकमा विद्यावारिधि गर्नुभएको छ । लेखनाथसँग सम्बन्धित यस कृतिको प्रा. डा. त्रिपाठीको यो समालोचना आधिकारिकसँगैसान्दर्भिक पनि छ ।

वंशस्थ छन्दमा लेखिएको ‘बुद्धिविनोद’ को उत्तरावली ‘मतिविनोद’ नेपाली साहित्य भण्डारमा मूल्यवान् बनेर रहेको देख्छु । शास्त्रीय छन्दमा लेख्नरुचाउनु हुने प्रा. शिवहरि मरहट्टा गुरुबाट निरन्तर यस्ता कृतिहरूको अपेक्षा गर्दछु । विविध विषयमा गहन साधनासाथ कृतिहरू आऊन् । यसरीआउने कृतिबाट नेपालीभाषी सात्यानुरागी कृतकृत्य हुनेछन् ।

असार २०, २०८१

ब्ल्याकटाउन, स्कोपिल्ड्स, सिडनी, अस्ट्रेलिया

Facebook Comments
Dhatri
Comments (0)
Add Comment