विभागीय प्रमुख डा. कुन्दन अर्याललाई बधाइसहित केही अपेक्षाहरू

व्यावसायिक र प्राज्ञिक पत्रकारिताका अग्रज त्रिविविका सहप्राध्यापक डा. कुन्दन अर्याल पत्रकारिता तथा आमसञ्चार विभाग (त्रिविवि) को विभागीय प्रमुख नियुक्त हुनुभएकोमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

खासमा यो महत्वपूर्ण घडिको प्रतिक्षा चार वर्षअघि नै थियो तर विविध कारणले यो सम्भव भएन । आज यी शुभकामना र बधाइका सन्देशहरूसँग मजस्ता धेरै प्राध्यापक, विद्यार्थी एवम् सरोकारवालाहरूका अपेक्षाहरू पनि जोडिएका छन्, जुन यसअघि बेकारको कुरा थियो । अझ, सुधारको अपेक्षा गर्नेलाई थप कारबाही हुने सम्भावना थियो ।

यहाँको अबको भूमिका पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागका लागि मात्रै नभई त्रिविवि अन्तर्गतको समग्र पत्रकारिता शिक्षाका लागि कोशेढुंगा साबित हुन सकोस् भन्ने मूल अपेक्षा छ । यहाँ केही थप अपेक्षाहरू छन् :

१) हिजोका दिनसम्म त्रिविवि पत्रकारिता विभागमा पढ्ने पत्रकारिताका विद्यार्थीहरू (शिक्षकले समेत) ले निकै गहिरो शैक्षिक अन्यायको अनुभव गरेका थिए— मनलाग्दी नम्बर दिने, कुनै विद्यार्थीको अंक घटाइदिने वा कसैलाई व्यक्तिगत मोलाहिजामा बढी नम्बर दिने । पत्रकारिताको पठनपाठनमा विद्यार्थीलाई प्रश्न गर्न सिकाउनु पहिलो दायित्य हो तर हिजो प्रश्न गर्नेहरूलाई “पख्लास्, तँलाई देखाइदिन्छु” शैलीमा प्रतिशोध साँध्ने, विद्यार्थीमाथि व्यक्तिगत पूर्वाग्रह राख्ने आदि इत्यादि कुकर्महरू भए । खासमा त्यो शैक्षिक अन्याय मात्रै थिएन, जघन्य शैक्षिक अपराध थियो । अब त्यस्तो नहोस् भन्ने अपेक्षा छ । सबै तहका विद्यार्थीहरूले हिजोका अप्राज्ञिक, अपारदर्शी र पूर्वाग्रहपूर्ण अवस्थाबाट उन्मुक्त भएको अनुभव गरून् ।

२) नेपालमा नेपालकै लागि तयार गरिएको पत्रकारिताको जनशक्तिलाई अंग्रेजी भाषा जबर्जस्ति लाद्नु गलत हो । हिजो परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोध्ने चलन थियो । विद्यार्थीहरूलाई थेसिस अंग्रेजीमा लेख्नै पर्ने बाध्यता थोपरिएको थियो । परीक्षाको प्रश्नपत्रलाई नेपाली भाषामा समेत सोध्नै पर्ने भनी अदालती निर्णय भइसकेकाले त्यसको पूर्ण कार्यान्वयन होला नै । नेपालको संविधानले सम्पर्क भाषा मानेको नेपालीमा थेसिस लेख्न नपाउने वा निरुत्साहन गर्ने परम्पराको तत्कालै अन्त्य होस् ।

३) समाचारकक्षलाई अध्ययन कक्षासँग जोड्ने बहस चलिरहेको छ तर कार्यान्वयन भइरहेको छैन । तपाइँसँग व्यावसायिक पत्रकारिताको लामो अनुभवका साथै प्राध्यापनको पनि उत्तिकै गहिरो सम्बन्ध छ । अब न्युजरूमलाई क्लासरूमसँग जोड्न सैद्धान्तिक पठन पद्धतिलाई व्यावहारिक बनाउन ठोस पहल होस् । यसका लागि सार्वजनिक वा निजी सञ्चारसँस्थाहरूसँग औपचारिक सम्बन्ध कायम गरेरै अगाडि बढ्न सकिन्छ ।

४) पत्रकारिता हरेक क्षण अध्यावधिक भइहनु पर्ने विषय हो । अहिले धेरैजसो त्रिविवि पाठ्यक्रम समसामयिक अध्ययनभन्दा इतिहासको गुणगानमा बढी केन्द्रित छ । हाम्रो शिक्षा पद्धति पश्चगामी होइन, भविष्योन्मूख हुनुपर्छ । तसर्थ, समालोचनात्मक र भोलिलाई दृष्टिगत गर्ने गरी सकेसम्म हरेक वर्ष पाठ्यक्रम परिमार्जन गर्ने परिपाटी बसाल्न यहाँको नेतृत्वमा ठोस पहल होस् ।

५) अहिले पत्रकारिताका उच्चशिक्षार्थीहरूले समेत उच्च गतिको इन्टरनेटको सुविधा नपाउने, विभागमा रिसर्चका लागि भौतिक र भर्चुअल सुविधा नहुने, गहिरो अध्ययन गर्नका लागि सुविधासम्पन्न पुस्तकालय र पढ्ने स्थानहरूको खाँचो छ । अर्थात् भौतिकरूपमा भवनको निर्माण भयो, तर त्यसलाई सुविधासम्पन्न र विद्यार्थी मैत्री बनाउन जरुरी छ । नेपालकै सबैभन्दा स्रोतसाधनसम्पन्न आमसञ्चार र पत्रकारिताको पुस्तकालय बनाउने र हरकोही विद्यार्थीले सहज ढंगले प्रयोग गर्न सक्ने बातावरण सिर्जना होस् ।

६) एमए, एमफिल र पिएचडीका विद्यार्थीहरूले समेत अध्ययन पूरा गर्न गर्नै पर्ने थेसिस बाहेक अन्य रिसर्च गर्न प्रयास गरेको देखिँदैन । साथै, भएका थेसिसलाई समेत आवश्यक सम्पादन गरेर ख्यातिप्राप्त पिअर–रिभ्युड जर्नलहरूमा प्रकाशन गर्न जमर्को गरेको देखिँदैन । उप्रान्त सम्बन्धित थेसिस सुपरभाइजरकै अग्रसरतामा विद्यार्थीका थेसिसलाई जर्नन आर्टिकल वा बुक च्याप्टरमा रूपान्तरण गर्न आवश्यक पहल होस् ।

७) यस विभागका विद्यार्थी एवम् प्राध्यापकहरूलाई समेत विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनहरूमा आफ्ना शोधकार्यहरूको प्रस्तुति गर्ने कामलाई प्रेरित गरियोस् । उनीहरूलाई उत्प्रेरित गर्न प्रयोगात्मक नम्बर दिने, ग्रेड वृद्धि गर्ने र पारदर्शी प्रकृयाबाट छनौट भई उत्कृष्ट भएकालाई शोधवृत्ति उपलब्ध आवश्यक पहल होस् ।

८) विभिन्न विश्वविद्यालय, सरकारी निकाय एवम् कर्पोरेट हाउसहरूसँग आवश्यक समन्वय गरी (आवश्यक परे एमओयु समेत गरेर) विद्यार्थीहरूलाई पूर्णकालीन वा आंशिक छात्रवृत्रि उपलब्ध गराउने, समयमै अध्ययन पूरा गर्ने विद्यार्थीलाई विभाग वा डिन कार्यालयबाट सम्मानित गर्ने, विद्यार्थीलाई छोटो वा मध्यम अवधिकालागि अध्ययन भ्रमणमा पठाउने र अन्तराष्ट्रिय जर्नलहरूमा शोधलेख प्रकाशन गर्न आवश्यक मार्गनिर्देश गर्ने कामलाई अघि बढाइयोस् ।

९) हिजो विभागीय पूर्वाग्रहका कारणले आफ्नो अध्ययन पूरा गर्न नसकेका विद्यार्थीहरूलाई आमन्त्रण गरी एक पटकका लागि अध्ययन पूरा गर्ने विशेष मौका प्रदान गरियोस् ।

१०) त्रिविवि अन्तर्गत पाठ्यक्रम बनाउने, पढाउने, प्रश्नपत्र तयार पार्ने र उत्तरपुस्तिका जाँच गर्ने भूमिकामा चार फरकफरक व्यक्तिहरू हुन्छन् । उनीहरूको बुझाइको फरकले गर्दा सबैभन्दा मारमा पर्छन् विद्यार्थी । यसलाई निराकरण गर्न हरेक वर्ष सम्बन्धित शिक्षकहरूको सहभागितामा पाठ्यक्रम अध्यावधिक गर्ने, ग्रिडमा आधारित भएर प्रश्न शोध्ने, रचनात्मक उत्तरलाई विनापूर्वाग्रह नम्बर दिने परिपाटी बसाल्न जरुरी छ ।

एउटा व्यक्ति एक्लैको पहलमा चार वर्षभित्र यी सबै कुरा पूरा भइहाल्छन् भन्ने मलाई विश्वास छैन । तर, यी परिपाटीका लागि गतिलो थिति बसाल्न अवश्य सकिन्छ । यसका लागि कसैलाई काखा वा पाखा नगरिकन सामूहिक प्रयत्न गरियो भने यो सम्भव छ । सबैसँग सौहाद्र्धपूर्ण सम्बन्ध राखेर, हातेमालो गरेर अघि बढ्नुहोला । मेरो शुभकामना छ । मैले सक्ने सहयोग गर्न म सधैं तत्परै छु । यहाँको जय होस् ।

Facebook Comments
Bhanubhakta
Comments (0)
Add Comment