कान्तिपुरमा भएका नहुनु पर्ने घटनाहरू!

काठमाडौं उपत्यकामा उत्पात जाडो थियो । त्यसमाथि अजयभद्र खनाल र म रिपोर्टिङको लागि काभ्रे जिल्लाको सदरमुकाम धुलिखेल जानू पर्नेभयो । त्यसै पनि काठमाडौं भन्दा धुलिखेल जाडो ठाउँ । जानुपर्ने विषय थियोे “धुलिखेल कारागारका कैदी-बन्दीलाई ओड्ने ओछ्याउने नदिइ राखिएको छ” । हामी दुईजना अजयजीकै मोटरसाइकलमा जाने निधो भयो । हामी अलि ढिलै कारागार परिसरमा पुगेका थियौं । धुलिखेलको चिसो सिरेटोले हामीलाई हरबर खेलाउदै थियो । त्यसताका त्यहाँ  पुलिसको जिल्ला हाकिम हुनुहुन्थ्यो अर्जुनजंग शाही ।  प्रशासनले काभ्रे जिल्लाको पुलिस हाकिमलाई नसोधी हामीलाई जेलको रिपोर्टिङ गर्न नदिने भए । एकछिनको प्रतीक्षा पछि हाकिम साब आइपुग्नु भयो ।

अर्जुनजंग शाही फिल्मको हिरो पनि हुनुहुन्थ्यो । सायद त्यस ताकाको जल्दोबल्दो पत्रिकाबाट आएका पत्रकार भएकाले होला उहाँ आफू हिरो भएको फिल्मको प्रसंसामा कान्तिपुरले रिपोर्टिङ गरिदियोस् भन्ने चाहनु हुन्थ्यो । हामीले उहाँको कार्यकक्षमा लामै कुरा-कानी गरेपछि अर्जुनले जेलमा रहेका पागल बन्दीहरूको समाचार संकलन गर्न सहयोग गर्नु भयो । मानसिक सन्तुलन गुमाएका तर अपराध कर्ममा सरिक नभएका १५/१६ जना बन्दीहरू थिए । अर्जुनजंग शाहीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा खुलेर कुराकानी गर्नु भयो । उहाँ बारम्बार भन्दै हुनुहुन्थ्यो – मेरो नाम नआओस् है भनेर । हामीले पनि “तपाईंको नाम आउदैन” भनेर विश्वास दिलायौ ।

अनौठोसँग घटनाको उत्पत्ति भयो

२०५१ सालको हिउँद थियो । चिसो सिरेटो र तुसारोको कारण हाम्रो मुटु काम्न थालिसकेको थियो । कुराकानी सकिएपछि पत्रकार मित्र अजयले आफ्नो क्यामरा समालेर जेलको फोटो लिन थाल्नु भयो । म भने कर्मचारीहरूको भनाइ टिपोट गर्न थाले । तर, जेल प्रशासनले अजयजीलाई फोटो नखिच्न अनुरोध गर्यो ।तथापि अजयले २/४ पिस फोट खिच्न भ्याउनु भयो । रिपोर्टिङ सकेपछि अर्जुनजीसँग विदा मागेर हामी काठमाडौंतिर लाग्यौं । चिसो मौसम, शरीर कठाङग्रिदै गएको अवस्था, साँझको वातावरण अनि मोटरसाइकलको यात्रा ! हाम्रो बिजोग भई सकेको थियोे । अलि तल चोकमा आएपछि अजयजीले “लु खाजासाजा खाएर जाउ, नत्र पुगिदैन” भन्नु भयो । मैले हुन्छ खाजा खाएर जाउ भनेपछि हामी एउटा सानो नास्ता पसलतिर प्रवेश गर्यौ ।

झ्याप्पै रात पर्यो । केही खाइ सकेपछि मैले एउटा ऊनीको टोपी किनेर लगाए । चिसो शरीर बोकेर जसोतसो हामी काठमाडौं कार्यालय आइ पुग्यो। अजयजीले काठमाडौं पोष्टको लागि र मैले कान्तिपुरको लागि समाचार लेख्यौ । समाचार तयार गर्ने क्रममा अर्जुनजंग शाहीलाई “कोट” नगरी समाचार लेख्दा अपुरो हुने ठानेर अर्जुनजीको नाम राख्नै पर्ने भयो र राख्यौं । त्यो दिनको हाम्रो काम सकियो ।  हामीले सोचेका थियौं यो समाचारले जेलमा भएका मानसिक सन्तुन गुमाएका र अन्य कैदी बन्दीले न्यानो कपडा पनउने वातावरण बन्छ भनेर । तर, समाचारको प्रभाव भने भिन्न प्रकारको पर्यो ।

हामीले समाचार प्राप्त गर्न र विस्वासीलो बनाउन “अफ द रेकर्ड” भनेर गरिएको कुराकानीलाई व्यक्तिको नामै कोट गर्नु गल्ती थियो । तर, समाचार भने सत्य थियो र पाठकको हकमा हामीले न्याय गरेको ठानेका थियौं । समाचार छापिएको दिन काभ्रेपलान्चोक जिल्लाका प्रहरी प्रमुख अर्जुनजंग शाही कान्तिपुर कार्यालय आएर हामीसँग रिसाउनु, गुनासो गर्नु र “पत्रकारको विस्वास गर्दिन” भन्नू स्वभाविकै थियोे । उहाँ आएर चर्काचर्की गरेर जानुभयो ।

हामी काभ्रेबाट फर्किएको पर्सिपल्ट भने नसोचेको कुरा भयो । भयो के भने धुलिखेल कारागारमा रहेका मानसिक सन्तुलन गुमाएका निर्दोषnबन्दीहरूलाई कान्तिपुरको मूल गेटमा ल्याएर छाडी दिनु भएछ । अर्जुनजी आफू आउनु भएन । पुलिस भ्यानमा ल्याएर नाङ्गेभुतुङ्गे व्यक्तिहरूको जमात छाडेपछि त्यहाँको वातावरण नै अर्को बन्न पुग्यो । तर, अर्जुनजीले मानवीय संवेदनालाई बुझेर नै होला जेलबाट छाडिएका व्यक्तिका आफन्तहरू बोलाइ दिनु भएको रहेछ । फकाएर लान सक्नेहरूलाई आफन्तहरूले लगे । आफन्त नआएका र लान नसकिएकाहरूको हकमा भनेपुनः मुसिको भव हुनु स्वभाविकै थियो । यो समाचारले हामीलाई भिन्न प्रकारको पाठ सिकायो ।

एकै खुराकमा चट्

२०५१ सालकै अर्को घटना । कान्तिपुरमा छापिएका  केही समाचारले थुप्रैलाई दुख दिएको छ । त्यसै ताकाको कुरा हो पूर्व धनकुटाबाट “एकै खुराकमा चट्”  भन्ने हेडलाईनराखेर एउटा समाचार आयो । समाचारको पेट बोलीमा एकजना व्यक्तिले एकछिन झारफूक गरे जस्तो गरेर दिएको एक चिम्टी ओेखतीले छारे रोग चट्टै निको भएको वर्णन थियोे । धनकुटा ठाडो लाईनको एउटा घरमा बसेर जनताको उपचारमा दत्तचित्त भएर लागेका व्यक्तिले उपचार गरेपछि चट्टै निको भएका व्यक्तिहरूले दिएका प्रतिक्रियाहरू पनि थिए । त्यसताका जिल्ला रिपोर्टरलाई तलब दिने चलन थिएन र स्थायी पनि भएका थिएनन् ।समाचार छापिएका आधारमा त्यो पनि नापजाँच गरेर पारिश्रमिक दिने चलन थियोे । यही कारणले गर्दा जिल्ला संवाददाता सत्य होस् कि असत्य थुप्रै समाचार पठाउँथे ।

यही कारणले जिल्ला रिपोर्टरहरू आफूले पठाएका समाचारहरू बढी भन्दा बढी छापिउन भन्ने चाहन्थे । सायद त्यसबेलासम्म  कान्तिपुरको रिपोर्टर धनकुटामा थिएनन् । त्यो समाचार पनि विराटनगरका रिपोर्टरले पठाउनु भएको थियोे । समाचारका बारेमा सम्पादक योगेश उपाध्यायसँग छलफल गरेँ । जो रिपोर्टरले पठाएको समाचार हो त्यो रिपोर्टरप्रति के कारणले हो हाम्रो सम्पादक सर बढी नै अनुगृहित हुनुहुन्थ्यो । समाचार नछापिने कुरै थिएन । बाकाइदा छापियो । फेरि पनि म तपाईं पाठकहरूलाई भन्छु जिल्ला रिपोर्टरको अविस्वास गर्ने हो भने पत्रिका चल्ने थिएन । र, त्यसताका फोनको सुविधा पनि थिएन ।

समाचार छापिएकै दिन बिहानैदेखि कान्तिपुरको कार्यालयमा अपरिचित व्यक्तिहरू आउन थालेछन् । १०/११ बजे हामी पुग्दा ती अपरिचित व्यक्तिहरू “एकै खुराकमा चट्” भन्ने समाचार देखाउदै त्यो उपचार गर्ने व्यक्तिको नाम र ठेगाना माग्न थाले । ती व्यक्तिहरूको परिवारमा छारे रोगका बिरामी भएकाले उनीहरू आशा लिएर आएका थिए । हामीले “रिपोर्टरसँग ठेगाना मागेर उपलब्ध गराउछौं” भनेपछि उनीहरू गए । अब रिपोर्टरसँग मैले सम्पर्क गरेर त्यो “चट्टै पार्ने” व्यक्तिको नाम ठेगाना पत्ता लगाउनु पर्ने जिम्मा पाए । त्यो दिन रिपोर्टरले दिएको ल्याण्डलाईन फोन उठाउने व्यक्तिले “उहाँ आएपछि सम्पर्क गर्न लगाउछु” भन्नू बाहेक अरु केही भन्न सक्नु भएन । भोलिपल्ट पनि मानिसहरू त्यसरी नै आए र हाम्रो हिजोकै जस्तो बनिबनाउ जवाफ सुनेर फर्किए । त्यो दिन पनि “एकै खुराकमा चट्” भनेर लेख्ने पत्रकारलाई सम्पर्क गर्ने प्रयत्न गर्दागर्दै मेरो  दिनबित्यो ।

मलाई केही भनिएन तर सम्पादक योगेश उपाध्यायलाई भने रिपोर्टरले सम्पर्क गरिसकेछन् । म भने रिसले आगो उकेल्ने अवस्थामा पुगी सकेको थिएँ। समाचार सोह्रैआना काल्पनिक, झुठको पुलिन्दा थियोे । यो दिन साँझपख रिपोर्टरले मसँग सम्पर्क गरेर “एउटा फटाहाले समाचार सत्य हो भनेर सुनायो अनि लेखेको” भनेर बिन्ती बिसाए । त्यसको अर्को दिन मैले कान्तिपुरमै खण्डन निकाले । वास्तवमा त्यो समाचार छापिनुमा मेरो पनि कमीकमजोरी रह्यो । सम्पादक र ती रिपोर्टरका बारेमा मैले नवराज वाग्ले भाइबाट “कोसेलीपात” को कहानी सुनेको थिएँ । काल्पनिक समाचार लेख्नमा माहिर उहाँका बारेमा बिराटनगरका पत्रकार मित्रहरू अहिले पनि चर्चा परिचर्चा गर्नु हुन्छ ।

लाहुरे काण्ड

त्यसैताका कान्तिपुरको साप्ताहिकमा बेलायतमा रहेका लाहुरेका श्रीमतीहरूको बारेमा एउटा  समाचार छापियो । समाचार कान्तिपुरको भगिनी प्रकाशन साप्ताहिक पत्रिकामा छापिएको हुँदा हामी कान्तिपुरको डेस्कमा काम गर्नेलाई त्यो समाचारका बारेमा खासै थाहा भएन । जब भोलिपल्ट काठमाडौंमा रहेका लाहुरे र लाहुरेका श्रीमतीहरू कान्तिपुर कार्यालय घेराउ गर्न आए अनि हामी सबैलाई समाचारका बारेमा थाहा भयो । लाहुरे र लाहुरेका श्रीमतीहरूले “समाचारमा लेखिएको विषय आपत्तिजनक भएको” व्याख्या गर्नु भयो । वास्तवमा उहाँहरूले केही विषयमा आपत्ति मान्नु स्वभाविकै थियो ।

साप्ताहिकमा छापिएको त्यो समाचारले लाहुरेहरू दुख गरेर पैसा पठाउछन् लाहुरेका श्रीमती यहाँ मस्ती गर्छन भन्ने सन्देश दिएको थियो । अझ स्पष्ट शब्दमा भन्ने हो भने “लाहुरेहरू बेलायतमा दुख गरेर डलर पठाउने, श्रीमतीहरू यहाँ परपुरुषलाई पोस्ने” भन्ने खालको आसय समाचारमा थियो । त्यो दिन लाहुरेहरूलाई थामी नसक्नु भयो । लाहुरेका श्रीमतीहररूले “मार्छन कि” जत्तिकै पारे । कान्तिपुरमा भएका सबैलाई हाराबारा खेलाए । कतिपय पत्रकार र कर्मचारीको भागाभाग भयो । लाहुरे र उनीहरूका श्रीमतीहरूले २/४ दिन नै धम्कीपूर्ण भाषा प्रयोग गर्दै कान्तिपुरको कार्यलय घेराउ गरे । अन्तिममा खोई कसरी हो उनीहरू आउन छाडे ।

पत्रकारहरूले जानीजानी वा अन्जानमा लेखेका समाचारले कतिलाई रुवाएको छ भने कतिलालाई हंसाएको छ । यस्ता ससाना घटनाले कार्यालयबाट भाग्नु पर्नेसमेत बनाएको छ । अन्य विषयहरूमा थाहा पाए जति पछि लेख्दै जाने छु । अर्को लेख मार्फत भेट्ने नै छु । आजलाई यत्ति नै ।

Facebook Comments
Govinda
Comments (0)
Add Comment