गत शुक्रबार मैले यसै “परिसंवाद.कम” मा एउटा लेख लेखेको थिएँ, त्यसको शीर्षक थियोे “कान्तिपुरमा झुठो समाचारको थालनी किन र कहिले सुरु भयो ?” भन्ने । त्यो लेख पढी सकेपछि पत्रकारहरू बीच कौतुहल र चर्चा परिचर्चा राम्रै भए छ । एउटा कुरो म स्पष्ट पारौं – कान्तिपुर प्रति मेरो कुनै आग्रह-पूर्वाग्रह छैन । व्यक्तिगत रुपमा कोही कसैसँग गुनासो वा दुश्मनी पनि छैन । म आफैं राजिखुसीले राजिनामा दिएर त्यहाँबाट हिडेको हौ । राजिनामा दिएपछि विनोद ज्ञवालीले “राजिनामा फिर्ता लिनु होस्, तपाईंको तलब डबल गर्छौ, एक वर्षको अग्रिम तलब पनि दिन्छौं” भन्नुभयो । मैले मानिन । मैले कान्तिपुरमा नराम्रो भएर राजिनामा दिएको होइन । किन कि म निर्णायक पदमा पनि थिइन । म अहिले कान्तिपुरका बारेमा मात्र लेखिरहेको छैन । मैले भोगेका र नेपाली पत्रकारिता क्षेत्रमा लाग्दा आफूलाई खड्किएका सामान्य विषयमा मात्र लेख्ने सोच बनाएको छु ।
कान्तिपुर दैनिक पत्रिकाका बारेमा मलाई भन्दा त्यहाँ काम गरिसकेका अरु पत्रकारलाई नै बढी थाहा छ । मैले लेख्नु भन्दा उहाँहरूले नै लेख्न सक्नु हुन्छ । कान्तिपुरको नराम्रो पक्ष मात्र लेख्नु पर्छ भन्ने छदैछैन । अहिलेको व्यवस्था ल्याउन कान्तिपुरले खेलेको भूमिका सामान्य थिएन । त्यस बारेमा लेख्न सकिन्छ । बहुदलवादी र गणतन्त्रवादीहरूको पत्रिका भन्ने आरोप यसमाथि लगाइयो । “सातौं पार्टी” बनेको आरोप पनि यसले खेप्नुपरेको थियो । धेरैले यो पत्रिका पूर्णरूपमा बन्ध बनाउन नखोजेका होइनन् । कान्तिपुरले लगाएको गुन बिर्सिनसक्नुको छ । कमान सिंह लामा काण्ड र रस्सेन्द्र भट्टराई काण्डहरू कान्तिपुरले जानी- जानी योजना अन्तर्गत गल्ती नसच्याउने उदेश्य साथ गरेको काण्ड थियोे भने अनुजा बानियाँलगायतका काण्ड भने मानवीय त्रुटी थिए ।
कान्तिपुरको अघिल्लो कार्यकालका बारेमा मलाई भन्दा बढी तीर्थ कोइराला, जिवेन्द्र सिंखडा, अखिलेश उपाध्याय, प्रतीक प्रधान, रघु मैनाली, रवि अधिकारी, तारानाथ दाहाल, अजयभद्र खनाल, प्रतीक भण्डारी,कसमस विश्वकर्मा, रमेश केसी, नारायण वाग्ले, राजेश घिमिरे, श्याम घिमिरे, राजकुमार दिक्पाल, दिलभुषण पाठक, युवराज गौतम, प्रदीप मेयाङबो, हर्ष सुब्बा,मोहन बान्तवा, कमल पन्थी साथै शरद प्रधान, अतुल रेग्मीलगायत थुप्रै साथीहरूलाई थाहा छ । मलाई लाग्छ उल्लेखित नामहरू मध्ये पनि तीर्थ कोइराला, प्रतीक प्रधान र जिवेन्द्र सिंखडालाई बढी नै थाहा हुनुपर्छ । मेरो आग्रह के हो भने तपाईंहरूले नेपाली पत्रकारिता क्षेत्रमा भएका गल्ती कमजोरी साथै राम्रा असल कामका बारेमा लेखी दिनु होस् । बस यति भए भविष्यका लागि नेपाली पत्रकारिता क्षेत्रको सामान्य भए पनि इतिहास बन्ने छ ।
दोस्रो कालको बारेमा नारायण वाग्ले, युवराज घिमिरे, प्रतीक प्रधानलगायतलाई सारै राम्ररी थाहा छ । युवरा जी र प्रतीक जीले रस्सेन्द्र भट्टराई काण्ड आफैद्वारा आफ्नै लागि भोग्नु भएको काण्ड हो । २०६० साल कातिक २ गते काठमाडौं पोष्ट र कान्तिपुरमा छापिएको यो समाचार साँच्चै कपोलकल्पित र भ्रामक थियोे । प्रतीक प्रधानले वाइलाइन लेख्नु भएको यो समाचाले कतिपयको प्रतिष्ठा बढाउने काम गर्यो होला तर पत्रकारिता क्षेत्रको विश्वासनीयतामा भने आघात पुगेकै हो । अहिले पनि यो पंक्तिकारको मनमा खड्किने पक्ष भनेको प्रतीक प्रधान जस्तो असल पत्रकारले त्यो काल्पनिक समाचार वाइलाइन लेख्नु पर्ने कारण कसरी आइलाग्यो ! के मेनेजमेन्टको दबाब वा कुनै प्रलोभनकै कारणले हो भन्ने बाहेक पाठकले सोच्ने कुनै ठाउँ छ त !
त्यसताका चर्चा भए अनुसार युवराज घिमिरे जीले “यो समाचार काल्पनिक हो नछापौ” भन्नू भएको थियोे रे । उहाँले त्यसैताका राजिनामा पनि दिनु भयो । युवराज जीले “रस्सेन्द्र समाचार काण्ड” का बारेमा केही पत्रपत्रिकामा लेख्ने र टेलिभिजनमा बोल्ने काम पनि गर्नु भयो । तर, त्यो समाचार “छाप्नै पर्ने र नछापी नहुने, नछापे प्रलय हुने” जस्तो अवस्था केले ल्यायो ? यो प्रश्नको चित्त बुझ्दो उत्तर दिन सक्नु भयो जस्तो मलाई लाग्दैन र अहिले पनि त्यसको उत्तर गर्भमै छ । आज भोलि पनि धेरैले यसको उत्तर खोज्दैछन् । र, यश विषयमा जवाफ दिने काम वाइलाइन लेख्ने पत्रकार र छाप्ने सम्पादकले गरे सत्य कुरा बाहिर आउने थियो । यसका लागि यदि मनमा लोभ पाप छैन भने अब जिब्रो नचबाई बोल्नुपर्छ भन्ने दृढ इच्छाशक्ति उहाँहरूको मनमा हुनुपर्छ । नत्र त्यो सोह्रै आना झुठो समाचार लेख्नु र छाप्नुको कारण कसैलाई थाहा हुनेछैन ।
अनुजा बानियाँ समाचार काण्डका बारेमा भने मेरो फरक सोचाइ छ । त्यो असमाचार २०६८ साल बैशाख ७ गतेको कान्तिपुरमा छापिएको थियो । “धन्य अनुजा ! जसले भेट्टाएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्” शीर्षक भित्र समेटिएको समाचार पढन मजा आउने खालको थियोे । त्यसताका पत्रकार र पत्रिकाको समाचारलाई अत्यन्तै ठूलो जमातले दिलै देखि विश्वास र मनै देखि प्रसंसा गर्थ्यो । यही कारणले अनुजा बानियाँलाई फोन गरेर तत्कालीन राष्ट्रपति रामवरण यादवलेसमेत धन्यवाद भन्नू भएको थियो । (यो झुठो समाचारका बारेमा त्यसैबेला त्यही दिन हामी केही पत्रकारका बीच बानियाँ समाचार “सत्य कि झुठो” भन्ने बारेमा चर्काचर्की छलफल चलेको थियोे) । यश बारेमा पछि अर्को लेखमा लेख्ने छु ।
एका दुई घटना चाहिँ भन्नै पर्ने खालका छन् । जस्तो कि एक दिन कान्तिपुरमा अनौपचारिक बैठक बस्यो । हाम्रो छलफलको विषयवस्तु थियोे केही जिल्लाका सम्बादातालाई स्थाायी गर्ने । अहिले जस्तो ब्यूरो छुट्याउने चलन थिएन तर ब्यूरो प्रमुख तोकिएका हुन्थे । म त्यसबेला जिल्ला हेर्थे । तीर्थ कोइराला लेख रचना शाखा प्रमुख हुनुहुन्थ्यो । हामी हेमराज ज्ञवाली जीको कार्य कक्षमा भेला भएका थियौं । पहिला नै ज्ञवालीले तीर्थ जीतिर हेर्दै “तीर्थ जी फेरि आजदेखि रिपोर्टिङ चिफ नै बन्नु पर्ने भयो” भन्नू भयो । सायद कान्तिपुरमा गरिने शाखा परिवर्तनले तीर्थ जी आजित र पीडित बन्नु भएको थियोे । यही कारणले हुनुपर्छ ज्ञावाली जीको कुरा सकिदा नसकिदै तीर्थ जीले जुरुक्क उठेर जुम्ल्याहा हात गर्दै, सटारो हान्दै “हुन्छ ३/४ वर्षलाई अमेरिका सरुवा गर्नु हुन्छ भने पनि खुशी साथ जान्छु” भन्नू भयो ।
अहिले तीर्थ जीका बारेमा मैले बोल्नुको खास माने राख्दैन । किन भने उहाँ आफै मैले भन्दा राम्रो बोल्न लेख्न सक्नु हुन्छ । प्रसंग फेरि जोडौ तीर्थले त्यसो भन्दा ज्ञवाली जीलगायत केहीले अनुहार खुम्च्याउनु भयो भने केही हाँसे । अब पालो थियोे मैले ५/७ जना योग्य जिल्ला सम्बादाताको स्थायीको लागि नाम पेस गर्ने । “राम्रो भन्दा हाम्रो” खोजिन्छ भन्ने मलाई थाहा नभएको कारणले मैले सात जना योग्य सम्बादाताको नाम पेस गरे । मैले पेस गरेका मध्य दुईजनाको नाम हटाएर आफ्ना दुईजनाको नाम राख्न ज्ञवाली जीले भन्नू भयो । उहाँले “आफन्त त्यो पनि आफूले हेरविचार गर्नुपर्ने भएकोले नाम राख्न लागाएको” भनेर स्पष्ट पार्नु भयो ।
त्यसपछि सम्पादक योगेश उपाध्यायले “अझै मिलेन” भन्दै मेरो हातबाट लिस्ट तानेर दुईजनाको नाम काटेर कोसेलीपातवाला दुईजनाको नाम लेख्नु भयो । सम्पादकले लेख्नु भएको दुईजना मध्य एकजनाले त्यही बिहान आफ्नो नाम सम्पादकले जसरी पनि यिस्थायीमा राख्नु हुन्छ भनेर मलाई भन्दै थिए । त्यो तराईको तेल र चामलको करामत थियो भन्ने कुरा मैले उनै तेल चामल कोसेली ल्याउनेको साथीबाट थाहा पाएको थिए । उनी भन्दै थिए – फलानोले काम नगरी खान पाउने जागिर भेट्ने भयो भनेर । नभन्दै त्यस्तै भयो ।
अब अर्को प्रसंगतिर लागौ । यो बडो गजबको प्रसंग छ । जिवेन्द्र सिंखडा जीको राजिनामा काण्ड । राजिनामा दिने तरिका विभिन्न खालका हुदा रहेछन् । कसैको घरायसी कारणले, कसैको अपायक भएको कारणले, कसैको विषेश कामको कारणले । तर जिवेन्द्र जीको राजिनाको खास कारण भने थाहा भएन । उहाँले कागजको एउटा सानो चिर्कटोमा लेखेर कान्तिपुर कार्यालयको भित्तामा टाँसेर हिड्नु भएको “चिर्कटो” विषयले भने चर्चा पाएको थियोे ।
त्यस चिर्कटोमा जिवेन्द्रले “कान्तिपुर मेनेजमेन्टले मेरो आवश्यकता महसुुस गरेर बोलाउछ भने म आउछु नत्र …” भनेर लेख्नु भएको रहे छ । दिएको राजिनामा भन्दा भित्तामा टाँसिएको चिर्कटोले किन र कसरी चर्चित हुने मौका पायो त्यो भने जिवेन्द्र जीले नै भन्न सक्नु हुन्छ । किन भने उहाँ अहिले पनि पत्रकारिता क्षेत्रमै सकृय हुनुहुन्छ । यो पंक्तिकारले जिवेन्द्र जीसँग फोनमा बुझ्दा “आफ्नो विद्रोह मेनेजमेन्टसँग थियोे” भन्नू भयो । यो काण्डका बारेमा मैले जिवेन्द्र जीसँग थुप्रै प्रश्न गरे । मैले फोन गर्दा उहाँ कुनै गाउँमा दशैंको कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो जस्तो लाग्छ । किन भने फोनमा प्रष्ट कुरो बुझ्न सक्नु भएन । तर, उहाँले चिर्कटोमा लेखिएको केही कुरा भन्नू भयो । धेरै कुराहरू भने आफूले बिर्सिएकाले भन्न शक्तिन भन्नू भयो । आजलाई यति नै अरु पछिल्लो भेटमा ।