हाम्रो प्रचन्न काम्रेस जतिको सफल व्यक्ति मैले यो संसारमा अर्को देखिन । भाग्यमा भएपछि ढोक्सामा माछा नभरिने कुरै भएन । हेर्दाहेर्दै अरुकै वैशाखी टेकेर तेस्रोपटक प्रधानमन्त्री पड्काए । यसरी नै हाम्रो राष्ट्रिय दाजु भाउजू पनि भाग्यमानी रान । अनि हौ ! अर्को भाग्मानी र उहीँ जुनीमा लेखाएरै ल्याम्ने व्यक्ति चाहिँ पूर्वतिरका उद्धव थापा भन्ने मान्छे हुन है भिरघरे ! महिनैपिच्छे मुख्यमन्त्री भाकाछन् भाकाछन् गाँठे । तीन महिनामा चार -पाँचपटक त मुख्यमन्त्री कै सपथ लिन्छन् कि क्या हो । जनता र अदालतको मारो गोली, देउवासँग थाप्यो झोली, प्रचन्नसँग मिलायो बोली, रिसाइरहुन हिक्मत र ओली ।
अहिले हाम्रो प्रचन्न काम्रेस, नारन काम्रेस, माधप काम्रेस भर भ्रष्टाचार निर्मुल पार्न रातोदिन खटेका छन् । क्यान्टोनमेन्ट विभाग र खाओवादी बचाउ विभागको जिम्मा प्रचन्नको भागमा, काभ्रेतिरका वाम नेताको दुई करोड रुपैयाँ र घरपरिवार कब्जा साथै “२३ कुइन्टल सुन वसार, परसार र बेचेर पैसा ले” विभाग नारन काजीको भागमा र ललिता निवास जग्गा हिनामिनामा कडा कारवाही गर्ने विभागको जिम्मा माधप काम्रेसको भागमा परेको छ । यसरी उनार्ले मनमौजी र अघोषित रुपमा जिम्मा लिएका धोइपखाली गरेर मार्ग सफाइ गर्ने काम कम कठिनको छैन । हेर भिरघरे ! भन्नलाई सजिलो गर्नलाई गाह्राे भनेको काम जति सप्पै हाम्रो काम्रेसहर्को काँधमा छ । तिमार्को काङ्ग्रेस त खार बस्ने मात्रै हो ।
हो नि काका ! भुटानी, क्यान्टोनमेन्टको फुटानी, २३ क्वीन्टल सुनको लुटानी, काभ्रेका वाम नेताको उठानी र ललिताको ढाकछोपानी सप्पै तम्रा काम्रेसहर्ले पूरा गर्लान जस्तो छ । हाम्रा दाजु भाउजू भएसम्म तिमार्को चर्तीकला नेपाली जनताले हेर्नैपर्ने वाध्यता आइलाग्यो । यो त छदै छ अर्कोतिर सर्बोच्च अदालतले जनताको पक्षमा सांसद विकास कोष रोकी दियो । त्यस विषयमा अहिले रुवाबासी छ । अनि ! अदालतलाई सरापेर उछितो काढ्दै छन् ।
भिरघरेले केभन्यो भनौला सत्य कुरोगर्नु पर्छ । यी हाम्रा सांसदहरू “आफूलाई भए समर्थन, नभए विरोध” गर्छन् । सर्वोच्च अदालतले तत्कालीन अवस्थामा “श्री राष्ट्रपति जी , भोलि ५ बजे भित्र डडेल्धुराबाट विजयी सांसद श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु” भनेर फैसला गर्दा यिनलाई त्यो चाहिँ फैसला न्यायोचित भयो । यिनै सांसदले पाँच हात माथि उफ्रिएर त्यो फैसलाको समर्थन गरेका थिए । अहिले जनताले विरोध गरिरहेको त्यही खाइदेउ सांसद विकास कोष अदालतले रोकी दिदा भाउन्न भएको छ । त्यसबेला केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अदालत र राष्ट्रपति कार्यालयमा सनाखतका लागि लाइन लाग्नेहरूलाई सांसद विकास कोष रोक्ने फैसलाले न कोक्याउनु पर्ने हो ।
हेर भिरघरे ! तँ नेपाली काङ्ग्रेसको जिल्ला नेता भर पनि बेला बेला ओलीको समर्थन गर्न पुग्छस् । हामी माउवादीहर्लाई त्यस्तो कुरो रुचीकर लाग्दैन । हाम्रो सुप्रिमो, उच्च छलाङका जन्म दाता, दुश्मनको खप्परमा टेकेर गर्धनमा पड्काउने नीतिका आविष्कारक, विश्व सर्वआहारा वर्गका एकमात्र नेता, वर्तमानमा कमफर्टेवल सरखारका प्रधानमन्त्रीले ओलीलाई मुख्य दुश्मनको रुपमा राखेका छन् । हाम्रो नेताले बोलेपछि कार्यकर्तोहर्को लागि लालमोहर त्यही हो । तसर्थ देउवालाई प्रधानमन्त्री बनाउने फैसला हुदा असाध्यै खुशी भए पनि अहिलेको संसद विकास कोष रोक्ने फैसलाले मेरो आत्मा रुएको छ । मलाई “समिति बनाउनु, गाउँमा विकास गर्नुपर्छ । एक करोड दिम्ला, हिसाब मै मिलाउँला । तमिले पनि “माटी पटनी, चट्ट चटनी गर्नु” भनेर माननीयले फुन गरेका थिए ।
के गर्छस् भिरघरे भतिज ! मेरो ढोक्सोमा माछा परेन । यसपटक १ करोडमा २५ लाख जति मलाई, ५० जति माननीयलाई, उप्रेको मट्टी पटनी र अन्य खर्चमा चिरिप्पझ्याप पारिन्थ्यो । सर्वोच्चले गर्नुगर्यो ! अदालतलाई राजनीति फैसला गर्ने अधिकारै छैन । अब यहाँ बोलौ भने जनताको पक्षमा फैसला भएको छ, नबोलौ भने माननीय र हाम्रो भाग खोसिएको छ । माननीयहर्लाई अदालतले सानो तोड पारेन ! विचरा ! माननीयहरू अहिले रुएर बसेको छ । अलललिएर बोल्न पनि सकिरहेको छैन । सांसद कोषले नराम्रो चाहिँ गरेको थिएन ।
हेर, काका ! पहिला हाम्रो शेरबहादुर दाइलाई “प्रधानमन्त्री नियुक्त गरि अदालतलाई जानकारी दिनु” भन्ने फैसलाको विरोध गर्नेहर्ले अहिलेको फैसलाको पनि विरोध गर्न मिल्छ । तत्कालीन फैसलाको समर्थन गर्नेहर्ले अब अदालतले जस्तो फैसला गरे पनि समर्थन गर्नु बाहेक अन्य विकल्प छैन । त्यो चाहिँ फैसला राजनीतिक फैसला थियोे । यो चाहिँ फैसला राजनीतिक फैसला होइन । अदालतले दिनैपर्ने निर्णय दिएको छ । म त यसको खुलेर समर्थन गर्छु । म जहिले पनि सत्यको पक्षमा हुन्छु । म माउवादी जस्तो महाफट्याँईं बोल्न जान्दिन र व्यबहार पनि उल्टो गर्दिन ।
हाम्रो माउवादीले तेरो पिंडालु बारी फाँडेको छैन क्यारे । माउवादी नभेको भा यो देश धर्म निरपेक्ष पनि हुने थिएन, यो देशमा संघीयता पनि आम्ने थिएन । जनताले यस्तो भाँडी सुख सुविधा पनि पाउने थिएन । यस्तो सुशासन र उन्नत व्यवस्थापन प्रचन्न काम्रेस् बाहेक अरुले दिन पनि सक्ने थिएन । हो एकपटक भाटे कारवाही, तास कोच्याउने, रक्सी खानेलाई मर्माहत हुने गरि कार्वाही ठोक्ने, घर लुट्ने , मान्छे काटने मार्ने, गाउँलेहर्लाई लखेटेर गाउँभरिको श्रीसम्पति आफ्नो बनाम्ने र बैंक लुटेर नेताहर्ले पैसा थुपारेकै हुन । हामीले पनि त्यसैबेला कमाएकोले अहिले खादै छौ । अहिले हाम्रा सप्पै काम्रेसलाई ३/४ वटी श्रीमती चाहिने, रौसी नभै नहुने, तास- जुवा खेल्नै पर्ने, भ्रष्टाचार गर्नै पर्ने भा छ । नत्र सप्पै कुरोमा कमफर्टेवल सरखारले अति राम्रो गरेको छ ।
यो सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि हाम्रो प्रचन्न काम्रेसलाई नै बनाको भे हुने । यसले गर्दा हाम्रो मान्यहर्लाई सानो तोड परेन । हामीलाईसमेत त्यही सांसद विकास कोष रोक्ने फैसलाको कोर्रा लाग्न आइपुग्यो । माननीयहर्को चोखो कमाइको थैलोमा बमबाड भयो । अलिलि हैन त भिरघरे ! पाँच वर्ष लगातार ५ करोडका दरले, दुखै नगरी, बसी बसी आम्ने पैसो पानीको मुहान सुके जस्तै गरि सुक्यो । तँ त भन्लास् लुटी खान दिएन, राम्रो भयो भनेर । यसो कार्जेकर्ताको मुख बुझो लगाम्ने ठाम नै अदालतले राखिदिएन । सांसद विकास कोष रोकिदिएर अदालतले जनताको पक्षमा फैसला गरे पनि माननीयहर्को कोखामा लात्तले हान्यो ।
काका ! लुटेर खान पल्केहर्को कोखामा लात बज्रिनुलाई ठिक मान्नु पर्छ । तर, कतिपय सांसदहर्ले त्यही सांसद कोषबाट आवश्यकता अनुसार राम्रो काम पनि गरेका थिए । त्यहाँ भने फैसलाले राम्रो गरेन । तर, ९० प्रतिशत भने ठिक गरेको छ ।