भक्तपुरको घटनामा बाल सुधार गृहको लापरवाही र प्रशासनको उदासिनताः इन्सेक

काठामाडौं । भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरवाही र प्रशासनको उदासिनताका कारण भएको इन्सेकले जनएको छ ।

इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले भदौ १५ गते जारी गरेको प्रतिवेदनमा सो कुरा औँल्याइएको हो ।

सुधारगृह प्रशासनको बेवास्ताका कारण समयमै उपचार नपाउँदा १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको अध्ययन टोलीले निश्कर्ष निकालेको छ । ‘होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको र ०८० भदौ ३ गते ६ बजेतिर बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए’–प्रतिवेदनमा उल्लेख छ ।

बलात्कार मुद्दामा बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ०८० भदौ ३ गते बिहान ६ बजेतिर सुधार गृहमा मृत्यु भयो । ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको पाइयो । सुधार गृह प्रशासनको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै ०८० भदौ ३ गते नै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधार गृहमा रहेका बालकहरूले सुधार गृह भित्र र मृतकका आफन्तले सुधारगृह परिसरमा नाराबाजी गरेका थिए । सोही क्रममा प्रहरीसँगको झडपपछि सुधारगृहभित्र रहेका २ सय २१ जना बालबालिका सुधार गृहको पछाडिको ढोका फोडेर बाहिर निस्किएका थिए ।

कारागार व्यवस्थापन विभाग मातहत रहेको र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालको व्यवस्थापनमा मध्यपुरथिमी नगरपालिका–२ सानोठिमीमा सञ्चालित बाल सुधार गृहमा जिल्ला अदालत रामेछापको ०७७ जेठ २९ गतेको आदेशमा बस्नेत थुनामा रहेका थिए । बाल सुधार गृह प्रशासनले भदौ ३ गते ६ बजे बालकलाई मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा उपचारका लागि लगेकामा अस्पतालमा ल्याइपुर्‍याउनु अगावै बालकको मृत्यु भइसकेको अस्पताल प्रशासनले अनुगमन टोलीलाई जानकारी दियो ।

‘बाल सुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बाल सुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको अन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिनु पर्ने र सुधार गृहलाई सुधार गृहकै रुपमा विकास गर्नु आवश्यक छ । बाल सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक छ’–प्रतिवेदनमा उल्लेख छ ।

सुधार गृहभित्र रहेका बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था नगरेको, मानसिक स्वास्थ्यमा हेरचाह नगरेको, खानपिन, खानेपानीको प्रबन्ध नगरेको र वृत्ति विकासको लागि कुनै पहल नगरेको जनाउँदै भदौ ४ गते सुधार गृहका बालबालिका आन्दोलित भएका थिए । सोही क्रममा सुधार गृह प्रशासनले कुनै सुनुवाइ नगरेपछि बालकहरूले सुधार गृहमा तोडफोड गरेका थिए ।

सो क्रममा भएको झडपमा परी नेपाल प्रहरीतर्फ ११ जना र सशस्त्र प्रहरीतर्फ आठ जना गरी १९ जना र १० जना बालकसमेत घाइते भए । घाइते बालकमध्ये रबरको गोली लागेका (घाइतेका आफन्तको भनाइअनुसार) एक जनाको अवस्था गम्भीर रहेको छ । उनको उपचार राष्ट्रिय ट्रमा सेन्टरको आइसियूमा भइरहेको छ । घटनापछि बाहिर निस्केका २ सय २१ जना बालकमध्ये अझै चार जना सम्पर्कमा नआएको प्रहरीले जनायो ।

Facebook Comments
Comments (0)
Add Comment