हाम्रो प्रचन्न काम्रेस अत्यधिक बाठा रान । म त चकित भै गए । उता सांसद बैठक सुरु भइ गो यता जसपा “बजेट पास नगर्ने” अडानमा दृढ । परेन त फसाद ! अर्कोतिर माधव काम्रेसले दुई हप्ता अघिदेखि नै बजेट पास हुन नदिने घोसना नै गर्देका थिए । यता बाठो प्रचन्नका पछिपछि लतारिएका माधवलाई प्रचन्नले खासै भाउ दिएनन । कथमकदाचित माधवजी बटारिए भने के गर्ने ? यो विषयले प्रधानमन्त्री प्रचन्नको ढुङ्गा जस्तै कोमल हृदयमा हलचल पैदा गर्यो । र, ठ्याक्क ललिता निबासको तरबार निकाले । ऐन मौकामा आफ्नै गर्धनमा तरबार देखेपछि माधव काम्रेसको नौनाडी गल्यौ । त्यसपछि बजेट पास गर्ने लाइनमा उभिए । विचरा बजेट पास “हुनै सक्दैन” भन्ने माधवजीका सांसदहरू खाट्टी क्रान्तिकारी भर “पास गर्नैपर्छ” भन्न बाध्य भए ।
माधव काम्रेसलाई त ललिता निबासले नीलोकालो हुने गरि लखेटी लखेटी लगेर लाइनमा उभ्यायो । अझै उपेन्द्र पार्टीको नाटक भित्रको रोइलो बाँकी नै थियोे । उपेन्द्रको लागि गौर नरसंहारको हतियार उध्याउन पनि नमिल्ने ! यदि त्यो खोतल्यो भने प्रचन्नलाई आफैंतिर फर्किने हो कि भन्ने डर । वाईसीएलका २७ जना युवायुवतीलाई बलात्कारपछि उपेन्द्रको निर्देशनमा परमधाम पठाएकै हो । त्यो २०६३ साल चैत ३ गतेको दिन दुईवटा युद्ध सर्दारको बिचमा गौर नरसंहार मैदानमा नाटक मञ्चन भएको थियो । अहिले हाम्रो प्रचन्नले हाम्रै काम्रेसहर्को इहलिला समाप्त पार्ने उपेन्द्रहर्को पाउ मोल्दै छन् । हुन पनि हो । पाउ नमोले यस्तो स्वादिलो सत्ताको तर … ।
उपेन्द्रजीको पार्टी भित्र अधुवा खोलाले बगाउन नसकेको फोहोर जस्तो थुप्रिएको थियोे / छ । त्यो फोहोरलाई पैसाको अर्को दुसित खोलाले बगाउन सक्थ्यो । हाम्रो चतुर प्रचन्नले त्यो कुरोको भेउ पाइहाले । अनि त के थियोेर उपेन्द्रहर्को बैठक बसीराको ठाममा हाम्रो अध्यक्ष गर खुरुक्क बजेट पास गराम्नु “७६ अरब बजेट तिमार्लाई दिम्ला” भनेसी उपेन्द्रले हाम्रो प्रधानमन्त्रीलाई उल्कै मयाँ गरे । चिलिमच्वाँट भै सकेमो सत्ता गजबले जोगियो । यसैले “माधवलाई तरबार, उपेन्द्रलाई दरबार” भन्ने भनाई नेपालमण्डलमा प्रचलित हुन गयो । माधवजीलाई गाह्राे छ । भिरघरे भन्दै थ्यो “देउवालाई छोडौ बनिबास, प्रचन्नलाई छोडौ ललिता निबास”।
काङ्ग्रेसी भोटले चुनाव जितेका कमनिस्टे नामका तत्वहर्ले घुर्की र फुर्ती नलाए हुन्छ भन्दै थ्यो शिरानघरे । अहिले देउवाको सत्ता र प्रचन्नको भत्ताले गुइँठा उफ्रिएको सबैले भेउ पाएका छन् भन्दै थे उभिण्डेका जनता । हुन त काठको बिँड नहाली बन्चरोले पनि काठ काट्न सक्तैन भन्छन् अग्रजहरू । अहिले माधवजीको नेकपा समाजवादी र हाम्रो माओवादीको प्रधान शत्रु केपी शर्मा ओली र उनको पार्टी एमाले नै हो । जिब्रो चवाएर बोल्ने कामै छैन । ओलीलाई सम्झियो कि मेरोसमेत बत्तिसा चिलाएर कन्सिरी तात्तिन्छ । नेकपा गठन भई सकेपछि ओलीले त्यो एमाले भन्ने पार्टी थपक्क हाम्रो काम्रेस प्रचण्डलाई बुझाउनु पर्थ्यो । ओलीबाट त्यो काम भएन । त्यसैले हाम्रो गहन विस्लेशन र निसृत निचोडले ओलीलाई प्रधान शत्रु घोसना गरेको हो ।
अस्ति भखरैको कुरा हो हाम्रो माउवादीको होनहार एकजना कार्जेकर्ताले ओलीको रिसले चुर भएर आफ्नै खप्परमा चिरपटले हानेर आत्महत्या गरे । सुसाइड नोटमा “हाम्रो इन्डियालाई मन नपर्ने संविधान पास गरेको, चुच्चे नक्शा पारित गरेको, चाइनासँग पारवहन सन्धि गरेको, सुनकोसी ड्राइभरशन जस्तो योजना बनाम्दा इन्डियालाई नसोधेको, भारतले नाकाबन्दी गर्दा डाइरेक्ट इन्डियालाई डरै नमानी ललकारेको र भुकम्पले तहसनहस बनाएको संरचना पुन निर्माण गरेको” लगायत आरोप केपी शर्मा ओलीलाई लगाएर उनी मरे । यिनै कारणले गर्दा माउवादी र नेकपा समाजवादीको प्रधान दुश्मन ओली नै हुन भन्ने ऐतिहासिक र महान लाइन दुवै पार्टीको हेडक्वाटरले पास गरेको हो ।
हाम्रो उच्च महान क्रान्तिकारी पार्टीका एकमात्र सदावहार अध्यक्ष तथा विश्व सर्वआहारावादी जनताद्वारा अत्यधिक रुचाइएका “बेलुका आइस ब्रेककर्ता, बिहान गेरु बस्त्रधर्ता”लाई भारतद्वारा पालितपोषित भन्ने झुठो र कपोलकल्पित आरोप लगाइएको छ । म आरोपको अन्तरिम हृदयदेखि नै उग्र खण्डन गर्दछु । सर्वसाधारणका लागि महान क्राआन्ति सफल पार्न दिल्लीमै बसेर पनि भारतसँग सुरुङ युद्ध गर्ने घोषणा साथ हिमालमा पुगेर चाइनिज सीमाका विभिन्न स्थानमा सुरुङ खनेकै हो । भारतले उपलब्ध गराएको रासन पानी खाएर पनि उसैलाई “विस्तारवादी भारत मुर्दावाद” भनेकै हो । ए बाबा हो ! बुझ्नु पर्छ नि ! त्यति नभनेको भे भारतको मात्र सहयोगले नहुने नेपालीले विश्वास नगर्ने । कस्तो कुरा नबुझेको !
ए ! झुम्री ! यो ओलीले गर्दा मुलुक समाप्त भो भन्छन् । मलाई पनि हो जस्तै लाग्न थालेको छ । तर, यसो सम्झिल्याँउदा होइन कि जस्तो पनि लाग्छ । म त अलमलमा परे ।
नमस्कार है काका-काकी ! के अलमलमा परेको कुरा गर्छौ काका ! अब अलमल हुने दिन सकिए । हाम्रो काङ्ग्रेसको सभापति देउवा दाइ भएसम्म तिमार्को घनचक्करेलाई दुख गर्नैपर्दैन । भोट हामी दि हाल्छौ । तिमारू ढुक्कले बस्ता भै गो । गत १३ गते देखे नौ । तिमार्को प्रचन्न काम्रेसले माधव नेपाललाई लाइनमा लुरुलुरु गएर बजेटको पक्षमा भोट हाल्न लगाए । उता उपेन्द्र ज्यादवकाहरू अन्तिम अवस्थासम्म बजेट फेल गराम्ने भन्दै थे । त्यसैबेला प्रचन्नले ७६ अरबको उधारो चेक थमाएर मख्खै पार्दे भनेको । माधव “हातहाती” भन्नेलाई चप्परी मुनीको बास, उपेन्द्रलाई आशै आश, बजेट पास । हाम्रो देउवा दाइ, एसका माधव काम्रेस र उपेन्द्र जस्ता भूइँको टिप्ता पोल्टाको गुमाउने समर्थक भएसम्म प्रचन्नले सत्ताको तर मारिरहन्छन् ।
तँ पनि कुरै नबुझी बोल्छस् भिरघरे ! म कुरो गर्छु “केपी शर्मा ओलीको, तँ कुरो गर्छस् माधवजीको बोलीको”, बुझेर बोल्ने गर । तँ काङ्ग्रेस भर ओलीको समर्थन गर्छस् । भो राजनीति कुरो छोड् । असारको महिना खेतीपातीको कुरा गरौं ।