यही असार ७ गते नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा नितान्त काल्पनिक प्रसंग उल्लेख गर्नु भयो । जुन प्रसंगले सामाजिक सञ्जालमा भाइरल हुने अवसर प्राप्त गर्न पुग्यो । उहाँले बोल्नु भएको विषयमाथि धेरै टीकाटिप्पणी भए । लगभग ९९ प्रतिशत टिप्पणी पूर्वप्रधानमन्त्री नेपाललाई खुइल्याएर लेखिएका थिए । सञ्जालेहरूले कमरेड माधवलाई त्यति गहिराइसम्म विझ्ने गरि नभनेको भए पनि हुन्थ्यो । किनभने बेलाबखत माधव नेपाल आफ्नो धरातलीय यथार्थ विर्सनु हुन्छ ।
यसरी नै उक्त शुक्रबारको दिन अध्यक्ष नेपालले अहिलेको सरकारमा सबैभन्दा ठूलो पार्टी नेपाली काङ्ग्रेस हो भन्ने बिर्सनु भयो । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाकै कारण आफ्नो पार्टी सरकारमा टाँसिन पाएको छ भन्ने पनि बिर्सनु भयो । र, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मात्र गाली गर्नुपर्ने ठाउँमा देउवाको वर्गीय चरित्र साथै देउवालाई कसैले पनि साथ दिन नहुने आशयको झटारो हान्नु भयो । माधव नेपालले – “केपी ओलीले नेपाली काङ्ग्रेसलाई प्रभावित पारेर काङ्ग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन् । कस्तो बिडमम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग, उदार पुजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्” ।
माथिको विषय त्यो दिन माधवले उठाउनु भयो । उहाँको बानी छ प्रत्येक भाषणको सुरु र अन्त्यमा ओलीलाई तथानाम गाली गर्ने । उहाँको यस्ता दरिद्र भाषण सुन्दासुन्दा सर्वसाधारण भने बानी परिसकेका छन् । तर, त्यो दिन माधव नेपालले आफू नेकपा एमालेको पुरानो महासचिवको झझल्को दिने गरि बोल्नु भयो । आफ्नो धरातलीय यथार्थ र देउवालाई प्रधानमन्त्री बनाउन अदालत साथै राष्ट्रपति समक्ष सनाखतको लागि लाइनबद्ध भएको पनि बिर्सनु भयो । आफूलाई महान क्रान्तिकारी ठान्न पुग्नु भएका माधवजीले वर्तमान सरकारको हर्ताकर्ता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नै हो भन्ने पनि बिर्सनु भयो । यो बिर्सने बानीले नेपालका धेरै नेतालाई पिरोलेको छ, त्यसमा पनि नेपालजीलाई यो रोगले अलि बढी गाँज्दै लगेको जस्तो प्रतीत हुन्छ ।
सबैलाई थाहा छ अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र माधव नेपालजीहररूको ताहुरमाहुर र सत्ताको रापताप देउवा निसृत “प्रसाद” हो । तसर्थ माधवजीले देउवालाई दलाल पुजीवादी, उदार पुजीवादी वा काल्पनिक समाजवादी भन्ने आशय झल्किने अभिव्यक्ति नदिदै राम्रो । देउवाले बैशाखी झिकिदिनु भयो भने कहाँ कहाँ केके र कोको भत्किन्छन् माधवजी जस्तो चतुर व्यक्तिलाई अर्थ्याइ रहनु पर्दैन । तर, सोचेर बोल्नु पर्ने नेताले जथाभावी बोल्दा सन्देश राम्रो जादैन । जमाना फेरिएको छ । नेताले गरेका काम र बोलेको कुरा तिथि मितिसहित सर्वसाधारणले भन्न सक्छन् । अडियो मात्र होइन भिडियोसमेत मान्छेसँग सुरक्षित रहन्छ । यही कारणले हो वर्तमान प्रधानमन्त्री दाहाले ” ५/७ हजार लडाकुलाई ३२/३३ हजार बनाए” भनी कुम हल्लाउँदै घोषणा गरेको, भैंसी पूजा गरेको, दुवैजनाले लड्डु कोचाकोच गरेको र सडकमा पलेटी कसेर “हामी यहाँ छौं” भनेको सबै खराब बृतान्त सामाजिक सञ्जालले बारम्बार सम्झाइ रहन्छ ।
माधव नेपाल मात्र होइन पुष्पकमल पनि तत्कालीन अबस्थामा नेकपा एमाले कब्जा गर्न जोडतोडले लाग्नु भयो । त्यसबेला नेकपाको धुकधुकी बाँकी नै थियो । यो विषयमा वर्तमान प्रधानमन्त्री दाहालले सिन्धुली गएको बेला हरिबोल गजुरेलजीको घरको पिडीमा बसेर “एमाले कब्जा गरिसकेका थियौ, सर्बोच्चले खप्परमै घन बजारी दियो र पो” भन्नुभएको प्रमाणहरू अहिले पनि नष्ट भएको छैन । यिनै कारणहरूले गर्दा आफ्नै लागि प्रत्युत्पादक हुने गरि कसैले पनि बोल्नु हुदैन । बोली र व्यबहार फरक पर्दा नेता लज्जित हुनु परेका घटना थुप्रै छन् । आफ्ना भनाइ पनि बेला र परिस्थिति अनुसार उपयुक्त भएन भने त्यसले सकारात्मक सन्देश दिदैन । अहिलेको अभिव्यक्ति माधवजीका लागि प्रत्युत्पादक भएको छ ।
स्वभाविक हो सामाजिक सञ्जाल प्रयोगकर्ताले पदीय दायित्व बोकेका व्यक्तित्वहरूकै बारेमा लेख्छन् । यसलाई अन्यथा ठान्नु पनि हुदैन । तर, ओली- देउवा मिल्नै लागे, हामी सकिने भयौं, यो महान क्रान्तिकारी सरकार हो यसलाई ढाल्न पाइँदैन, यो सरकारलाई देउवाले पनि अबिछिन्न समर्थन जारी राख्नुपर्छ भने जस्ता काल्पनिक बिकार मनमा बोकेर त्यही व्यक्त गर्नु चाहिँ नेताका लागि शोभनीय होइन । माधवजीले ओली प्रति नकारात्मक सोच्नु बाहेक वर्तमान अवस्थामा अरु केही सोच्न सक्ने अवस्था पनि छैन । उहाँलाई ओली प्रतिको डाहा र इर्स्याले भतभती पोल्दो हो । १५ वर्षसम्म हकडकका साथ आफूले नेतृत्व गरेको पार्टीबाट उछिट्टिएर अहिले पर बसेर टुलुटुलु हेर्नुपर्दाको पीडा माधव कमरेडले भोगीरहनु भएको छ । यही कारणले हुनुपर्छ बेलाबेला बालकोटतिर हेरेर धारे हात लगाएर उफ्रनु हुन्छ ।
समयमा मानिस सचेत र संयम हुन सकेन भने समयले नै उसको क्षेत्र छुट्याइ दिन्छ । आफूलाई दोस्रो दर्जाको नेता प्रमाणित गर्दै जब माधवजीले पुष्पकमल दाहालको पछि लाग्न पार्टी चोइट्याउनु भयो तब उहाँको राजनीति जीवन ओरालोतिर लस्कियो । अहिले जतिसुकै ताहुरमाहुर गरेपनि सत्तामा देउवा र पार्टीमा दाहालको आदेशले नेकपा समाजवादीमा काम गरिरहेको छ । यदि जनचाहना अनुरुप नै माधव कामरेडको कल्पना साकार भयो भने नेकपा समाजवादी आधा कोटेश्वर आधा बालकोट हुने निश्चित छ ।
ओली र देउवा मिल्ने हो भने दुईदलीय स्थिर सरकार निर्माण हुन्छ । सरकार गठनमा ५/७ वटा पार्टी मिलाएर टालाटुली बोटुल्दै समय विताउनु भन्दा दुई ठूला दलमा समझदारी हुनु नराम्रो होइन। अहिले जनचाहना पनि यही बुझिन्छ।
देउवालाई प्रधानमन्त्री बनाउन अग्रपंक्तिमा उभिने माधव नेपालले “ओलीले देउवालाई समर्थन गर्नु हुदैन, यदि समर्थन गरे भने दलाल पुजीवादी सरकार हुने छ” भन्ने अभिव्यक्ति कसरी दिन सक्नु भयो ? यो चाहिँ बिचारणीय पक्ष हो।