‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’ नेपाल प्रज्ञा-प्रतिष्ठानबाट हालै प्रकाशित अनुसन्धानमूलक कृति हो । यस कृतिमा आख्यान – साहित्य अन्तर्गतको लघु उपन्यास र तिनको अवस्था, परम्परा र प्रवृत्ति एवम् पहिचानसम्बन्धी मूल समस्यामा केन्द्रित रही नेपाली लघु उपन्यासको परिचय, विगत र वर्तमान अवस्था एवम् परम्परा र प्रवृत्तिको अध्ययन तथा विश्लेषण गरिएको छ ।
लघु उपन्यास आख्यानात्मक लेखनको एउटा प्रकार हो । लघु उपन्यास कृति आकारमा सानो हुन्छ । यसको कथानक सङ्क्षिप्त एवम् साङ्केतिक हुन्छ । यसमा पात्र थोरै हुन्छन्, परिवेशमा पनि लघुता हुन्छ । लघु उपन्यासमा जीवन र जगत्को कुनै एक खण्ड वा अंशको आख्यानीकरण गरिएको हुन्छ । एउटा घटनाबाट उठेको कथानक त्यही घटनालाई पुष्टि गर्दै अन्त्य भएको हुन्छ । यस्ता उपन्यासमा उपकथानकको अपेक्षा गरिन्न । सामान्यतया एउटा मूल पात्रले सम्पूर्ण कार्यव्यापार सम्पन्न गर्दछ । धेरै पात्रको आवश्यकता अनिवार्य किसिमको हुँदैन । सहायक एवम् गौण पात्रहरूको सङ्ख्या पनि न्यून हुन्छ । उल्लिखित कुराहरूका आधारमा लघु उपन्यासले आफ्नो परिचय प्राप्त गर्दछ । यस कृतिले यिनै कुराहरूलाई उजागर गरेको छ ।
प्रस्तुत कृतिमा पाँचओटा परिच्छेदहरू समाविष्ट छन् । लघु उपन्यासको सिद्धान्त उल्लेख भएको पहिलो परिच्छेदमा अन्तर्राष्ट्रिय साहित्यमा लघु उपन्याससम्बन्धी गरिएका परिभाषा र तिनको पहिचानका आधारहरूको चर्चा गर्दै लघु उपन्यासको पृष्ठभूमि र परिचय प्रस्तुत गरिएको छ । नेपाली लघु उपन्याससम्बन्धी हालसम्म अध्ययन, अनुसन्धान हुन नसकेको अवस्थामा अङ्ग्रेजी तथा हिन्दी साहित्यमा भए गरेका अध्ययन
एवम् अनुसन्धानका आधारमा नेपाली लघु उपन्यासलाई परिभाषित गर्ने प्रयास भएको छ। नेपाली एवम् भारतीय लेखक, विश्लेषकहरूका अनुसन्धानमूलक कृतिहरू, पाश्चात्य एवम् अन्य विभिन्न विद्वानहरूका दृष्टिकोण र अङ्ग्रेजी, हिन्दी, नेपाली भाषामा प्रकाशित लघु उपन्यासहरूको अध्ययनलाई नेपाली लघु उपन्यासको अनुसन्धानको सैद्धान्तिक ढाँचा निर्माणको आधार बनाइएको छ । पहिलो परिच्छेदमै लघु उपन्यासको स्वरूप र यसका तत्त्वहरूको चर्चा हुनका साथै लघु उपन्यासका विशेषताहरू उल्लेख गरिएका छन् ।
यस कृतिको दोस्रो परिच्छेदमा लघु उपन्यास र उपन्यासमा भेटिने समानता र असमानता, लघु उपन्यास र कथामा भेटिने समानता र असमानतालाई खोज्ने कोसिस गरिएको छ । नेपाली लघु उपन्यास लेखनको परम्परा र प्रवृत्ति कृतिको तेस्रो परिच्छेदमा उल्लेख छ । नेपाली लघु उपन्यासको विगतलाई खोज्नेक्रममा यसको विकासको परम्परालाई निश्चित कालखण्डमा वर्गीकरण नगरी, प्रवृत्तिगत विशेषताको आधार नखोजी सामान्य रूपमा प्रकाशनको समय उल्लेख गरी प्रस्तुत गरिएको छ । आगामी अध्ययन अनुसन्धानहरूमा धारागत युगीन विकासक्रमको अध्ययन हुने छ भन्ने विश्वास व्यक्त गर्दै यो परिच्छेदमा नेपाली लघु उपन्यास लेखनमा देखा परेका विभिन्न परम्परा र तिनका प्रमुख प्रवृत्तिहरू समेटिएका छन् ।
नेपाली लघु उपन्यासहरूको विवेचना गरिएको परिच्छेद चारमा निर्धारित उपन्यासहरू लघु उपन्यास हुन् भन्ने आधारको चर्चा भएको छ । खास गरी उपन्यासको आकार, कथानक, पात्र र परिवेशलाई लघु उपन्यासको पहिचानका आधारका रूपमा प्रस्तुत गरिएको छ । अङ्ग्रेजी एवम् हिन्दी साहित्यमा लघु उपन्यासको पहिचानका लागि लिने गरिएका सबै आधारहरूलाई नेपाली लघु उपन्यासको पहिचानका लागि पनि समान हुन्छन् भन्न सकिदैन, कतिपय कुरामा भिन्नता हुन सक्छन्, नेपाली लघु उपन्यासका आफ्ना मौलिकपना पनि हुन सक्छन् जसले नेपाली लघु उपन्यासको पहिचानको आधारमा केही मौलिकता पनि स्थापित गर्न सक्ने धारणा प्रस्तुत गर्दै तिनलाई पुष्टि गर्ने प्रयास भएको छ । यसै परिच्छेदमा नेपाली लघु उपन्यासबारे अध्ययन र अनुसन्धानका अभाव रहेको अवस्थामा यस क्षेत्रमा कायम समस्याहरू पनि प्रस्तुत गरिएका छन्। पाँचौ परिच्छेदमा सिङ्गो कृतिको सारांश र निष्कर्ष प्रस्तुत गरिएको छ ।
नेपाली लघु उपन्यासका बारेमा तयार पारिएको यस पुस्तकले लघु उपन्यासको अध्ययन र अनुसन्धानको ढोका अवश्य खोल्ने छ। नेपाली भाषामा लघु उपन्यासका बारेमा लेखिएको पहिलो अनुसन्धानमूलक कृति भएका कारण यसमा कतिपय कुराहरू अपूर्ण पनि हुन सक्छन्, कतिपय लेखक तथा कृतिका नामहरू उल्लेख हुन छुटेका हुन सक्छन् । यति हुँदाहुँदै पनि यस कृतिले नेपाली लघु उपन्यासको विकास, विगत, वर्तमान र भविष्यसम्बन्धी बहसको चौतारी अवश्य निर्माण गर्ने छ । यसले लघु उपन्यासका सैद्धान्तिक पक्षहरूको व्यापक अध्ययन र अनुसन्धानका लागि अवश्य ऊर्जा प्रदान गर्ने छ ।
नेपाली लघु उपन्यासले मौलिक पहिचान प्राप्त गरिनसकेको अवस्था रहे पनि नेपाली लघु उपन्यासहरू सिङ्गै नेपाली उपन्यास जगत्मा उत्कृष्ट कृतिका रूपमा स्थापित छन्। नेपाली उपन्यास साहित्यको उत्कृष्टता र लोकप्रियताको शिखर आरोहण यात्रामा यिनले महत्त्वपूर्ण योगदान पुयाएका छन् । स्थापित वरिष्ठ औपन्यासिक कृति शिल्पीहरूदेखि आभ्यासिक क्रममा रहेका लेखकहरूसमेतको लेखनले लघु उपन्यास क्षेत्रलाई उज्यालो मार्गमा यात्रारत तुल्याएको छ। यो अनुसन्धान यस विषयको पहिलो अनुसन्धान भएका कारण यस अनुसन्धानमा छुटेका विविध पक्षहरूलाई अनुसन्धानकर्ताहरूद्वारा आगामी अनुसन्धानमा अवश्य समेटिने आशा गर्न सकिन्छ । नेपाली आख्यानको महत्त्वपूर्ण तर ओझेलमा परिरहेको यस विषय क्षेत्रको अनुसन्धानमूलक कृति प्रकाशित हुनु यस लेखन क्षेत्रका लागि अवश्य नै एउटा महत्त्वपूर्ण उपलब्धी भएको छ ।
(प्रस्तुत समीक्ष्यात्मक लेख ‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’ कृतिका लेखक नन्दु उप्रेतीको प्राकथनका अंशहरू साभार गरिएको हो – सम्पादक)