जमिनभरि पानी । आकशाभरि पानी । साउने झरी निरन्तर थियो । पानी पानी थियो । बाटा घाटा जलमार्ग झैं भएका थिए या हिले बाटो बनेका थिए । खोलाहरु बढेर बढेमान थिए । जङ्गल निथ्रुक्क भिजेको थियो । म चितवनमा थिएँ । चितवनको पनि जङ्गल चितवन राष्ट्रिय निकुञ्ज भित्र थिएँ । गैडा, हात्ती, मृगहरु । पंंक्षीहरु । सबै वर्षाको पानीले रुझेका थिए । बन, बुट्यान नुहाउन पाएर दङ्ग थिए, टल्किरहेका थिए ।
नारायणी नदी वारपार देख्न नसकिने गरि बढेको थियो । राप्ती खैरो भएर उर्लिरहेको थियो । सिङ्गो आकाश बादल बनेको थियो । यस्तोबेला म चितवन निकुञ्ज पुगेको थिएँ । मलाई वर्खायामकै चितवन अवलोकन गर्नु थियो । भोग्नु थियो । अनुभव गर्नु थियो ।
अघिल्लो साँझ म चितवन निकुञ्जको हेड क्यार्टर कसरा पुगेको थिएँ । राप्तीमा नाउ तरेर म कसराको त्यो बन तथा वन्यजन्तु संरक्षण शिविरमा पुगेको थिए । वर्षा त्यसबेला पनि निरन्तर थियो । वास्तवमा मैले काठमाडौं छाड्दा पनि आकाशबाट पानी झरीरहेकै थियो ।
कसरा । उनी हाफ पाइन्ट र छत्रे टोपी अनि गम बुटमा थिए । यसअघि पनि उनको र मेरो भेटघाट भएकै हो । अग्लो ज्यान । कालो वर्ण । ग्वालाका सन्तान । हँसीलो अनुहार । उनलाई मैले सँधै जङ्गलमै भेटे । जङ्गलमै सङ्गत भयो । त्यो साँझ पनि जङ्गलभित्र झरीभेट भयो । वास्तवमा उनी मलाई नै पर्खेर बसेका थिए । उनलाई भिजेको निकुञ्ज देखाउनु थियो । उनको आत्मियता सँधै प्रशंसनीय छ । स्वागत गर्ने कला उनमा निपुर्ण छ ।
हामी उनको अफिसमा गएनौं । हामीले फोनमै वाचा गरेका थियौं । यसपालीको भेट जङ्गली बनाउने । अनौपचारिक बनाउने । धेरै छाप्न नहुने, लेख्न नहुने बनाउने । ‘अफ दि रेकर्ड’ जङ्गल यात्रा गर्ने ।
हामीले त्यसै ग¥यौ । बेलुका उनले एकतर्फी घोषणा सुनाए, हातीसार बनपुजामा जाने । यही घोषण पश्चात् हामी राप्ती किनारको गेष्टहाउसमा झरीको आनन्द लिदै रात अबेरसम्म गफिएर बस्यौ । बन जङ्गल, बन्यजन्तु, चराचुरुङ्गीका कुरा सुनाउन पाएपछि उनी वेलगाम हुन्छन् । सुनी दिने भए पुग्छ । वास्तवमा सुनेर मात्रै हुँदैन । बुझिदिने भए पुग्छ ।
उनले वास्तवमा जीवनको सबै कालखण्ड जङ्गलमै बिताए । बन र बन्यजन्तकै लागि बिताए । अहिले जीवनको उत्तररार्धमा पनि उनी जङ्गलकै आसपास छन् । त्यहीँ घाम बसाएका छन् । चितवन छाडनन्, छाडेका छैनन् ।
म कुरा गर्दैछु तिनको, उनी हुन ’रामप्रीत यादव’ । चितवन राष्ट्रिय निकुञ्ज वरपर बस्ने बासिन्दाहरु उनलाई जङ्गलका रक्षक र भीष्मपितामह ठान्छन् । कोही कोही त ‘चितवनको जङ्गलभित्र एउटा बाघ बस्छ, अको बाहिर बस्छ, बाहिर बस्ने बाघ चै, ’रामप्रीत’ हुन भन्ठान्छन् ।
हाम्रो पहिलो भेट पनि जङ्गलमै भयो । म कान्तिपुरमा काम गर्थें । नेपाल वातावरण पत्रकार समूहको सक्रिय सदस्य थिएँ । बन, वातावरण र वन्यजन्तु मेरा समाचारका मुल विषय हुन्थे । गैंडा चोरी शिकारका बारेमा समाचार खोज्न थालेँ । नेपालमा पाइने एकसिङ्गे गैडा चोरी शिकार चरम चुलीमा थियो । खोज्दै जाँदा यसको औपचारिक व्यापारमा दरबार पनि संलग्न भएको दस्तावेजहरु फेला परे । म त्यतिवेलासम्म जङ्गलको खबर शहरमै बसेर खोजीरहेको थिएँ ।
’जङ्गल नै नछिरी जङ्गलको खबर, के खबर, प्रतीक जङ्गलको कुरा लेख्न जङ्गल भोग्नुपर्छ, महशुस गर्नुपर्छ’ मेरो जङ्गल(गैडा) खबरको मुख्य स्रोत र मित्र स्वर्गीय डा. प्रल्हाद योन्जनले मलाई आफ्नै कार्यालय कुमारीपाटी बोलाएर व्यंग्य वाण, अचुक सूत्रमाला पहिराइ दिए । अनि मेरो जङ्गल छिर्ने हुटहुटी दन्दनी बलेर मलाई पोल्न थाल्यो । हुन त यस अघि नेपालगन्जमा छँदा बाँके जिल्लाको बन क्षेत्र मज्जाले चहारेको थिएँ । जङ्गल भनेको रुखका बुटा, बन क्षेत्र, घासपासमात्रै हो भन्ने मलाई महशुस भएको थियो । तर डा. योन्जनले मनिसको गाउँ, शहर भएजस्तौ वन्यजन्तुको पनि आ–आफ्नो बासस्थान हुन्छ भनेर मेरो ज्ञानको चार ढोका खोलीदिए । उनैले चितवन निकुञ्जको बारेमा लामो लामो वैज्ञानिक वर्णनहरु आफ्नो दुईकोठे घरेलु अफिसमै मगमा कपी पिलाउँदै मलाई सुनाएका थिए । मेरो जिवविज्ञान सम्बन्धी आधारभुत ज्ञान, जुन मैले बिर्सिसकेको थिएँ, उनैले व्यूँताइदिए । अनि चितवन र रामप्रीत एकअर्काका पर्यायवाची हुन भनेर परैबाट उनले कहिल्यै नभेटेको, नचिनेको रामप्रीत यादवसित एकतर्फी परिचय गराएका थिए ।
यो परिचय पछि गएर मलाई खुब काम लाग्यो । चितवन जङ्गलको भित्र भित्रसम्म पस्ने मेरो हुटहुटी मैले कान्तीपुर दैनिकमा लगातार गैडा उपहार र त्यसका पछाडि दरबारीया पैसाको खेलोका बारेम लेखेको समाचारकै कारण पुरा भयो । वास्तवमा नेपालको वन्यजन्तु रिपोर्टिङमा त्यो माइलस्टोन नै मान्नुपर्छ । त्यही समाचारका कारण नोपलमा गैडाको संख्या कति छ भनेर यकिन गर्न सरकार तयार भयो । तत्कालको सरकारले गैडा गणनाको घोषणा ग¥यो । ‘काउन्ट राइनो ९४’ । यही कुरा मियो बनेको थियो, मेरो रामप्रीत र मेरो भेटघाटको । अरु पनि पत्रकार मित्रहरु थिए । त्यो भेटघाटमा । अर्थात्, सामूहिक भेटघाट थियो । तर डा. योन्जनका कारण मैले बाजी मारेँ । किनभने मसित उनका बारेमा, उनको कामका बारेमा थप सूचना थिए । जसलाई ‘म तपाईको बारेमा जान्दछु’ भनेर पस्किएँ जसले हामीलाई नजिक्याउने काम ग¥यो । वास्तवमा काउन्ट राइनो ९४ पछिमात्र थुप्रै पटक गैडा गन्ने काम भयो । गैडाको संख्यामा पनि संसारले तारिफ गर्नेगरी बृद्धि भयो ।
रामप्रीत सप्तरीमा जन्मे । यादव, ग्वालाका सन्तान । घरभरि त्यही माहौल थियो । तर उनी गोठालो बने । चितवन जङ्गलको । उनी गोठालो थिए, त्यहाँ पाइने गैडा, बाघ, हाती, भालु, मृग, गोही, घडियाल अनि अनेकन जातका पक्षीहरुको । उनले जीवनको सम्पूर्ण सक्रिय कार्यकाल त्यही गोठालो जीवनमा बिताए ।
घर, परिवार, छोराछोरी । रमाइलो, चाडपर्व । सबथोक उनको सरकारी गोठालो नौकरीमै बित्यो । उनी वास्तवमा यसलाई नोकरी ठान्दैनन, “यो मेरो कर्म हो, धर्म हो” उनले एकचोटी मलाई यसै भनेको अझै याद छ ।
चितवनको जङ्गल पहिला राजा, राजपरिवारको शिकार आरक्ष थियो । राजा र उनका परिवार शिकार गर्न राजधानी काठमाडौंबाट चितवन झर्थे । धीत मरुन्जेल शिकार खेल्थे र फर्कन्थे । यही काम राणा शासनकालभर श्री ३ हरुले गरे । बेलायती राजा किङ्ग जार्ज फोर्थलाई शिकारको रमझममा भुलाउन, रमाइलो गराउन, कुटनीतिक चालका रुपमा पनि चितवनकै जङ्गल चन्द्र शम्सेर उपयोग गरेका थिए । अर्थात्, मूलतः चितवनको जङ्गल जङ्गली प्राणी हत्या वा भनौ राजर्सी शिकारकै लागि भनेर स्थापित थियो । प्रख्यात थियो । प्रजाले त्यहाँ छड्क् आँखाले पनि हेर्न पाउँदैन थिए । “शायद यही कारणले पनि चितवनको जङ्गल बचेको थियो”, भेटघाटकै क्रममा एकचोटी डा. प्रल्हाद योन्जनले अड्कल काटेको थिए । जुन मलाई पनि सही लागेको थियो ।
त्यही चितवनको जङ्गललाई अन्तरराष्ट्रिय मान्यता अनुरुपको राष्ट्रिय वन्यजन्तु निकुञ्ज (वाइल्डलाइफ नेसनल पार्क) बनाउने अवधारणा कागजी रुपमा तयार पारिने भयो । यो सन् सत्तरीको दशकको कुरा हो । यही कागजी निकुञ्जको साँधसिमाना तय गर्ने, रेखाङ्कन गर्ने कामको मुख्य जिम्मेवमरी त्यसबेलाका फरेष्टर कर्ण शाक्य र विभागका अधिकारी विश्वनाथ उप्रेतीले पाए । सिमाना छुट्याउन नाप्नुपर्ने इन्चीटेपको फिता बोकेर कुदी हिडने जिम्मेवारीबाट रामप्रीत चितवनको जङ्गल छिरेका हुन । चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएर अन्तरराष्ट्रिय पहिचान सहितको एकसिङ्गे गैडा संरक्षणको काममा एक नम्बर भइसकेको छ । रामप्रीत पनि अहिलेसम्म चितवन जङ्गल सरसङ्गतबाट टाढीन सकेका छैनन ।
त्यस दिन साँझ कसरा पुगेका हामी मध्यरातसम्म त रामप्रीतसितै गफिदै थियौं । मेरो उनीसंगको पटक पटकको भेटघाट हरेक पटक रोचक हुन्थ्यो । त्यो रात पनि अबेरसम्म झमझम पानी परिरहेको थियो । राप्ती बौलाएर वेतोड, भयाङ्कर आवाज सहित हाम्रै किनारबाट बगिरहेको थियो । हामी राप्ती किनारमै बनेको निकुञ्जको अग्लो पाहुना घरमा बसेर राप्तीकै बारेमा कुरा गरिरहेका थियौं । वास्तवमा चितवन निकुञ्जलाई छुने ठूलो, पानी सभ्यता भएको नदी नारायणी हो । रामप्रीत मलाई राप्ती र चितवन निकुञ्ज नङ मासुको सम्बन्ध भएको सम्झाउँदै थिए । राप्ती नदीको त्यहाँ बसोबास गर्ने मानव बसोबास, प्राणीका लागि आवश्यक जलसम्पदा सम्बन्धका बारेमा बुझाउँदै थिए । “नारायणीको पानी राप्तीमा होइन, राप्तीको पानी नारायणीमा मिसिन्छ”, उनी बुझाउँदै थिए । हुन पनि हो, मकवानपुर जिल्लामा पर्ने निकुञ्जको भूभाग चोपल्दै, चितवनमा पर्ने निकुञ्जको झण्डै आधा भूभागसित राप्तीको मितेरी साइनो छ । वर्षामा उ जलमग्न हुन्छिन । ठाउँ ठाउँमा दुख पनि दिन्छिन् । जङ्गल भित्र पनि भेल बनेर पस्छिन । तर बाँकी अत्यधिक समय प्राणीको आश्रय स्थल बन्छिन् । गैडा आहाल बस्छ । बाघ पानी खान आउँछ । यसको साँधमा उम्रने घाँसपातहरु गैडा र बाघका आहारा हुन्छ । चरा चुरुङ्गीहरु जल चरन गर्छन् । किनाराको बालुवामा खेल्छन् । टाढा टाढाबाट चितवन निकुञ्ज हेर्न पुगेका बाह्य तथा आन्तरिक पर्यटक पनि राप्ती किनारमै बसे सूर्यस्त हेरेर मुग्ध हुन्छन् ।
भोलिपल्ट विहान हामीलाई हातीसार जानु थियो । बनपुजामा पनि निमन्त्रणा छ । विहान भयो । हामी उठ्दा नउठ्दै, रामप्रीत तयारीका साथ हामीलाई लिन आइसकेका थिए । राप्ती निकै ठूलो बनेर गड्गडाहट सहित बगिरहेको थियो । हामी हातीसार केन्द्र (हात्ती प्रजनन केन्द्र) पुग्दा बनपुजाको पूर्ण तयारी थियो । रामप्रीत बनपुजामा बसे । हामी पुजाको दर्शक बन्यौ । करीब एक घन्टामा पुजा सकियो । बनपुजा भएकोले, आज त्यहाँ हात्तीहरुलाई विशेष भोजको आयोजना गरिएको थियो । सबै हात्तीहरु खुसी पार्नु थियो । सबै लस्करै पलेंटी कसेर बस्यौं । उनीहरुकै खुसीयालीमा हामीले बनपुजाको बनभोज खायौं । जङ्गलका हाकीम रामप्रीत, म, अनि थारु माउते र स्याहर सुसारेहरु । अनि केराका पातमा खसीको मासु झोल र भात धीत मरुन्जेल खाइयो । वास्तवमै मेरो जीवनकै सक्कली बनभोज यो पहिलो थियो ।
बनपुजा र बनभोज सिद्धिएपछि, रामप्रीत एउटा हात्तीमा चढे । मलाई छुट्टै एक्लो हात्तीको व्यवस्था उनैले गरिदिएका थिए । म चढेको हात्तीको वीरेन्द्र वा दिपेन्द्र नाम थियो । हातीसारका सबैजसो हात्तीको नाम दरवारिया नै हुने गर्थे त्यसताका । अनिसँगै अर्को आमा हात्ती आफ्ना दुई वच्चा सहित थियो । समग्रमा एउटा हात्ती, माउतेहरु र हाम्रो एउटा टोली नै थियो ।
हामी वर्षात्को वा वर्षात् पछिको जङ्गल हेर्न निस्केका थियौं । हामीलाई हिजो राती अजंगको आवाज सहित गड्गडाएर बगेको राप्ती पारी जानु थियो । वर्षे भेल बगेको राप्ती तर्नु थियो । जसका लागि हामीले हाम्रो वहान हात्तीलाई बनाएका थियौं । रामप्रीतको हात्ती अघि अघि लाग्यो, मेरो पछिपछि । अनि हुर्कीसकेका छावा सहित आमाहरु सँगसँगै । म चढेको हात्तीका माउतेले मलाई खुसुक्क सुनाए, “यिनको तलीम शुरु भयो ।” वास्तवमा हामीसित हिँडेका छावा त तालीममा पो हिडेका रहेछन् । उनीहरुका तालीमे थिए, तिनकै आमाहरु ।
रातभर परेको पानीले राप्ती वारपार जलमग्न त छँदै थियो, बहावको तीव्रतामा पानी भित्रको करेन्ट पनि उच्च थियो । त्यसैदिन थाह भयो, हाती बनको बुल्डोजर हुँदोरहेछ । हामी राप्ती तर्दा नदीको पानी हात्ती डुबाएर मेरो पनि कम्मरसम्मै आइपुगेको थियो । तर उसले सुँढ मात्र बाहिर निकाल्न पायो भने जसरी पनि खोला पार लगाउँदो रहेछ । लगाइ छाड्यो, आमाहरु चैं त्यत्रो बहाव भएको नदीको पानीलाई छेकानो लगाउँदै छावालाई अघि हिड्ने बाटो बनाउँदै आफू पनि राप्ती पारी पुगे, तिनलाई पनि पु¥याए । नदी यात्राको यो दृश्य मेरो दिमाग अमिट छ । स्मरणमा ताजा छ ।
जे होस, त्यस्तो साउने भेलमा हामी सबै कुनै अनिष्ट बिना राप्ती पारी जङ्गल किनार पुगिसकेका थियौं । जङ्गल सँधै झै सुनसान थियो । रातभर परेको पानी, निथ्रुक्क भिजेका केही गैडा रुखहरुका बीचमा उभिइरहेका देखिए । उनीहरु भिजेको जङ्गल भित्र ओभानो पाखो खोज्दै थिए कि जस्तो मलाई लागेको थियो । अरुवेला पनि सक्रिय रहने अन्य प्राणीहरु मैले देखिन । रुखका फेदमा, पानीबाट अलिकति जोगिने ठाउँमा ती बसेका थिए । जङ्गलमा खासै जीवन थिएन । हामी त्यहस् हेर्न गएका थियौं । मेरो योजनामा पनि वर्षाका बेला बन जीवन हेर्ने नै थियो । पानीले जलाशय बनाएको हिलो मैदानमा केही वन्यजन्तुहरु खेलिरहेको जस्तो देखिन्थे । तिनमा मृग, हरिण अनि बँदेलहरु मैले देखेँ । करीब तीन घन्टा जङ्गल यात्रा पछि हामी सौराह फर्कियौं ।
जङ्गल अवलोकनमा देखेका कुरामा छलफल केन्द्रित भयो । यसपछि मात्र रामप्रीतले सुनाए, “यसबेला वन्यजन्तु चोरी शिकार गर्नेहरु अझ सक्रिय हुन्छन्, गस्ती अझ चनाखो र तेजा बनाउनुपर्छ । रात दिन भन्न पाइदैन” । थाहै नपाइकन मैले वन र वन्यजन्तु संरक्षणमा उनको लगाव, कटिवद्धता आफ्नै आँखाले देखेर आइसकेको रहेछु । कामलाई धर्म मान्ने रामप्रीत मलाई अध्यात्मिक गुरु झंै लाग्यो । थाहै नदिइ, काममा रमाउन सिकाइसकेका रहेछन् । उनीसित जङ्गल घुम्दा प्राय यस्तै हुन्थ्यो । अरुका लागि देख्दा रमाइलो गरिरहेको जस्तो । तर उनी पेशेवर वन्दुकधारी चोर शिकारीको निगरानीमा ज्यानको वाजी मारेर हिडरिहेका हुन्थे । हामी उनको पछाडि संरक्षणको काम कति कठोर, अप्ठयारो, दत्तचित्तले लाग्नुपर्ने खालको रहेछ भनेर उनलाई नियाली रहेका हुन्थ्यौं । यस्ता बन र वन्यजन्तु अवलोकनका लुकामारी थुप्रै पटक भए । जहाँ म र रामप्रीतसँगसँगै थियौं ।
एकपटक उनलाई अबुझ सरकारले काठमाडौं सरुवा गरेको रहेछ । हाम्रो भेट उनकै कार्यथलो बबरमहल नजिक भएको थियो । चिया खाने निहुँ बनाएर हामी गफिन बस्यौं । रामप्रीतको हालत एक घन्टाको भलाकुसारीमा बनको बाघलाई चिडियाखानामा कैद गरेर राखेको जस्तो मैले अनुभूति गरेँ । उनका प्रत्येक हाउभाउ, कुराकानीबाट मलाई त्यस्तै महशुस हुन्थ्यो । तर ती दिन धेरै लम्बिएनन् । उनी फेरि आफ्नो जङ्गल राजमा फर्किहाले ।
निकुञ्जको जागिर सरकारी थियो । सिद्धियो । रामप्रीतले सरकारी जागिरबाट अवकास पाए । तर संरक्षणको कामका लागि रामप्रीतले कहिल्यै अवकास लिएनन् । उनी नेपालमा वन्यजन्तु संरक्षणका जीउँदो अभिलेख हुन । ज्ञानको भण्डार हुन । पढेर नसकिने, सुनेर नरित्तिने सिङ्गो दस्तावेज हुन । उनी अझै पनि संरक्षणका बारेमा नयाँ अनुसन्धानका गतिवधि र कार्यक्रमहरुमा आफ्नो अनुभव साटेर हिँडिरहेकै हुन्छन् । अगुवा संरक्षण कार्यकर्ता भएर हाँजिर हुन्छन् । संरक्षणको पर्याय रामप्रीत यादव आफैंमा संरक्षण योग्य छन्।