एकातिर एमाले, अर्कातिर पानदले

फुटानी

सरखारले चुनाउ घोसना गरेरै छाड्यो । हाम्रो यो सरखार लरतरो सरखार होइन । पानदले सरखार हो । जस्ले जे भने पनि संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई गलहत्याएर देउवा `दाइको प्रधानमन्त्रीत्वमा तुरुन्त सरखार गठन गर्नु´ भनेर परमादेश ठोक्ने अदालत जिन्दावाद, परमादेशी हाम्रो सरखार जिन्दावाद ! मलाई त कांग्रेसको हात समाएर चुनाउ जितेपछि सिंहदरबार स्वाट्ट छिरेर सिसी क्याम्राको  तार  चाटचुट छिनाउनु छ । तहाँउप्रान्त पैसो छनछन, परिवारले गन्छन् । यो क्षेत्र निश्चित रुपमा माउवादीको भागमा पर्छ । चुनाउमा टिकस् मैले नै पाम्छु मै उठ्छु । सय सिट हामीलाई राखेर ६५ सिट कांग्रेसलाई दिनुपर्छ । यदि कांग्रेसले अानेकाने गर्यो भने बालकोटतिर देखाइ दिनुपर्छ । अनि वर्षमान काम्रेसलाई असान्दर्भिक भए पनि बालकोट पठाएर हाती तर्साउनु पर्छ । त्यसपछि कांग्रेस थर्कमान।

ए … झुम्री ! लु चिया लेर याँ अाइजो । फुन पनि ल्या । भिरघरेलाई बोलाउनु पर्यो । यसपालाको चुनाउमा यो जिल्लाबाट मै हो ।  अब काठमाडौं गएर प्रचन्न काम्रेसलाई पनि मज्जाले सम्झाउ छु । बुझिस् झुम्री ! यो पटक म पनि  संघिय प्रतिनिधिसभाको माननीय सांसद हुने भए । मन्त्री बन्नु पर्यो भने अर्थमन्त्री नै बन्छु । त्यो मन्त्रालय असाध्य सजिलो क्या । बजेट बनाम्न पनि बाहिरकै मान्छे अार बनाइदिने क्या । सिसी क्याम्रालाई पनि रडले मर्नेगरी  बजाए पछि लु हेर फुटेज !

के वाइयात काल्पनिक कुरो गर्छौ बुढा ! एक त तिमीले टिकस् पाम्दै पाम्दै नौ, अर्को कुरा पाए पनि जित्तैनौ । हैन माउवादी कहाँ छ यो जिल्लामा ? हावाको कल्पना गरेर मनको लड्डु खान थाल्यौ भने बौलाउछौ । यो क्षेत्रमा एमालेको १३ हजार, कांग्रेसको तीन हजार, तिम्रो माउवादीको छ सय र नेकपा एसको ७० भोट त अाको हो नि स्थानीय निकायको निर्वाचनमा ।

तँ बाठी नहु । स्थानीय निकायको चुनाउ र संघिय सांसदको चुनाउमा अाकाश जमिनको फरक छ । प्रचन्नलाई फकार टिकस् लिन्छु र जितेर देखाम्छु ।

नमस्कार है विध्वंसे काका र झुम्री काकी ! के जितेर देखाम्छु भन्दै छौ हौ काका ! कि फेरि भारत र अम्रिकासँग लड्न माउवादीले सुरुङ युद्ध गर्ने भयो ?

हेर भिरघरे भतिज ! तँ कांग्रेस भर पनि हामी माउवादीहर्को खेदो खनेर बोल्छस् । हामी भने रुखमा भोट हालेर पनि तिमार्लाई जिताम्दै छौ । अब मंसिर ४ गते चुनाउ हुने नै भयो । यो जिल्ला माउवादीको भागमा पर्छ । टिकस् मैले नै पाम्छु । अब कांग्रेसीहरू कस्सिएर हँसिया हथौडा चुनाउ चिन्हको प्रचार प्रसारमा लाग्नु पर्छ । यो क्षेत्रमा २०६४ सालमा जस्तै साम,दाम, दण्ड, भेद सप अपनाएर भा पनि चुनाउ जित्नुपर्छ । मान्छे कुट्ने, बाक्सा लुट्ने र भोट थुत्ने जत्थाको नेतृत्व तैले गर्नुपर्छ ।

हौ काका ! यस्तो सपना नदेख । तिम्रो दिमाख पम्चट हुन्छ । एक त यो क्षेत्र कांग्रेसले पाम्छ, अर्को कुरा सत्य बोल्ने हो भने यहाँ एमालेले जित्छ, तेस्रो कुरा मैले प्रचार गर्नु त परैको कुरो हँसिया हथौडामा भोट हाल्ने काम कुनै हालतमा मबाट हुदैन । म चितवनको कांग्रेस होइन जस्ले हँसिया हथौडा खोज्दै भोट हालोस् । यो क्षेत्रमा कांग्रेसीजनले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन । हाम्रो बैठकले निर्नय गरिसक्यो । तिमीले टिकस पाम्न बल पनि  नगरेकै राम्रो । कि कसो झुम्री काकी !

के काकीलाई सोध्छस् ! तैले यसरी बाम्डेर बोल्न मिल्दैन । हेर भिरघरे ढुङ्गाको भर माटो, माटाको भर ढुङ्गो । यस पटक मलाई सहयोग गरिस् भने अर्को पटक तेरो पालो अाम्छ । नत्र ओलीको पार्टीले सोरपटार लान्छ । ओलीको शासन कस्तो हुन्छ तँलाई थाहा छदैछ ।

थाहा छ । भनौ भने अाफ्नै सरखारको विरोध गरे जस्तो हुने, नभनौ भने झुठ्ठो बोल्नु पर्ने । यो एक वर्षमा विकासको एउटा पनि काम भएन । पचाउनै नसक्ने गरी नीतिगत भ्रष्टाचार भएको छ । अोलीको पालामा भएका कामहरूलाई हाम्रो सरखारले गरेको भनेर देखाउनु परेको छ । जतासुकै कुशासन, बेथिति र अनियन्त्रित मूल्यबृद्धी बाहेक हाम्रो पानदले सरखारले केही दिएन । एक त हाम्रो सरखार जनादेशबाट बनेको होइन परमादेशबाट बनेको हो । इतिहास नै कलंकित हुनेगरी अर्थमन्त्रीले व्यपारीका एजेन्टलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेट बनाए । कांग्रेसले एक्लै सरखार चलाएको भए ठिकै हुन्थ्यो । अस्तिसम्मको दुश्मन, कतै केही नमिल्ने तिक्डमबाजका माउवादी नाइकेहर्लाई सहयोगी बनाएर देउवा दाइले हाम्रो कांग्रेसलाईसमेत बदनाम गराए । सबैभन्दा नराम्रोसँग नेपालको परराष्ट्र नीति धुलिसात भयो । यो सरखार अम्रिका र भारतका लागि अत्याधिक कमफर्टेवल त भयो तर, नेपाली जनता र राष्ट्रका लागि भने अभिसाफ सावित भयो । अहिले हाम्रो देउवा दाइ बायाँ घुम्दैछन्, प्रचन्न देव्रे घुम्दैछन् । जब देब्रे र बायाँ एउटै हो भन्ने बुझ्छन् अनि कुटाकुट गरेर छुटाभिन्न हुन्छन् । तरवार बेचुवा र घिउ बेचुवाको अस्वाभाविक मिलाप छ ।तर, धेरै दिन टिक्दैन ।

हेर भिरघरे ! हाम्रो जनार्जनले राम्रो गरे भनेर मैले पनि भनेको छैन । उनी फर्केर जान पनि हुन्थेन । प्रचन्न र देउवा नै नमानेपछि  कसको के लाग्छ ! राष्ट्रको ढुकुटी समाप्त पार्न धनार्जन जस्तो सहज र सजिलो अरु पाउदै पाएनछन् । हाम्रो काम्रेस प्रचन्नले `अम्रिकाले जे भन्छ नेपालले त्यो गर्नुपर्छ´भन्ने नीति लेको चाहिँ मलाई पटक्कै मुन परेको छैन । फातिमालाई लेखेको चिठीमा ढाँटे, एमसिसी पास गर्दा जनता र कार्जेकर्तालाई उल्लु बनाए, भारत गएर अाफै  जोकर बनेर फर्किए । तापनि हाम्रो प्रचन्न काम्रेसलाई चितवनका कांग्रेसले भोट दिएर चुनाउ जिताउनै पर्छ । नत्र राष्ट्रमा ठूलो अनिष्ट हुन्छ ।

काका यस्ता कुरा छोड । राष्ट्रमा अनिष्ट सनिष्ट केही हुदैन । अनिष्ट भए छ भने चतरा गएर भैंसी पूजा गर्नुपर्छ । सप्पै ठिक हुन्छ । यदि कांग्रेसले माअोवादीलाई बोकेन भने माओवादीलाई चाहिँ अनिष्ट हुन्छ । किन भने माओवादी भन्ने पार्टी समाप्त हुन्छ ।

लु यसरी मेरो कन्सिरी तात्तिने कुरो चाहिँ नगर । हेर भिरघरे ! तँ जेसुकै भन चुनाउमा सप्पै कुरोमा चाँजो पाँजो मिलाएर हाम्रो सरखार एमाले हराउ अभियानमा लाग्नुपर्छ र लाग्छ ।

के एमालेलाई धाँधली गरेर हराउनु ! उनारू चाहिँ हातमा दही जमाएर बस्छन् ? ६४ सालको चुनाउमा जस्तो सोचेको होला अब त्यो समय छैन । सिंह दरबारको सिसीटिभी फुटेज धुमिल बनाए जस्तो गर्न पनि सकिदैन । हावा कल्पना गरेर बस्छौ कुनचाहिँ दिन काकाको दिमाखी जुइँनो खुस्कियो भनेको सुन्नु नपरे हुन्थ्यो भन्ने पो लाग्न थाल्यो । लौ काका चुनाउ अाउन निकै बाँकी छ । गफ गर्दै गरौला । अाजलाई भने म घरतिर लागे ।

 जै नेपाल !

Facebook Comments
Phutani
Comments (0)
Add Comment