जब हाम्रो नेताहर्ले गठबन्धन गरेर अग्रगमनतर्फ छलाङमारे तब अन्तर्राष्ट्रिय हितैषी मुलुकहरू चकित हुन पुगे । हाम्रो सात समुन्द्र पारिको हालको हृदयविदारक (पहिलाको खुङखार साम्राज्यवादी) मित्रराष्ट्र अम्रिका त एमसिसीमा हाम्रो नेतोहर्ले लगाइ दिएको पारदर्शी लगौटी (व्याख्यात्मक टिप्पणी) देखेर चकित भयो । अम्रिकाले एमसिसीको सम्झौतामै `एमसिसीमा कुनै प्रकारको पुच्छर, व्याख्या, फुर्को, फुँदो, टिप्पणीलगायत मान्य हुने छैन्´ भनेर लेखेको ठाममा हाम्रा नेतोहर्ले ल्याप्प-ल्याप्प छाप लगाए । अहिले नेपाली जनतालाई बेकुफ बनाम्न ती नेताहरू `हामी काग जस्तो बाठो भएर पारदर्शी भा पनि लगौटी नलगाई दिएको भा एमसिसी नाङ्गै हुने रछ´ भन्दै छन् । अब हाम्रो हृदयको अम्रिकाले `एसपिपी´ नाम गरेको अर्को (निरवस्त्र, नाङ्गो, उदाङ्गो, छर्लङ्ग) उपहार दिदै छ । ।
नेपालको अाफ्नै हितैषी साम्राज्यवादी अम्रिकाका मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री डोनाल्ड लु अस्ति काठमाडौं अाए । अाउन त अाए ठिकै थियो, तर नेपाली नेतोहर्लाई पैसो दिएर भा पनि एसपिपी नामको सैनिक सम्झौता पास गर्न अाए । जनतालाई भ्रममा राख्न मात्र भए पनि हाम्रो गठे सरखारले गत असार ६ गते `एसपिपी पास गर्दैनौ, नेपालीलाई अावश्यक छैन्´भनेर अम्रिकातिर पत्र पठाउने निर्णय गरेको थियो । तर, हाम्रो साम्राज्यवाद विरोधी, महान सर्वहारावादी नेतो, प्रतिगमनलाई फर्लक्कै पल्टाउने र धूर्तशिरोमणि प्रचन्न काम्रेस साथै अार्जु भाउजूका श्रीमान् सम्माननीय देउवा दाइ मिलेर अम्रिका पठाम्नु पर्ने पत्रको ठेगाना बिगारेर ढुट्टो पारेछन् । पत्र अहिले रुसमा पुगेर अलपत्र परेको खबर अाएको छ । खाम भित्र चिठ्ठीको ब्यहोरामा पनि `हामी अम्रिकाको हितैषी युक्रेनको खुलेर समर्थन गर्छौ, साम्राज्यवादी रुस मुर्दावाद´ भनेर लेखिएको छ अरे । रौसीले रमरम पारेको बेला परो क्यारे । रक्सी खायो तनतनी, एकातिर तान्यो लगौटी अर्कोतिर छिन्यो कन्दनी पो भयो ।
जसरी पनि एसपिपी त पास गर्नैपर्छ । नत्र हाम्रो माउवादी केन्द्रका नेताहरू मान्दैनन् । चाइना र अन्डिया रिसाउन कि खुसाउन तर, अम्रिका र युरोपियन युनियन रिसाउनु हुदैहुदैन । त्यसको दुरगामी मात्र होइन अग्रगामी कारण छ । ती देशहर्मा हाम्रो कम्रेडहर्को सवारी हुदा अातंककारी भन्दै चिरिप्पझ्याप पारेर झ्यालखानातिर कोच्यो भने क्यार्ने ? नेपाली जनता त खुसी होलान अरे, हाम्रो नेतोहर्को के गति हुन्छ नि ! यस्तो गहन र गम्भीर कुरा बुझ्नु छैन । अहिले नै पास भएन भने पनि अब अाम्ने चुनाउमा हाम्रो गठबन्धनको दुईतियाई सिट अाम्छ अनि पास हुन्छ । नत्र हामी त युरोप- अम्रिकातिर त जानै पाएन गाँठे । सवारी भनेको भारत बाहेक कतै भा छैन् । भारत जादा एयरपोर्टमा स्वागत गर्न पनि उनार्को परराष्ट्रमा काम गर्ने खरदार अाम्छ गाँठे ! माला, खादा, अगुवा, पछुवा कुछुनाई । अनि कसरी चिन्नु हाम्रो सदावहार अध्यक्ष काम्रेस हुन भनेर ! लु त्यो त भयो भयो मोदीले भेटै नदिनु भनेको त शिक्षकलाई किला ठोकेर मारे बराबर भो नि । कस्तो यस्तो सस्तो र लोकपृय कुरो पनि नबुझेको ?
नेताहर्लाई पनि एकतिरको पिरलो छैन । जतासुकै किचकिच ! विद्यार्थीले किताब पाएन अरे । अब पाएन त एक वर्ष नपढ्दा के चाहिँ बिग्रन्छ र ! फेरि उता किसानले मल पाएन अरे । पाएन त पाएन । सरखारलाई गाली गरेर हुन्छ ? एक वर्ष खेती नगरेर सरखारलाई सहयोग गर्ने धर्यता पनि छैन हाम्रा किसानहर्मा । गठबन्धन सरखारलाई पनि चर्कै पर्यो । यही सरखारका पालामा धेरै कुरा भयो । पहिला ओलीको पालामा जता भए पनि ४० प्रतिशत भए हुने भन्दा घनघोर विरोध गरियो । यता हामीसमेत मिलेर अग्रगामी नेता तथा कम्युनिष्टहर्को पनि नेता देउवा दाइ प्रधानमन्त्री भएसी एक लम्बरमा संसदमा अथवा पार्टी केन्द्रिय समिति जता भए पनि २० प्रतिशत बनाउने पार्टी चकनाचुर पार्ने भन्ने दुई दिने अध्यादेश पास गरेर एमालेको धुस्नो काढियो । माधव काम्रेस पनि ठूलो भाग खान हाम्रो सदावहार अध्यक्षको पछुवा बनी छाडे । अदालतलाई दाहिना पारेसी जनादेश सनादेश मार्यो गोली परमादेशकै हालिमुहाली हुने भै हाल्यो ।
अदालत, अध्यादेश, एमसिसी, अर्थमन्त्री, नागरिकता र अब एसपिपी पास पछि चुच्चे नक्शा फिर्ता । तहाँ पछि कमफर्टेवलको महावाणी चरितार्थ हुने छ । जे होस् राष्ट्रको `मेक्सिमम्´मया गर्ने, एकै वर्षमा जनताका समस्या समाधान गर्ने सरखार र नेताहर्को इतिहासमा नाम लेख्नु पर्दा देउवा दाइ, प्रचन्न र माधवहर्को नाम लेखिने भो । अरु नाथे झासेझुसे । त्यसै कमफर्टेवल भनेको होइन नि । हाम्रो प्रचन्न काम्रेस भएसी सप कुरो मिल्छ । अरुले गित गाको र नानीको बाउले सुसेलेको ! हाम्रो सदावहारले सुसेलेकै काफी छ । अनियन्त्रित महंगी नियन्त्रणको विषय, किताब र मलखादको समस्या समाधानको विषय, डम्पिङ साइड समाधानको विषय, विकास खर्च हुन नसक्नुको कारण र ओरालो लागिरहेको अर्थतन्त्रको बारेमा यो सरखार र गठबन्धनका नेताहर्को कहिल्यै छलफल भएन । त्यहाँ उल्लेखित विषयमा छलफल हुने कुनै गुञ्जायस नै छै । त्यहाँ पैसा, पद बाँडफाड, अनन्त कालसम्म गठबन्धन जीवित राख्ने उपाय र अाफन्तहर्लाईसमेत विदेश भ्रमणमा पठाउने विषयमा गम्भीर छलफल हुन्छ ।
कहीं कतै देश विकासको कुरा उठेन । वास्तवमा त्यो उठाउनु पर्ने विषय पनि होइन । गठबन्धन सरखार अहिले स्वादिलो, अत्यान्तै लयालु, लाजघिन पटक्कै नलाग्ने खालको र राष्ट्रहितको लागि अम्रिका र भारतसँग पनि सुरुङ युद्ध गर्ला जस्तो देखिदै छ । यो ऐतिहासिक सरखार हो । न भूतो, न भविष्यति ठोकेर भन्न सकिन्छ कहिल्यै यस्तो सरखार बन्ने दिन अाम्दै अाम्दैन । हेर्नुन `धनार्जन शर्मा जिन्दावाद, अर्थमन्त्रीमा पुनर्वाहाली होस्´ भन्ने दिन पनि अाए । हैट ! पानदले काम्रेस सरखारले देश चाहिँ घुमाइ घुमाइ बनाम्ने भो । होइन सरखारले चाहेपछि नहुने भन्ने केही छैन । विश्वका लागि उदाहरणीय सरखार यही हो । अरु थाहा नाइ अम्रिका र भारतका नेता चाहिँ हाम्रा नेता देखेर पक्कै कुन ग्रहका प्राणी हुनन भनेर घोरिदै होलान ।
उल्कापात भयो । कताको कम्युनिस्ट कताको कांग्रेस ! सिध्दान्त नै `भयो सालाखाला, जता जाला लुटेरै खाला´ बनाएपछि कसको के लाग्छ । पहिला हामीलाई माओवादी भन्थे । त्यसपछि खाओवादी भन्न थाले, अहिले अाएर पुच्छरवादी काम्रेडहरू भनेर चिन्छन् । हुन पनि ओली नभए देउवा, देउवा नभए अोली । कहिले यता लिपिक्क कहिले उता चिपिक्क । लु लाल सलाम माओवादीका काम्रेसहरू !