आधुनिक शहरका गाउँले मानिस र दुर्गम रहनसहन

अँध्यारो कुनामा धुमधुम्त कालो रात बिताएर विहान उठ्दा म टिकापुरप्रति नै नकारात्मक भएको थिएँ ।

तर, मेरो त्यो सोच धेरैबेर टिक्न सकेन । होटल जस्तो होटलबाट विहानै हामी टिकापुर अवलोकनमा निस्कियौं । हामीले त्यस भेगका एमाले नेता हिमान्चल भट्टराईलाई खोज्नु थियो, भेट्नु थियो । उनैलाई खोज्ने क्रममा टिकापुरको वास्तविक रुप पनि हामीले देख्न, भोग्न र महशुष गर्ने मौका पायौं ।

टिकापुर नगर विकास विस्तार त्यस्तो थिएन। कागजमा योजना बनाएर, यसको पूर्ण इन्जियरिङ नक्सा बनाएर, त्यसैलाई नगर निमार्णमा टपक्क उतारिएको रहेछ । हुनत, मैले टिकापुरमा भेटेका, देखेका मानिसहरु नगरवासी जस्ता थिएनन् । उनीहरु नगर नामको नगरका गामवासी नै थिए । तिनका जीवनशैली, रहनसहन, बोलीचाली, बानीव्योहरा पूर्णत ग्रामीण थियो । उनीहरु एउटा नगरका गाउँबासी थिए । मुल सडक र सहायक सडकहरु, हरेक घर–घर बीच अवश्यक दुरी सबै कित्ताकाट भएता पनि उनीहरु बीचको सम्बन्ध भने चोखो गाउँले थियो । मैले मेरो टिकापुर बासमा यही महशुष गरेँ ।

राष्ट्रिय राजमार्गसित जोडिएको दाङको लमही, बाँकेको इतिहास बाकेको नेपालगञ्ज, बर्दियाको गुलेरिया र राजापुर बजार पार गरेर यहाँ आइपुग्दा म चकित परेको थिएँ, टिकापुरको शहर स्वरुप देखेर । चौडा व्यवस्थित सडक, चोक, आधुनिक बास व्यवस्थापन, पार्क, खेलकुद मैदान, अस्पताल, विद्यालय आदि । मानिस बस्नका लागि आवश्यक, आधुनिक नगरका लागि आवश्यक सबै पूर्वाधार तयार थियो । म झन छक्क परेँ । गएको दुई हप्तालाई पल्टाएर सम्झना चलचित्र बनाएर हेरेँ । दुर्गम तराई । धुले कच्ची बाटो । अव्यवस्थित शहरहरु । पुल बिनाका खोलाहरु । आदिम कालका जस्ता मानिस र तिनको जीवनशैली ।

तर, टिकापुर नगर विकास विस्तार त्यस्तो थिएन । कागजमा योजना बनाएर, यसको पूर्ण इन्जियरिङ नक्सा बनाएर, त्यसैलाई नगर निमार्णमा टपक्क उतारिएको रहेछ । हुनत, मैले टिकापुरमा भेटेका, देखेका मानिसहरु नगरवासी जस्ता थिएनन् । उनीहरु नगर नामको नगरका गामवासी नै थिए । तिनका जीवनशैली, रहनसहन, बोलीचाली, बानीव्योहरा पूर्णत ग्रामीण थियो । उनीहरु एउटा नगरका गाउँबासी थिए । मुल सडक र सहायक सडकहरु, हरेक घर–घर बीच अवश्यक दुरी सबै कित्ताकाट भएता पनि उनीहरु बीचको सम्बन्ध भने चोखो गाउँले थियो । मैले मेरो टिकापुर बासमा यही महशुष गरेँ ।

टिकापुरको कथा यस्तो रहेछ । कुरा पच्चिस सालतिरको हो । राजा महेन्द्र सुदूरपश्चिम महाकाली किनार शुक्लाफाँटा शिकार आरक्षमा शिकार–सवारमा थिए । उनलाई पहिलो हृदयघात त्यसै साल, त्यहीँ भयो । उनको स्वास्थ उपचार गर्ने टोलीले शान्त ठाउँ खोज्ने क्रममा कर्णालीतिरको यो जङ्गल किनार ल्याई पु¥याए । आराम गर्न राजा महेन्द्र एक महिना जति नै बस्ने भएपछि, त्यहाँ अस्थायी दरबार, सैनिक ब्यारेक र कच्ची हवाईजहाज धावन मार्ग पनि निर्माण गरियो । आराम गर्न बस्दाबस्दै राजालाई त्यस ठामसित माया मोह बस्यो । उनले त्यहाँ मानव बसोबासको परिकल्पना दिमागमा छापे ।

जसलाई मुर्तरुप दिन अठ्ठाईस सालतिर इन्जिनियर शंकरनाथ रिमालले जिम्मा पाए । अनि, परिकल्पनालाई इन्जिनियरको भाषामा अनुवाद गर्ने काम शुरु भएको रहेछ । यसरी एउटा आधुनिक नगर जन्म भयो । अठ्ठाइस सालमै राजा महेन्द्रको दोस्रो हृदयघातले ज्यान लियो । तर, उनका उतराधिकारी राजा वीरेन्द्रले टिकापुर नगर विकासको कामलाई निरन्तरता दिए । बत्तिस सालमा कागजको आधुनिक नगर वास्तवमै टिकापुर बनेर बदलियो । नगर विकास आवश्यक पूर्वाधारका कामहरु शुरु भयो । जसका लागि तत्कालीन पञ्चायत हस्ती खड्गबहादुर सिंहलाई अध्यक्ष बनाएर राजाले जिम्मा लगाएका थिए । टिकापुर नगर बन्नका लागि दुई हजार विगाह जङ्गल काटियो । बन क्षेत्रलाई समतल, खुल्ला चौर बनाएर नक्साको आवश्यकता अनुसार काट्ने (प्लटिङ) को काम गरियो ।

टिकापुर नगर बन्ने क्रममा धेरै सुदूर पश्चिमेलीहरु पहाडबाट तराई झरेको थाह भयो । “खासगरेर अछाम जिल्लाबाट मानिस यहाँ आए” कसैले मलाई भनेको अझै याद छ । “पूर्वका मानिस पनि धेरै आए” तिनैले सुनाएका थिए । त्यसताका कर्णाली पारीका सबै मानिस उनीहरुका लागि पूर्वेली हुन्थ्ये । कैलाली, कञ्चनपुरका मान्छे बाँके, बर्दियाका बासिन्दालाई समेत पूर्वेली भन्दा रहेछन ।

टिकापुर नगर पार्कको चर्चा भने मैले नेपालगञ्जमै सुनेको थिएँ । हामी पार्क घुम्न गयौं । तर पार्क ठाउँ ठाउँमा भत्किएको देख्यौं । त्यहाँ कयौं प्रजातीका गुलाफको फुल रोपेर झिलिमिली पारेको कुरा धेरै अघि सुनेको मलाई त्यो झिलिमिलीमा रम्न मन थियो । हराउन मन थियो । तर त्यस्तो हुन सकेन । म पुग्दा, बहुदलवादीले पञ्चायती गुलाफका फुल चुँडालेछन् । पार्क माथि पनि हमला गरेछन् । अनि ध्वस्त पारेछन् । सबैले टिकापुर नगरको सान भनेर चिनाउने टिकापुर पार्कको सप्तरङ्ग खुइल्याइ दिएछन् । मलाई यो अन्तरघाती बदला मन परेन । यो स्ववर्वादी प्रतिशोध पनि मन परेन ।

टिकापुर नगरकै दक्षिण किनारमा हिमान्चल भट्टराई बस्दा रहेछन् । भट्टराई त्यसभेगमा पढालेखा एमाले नेता रहेछन् । उनको उखु पेलेर सक्खर बनाउने मिल थियो । हाम्रो भेट पनि त्यहीँ भयो । कैलालीमा कमैया थारुको अवस्थाका बारेमा उनैबाट जानकारी पायौं । पूर्व कैलालीमा कमैया समस्या बर्दिया, बाँके र दाङभन्दा फरक नरहेको थाह भयो । तर पश्चिम कैलाली, जहाँ राना थारुहरुको बढी बसोबास छ, ती भेगमा भने कमैया समस्या न्यून रहेको उहाँबाटै थाह भयो । यस बारेमा थप जानकारी धनगढी, महेन्द्रनगर क्षेत्रमा बटुल्ने उद्देश्य र विश्वास राखेर हामीले टिकापुरलाई बिदा गर्ने निधो ग¥यौं ।

टिकापुरबाट समान ओसारपसार गर्ने ट्रकहरु सुदुर पश्चिम केन्द्र धनगढी आवतजावत गर्दो रहेछ । हामी हाम्रो यात्रा त्यसैमा तय भयो । हामीसित त्यसबाहेक कुनै उपाय वा विकल्प पनि थिएन । हामीले ट्रकको पछाडि समान राख्ने ठाउँको खाली कुनोलाई अबको यात्राका लागि सुरक्षित गयौं । ट्रकको गति र हलचलसितै हल्लिदै एउटा जोखिम यात्रा गयौं । राजा महेन्द्रले टीका लगाइदिएको माटोमा व्यवस्थित टिकापुरको सुन्दर नगर सपना सजाएर हामी अघि बढदै थियौं । जङ्गल बीचको धर्सो जस्तो कोरिएको बाटोमा हामीलाई बोकेको ट्रक कनिकनि अघि बढ्दै थियो । दायाँबायाँ ठुल्ठुला रुखहरु, कतै रुख ढालेर छाडिएका मुढाहरु अनि रुख काटेपछि बचेका ठुटाहरु हामीले यात्रामा देखेका दृश्यहरु यस्तै थिए ।

कैलालीकै लम्की आइपुगेपछि पूर्वबाट आएको पूर्व–पश्चिम राजमार्ग भेटियो । अनि हाम्रो ट्रक पनि उसलाई पछ्याउँदै सुदुर पश्चिमतिर हुईकियो । यसअघि हामी टिकापुरबाट उत्तर तर्फ लागिरहेका थियौं। राष्ट्रिय राजमार्ग कतै बन्दै थियो, कतै भरखर बनिसकेको थियो । कर्णाली नदीमाथिको पुल पनि बनिरहेको यात्रामै थाह पायौं । बाटो यही अवस्थाका कारण यात्रुबाहक कुनैपनि खाले गाडीहरु हामीले देखेनौं । बाटो धेरैजसो कच्ची थियो । त्यसैले पटकपटक हामीले धुलो आतङ्क सहनु परिरह्यो । साना, मध्य र ठुला खोला नदीमा पुलहरु थिएनन् । हाम्रो ट्रक खोला बीचबाटै वारपार गरिरहेको थियो । धन्य, हिउँदको बेला भएकाले खोलामा पानी निकै कम थियो वा केहीमा त छँदै थिएन । त्यसैले हामी चढेको ट्रकलाई खोला तर्न खासै अप्ठ्यारो भएको थिएन । यसरी अनिश्चय र सास्ती बेहोर्दै हामी अत्तरिया आइपुगेका थियौं । यहीबाट एउटा बाटो सुदूर पश्चिमका पहाडी जिल्लातिर जान गोदावरी मार्ग सुरु गरेको रहेछ । सिधा बाटो पच्छयाए सुदूर पश्चिमको महाकालीतिर पुगिने रहेछ । हामी चै दझिण धनगढीतिर मोडियौं । अत्तरियाबाट धनगढी पक्की सडक थियो । हामीले लामो सन्तोषको सास फे¥यौं । “अब दुखका दिन गए” हाम्रो अनुहारमा यस्तै भाव झल्कियो । अब, ट्रकले उचाल्न पछार्न छाडेको थियो । दिनभर थचारिएको हाम्रो शरीरलाई अहिले मखमलको शकुन पाए झै महशुष भइरहेको थियो ।

धेरैदिन पछि हामी झिलिमिली बजार धनगढी पुगेका थियौं । रात पनि उज्यालो हुदोँ रहेछ जस्तोे मनमा लागिरह्यो । पुगेको साँझ धनगढी चौक बाहेकको धनगढी बजार हेर्न, देख्न, महशुष गर्न पाएनौं । भोलीपल्ट विहानै धनगढी अवलोकनमा निस्कियौं । धनगढीमा मान्छे रिक्सा (मान्छेले तान्ने रिक्सा) चल्थ्यो । हामीले पनि त्यसैको सदुपयोग ग¥यौं । रिक्सा चढेर बिहानभर धनगढी बजार घुम्यौं ।
धनगढीमा दुइटा धनगढी थिए । एउटा पुरानो धनगढी बजार । जहाँका घरहरु, बाटोहरु, पसलहरु सबै संरचना पुराना थिए । यहाँ देखिने, भेटिने मानिस समेत मलाई पुराना भान भएको थियो । अर्को विस्तारको गति समातेको व्यवस्थित नयाँ धनगढीसित हाम्रो साक्षात्कार भयो । नयाँ पक्की घरहरु बन्दै थिए । बाटा पक्की थिए । नयाँ मानिसहरु आराम र अवसरको खोजीमा बसाई सराई गरेर आईपुगेका थिए । कति बसाईसराईकै क्रममा देखियो, भेटियो । नयाँ धनगढीका बासिन्दा आदिवासी थारु र अवधी थिएनन् ।

धनगढीमा बेलुकी खाना खाने होटलमा अचम्म भयो । हाम्रो छेउको टेबुलका केही मानिसहरु आ–आफ्नो रुची अनुसार हाईड्रोजन, नाईट्रोजन अनि अक्सिजन अर्डर गर्दै थिए । उनीहरुका खाना परिकारको नाम सुनेर म छक्क परेको थिएँ । मनभित्र कौतुहलले काउकुती लगाएको थियो । ती खान्कीका नामले मनमनै बेस्सरी हाँस उठेको थियो । पछि, उनीहरुको अर्डर बोतलमा गिलास सहित आएपछि त्यो मादक पदार्थ रहेको थाह भयो । यो नगरमा रक्सीका नामहरु यसरी नै राखिएको रहेछ, अक्सिजन, नाईट्रोजन र हाईड्रोजन ।

हाम्रो मिसन कमैया थारुको समस्या भन्दा सुकुम्वासी थारु समुदायको समस्या यहाँ आएर बुझ्न पायौं । कुनैबेला यस भेगका जमिनको एक्लो हर्ताकर्ता अब आएर सुकुम्बासी भईसकेका रहेछन् । भुमीहिन बनिसकेका रहेछन् । उनकै जमिनका मालिक अरु कोही बनिसकेको रहेछन् । मलाई यहाँको अवस्था हेर्दा कुनैबेला अंग्रेजले बाईबलका भरमा अप्रिकी जनतालाई उनकै भूमिमा भूमिहिन बनाएको यथार्थ आफ्नै देशमा देशभित्रकै टाठावाठाले गरेको अनुभव भयो । त्यसताका धनगढीवासी आफ्नै देशको राजधानी काठमाडौं आउन भारतको भूमि प्रयोग गर्न बाध्य थिए । हुनेखानेहरु आक्कल झुक्कल आईपुग्ने हवाईजहाज चढ्थे । यो शहर सिमाना शहर पनि हो ।

धनगढीमा सुकुम्वासी भुमीहिन थारु समुदायको समस्यालाई लिएर त्यसताका आन्दोलनको मधुरो झिल्को मैले महशुष गरेको थिएँ । मलाई लागेको थियो, यो झिल्को एकदिन दन्दनी आगो बलेर सडक तताउने छ, सडक खरानी बनाउने छ । तर, यसबारे हामीले त्यस्तो गहन अध्ययन, अनुसन्धान गर्न पाएनौं । केही स्थानीयसितको छोटो कुराकानीकै आधारमा मैले यो निक्र्यौल निकालेको थिएँ ।

हामीले यस्तै प्रभाव मनमा राखेर धनगढी छाडेका थियौं । धनगढी–महेन्द्रनगर त्यसबेला पक्की सडकले जोडिसकेको रहेछ । दिनमा केही बस दुईतर्फी दौडने गथ्र्यो । हामी पनि सार्वजनिक सावारी (बस) चढेर धनगढी पुगेका थियौं । टिकापुर छिरेदेखि नै मैले नयाँ नेपालको भिन्न नेपाली भाषा अनुभव गरिरहेको थिएँ । लवजमा भिन्नता, शब्द अर्थमा भिन्नता भेटिरहेको थिएँ । धनगढीबाट महेन्द्रनगर जानेबेला बसमा भाषा नबुझ्दाको समस्या मैले भोगीहालेँ । म बसको पछिल्लो सिटमा बसेको थिएँ । मेरो छेउमा एकजना वृद्ध महिला थिइन । मेरो काँधे झोला दुई खुट्टाको बीचमा थियो । यसले आवश्यकता भन्दा बढी ठाउँ लिइरहेको थियो । जसको कारण उनलाई बस्न असहज भइरहेको थियो । गल्ती मेरै थियो ।

अचानक ती महिला उठेर ठुल्ठूलो स्वरमा कराउन थालिन । उ मलाई नै केही भनिरहेकी थिइन । मलाई पक्का त्यस्तै लागिरहेको थियो । पछि कन्डक्टर आएर झोलाको समस्या बुझाएपछि बल्ल मैले सुध्रिने मौका पाएँ । माफी माग्दै झोला ठेकान लगाएँ ।

महेन्द्रनगर । यो पूर्व तयारी, पूर्ण नक्शाङ्कन गरिएको सुदूर पश्चिमको आधुनिक शहर–बजार हो । पश्चिम नेपालको आधुनिक विकासमा यस्को छुट्टै योगदान छ । हो, महेन्द्रनगर व्यवस्थित र योजनावद्ध ढङ्गले निर्माण गरिएको, स्थापना गरिएको आधुनिक नगर थियो । तर, म पुग्दा संरचनाका हिसाबले आधुनिक भएता पनि शहरवासीमा आधुनिकताको कुनै रङ्गले छोएको थिएन । पहाडबाट तराई झरेका या तराईबाटै त्यहाँ बस्न आइपुगेका उनीहरु जस्तो आएको त्यस्तै अवस्थामा थिए । रहनसहन, खानपिन, बानी व्योहरा सबथोक दुर्गम नै थियो । पुरानै थियो । मैले त्यसमा कुनै कोणबाट आधुनिकता छाएको देख्न पाइन । शहरलाई सडकहरुको सञ्जालले टोल र चोक छुटयाएको थियो । सरकारी अड्डाहरु छुट्टै ठाउँमा, व्यापारिक र आवासीय क्षेत्रहरु अलगअलग छुटयाइएको थियो । अर्थात्, एउटा व्यवस्थित शहर थियो ।

यहाँ सुकुम्वासी समस्याको आवाज अझ चर्को थियो । पूर्वबाट पश्चिम बसाइँ सरेका ऋषिराम लुम्सालीले त्यसको कमाण्ड सम्हालेका थिए । आर्थत उनी सुकुम्बासी नेता थिए । हाम्रो भेट उनीसित पनि भयो । तर हामीले आफ्नो एजेन्डा कमैया बाल वँधुवा मजदुरलाई केन्द्रविन्दु बनाएकोले उनीसित त्यसबारे सतही छलफल मात्रै ग¥यौं ।

हामी हाम्रो यात्राको अन्त्यतिर आइपुगेका थियौं । झण्डै दुई हप्ताको सहकार्य पछि म र मनोज छुट्टियौं । उनी जुन बाटो आएको त्यही बाटो आफ्नो घर फर्के । म भने काठमाडौं फर्कने वन्दोवस्तीमा लागेँ । भाग्यले साथ दिएर वा आरएनएसीको ट्वीनेटरले बाटो बिराए म उडेर काठमाडौं पुग्ने संभावना थियो । नत्र भने अन्य स्थानीयले झैं मैले भारतको बाटो भएर फर्कनु पथ्र्यो ।

म जहाजको टिकट किन्न शहर बीच खोलिएको टिकट काउन्टर पुगँे । काउन्टरका कर्मचारीसित काठमाडौं जान टिकटका लागि अनुरोध गर्दा उनले मलाई केही क्षण टवाल्ल हेरे । केही बेरपछि उनले मलाई सम्झाए, “यहाँ टिकट काटेर कोही जहाज चढ्दैनन । एयरपोर्ट पुगेपछि जहाज आएछ भने त्यही टिकट दिन्छन्, उड्नुहोला” । जहाज आउनसक्ने सम्भावित समय अझै दुई दिन बाँकी थियो । मैले ती दुई दिन एक्लै निरुद्देश्य बिताएँ । जथाभावी घुमफिर गरेँ । महेन्द्रनगरका सडकहरु नापेँ । एउटा कपडाको टेण्टमा सिनेमा हल थियो । सिनेमा हेरेँ । सिनेमाको नाम पनि याद छ– मैने प्यार किया ।

जहाज आउन सक्ने दिन आयो । एउटा रिक्साको वन्दोवस्त गरेँ । रिक्सामा महेन्द्रनगरबाट झण्डै एक घन्टा गुडेपछि एयरपोर्ट मानिएको एयरपोर्ट आइपुग्यो । म जस्तै थुप्रै आफ्नो भाग्य ‘अजमाउन’ त्यहाँ पुगिसकेका रहेछन् । हामी सबै एकोहोरो आकाशमा सेतो चिलगाडी कतै देखिन्छ कि भनी आँखा टट्याउन्जेल हेरिरहेका थियौं । हेरेका हेरै थियौं । एयरपोर्टको पूर्वी किनारमा काठका लकडीहरु लाम लगाएर थुपारिएको थियो । सोध्दा थाहा भयो, टिम्बर कर्पोरेसनको गोदाम र अड्डा रहेछ । म यस्तै यताउता मन भुलाउँदै थिएँ । “आयो, आयो” भनी आकाशतिर हेरेर सबै चिच्याउन थाले । मैले पनि आकाशतिर आँखा तन्काए । निकै पर, सेतो सानो आकृति मतिरै आइरहेको थियो । अनि म पनि चिच्याएँ– आयो, आयो ।

टिकट कउन्टर खुल्यो । सबैका हातमा टिकट भयो । अब, ट्वीनेटर हाम्रो अगाडि धवनमार्गमा हामीलाई कुरिरहेको थियो । सबै लाइनबद्ध भएर, अनुशासित भएर, जहाज चढ्न पर्खिरहेका थियौं । सबैको अनुहारमा केही गल्ती गरे फर्काइ देला कि भन्ने डरका तरङ्ग कुद्थे । मेरो मनमा पनि त्यही त्रासले ढकढक्याइरहेको थियो ।

त्यो जहाज आछामको साँफेवगरबाट आएको रहेछ । हामीलाई टिपेर उ नेपालगञ्ज हुँदै काठमाडौं जाने रहेछ । आरएनएसीको त्यो ट्वीनेटरले नियोजित गन्तब्य लियो । म दिनभरको यात्रा पश्चात् बेलुका काठमाडौं विमानस्थलमा ओलिएको थिएँ । नौलो अनुभव, नौला मानिस, नौला ठाउँ, नौला भाषा र लवजहरु । मेरो जीवनका लागि यो एक महिने यात्रा जीवन सिकाइको एकदमै उपयोगी र महत्वपूर्ण अध्याय बन्यो ।

Facebook Comments
Prateek
Comments (0)
Add Comment