दक्षिण एशियाली मित्रराष्ट्र श्रीलङ्का टाट पल्टिएपछि त्यहाँको राज्य व्यवस्था पनि तासको घर जस्तै गल्र्यामगुर्लुम ढलेको छ । आमजनता दैनिक आवश्यकताका सामग्री पैसा तिरेर पनि किन्न नसक्ने अवस्थामा पुगेका छन् । यसबाट जनताको आक्रोश यति बढ्यो, उनीहरूले राष्ट्रपति गोटाबाय राजपाक्षेको सरकारी निवास घेरेनन् मात्रै, उनलाई भाग्न विवश बनाए । गोटाबाय यो आलेख तयार गर्दासम्म अज्ञातस्थलमा लुकेर ज्यान जोगाइरहेका छन् । त्यति मात्रै हैन, उनले यही हप्ताको मध्यमा राजीनामा दिने जनाउ दिइसकेका छन् । उनको सरकारी निवासमा अहिले प्रदर्शनकारीले कब्जा जमाएका छन् । प्रधानमन्त्री बिक्रमा रणसिंघेको हालत पनि उस्तै छ । उनले राजीनामा दिने घोषणा गरिसकेका छन् भने उनको निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।
चरम आर्थिक मन्दीले तहसनहस भएको श्रीलङ्काको विकसित घटनाक्रमलाई नेपाली नागरिकले पनि चासोपूर्ण ढङ्गले नियालिरहेका छन् र नेपाली राज्य व्यवस्था र नेतृत्वलाई जोडेर सामाजिक मिडियामा ट्रोल गर्ने, दल तथा तिनका नेताहरूप्रति टिकाटिप्प्णी, कटाक्ष र खबरदारी गर्ने कार्य गरिरहेका छन् । नाेपाली सञ्चारमाध्यममा नेपाल पनि कतै श्रीलङ्काको बाटोमा त जाँदैछैन भनेर चिन्ता व्यक्त गरिएका सामग्री पनि प्रकाशित भइरहेका छन् । आमनेपाली नागरिक हाम्रा नेताहरूको स्वेच्छाचारिता, दलगत र गुटगत स्वार्थले श्रीलङ्काको बाटोमा नेपाललाई नपुर्याऊन् भन्ने चाहन्छन् ।
उता श्रीलङ्कामा भने लाखौँको सङ्ख्यामा कोलम्बो राजधानीमा जम्मा भएर प्रदर्शन गरिरहेका आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जामा लिएपछि तरहतरहका हर्कत् गरिरहेका तस्बिर र श्रब्यदृश्य सामग्री सार्वजनिक भइरहेका छन् । प्रदर्शनकारीहरूमध्ये कोही राष्ट्रपति भवनको पौडी पोखरीमा पौडिरहेका देखिन्छन् भने कोही बैठकमा बसेका, कोही चिया र खानेकुरा पकाएर खाइरकेका त कोही राष्ट्रपतिको विस्तरामा पल्टेर टिभी हेर्दै गरेका देखिन्छन् । त्यति मात्रै होइन, राष्ट्रपति निवासमा भेटिएको भनेर कोही नोट गनिरहेका छन् । अभावमा तड्पिरहेका श्रीलङ्कालीहरूले यस्ता हर्कत्मार्फत् राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थहरूको सुखशयललाई एक ढङ्गले भन्ने हो भने व्यङ्ग्य गरिरहेका छन् ।
साढे दुई करोडको जनसङ्ख्या भएको श्रीलङ्का नेपालको आधाभन्दा सानो (६२,७१० वर्ग कि. मि.) क्षेत्रफल भएको समुद्री टापु राष्ट्र हो । प्रतिव्यक्ति आयका हिसाबले दक्षिण एशियामा माल्दिभ्सपछि दोस्रो स्थानमा रहेको श्रीलङ्का यसरी टाट पल्टेला भनेर शायद् कसैले अनुमान गरेका थिए । एउटा समृद्धिको बाटोमा हिँड्दै गरेको राज्य आज विफल हुनु चानचुने कुरा होइन ।
अङ्ग्रेजकालीन उपनिवेशका बेला सन् १९२६ मा ८० अमेरिकी डलर प्रति व्यक्ति आय भएको श्रीलङ्का (त्यसबेलाको सिलोन) ले १९४८ मा स्वतन्त्रता हासिल गरेदेखि आर्थिक विकासमा अगाडि बढेको देखिन्छ । विश्व बैङकको तथ्याङ्कलाई नियाल्दा नेपालमा पञ्चायती व्यवस्था आएको साल वि. सं. २०१७ (सन् १९६०) मा श्रीलङ्काको वार्षिक प्रतिव्यक्ति आय केबल १४२.८ अमेरिकी डलर थियो । नेपालमा गणतन्त्र आएर शान्ति प्रक्रिया अगाडि बढ्दा सन् २००८ मा श्रीलङ्काले आफ्नो प्रतिव्यक्ति आय २०३७.७ अमेरिकी डलर पु¥याएको थियो । विश्व बैंकको तथ्याङ्क अनुसार, सन् २०१८ मा श्रीलङ्काको वार्षिक प्रतिव्यक्ति आय ४०५९ अमेरिकी डलर रहेकोमा सन् २०१९ देखि ओरालो लाग्दै आएको पाइन्छ । सन् २०२१ मा यहाँको वार्षिक प्रतिव्यक्ति आय ३८१४.७ अमेरिकी डलरमा झरेको पाइन्छ ।
नेपाल र श्रीलङ्का दुबै सशस्त्र द्वन्द्वबाट गुज्रेका देश हुन् । नेपाल एक दशक मात्रै सशस्त्र द्वन्द्वको चपेटामा प¥यो भने श्रीलङ्का कम्तीमा तीन दशक सशस्त्र द्वन्द्वको भूमरीमा रुमल्लियो । नेपालमा करीब १७ हजारको ज्यान गयो भने श्रीलङ्कामा संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार, द्वन्द्वमा परी ८० हजार देखि एक लाख व्यक्तिको ज्यान गयो ।
श्रीलङ्का जातीय हिसाबले मूलतः दुई जात बसोबास गरिरहेको भूमध्य रेखाको ५ डिग्री १५ मिनेटदेखि ९ डिग्री ५१ मिनेट उत्तरी अक्षांशबीचको टापु राष्ट्र हो । यहाँ बहुसङ्ख्यक जातिका रूपमा ७४.९ प्रतिशत सिंहला छन् जो राज्यको दक्षिण, पश्चिम र मध्य भागमा बसोबास गर्दछन् । यसको विपरीत अल्पसङ्यक जातिका रूपमा ११.२ प्रतिशत तमिल देशको उत्तरी र पूर्वी भागमा बसोबास गर्दछन् । सिंहला जाति बुद्ध धर्ममा आस्था राख्छन् भने तमिल हिन्दु धर्ममा । अङ्ग्रेजको अधिनमा रहेका बेला सिंहलाको तुलनामा तमिलले बढी सुविधा पाएका थिए र राज्यव्यवस्थामा उनीहरूको पहुँच थियो ।
स्वतन्त्रता प्राप्तिपछि श्रीलङ्कामा बहुसङ्ख्यक जाति सिंहलाको हातमा राज्यको साँचो पर्न गयो । सन् १९५६ मा सिंहला भाषालाई एक मात्र राष्ट्रभाषा घोषित गरियो । यसबाट राज्यका विभिन्न निकायमा प्रवेश गर्नबाट तमिल जाति बन्चित हुन पुगे । अङ्ग्रेजकालको सिंहला जातिप्रतिको भेदभावलाई सन्तुलनमा ल्याउन स्ट्याण्डराइजेसन (मानकीकरण) नीति राज्यले अगाडि सा¥यो । यो नीतिअन्तर्गत शिक्षामा अवसर नपाएका सिंहला बालबालिकालाई शिक्षामा अग्राधिकार र सुविधा प्रदान गरियो । तमिलहरूलाई यसले अन्याय अनुभव गरायो र सन् १९७० को दशकको अन्त्यसँगै द्वन्द्वको बिजारोपण सुरु भयो । तमिल इलमका नाममा विभिन्न विरोधी समूह जन्मिए । तर सन् १९८३ मा लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे) को जन्मसँगै अरुको अस्तित्व हरायो र घोषित रूपमै सशस्त्र विद्रोह सुरु भयो । सन् २००९ मा यसका नेता भिल्लुपेलाई प्रभाकरण लगायत उनका कमाण्डरको हत्यामा सेनालाई सफलता मिलेसँगै श्रीलङ्कामा सशस्त्र द्वन्द्वको अन्त्य भएको घोषणा सरकारले ग¥यो ।
त्यसबेला राष्ट्रपति थिए अहिलेका राष्ट्रपति गोटावाय राजपाक्षेका दाजु महिन्दा राजपाक्षे । उनैले संसद्मा सशस्त्र द्वन्द्वको अन्त्य भएको घोषणा गरेका थिए । त्यसको लगत्तै राजपाक्षेले लोकप्रियता कमाएका सेनापति सारथ फोन्सेकालाई ३० महिना जेल ठोके । त्यसपछि श्रीलङ्काको राजपाठमा राजपाक्षे परिवारको कब्जा जम्न गयो ।
महिन्दा राजपाक्षेको सत्तामाेह र सत्तारोहणको फेहरिस्तलाई एकपल्ट हेरौँ तः उनी सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति रहे । यसअघि उनी २००४–५ सम्म प्रधानमन्त्री पदमा थिए । २०१८ मा उनी छोटो समयका लागि पुनः प्रधानमन्त्री बने भने फेरि २०१९ देखि केही समयअघिसम्म उनी प्रधानमन्त्री पदमा रहे । सन् २००५ देखि सन् २०१५ सम्म उनी अर्थमन्त्री पनि बने । उनका भाइ गोटाबाय राजपाक्षे सन् २०१९ देखि हालसम्म राष्ट्रपति छन् । भाइ राष्ट्रपति बने लगत्तै महिन्दा राजपाक्षे सन् २०१९ देखि २०२१ सम्म्म पुनः अर्थमन्त्री पनि हुन पुगे । प्रधानमन्त्री र राष्ट्रपति भइसकेको व्यक्ति पद, शक्ति र पैसाका लागि मन्त्री पनि हुन लाज नमान्ने व्यक्तिमा महिन्दाको नाम कहलिएको छ ।
भाइ गोटाबाय राजपाक्षे राष्ट्रपति र दाजुु महिन्दा राजपाक्षे प्रधानमन्त्री भइरहेका बेला उनीहरूका अर्का भाइ बसिल राजपाक्षे अर्थमन्त्री बन्न पुगे । यिनको अर्थसम्बन्धी कुनै ज्ञान नभएको कुरा सार्वजनिक भई नै सकेको छ । पालैपालो सत्तामा बसेर देश घोक्र्याउने काम राजपाक्षे दाजुभाइले गरिरहेको पहिले त श्रीलङ्काली नागरिकले भेउ पाएका थिएनन् ।
लामो सशस्त्र द्वन्द्वले भित्रभित्रै कमजोर बन्दै गएको अर्थतन्त्र उठाउनेभन्दा पनि अदूरदर्शी नेताको पारिवारिक र गुटगत स्वार्थ, विलासी र ऐयासी जीवनशैली, अपारदर्शी र भ्रष्ट राज्य संयन्त्र एवं स्वेच्छाचारी र गैरजिम्मेवार राजपाठका कारण श्रीलङ्का डुब्दै गएको त्यहाँका जनताले भेउ पाउँदा निकै ढिला भइसकेको थियो ।
अरु त अरु, उत्तरपुस्तिकाको अभावमा विद्यार्थीको परिक्षा समेत हुन सकेन । कतिसम्म दयनीय अवस्था भयो भने खाना पकाउने ग्याँस पाउन सकिएन । पेट्रोल, डिजेलको कुरा त परैको भयो । पैसा भएर खानेकुरा किनेर खाने अवस्था रहेन । जनदबाब थेग्न नसकेर प्रधानमन्त्री पदबाट महिन्दा राजपाक्षेले राजीनामा दिएपछि भर्खरै प्रधानमन्त्री बनेका रनिल बिक्रमासिंघेले आधिकारिक रूपमै देश टाट पल्टेको घोषणा गरे ।
यिनै राजपाक्षे तीन दाजुभाइका पालामा श्रीलङ्का टाट पल्टेपछि आमनागरिक राजपाक्षे परिवारप्रति आक्रोशित हुन पुगे । देशको अर्थतन्त्र सुधारतिर यी शासकको ध्यान कहिल्यै गएन । विदेशी ऋणमा देश चलाउने, स्वदेशी उत्पादन र बजारलाई मतलब नगर्ने तथा निजी र पारिवारिक स्वार्थका लागि राज्यको स्रोत र साधन प्रयोग गरी पालैपालो सत्ताभोग गर्ने, भ्रष्टाचार, परिवारवाद र नातागोतावादलाई प्रश्रय दिने जस्ता कुराले देश बर्बाद हुन पुग्यो । आमजनता अभाव र अनिश्चयपूर्ण भविष्यको मारमा छट्पटाइरहँदा यी राजपाक्षे दाजुभाइको हाँसो प्रकाशन र प्रसारण भएबाट पनि यिनीहरू कति गैरजिम्मेवार निकृष्ट रहेछन् भन्ने जनमानसमा उजागर भयो र यिनीहरूप्रतिको वितृष्णा झन् बढेर गयो ।
करीब एक लाख मान्छेको बलिदानको लाभ केबल राजपाक्षे परिवारले उठाएपछि देश तनावमा छ । नागरिक सडकमा छन् । राष्ट्रपति र प्रधानमन्त्रीले भागेर ज्यान जोगाउनु परेको छ । राजपाक्षे परिवारका अरु सदस्य र आफन्तप्रति पनि जनता आक्रोशित छन् । परिस्थिति कसैको पनि नियन्त्रणमा छैन । अब के हुन्छ र कसरी देश सम्हालिन्छ भन्ने पनि कुनै मार्गचित्र अहिलेसम्म देखिएको छैन । झण्डै चार हजार डलर प्रतिव्यक्ति वार्षिक आय भएको, झण्डै ९२ प्रतिशत साक्षर नागरिक भएको देश आज भविष्यबिहीन र अभिभावकबिहीन अवस्थामा भिरको डिलमा पुगेको छ ।
एउटा परिवार र सानो समूहको स्वार्थमा निजी कम्पनी जस्तो गरी चलाउँदा राम्रै अवस्थाको देश पनि कङ्गाल बन्दोरहेछ । त्यसमाथि नेता विरूद्ध आलोचनात्मक चेत नभएका कार्यकर्ता, भ्रष्ट कर्मचारीतन्त्र र राजनीतिबाट उदास तथा खबरदारीशून्य जनता भएको मुलुकको हालत यस्तै हुँदोरहेछ भनेर बुझी सच्चिँदै र सच्याउँदै नेपालका नेता, कार्यकर्ता, आम जनताले अगाडि बढ्न आवश्यक छ । ठूलो क्षति भोगेर सिकेको भन्दा अरुको देखेर सिकेको कम महँगो हुन्छ भन्ने हेक्का र शिक्षा श्रीलङ्काको यो हालतबाट नेपाल र नेपालीले लिन आवश्यक छ ।