बेलुकाको खाना खाएर, ओछ्यान लागिसकेको थिए । रघुजी (रघु मैनाली) को फोन आयो । अनि, सम्झाउनु भयो, द्रोणप्रसाद अचार्यको वार्षिकी सप्ताह । ‘तपाईको त परिवार सम्बन्ध होईन’ उहाँले झस्काउनु भयो । मैले र मेरो परिवारले भने तिथि मिति बिर्सिसकेका रहेछौं । हुन पनि हामी स्वार्थी मानुवा बाँचेकाहरुलाई नजिक ठान्छौ, मरेपछि केही के के नजिकको नाता जताउँछौ । अनि, बिर्सिने नियमित प्रक्रिया शुरु हुन्छ । सम्झनाहरु धमिलो हुदै जान्छ । तिनले देश र समाजका लागि गरेका उल्लेखनीय योदानहरु उल्लेख गर्न छाडछौ । सबैथोक भित्ते संस्मरणमा टँगिन्छ । म पनि त्यही वर्गको रहेछु । यो भन्दा मलाई किमार्थ अप्ठयारो लागेको छैन ।
“आफ्ना कमजोरीलाई स्वीकार्नु पर्छ” मैले बालक चेतनामै द्रोण अंकल ‘दोणाचार्य’, द्रोणप्रसाद आचार्यबाट सुनेको र सिकेको यो महत्वपूर्ण जीवन विद्या अहिले जस्तो मलाई लागिरहन्छ । उहाँले त्यसलाई अझ तन्काएर सिकाउनु भएको थियो, “हार्न जान्यो भने जित्न सजिलो हुन्छ” । यही कुरा उहाँले आफ्नो जीवनभर आफ्नै जीवनमा लागु गर्नुभयो । अनि मृत्युसित हारेर पनि संसार जितेर हामीबाट टाढा कतै अपरिचित लोकको सुमार्गमा यात्राका लागि लम्कनुभयो ।
“आफ्ना कमजोरीलाई स्वीकार्नु पर्छ” मैले बालक चेतनामै द्रोण अंकल ‘दोणाचार्य’, द्रोणप्रसाद आचार्यबाट सुनेको र सिकेको यो महत्वपूर्ण जीवन विद्या अहिले जस्तो मलाई लागिरहन्छ । उहाँले त्यसलाई अझ तन्काएर सिकाउनु भएको थियो, “हार्न जान्यो भने जित्न सजिलो हुन्छ” । यही कुरा उहाँले आफ्नो जीवनभर आफ्नै जीवनमा लागु गर्नुभयो । अनि मृत्युसित हारेर पनि संसार जितेर हामीबाट टाढा कतै अपरिचित लोकको सुमार्गमा यात्राका लागि लम्कनुभयो ।
त्यो पनि तीस बर्ष पुग्न पो लागिसकेछ । उहाँ मेरो बुवा (स्व. प्रभात भण्डारी) को मिल्ने साथी, दुवै सुरुमा कवि, सहित्य अनुरागी । अनि पत्रकार बन्नुभयो भद्रपुर, झापाबाट निस्कने युगवोध सप्ताहिकमा सम्बन्ध गाँसेर । म त सानै थिए । द्रोणाचार्य मेरो बुवासित आक्कल झुक्कल हाम्रो जङ्गलबीचको झापा, पृथ्वीनगर घरमा आउनु भएको धमीलो वाल संस्मरण मात्रै छ । उहाँ भद्रपुर बजार बस्नु हुन्थ्यो, हामी जङ्गलबीचको पुर्नवास क्षेत्रमा । बुवाले सुनाउनु भएको वा आमालाई भन्नु भएको कुरा याद आउँछ, “भद्रपुरमा उहाँको गाँसवास नै द्रोण अङ्कलसित हुन्थ्यो । मेरी आमा द्रोणाचार्यको साथी भाउजु । तर, मलाई याद छ, मेरी आमालाई उहाँले आफ्नै साख्खै भाउजु झैं आदर गर्नुहुन्थ्यो । त्यो चै मलाई स्पष्ट सम्झना छ । धेरैपटक त्यो आदरभाव मैले उहाँको आँखामा, शारीरिक हाउभाउमा देखेको छु । महशुष गरेको छु ।
तर, हामी झापाबाट नेपालगञ्ज बसाइ सरेपछि भने हाम्रो निकटता भौगोलिक दुरीका हिसाबले टाढियो । मेरा बुवा ०४३ सालमा बित्नुभयो । हामी नेपालगञ्जमा थियौं । आर्यघाट, पशुपतीमा हामी तीन भाइले बुवालाई अन्तिम विदा ग¥यौं । अनि, पृथ्वीनगर, झापा गएर तेह्र दिने काज क्रिया ग¥यौं । काजक्रियामा पनि द्रोणचार्यसंगको निकट सम्बन्ध काम लाग्यो ।
त्यसताका झापामा नेपाल कम्युनिष्ट पार्टी (माले) प्रतिबन्धित सूचीको सबभन्दा माथिल्लो नम्बरमा थियो । उहाँ त्यसै पार्टीका अग्रपंक्तिका झापाली नेता भइसक्नु भएको थियो । जिल्लादेखि केन्द्रसम्म उहाँ परिचित बनिसक्नुभएको थियो । राष्ट्रिय व्यक्तित्व भइसक्नु भएको थियो ।
झापामा त उहाँ लोकप्रिय, सर्वप्रिय हुँदै हुनुहुन्थ्यो । पञ्चायती निर्वाचनको उपयोग गर्दै पर्टीले २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यका लागि जनपक्षीय उमेदवार उठायो । उहाँले झापाबाट अत्यधिक सफलताका साथ जित्नु भयोे, अर्थात् उहाँ जनपक्षीय नेताबाट जनपक्षीय साँसद बन्नुभयो, चुनाव जितेर । त्यस अघिनै मेरा बुवा र उहाँको बीचमा राजनैतिक दुरी बढीसकेको थियो । मेरा बुवा राजसंस्थाका नजिक हुनु भएको थियो र उहाँ राजसंस्था उखेल्ने अभियानमा । तर हाम्रो पारिवारिक सम्बन्धमा भने कहिल्यै कमी आएन । बरु म चाहिँ उहाँको राजनैतिक धारको नजिक पुगेको थिएँ । क्याम्पस पढ्ने लक्का जवाज, अखिले विध्यार्थी कार्यकर्ता । म काठमाडौंमा पढ्दा थोरै पटक उहाँको कमरेडी डेरामा पुगें । जनपक्षीय सांसद द्रोणप्रसाद आचार्यको डेरा सामूहिक तर सानो कोठे धर्मशाला जस्तो लाग्थ्यो मलाई । झापाली दिनदुखी सहयोगको खाँचोमा परेकाहरुको सँधै जमघट हुन्थ्यो । कहिले बिहान पुग्दा लाम लागेर मानिस सुतिरहेको, भान्सामा एउटै ईसकुसको तरकारी र भात अनि क्रान्तिकारी कुरा यही नै त्यहाँ देखिने सुनिने गतिविधि थियो, जनपक्षीय साँसदको निजी र अस्थायी धर्मशालामा, शरणशालामा ।
त्यहाँ आउदाँ जाँदा मेरो युवा मनले एउटै कुरा देख्यो, एउटा नेताले चाहँदा, नेता र जनताको बीच सम्बन्धको दुरी पर्खाल कसरी भत्काउन सक्दो रहेछ, एउटै ओत र भोकबीच साम्यवाद कसरी ल्याउन सक्दो रहेछ, खाना र खाट कसरी सँगै बाड्न सकिदो रहेछ । जनपक्षीय चुनाव र त्यसमा बिजयी भएका जनपक्षीय सांसद द्रोणप्रसाद आचार्यको त्यो डेरामा म जति पटक गएँ, त्यही दृश्य देखेँ ।
बहुदल आयो, द्रोणहरुले नै जिते । अन्तिरमकालमै उहाँले महत्वपूर्ण जिम्मेवारी पाउनु भयो । राष्ट्रिय बन सुदृढीकरण कार्यदलको जिम्मेवारी । आयोगको संयोजक । पञ्चायतकालमा राष्ट्रिय बनको हविगत शक्तिशालीको व्यक्तिगत जस्तै भएको थियो । जनमतसंग्रहको नाममा, चुनावको नाममा, व्यापारको नाममा, स्वार्थ स्वार्थमा । यो कार्यदल विशेष अधिकार सहित गठन भएको थियो । जसमा राजनैतिक व्यक्ति, बन प्रशासक मात्रै होइन, बन र वातावरण विज्ञहरु, स्वतन्त्र व्यक्तित्वहरु र सञ्चार क्षेत्रका अग्रजहरु समावेश गरिएको थियो । यसलाई नीति निमार्णमात्र होइन त्यसका लागि आवश्यक कार्यन्वयनका लागि चाहिने निर्णयको अधिकार समेत थियो ।
त्यसैक्रममा तराईका समस्याग्रस्त २२ वटा जिल्लामा बन सुरक्षा समिति गठन भयो । मैले नेपालगञ्जमा पत्रकारिता गर्न थालिसकेको थिएँ । नेपाल वातावरण पत्रकार समूहसित पनि नजिक भइसकेको थिएँ । त्यही हैसियतमा म पनि बाँके सुरक्षा समितिको सदस्य नियुक्त भएँ । मैले विज्ञान पढेता पनि व्यवाहारिक हिसाबले बन र वातावरणमा भने ज्ञान थिएन । यो नियुक्ति र यसका लागि गर्नु परेको कामले मेरो नेपालको बन र वातावरणको ढोकामात्रै होइन, चक्षु ज्ञान खोलिदिएको थिायो ।
बनसित जङ्गल, काठ, दाउरा, स्याउलापात, पशुपक्षी हुँदै मानिससितको सम्बन्धलाई बुझ्ने ठूलो मौका पाएँ । जुन पछि मेरो वातापरण पत्रकारिताको मेरुदण्ड बन्यो । मानिसमात्र होइन, बनमा बसोबास गर्ने बन्यजन्तुको बासस्थलका बारेमा पनि धेरै थाह भयो । यसका लागि म मेरो अङ्कल, नेता द्रोणचार्यलाई पूर्ण श्रेय दिन्छु । मलाई लाग्छ, बन र बन्यजन्तु सम्बन्धी नीतिगत हिसाबले बनेको र त्यसले पथ प्रर्दशन गरेको व्यवहारिक कार्ययोजनहरुका अर्थमा समेत उहाँको यो कार्य नेपालका लागि निकै महत्वपूर्ण थियो । र, आजसम्म पनि कार्यदलले तय गरेको नीतिलाई नै केन्द्रविन्दु बनाएर अन्य महत्वपूर्ण कामहरु भईरहेका छन् ।
यसका लागि उहाँले खेलेको कुशल नेतृत्वलाई भुल्नु हुँदैन । भर्खर काँचो बहुदलीय राजनीतिक अवस्थामा सबैलाई मिलाएर यो बृहत् नीति र कार्यनीतिको रोडम्याप तयार पारिएको थियो । र, यसको सोच दिर्घकालीन थियो ।
बहुदल पश्चात् भूमीहिन सुकुम्बासीका नाममा तराईका धेरै जङ्गलमा मानिस छिरेका थिए । कार्यदलले बेलैमा सर्वदलीय, स्वतन्त्र व्यक्तित्व, बन, सुरक्षा प्रशासन ,बन सुरक्षा समिति गठन गरेर त्यो समसयमा तत्कालका लागि समाधान गर्न सकेको म ठान्दछु । हामीजस्ताको समलग्नताले गर्दा आम मानिसमा बल र बलवानको दुरुपयोग पनि रोकिएको थियो । समस्याले सेफ ल्याण्डिङ गर्न सकेको थियो ।
फेरि भूमिका फेरियो । ठाम फेरिए । म काठमाडौं आएर पत्रकारिता गर्न थालेँ । प्रतिपक्ष साप्ताहिकमा संवाददाता भएँ । बहुदल पश्चातको पहिलो बहुदलीय संसदमा समाचार सङ्कलन गर्न गइरहनु पथ्र्यो । अनि, सँधै सदैव पूर्ण तयारीका साथ आईपुग्ने बहुदलीय सांसद द्रोणप्रसाद आचार्यसित जम्काभेट भइरहन्थ्यो । उहाँसितको निकटताले मैले सत्यसत्य र जनताले थाह पाउनै पर्ने खबरहरु पाइरहन्थे । अब उहाँ मेरो समचारको स्रोत बनिसक्नु भएको थियो । यसरी संसद भित्रका थुप्रै वेखबर खबरहरु मैले उहाँसित पैंचो लिएर छापेको छु ।
म २०४९ सालमा कान्तिपुर दैनिकमा काम गर्न थालेँ । त्यहाँ पनि मेरो समचार विट वन र वातावरण, विज्ञान भएपछि त मलाई उहाँ समाचारको स्रोतमात्र रहनु भएन, सहयोगीका रुपमा समेत सघाउन थाल्नुभयो । त्यसैक्रममा उहाँ एकदिन आफैं कान्तिपुरको कार्यलय, थापाथली, काठमाडौंमा मलाई भेट्न आएको झलझली सम्झन्छु । उहाँ मलाई अन्तिम पटक सघाउन आउनु भएको रहेछ । मलाई विश्वास र भरोसा गरेर वेखबर खबर दिन आउनु भएको रहेछ । खबर थियो, लौठ सल्ला र वर्मे सल्लाको चोरी निकासी । भारतीय औषधि तथा औषधि अनुसन्धान कम्पनी डाबर इण्डिया लिमिटेडले बन मन्त्रालयसित नाजायज सम्बन्ध कायम गरेर ती बनस्पतिको काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट अवैध कटानी गरी चोरी निकासी गरिरहेको । त्यो ठूलो खबर थियो । मैले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको बन कटानी भएकै ठाउँ पुगेर त्यो विषयमा खोजी समाचार बनाएँ । कान्तिपुरको प्रथम पृष्ठमा छापियो । हल्लीखल्ली मचियो । सरकारले कटानी र निकासीमा तुरुन्त रोक लगायो । हामीबीचको अन्तिम भेट, अन्तिम सहकार्य त्यही नै भयो ।
त्यसको केही हप्ता पछि आमाले उहाँ नेपालगन्ज आउनु भएको र त्यहीबाट भूमार्ग भएर भारतको नयाँ दिल्ली जानु भएको खबर फोनमा सुनाउँनु भयो । उहाँ प्यानक्रियाजको समस्याको उपचार गर्न त्यसतर्फ लागेको पनि आमाबाटै थाहा पाएको थिएँ । तर, उपचारका लागि अझ भनौं स्वास्थ्य जाँचका लागि जानु भएको उहाँ फेरि फर्कनु भएन । उहाँ २०५० साल असार ६ गते हामीलाई गहिरो सम्झना छोडेर अनेत्र कतै निराकार यात्रामा लाग्नुभयो ।
मेरी आमा अझै पनि भन्नुहुन्छ, “उहाँ नेता हुनुहुन्थयो कि समाजसेवी ।” अनि, सुनाउनु हुन्छ, उहाको त्याग र तपस्याका कथा । एकदिन चर्को घाममा हाफ स्विटर लाएर हाम्रो घर आइपुग्नु भएका उहाँलाई देखेर, छक्क परेर आमाले सोध्नुभएछ– यस्तो गर्मीमा पनि किन स्विटर?, उहाँले सहज उत्तर दिनु भएछ “हुनेलाई पो जाडो र गर्मीको लुगा, यो त आङ ढाक्न बेरेको” ।
उहाँको सहयोगी भावना अनन्त थियो । बुवाको देहान्त पश्चात, मेरी आमा विरामी भइरहनु हुन्थ्यो । एकदिन देवर द्रोणाचार्यले काठमाडौंमा भाउजुलाई पु¥याउन ट्याक्सी चढाउनु भएछ । ट्याक्सी भाडा तिरी सकेपछि, खल्ती रित्तो । अनि फर्कने बेला भाउजुले गाडी भाडाका लागि पचास रुपीयाँको नोट दिदा बिस रुपियाले आफूलाई पुग्छ भन्दै तीस रुपिया फर्काउनु भएछ ।
यस्ता हुनुहुन्थ्यो, मेरो बुवाका साथी, मेरो अङ्कल, नेपाली कम्युनिष्ट आन्दोलन एउटा आदर्श पात्र, सफल पत्रकार, स्थापित साहित्यकार, जनपक्षीय नेता, सांसद द्रोणप्रसाद आचार्य ।
मलाई “जित्नलाई हार्न पनि सिक्नुपर्छ केटा” भनी पाठ सिकाउने उहाँ जीवनसित असमयमै हार्नुभयो । तर उहाँको कृति, उहाँका विचार, उहाँले जितेका मनहरु सदैव संसार जितिरहे छन् । आज पनि जित उहाँकै भइरहेको छ । हार्दिक श्रद्धाञ्जली श्रद्देय द्रोण अङ्कल ।