‘निर्वाचनको प्रारम्भिक चरणमा छिटपुट घटना बाहेक दलहरू स्वस्थ प्रतिस्पर्धामा’

स्थानीय तहको निर्वाचन पर्यवेक्षण–२०७९

काठमाडौँ । आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल  (जियोक) ले नेपालको संविधान जारी भएपछि स्थानीय सरकारका निम्ति दोस्रो पटक हुन गइरहेको निर्वाचन प्रतिस्पर्धाको प्रारम्भिक चरणमा छिटपुट घटनाबाहेक राजनीतिक दलहरु स्वस्थ प्रतिस्पर्धामा रहेको उल्लेख गरेको छ । निर्वाचनअघिको वस्तुिस्थितिको पर्यवेक्षणपश्चात प्रेस विज्ञप्ति जारी गर्दै जियोकले भनेको छ- वितगको तुलनामा राजनीतिक दलहरूका कार्यकर्ता कम आक्रामक हुँदै गएका कारण मतदाताहरुले सुरक्षा महसूस गरेको पाइएको छ ।

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालको पर्यवेक्षण टोलीले स्थानीय तहको निर्वाचन, २०७९ का लागि ३० जिल्लाका २ सय पालिकामा गरी जम्मा चार सय प्रतिनिधिमार्फत् पर्यवेक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पर्यवेक्षणको क्रममा उम्मेदवारी दर्तादेखि मौन अवधि शुरु हुनु अघिल्लो दिनसम्म एकाध ठाउँमा बाहेक दल तथा उम्मेदवारहरु शान्तिपूर्ण प्रचार–प्रसारमै खटेको पाइएको छ । बरु राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरु भने ठाउँ–ठाउँमा भाषण गरी कार्यकर्ताहरुलाई उत्तेजित गर्ने प्रयत्न गरिरहेको पाइएको जियोकले जनाएको छ ।

जियोकले भनेको छ- “पर्यवेक्षणका क्रममा राजनीतिक दलका कार्यकर्ताहरूबीच आपसमा खासै तिक्तता, द्वेष र घृणाको अवस्था पाइएन । उनीहरु प्रचार–प्रसारका क्रममा विगतका निर्वाचनहरुमा भन्दा संयमित भएको देखिन्छ । बरु उम्मेदवारी छनौटमा असन्तुष्टिका कारण उम्मेदवारी दर्ताका दिन दलभित्रै केही ठाउँमा झडपहरु भएका छन् । चुनाव स्थानीय तहको तर चुनावि तयारी राष्ट्रिय नेताहरुको प्रतिष्ठाको विषय बनेको देखियो ।”

जियोकका अनुसार, निर्वाचन आचार–संहिता पालनामा राजनीतिक दल तथा सरोकारवालाहरु सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारहरुबाट शक्ति प्रदर्शन गर्ने ध्येयले बाजा–गाजा, ठूला ब्यानर, झण्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाईएको छ । निर्वाचन प्रचार–प्रसारमा विगतमा जस्तो तुल, ब्यानर आदिमा कमी आए पनि भोट माग्न जाँदा दलीय गीत गाउँने र त्यसका लागि माइकको चर्काे स्वरको प्रयोगका कारण मतदाता असन्तुष्ट भएको पर्यवेक्षणबाट देखिएको छ तथा पोखरा लगायत कतिपय ठाउँमा प्रशासनद्वारा लाउडस्पीकरण जफ्त समेत गर्नुपरेको दृष्टान्तहरू फेला परेको जियोकको ठहर छ । निर्वाचन आयोगको आचार–संहिताका कारण दलीय झण्डा तथा चुनाव अंकित तोरणहरू झुण्ड्याएको नपाइए पनि उम्मेदवारका कार्यकर्ताहरुले कहीँ कतै आँखा छल्दै राति पम्पलेट टाँस्ने र प्रशासनले दिउँसो त्यस्ता पम्पलेट हटाउने क्रम भने चलेको पाइएको छ जियोकका महासचिव कृष्णमान प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चार–संहिताका कारण दलीय झण्डा तथा चुनाव अंकित तोरणको प्रयोग न्यून भएको, सुरक्षाका चारै निकाय बीच राम्रो समन्वय भएको, ३० मिनेटभित्र जुनसुकै निर्वाचन क्षेत्रमा प्रहरी/सेना पुग्न सक्ने गरी व्यवस्था भएको, सुरक्षा सम्वेदनशीलता विश्लेषण गरी चारै वटा सुरक्षा निकाय, मोबाइल गस्ती, स्ट्राइकिङ फोर्स, रिर्जभ्ड फोर्स तथा र्‍यापिड रेस्क्यु टिम परिचालन गर्ने योजनासहित मजबूत सुरक्षा प्रदान गर्ने योजना र कार्यान्वयनका कारण सुरक्षा व्यवस्था समेत प्रभावकारी भएको पर्यवेक्षणबाट देखिएको छ , विज्ञप्तिमा भनिएको छ ।

सो विज्ञप्तिमा भनिएको छ-  “संविधान तथा कानून बमोजिम राजनीतिक दलले उम्मेदवार दिंदा प्रमुख या उपप्रमुख मध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था भए पनि दुई वा दुई भन्दा बढी दल संयुक्त रुपमा उम्मेदवारी दिएको अवस्थामा महिला अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था नभएको हुँदा कानूनमा रहेको छिद्रलाई प्रयोग गरी महिला उम्मेदवारको संख्यामा व्यापक असन्तुलन भएको देखिएको छ । मतदान केन्द्रको व्यवस्थापनका सम्बन्धमा खर्च कटौतीका नाउँमा उक्तस्थलहरुको गुणस्तरमा भने सम्झौता गरेको देखिन्छ । यस प्रकारका केही त्रुटिहरुबाहेक आमरुपमा निर्वाचन प्रकृयामा सुधार हुँदै गएको देखिन्छ ।”

स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकोले यस स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीपूर्ण रुपमा सम्पन्न गराउन जियोकले निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल र उम्मेदवारहरु लगायत सबै सरोकारवालाहरुलाई आह्वान गरेको छ ।

Facebook Comments
निर्वाचन
Comments (0)
Add Comment