आजभोलि देशमा चुनावको माहोल छ । सबै पालिकाहरुमा, खासगरी नगर, उप र महानगर पालिकाहरुका प्रत्यासी मेयर, उपमेयर तथा अन्य उम्मेद्वारहरुले जनता समक्ष अनेकन प्रतिवद्धताहरु बिसाएका छन् । उनीहरुको बोलीमा झुण्डेका अनेकन शव्दहरु मध्ये एक लोकप्रिय शव्द हो, ‘स्मार्ट सिटी’ । यो शब्द यस अघिको निर्वाचनमा पनि धेरैचोटि सुनिएको हो । तर, व्यवहारमा हाम्रा नगर तथा महानगरहरु ‘स्मार्ट सिटी’ नभएर कतिपय अर्थमा त ‘अग्लि सिटी’ मा रुपान्तरण हुन पुगेको हामी सबैलाई थाहा छ । खानेपानी, बिजुली, इन्धन, आवास, बजार (खाद्यान्न, तरकारी, माछा–मासु तथा पशु पंक्षी बजारहरु), शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा व्यवस्थित हुन नसक्दा जनस्वास्थ्य लगायत जनजीविकामा प्रत्यक्ष असरहरु परिरहेको छ ।
स्मार्ट सिटीको अवधारणा आज भन्दा झण्डै ५० वर्ष अगाडि अर्थात १९७० को दशकमा अमेरिकाको लस एन्जेल्स सहरमा ‘बिग डेटा प्रोजेक्ट’ मार्फत विकास र व्यवहारमा आएको हो । यसका निम्ति ‘आर्टिफिसियल ईन्टेलिजेन्स’ का माध्यमबाट नयाँ तथा पुराना सहरहरुको निर्माण वा पूननिर्माण’ को प्रक्रियामा यसको प्रयोगले कसरी सहरलाई सफा, सुन्दर, साँस्कृतिक तथा पर्यावरण्ीाय मैत्री, सुरक्षित, सूसुचित, मानव तथा विकास मैत्री बनाउन सकिन्छ भन्ने हो । त्यसका निम्ति कसरी ‘डिजिटल टेक्नोलोजी’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’को अधिकतम उपयोग गर्न सकिन्छ भन्ने हो । यो कुरा सन् २००८ र २००९ को विश्व आर्थिक मन्दिका बेला यो अवधारणा झन सशक्त भएर आएको थियो ।
तर, हाम्रा कतिपय मेयरका प्रत्यासीहरुको कुरा सुन्दा स्मार्ट सिटीका निम्ति उनीहरुको अवधारणा सुस्पष्ट बनाउन केही सहयोग होस् वा यस विषयमा थप कुरा बुझ्न सहयोगी होस् भन्नका खातिर यो लेख लेख्न प्रयत्न गरिएको हो । स्मार्ट सिटी बनाउने नाममा यो चिज भत्काउने, त्यो चिज बनाउने, सडक आठलेनको बनाउने, फ्लाई ओभरहरु बनाउने, मोनो रेल बनाउने, अग्ला–अग्ला मल तथा हाइ राइज बिल्डिङ्स बनाउने इत्यादि कुराहरु नै धेरै सुनिन्छ । तर यी कुराहरु सबै स्मार्ट सिटीको अवधारणा भित्रका गुदी कुरा होइनन् ।
स्मार्ट सिटीको अवधारणा
कुनै पनि सहर स्मार्ट सिटी हुनका निम्ति त्यसका केही आधारभूत सिद्धान्त, अवधारणा र मान्यताहरु छन् । कतिपय अवस्थामा त्यो स्थान विशेषको सामाजिक, सांस्कृतिक, पर्यावरणीय, भौगोलिक तथा जनसंख्यिक धरातलमा पनि निर्भर गर्दछ । यद्यपि ‘स्मार्ट सिटि’ भन्नाले सहरको निर्माण, पूननिर्माण वा पुनसंरचना गर्दा दश वटा पक्ष महत्वपूर्ण हुन्छन् । जसमा (१) जनहित अनुकुल, (२) सामाजिक तथा साँस्कृतिक मैत्री (३) न्यायपूर्ण आर्थिक विकास र वितरण । खानेपानी, ढल, सडक, बिजुली, यातायात इत्यादिको व्यवस्थापन दिगोपन कसरी आधुनिक प्रविधि मैत्री बनाउने भन्ने पनि हो । त्यस्तै, (४) शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विल तथा कर भुक्तानी जस्ता सबै कुराहरु अनलाइन तथा ‘डिजिटल एण्ड टेक्नोलोजी फ्रेण्ड्ली’ हुन आवश्यक छ । (५) नागरिकको शान्तिसुरक्षा, बालबालिका तथा महिलाहरुको सुरक्षा, कानून ब्यवस्था, प्रहरी प्रशासन, न्याय प्रशासन तथा जन प्रशासन लगायतलाई जनमुखी बनाउन आधुनिक डिजिटल मैत्री सेवाहरु व्यवस्थित गर्नु आवश्यक छ । अपराध रोकथाम तथा नियन्त्रणलाई पनि प्रविधिमूखी बनाउनु पर्दछ । यस सम्बन्धी सूचना र सेवाहरु हेल्पलाईन तथा हटलाईनहरुको माध्यमबाट नागरिकलाई प्रदान गर्नु पर्दछ । (६) महानगर पालिकाका सबै सेवा र कार्यालयहरुलाई प्रविधिमूखी बनाउनु पर्दछ । बैकिङ्ग, बजार, व्यापार, ठेक्कापट्टा, मालसामान ढुवानी जस्ता सेवाहरुलाई पनि अनलाईन तथा डिजिटलाइज्ड बनाउनु पर्दछ । (७) सहरलाई वातावरण मैत्री, हरियाली, अपांगता, बालबालिका तथा जेष्ठ नागरिक मैत्री बनाउनु आवश्यक छ । घरघरको भान्छामा प्रयोग भइरहेको ग्यास चुल्होलाई विस्थापन गरी बिद्युत चुल्होमा प्रतिस्थापन गर्नु पर्छ । यातायातलाई वायु प्रदुषण मुक्त बनाउनु पर्छ । (८) नागरिकसंग सम्बन्धित जन्म दर्ता, मृत्यु दर्ता, नागरिकता, पासपोर्ट, लालपूर्जा, लाईसेन्स, शैक्षिक प्रमाण पत्र, परिचय पत्र सबै–सबै प्रमाणपत्रहरुलाई डिजिटलाइज्ड गर्नु पर्छ । (९) सहरका पुराना बस्तिहरुमा गाडी, एम्बुलेन्स र दमकल सेवाको निम्ति साँस्कृतिक बस्तिहरु भत्काउनको सट्टा बस्ति अनुकूलको सेवा तथा प्रविधि विकास र व्यवस्थापन गर्नु आवश्यक हुन्छ । एक सय वर्ष नाघी सकेका भवन, मन्दिर, मूर्ति, देवल, पाटीपौवा, गुम्वा, मस्जिद जस्ता महत्वपूर्ण सम्पदाहरुको रेफेरेन्स राख्न त्यस्को डिजिटल अर्काइभ तयार पारी सुरक्षित गरिनु पर्दछ । (१०) सहरलाई सुरक्षित र दिगो बनाउन डिजिटल क्यामेरा लगायत सूचना प्रविधिले भरिपूर्ण बनाउन पर्दछ । सहरलाई सफा, सुघ्घर र वातावरण मैत्री बनाउन उद्यान, पार्क, खोला तथा नदीहरुको सरसफाई तथा दिगो व्यवथापन गर्नु पर्दछ । अन्यथा, कुनै पनि सहर स्मार्ट सिटी भन्दैमा स्मार्ट सिटी हुन सक्दैन ।
पर्यावरण तथा नदी, जीवजन्तुको संरक्षण
काठमाडौं उपत्यकामा नौ मती÷नदीहरु वागमती, विष्णुमती, रुद्रमती, इच्छुमती, मनमती, मनोहरा, नखु, गोदावरी र हनुमन्ते) छन् । ती सबै नदीहरु हाल ढलमतीमा रुपान्तरित भएका छन् । तिनीहरुलाई कसरी पूनर्जीवन दिन सकिन्छ ? तिनीहरुमा सफा पानी बग्ने, माछा र भ्यागुता खेल्ने तथा अन्य जीव र पशु, पंक्षीहरु खेःन कुद्न पाउने, नदीको किनारमा हरियाली रुख, उद्यान निर्माण गर्ने तथा भएका घाट तथा मन्दिरहरुको जिर्णोद्वार को व्यवस्था कसरी गर्न सकिन्छ ? सहरमा हरियाली, बगैँचा, पार्कहरु र खुल्ला स्थानहरु कसरी संरक्षित गर्न सकिन्छ ? यी र यस्ता सोच, दृष्टिकोण र कार्य योजना विना हाम्रो सहर कसरी ‘स्मार्ट सिटी’ बन्न सक्छ ?
सन् २०१५ (२०७२ साल) को भूकम्प पश्चात् पुनर्निर्माणको क्रममा बसन्तपुरको राणाकालमा निर्माण भएको पश्चिमा दरवार शैलीको सट्टा मल्लकालीन वास्तुलाई प्राथमिकता दिन मैले आव्हान गरेको थिए । तर अरु त अरु, हाम्रा सम्पदाविदहरु पनि कानमा तेल हालेर बस्नु मेरो लागि दुस्खको कुरा थियो। सहरले आफ्नो साँस्कृतिक मौलिकता र पहिचान कायम गर्न सकेन भने त्यो त्यतिकै स्मार्ट सिटी बन्न सक्दैन । त्यसो भनिरहँदा, पछिल्लो चरणमा भक्तपुर, कीर्तिपुर, ललितपुर, मध्यपुर र केहीहदमा कान्तिपुरमा निर्माण भएका सतः, देगः (मन्दिर), पुखु, फल्चा, बिहार र बहाहरुको निर्माणको प्रशंसा गर्दै सम्बन्धित मेयरज्यूहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।
फसिल्स फ्युल अर्थात् डिजेल, पेट्रोल, मट्टितेल, कोइला (इट्टाभट्टामा प्रयोग हुने) र दाउराको अधिकतम प्रयोग र डढेलोको कारण सहरमा वातावरण प्रदुषण बढ्दो छ । समयमै त्यसको विकल्प सोचिएन भने काठमाडौं उपत्यका संसारको सबैभन्दा वायु प्रदुषित सहर बन्ने सम्भावना टाढा नहुन सक्छ । त्यसको समयमै उपचार गर्न र वैकल्पिक उपायहरु निकाल्न सकिएन भने हाम्रो सहर कसरी ‘स्मार्ट सिटी’ हुन सक्छ ? त्यसका निम्ति हाम्रो टुँडिखेल, पार्क, बहाल, चोक, मन्दिर तथा त्यसले ओगटेका खुल्ला स्थानहरु जोगाउन आवश्यक छ । त्यसको डिजिटल रेकर्डहरु सुरक्षित राख्न पर्दछ । त्यसो नभएमा जग्गा दलालहरु मिलेर बाँकी भएको खुल्ला स्थानहरु पनि हडप्न बेर छैन ।
भविष्यको बाटो
स्मार्ट सिटी बनाउने नै हो भने एउटा महत्वपूर्ण सुझाव अगाडि सार्न चाहन्छु । हामी सबै मिलेर यदि हालको केन्द्रिय कारागारलाई अन्तै सुरक्षित तथा वातावरण मैत्री स्थानमा सारेर त्यो ठाउँलाई विशाल ‘डेमोक्रेसी पार्क’ वा अन्य कुनै सार्थक नामको पार्क बनाउन सक्यौं भने काठ्माडौं उपत्यकामा खुल्ला स्थान बढ्ने छ । सुन्दरता अझै थपिने छ । गोदावरी, गोकर्ण, शिवपुरी, चन्द्रागिरी, नागर्जुन, दक्षिणणकाली, सुर्यविनायक, चाँगुनारायण, फूल्चोकी इत्यादिका वनजङ्गल, पशुपंक्षी, जडिबुटी, जलाधार जोगाउन सके त्यसले उपत्यकाको पर्यावरण तथा दिगो विकासका निम्ति महत्वपूर्ण भुमिका खेल्न सक्छ । अनि नदीनाला, पानीका स्रोतहरु धारा, कुवा, जमिनमुनिको पानी जोगाउन सके उपत्यकाको सौँदर्य, सुरक्षा, र वातावरण अझै दिगो हुन सक्छ ।
सन् १९०० मा विश्वमा सहरको जनसंख्या जम्मा १४ प्रतिसत थियो । यो तथ्यांक सन् २०५० मा ६८ प्रतिसत पुग्ने अनुमान गरिएको छ । यो प्रवृति नेपालको सन्दर्भमा पनि मिल्दोजुल्दो देखिन्छ । तर आजैदेखि हाम्रा सहरहरुलाई दिगो, छिटो, छरिटो, जनमूखी, पर्यावरणमूखी र डिजिटल टेक्नोलोजी फ्रेण्ड्ली बनाइएन भने ती सहर ‘स्मार्ट सिटी’ नभएर ‘अन्फर्चुनेट सिटी’ हुन बेरछैन ।
स्मार्ट सिटीका निम्ति चाहिने आधारभूत कुराहरु भनेका शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी तथा जिविकासंग सम्बन्धित सबै सेवा र व्यवसायलाई डिजिटल फ्रेण्ड्ली बनाउनु हो । त्यसका निम्ति बालबालिका र युवा पुस्तालाई मात्र होइन सेवाग्राही, सेवा प्रदायक सबै–सबैलाई डिजिटल टेक्नोलोजी सम्बन्धी शिक्षा, तालिम र अभिमूखिकरण प्रदान गर्नुपर्छ । सबैका निम्ति इन्टरनेट सेवाहरु प्रदान गर्नुका साथै ठाउँठाउँमा डिजिटल पार्क निर्माण गरी निशुल्क वा सहुलियत दरमा सेवा प्रदान गर्नु पर्दछ ।
दिगो विकास लक्ष २०३० ले विकासको आधार दिगो आर्थिक उत्पादन र त्यसको न्यायपूर्ण वितरण, सामाजिक सशक्तीकरण र पर्यावरण संरक्षण र सम्वद्र्धन नै हो भनेको छ । यसका निम्ति दिगो विकासको कार्यदिशा ‘फाईभ पी’ उन्मूख हुन पर्छ भनेको छ । त्यस्को अर्थ हो विकास भन्ने कुरा मुलतः मानव (पिपुल), पृथ्वी (प्लानेट), शान्ति (पिस), समृद्धि (प्रस्पेरिटी) र सहकार्य (पार्टनर्सिप) उन्मूख हुन जरुरी हुन्छ भनिएको छ ।
यदि, हामीले हाम्रो सहरलाई स्मार्ट सिटी बनाउनु छ भने, हामीले स्मार्ट गभरनेन्स, स्मार्ट इकोनोमी, स्मार्ट कनेक्टिभिटी, स्मार्ट इन्भारनमेण्ट प्रोटेक्सन, स्मार्ट एजुकेशन, स्मार्ट हेल्थ सिस्टम, स्मार्ट अर्काइभ सिस्टम, स्मार्ट एण्ड इनेब्लिङ इन्भारनमेण्ट इन वर्क प्लेस पनि बनाउनु पर्छ । त्यसका निम्ति सबैभन्दा पहिला हाम्रो घर, समुदाय, विद्यालय, अस्पताल र सबै सेवा प्रदायक निकायहरु स्मार्ट हुन जरुरी छ । तसर्थ, यदि हाम्रो सहरलाई यथार्थमा ‘स्मार्ट र सस्टेनेवल’ बनाउनु छ भने हामीले हावादारी कुरा गरेर होइन । बरु खास सिद्धान्त, आधार र दृष्टिकोणका साथ विकास कार्ययोजना बनाई अगाडि बनाउनु आवश्यक छ । यसका लागि हामीले भौतिक पूर्वाधारहरु, आर्थिक विकास र सामाजिक सशक्तीकरणका विच बलियो तालमेल मिलाउन पर्ने छ । साथसाथै, हामीले यस क्रममा सुरक्षा जस्तो संवेदनशील विषयलाई खाद्य सुरक्षा, सामाजिक सुरक्षा, वातावरण्ीाय सुरक्षा तथा मानव सुरक्षाका विविध आयामहरुसंग पनि जोड्न सक्नु पर्दछ । यसो भएमा, हाम्रा सहरहरु पनि एकदिन वास्तविक अर्थमा ‘स्मार्ट सिटी’ बन्नेछ ।