एमालेद्वारा घोषणापत्र सार्वजनिक

काठमाडौं ।नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धीलाई व्याख्या गर्दै परमादेशलाई जनादेशबाट बिस्थापित गर्ने अठोट लिइएको छ ।

नेकपा (एमाले) ले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस पनि भव्यताका साथ मनाएको छ । यही अवसर पारेर एमालेले आफ्नो पार्टीको केन्द्रीय कार्यालय ललितपुर जिल्लामा पर्ने च्यासलमा रहेको तुल्सीलाल स्मृति भवन सारेको छ । हिजोसम्म यो कार्यालय काठमाडौँको थापाथलीमा थियो ।

यो दिवस पारेर एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्रसमेत सार्वजनिक गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार च्यासलमै आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

अघिल्लो स्थानीय निर्वाचनदेखि हालसम्मको राजनीतिक विष्लेषण गरिएको घोषणापत्रमा सुशासन, विकास र समृद्धि समाजवादको आधारलाई प्राथमिकतामा परेका छन् । त्यस्तै, माओवादीसँगको एकता र एकता भङ्ग हुनुका कारण केलाउँदै आगामी कार्यदिशा निर्धारणासमेत गरिएको छ ।

घोषणापत्रको दोस्रो खण्डमा केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु र सम्पन्न गरेका विकास र समृद्धिका विभिन्न आयोजनाको संक्षिप्त विवरण समावेश गरिएको छ ।

तेस्रो खण्डमा एमालेले जितेका स्थानीय तहहरुले गरेका राम्रा कामहरुको बुँदागत रुपमा चर्चा गर्दै अन्तिम खण्डमा आगामी कार्यकालमा गरिने कामका २२ वटा प्रतिबद्धता समेटिएको छ ।

यसैगरी, नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ । कम्युनिस्ट पार्टीको हेरचाह र नेता-कार्यकर्तालाई सेल्टर दिएर योगदान गरेका १७ जना ‘कम्युनिष्ट पार्टी योद्धा’ लाई पार्टीले सम्मान गरेको हो ।

सम्मानित योद्धाहरुमा पोखरा महानगरपालिका- ६ का टेकनाथ बराल, सन्धिखर्क नगरपालिका- २, कुरका नेत्रप्रसाद ढुङ्गाना, मालारानी- ५, अर्घाखाँचीका तुल्सीराम मिश्र, काठमाडौँ महानगरपालिका, गमवहालकी नानीमैयाँ नकर्मी हुनुहुन्छ ।

यसैगरी, सिरानचोक गाउँपालिका- २, गोरखाका कुमार गुरुङ, ललितपुर महानगरपालिका- ९, च्यासलका चतुर व्यञ्जनकार, हरिचौर, गलकोट, बाग्लुङका बसन्तप्रसाद गौचन, तामाकोशी गाउँपालिका- १, दोलखाका हरिप्रसाद शर्मा काफ्ले र कीर्तिपुर, काठमाडौँका रामकृष्ण दुवाललाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरियो ।

कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरिनुभएकामा त्रिपुरा सुन्दरी गाउँपालिका- ४, सिन्धुपाल्चोकका छत्रबहादुर बोहरा, काभ्रेपलाञ्चोकको बनेपाका माधवप्रसाद अधिकारी, सियारी- २, रुपन्देहीकी चुमकला बञ्जाडे, भीमदत्त नगरपालिका- ५, कञ्चनपुरका लक्ष्मीराज जोशी, चितवनको खैरहनी नगरपालिका- ३ का अमर कार्की, काठमाडौँका विष्णु डङ्गोल, धनुषाको मिथिला बिहारी नगरपालिका- ८ की कुमारीदेवी महरा चमार र कनकाई नगरपालिका- ६, झापाका भीमबहादुर खतिवडा हुनुहुन्छ ।

नेकपाको स्थापना दिवसकै अवसर पारेर शुक्रबारै माओवादीका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत तथा संविधानसभा सदस्य रहिसक्नुभएकी लक्की शेर्पा सिंगो टीमसहित एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरू दुवै जना माओवादी केन्द्रका पूर्व पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

यस्तै, लेखनाथ नगरपालिकाका पूर्वमेयर शलिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीलगायतका चर्चित नेता पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

Facebook Comments
Comments (0)
Add Comment