देशको अर्थतन्त्र सङ्कटग्रस्त बन्दा समेत सरकार असंवेदनशील

काठमाडौँ । देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी समेत दिए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सुचक रातोमा गएकोले मुलुक गम्भीर संकटमा धकेलिएको वताउनुभयो । सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगत रुपमा भएका सेटिङ् रोक्न र राष्ट्रबैंक माथिको हस्तक्षेप रोक्न आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरु गम्भीर नभएको वताउँनुभयो । वेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नबढेको वताउँदै क्षेत्रीले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय हुनुपर्ने बताउनुभयो । कृषी क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने समेत उहाँको सुझाव छ ।

पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताउनुभयो । बैदेशिक कर्जाले शुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी राष्ट्रबैंकका पूर्व गभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गरेर बर्तमान सरकारले गलत गरेको बताउनुभयो । राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा. रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात वढाउनुपर्ने वताउनुभयो ।

परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । साथै उहाँले राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत वनाउन, उत्पादन वढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका वारेमा प्रस्तुती गर्नुभएको थियो ।

परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा परिषद्का उपाध्यक्ष बिधान आचार्यले स्वागत, उपमहासचिव सुशील विकेको धन्यवाद ज्ञापन र सञ्चालन महासचिव इ. गजेन्द्रप्रसाद थपलियाले गर्नुभएको थियो ।

Facebook Comments
Comments (0)
Add Comment