आमा हुन् शिर पाउ अङ्ग सबकी आधार खम्बा यिनी
आमा हुन् गतिशील जीवन दिने सत्पात्र सञ्जीवनी
आमा हुन् वरदान दिव्य शिशुकी आमा विधाता सुधी
आमा हुन् भवदीय सिद्ध सँगिनी आलोक कादम्बिनी ।।
आमा हुन् पृथिवी जलाशय सबै भूलोक वा स्वर्गकी
आमा हुन् पृयवादिनी मनुजकी वैशिष्ट्य सत्मार्गकी
आमा हुन् फलदार वृक्ष फलका आश्वाद कादम्बरी
आमा हुन् शिवसाथ उच्च गरिमा बोक्ने शिवा सुन्दरी ।।
आमाको बल जान्न सक्छ कसले ढाक्छिन् यिनी पर्वत
आमाको मन बुझ्न सक्छ कसले बन्छिन् स्वयम् सर्वत
आमा दिव्य वसुन्धरा भगवती आमा जगत् स्वामिनी
आमा सौम्य प्रभा सशक्त प्रतिभा ज्ञाता भवानी यिनी ।।
छोरी हो बुझ शक्ति के छ महिमा आमाहरूको कथा
छोरा हो बुझ खास के छ घरमा आमाहरूको व्यथा
मात्रै दूध चुसेर हुन्न यिनको कल्याण गर्ने गरौँ
के गर्दा छ भलो सदैव दिलले सम्भार राम्रो गरौँ ।।
हाम्रो निम्ति भनेर जीवन दिइन् वाधा अनेकौँ सहिन्
खाइन् हण्डर साँझ रात दिनमा पानी बिना तड्पिइन्
आफ्नो अङ्ग दुखे-समान पिरले बन्थिन् रुँदा चिन्तित
त्यो माया ममता लिएर सब नै बढ्दै गयौँ निश्चित ।।
आमा वृद्ध बनेर हालत हुँदा ऐया भनेको सुनी
हाम्रो ध्यान पुगेन निश्चय भने धिक्कार होला जुनी
आशिष् थाप्न सकिन्न वृद्ध जनको पीडा बढायौँ भने
बोल्दा प्रेम समान भाव दरियोस् माया दया झल्किने ।।
वृद्धाको मन हुन्छ कोमल अति बाँड्नू खुसी हर्दम
सुन्नू के छ विचार प्रष्ट तिनको आल्हाद पार्नू मन
चाहन्छन् यिनले खुसी हरघडी एक्लोपना दूर होस्
साथी बन्नू स्वयम् जहानबिच नै एकान्तको नाश होस् ।
आमा-साथ हुँदा पवित्र घर नै बन्ने छ है मन्दिर
आमा स्वार्थविहीन प्रेम रस हुन् भत्काउने जन्जिर
आमा हुन् गतिशील रक्षक मुली सन्तानकी आयुधी
आमा प्रेम दिने सुयोग्य जन हुन् छैनन् अरू यी सरि ।।
छन्द :- शार्दूलविक्रीडित ।