एक दिन भिर-घरे बाजेले कसो-कसो आफ्ना बालीमा काम गर्ने खेतालाहरुले नजिकैको गोठमा बसेर रमाई-रमाई मासु-भात भकुरेको देखेछन्। अलि-अलि मसलाको बासनाले होला, बाजेले पटक-पटक कोशिश गरे पनि पटक्कै मन थाम्न सकेनछन्।
आफ्नो घर भित्र पस्ने बित्तिकै बज्यैसंग प्वाक्क मनको कुरो खोलेछन्:
“ए बुढी, अब हामी पनि माछा-मासु खान थाल्न परो, शुद्ध शाकाहारी भएर यत्रो सम्पत्ति कहिले सक्नू?”
(सानो छँदा माइतमा मज्जाले खानपिनमा रमाएकी बुढीमाउ पनि के कम!)
“आहा,
हो नि बुढा, खाँटी कुरो भन्न पर्दा त्यो मासुको श्रोत जुन बाख्रा छ, त्यसले खाने भनेको घाँस मात्र हो, र हामी ब्राम्हणले खान नहुने भनेको कुकुर, स्याल, फ्याउरो, बाघ लगायत यावत मांसाहारी प्राणी हो र आफ्नो मन थाम्न साह्रै गाह्रो भा’भए बाख्रा, भैँसी, र भेँडाको मासुसंग भात भोजन गर्न मिल्छ। मलाई तिनका परिकार पकाउन पनि राम्ररी आउँछ।
त्यसैले भरे घरमा यस्तै भोजन गरौँ अनि भोलिदेखि पुराण भन्दा हरेक यजमान सामु न्वारानको बल लाएर ‘व्याख्यात्मक’ तर्क गरी यहाँप्रतिको भक्तिभावलाई अझ सशक्त बनाउन प्रोत्साहन गर्दछु।”