नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समकालीन अन्य नेता भन्दा चर्चाको शिखरमा हुनुहुन्छ । बिहानको चिया अखडादेखि बेलुकाको भट्टी जमघटसम्म राजनीतिक कुराकानीको विषयवस्तु भित्र मुख्य पात्र ओली बन्ने गर्नु भएको छ । चाहे समर्थनमा होस् वा विरोधमा शहर बजारदेखि गाउँ देहातसम्म ओलीलाई पात्र बनाएर केही न केही कुरा भई रहेको सुन्न पाइन्छ। एमाले बाहेक दलका नेताहरुको भाषण के पी ओलीको नाम नलिई समाप्त हुन छाडेको छ ।
नेपालको वर्तमान राजनीतिक सरगर्मी भित्र छाड्नै नमिल्ने पात्रको रुपमा ओलीलाई नै किन रोजिएको होला ! स्वभाविक प्रश्न उठ्छ । चाहे नेपाली काङग्रेसको महाधिवेशन होस् चाहे माओवादीको महाधिवेशन होस्, उदघाटनदेखि अन्त्यसम्म ओलीलाई पात्र बनाएर भाषण र टुक्रे छलफल गरिए । ओलीको विरोधमा उत्रिएका ‘पाँचदले’ गठबन्धनका भयातुर नेताहरूले ओलीलाई ‘प्रतिगमनकारी’ र ‘तानाशाही’ साथै निरंकुशको आरोप लगाउँदै उछितो काढे । तर, विडम्बना महाधिवेशनमा आएका उनीहरूकै कार्यकर्ताले ती आरोपहरूलाई झुठो सावित गरिदिए । नेपाली काङग्रेसको महाधिवेशनमा सहभागीहरूले ‘ओली नै निर्विकल्प नेता’ भन्ने भावभङ्गीमा प्रदर्शन गरे । माओवादीको महाधिवेशनमा पनि जब एमाले महासचिव शंकर पोखरेलले शुभकामना सन्देश दिन थाल्नु भयो तब उहाले बोलेका शब्द शब्दको प्रसंशा भयो । यसले के स्पष्ट हुन्छ भने ओली नै विरोध र समर्थनका केन्द्रमा रहनु भएको एक मात्र नेता हो । र, देशको एक मात्र नेता पनि ओली नै हो ।
विरोध गर्नेहरू
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई ‘प्रतिगमनकारी’को पगरी गुथाउनु भयो । उहाँले त्यो आरोप लगाई सकेपछि उहाँका कार्यकर्ता र ओलीको व्यक्तिगत विरोध गर्ने सञ्चार माध्यमले ‘राम्रो’ मसला पाए । यसै आरोपको घोडा चढेर माधव नेपाल उफ्रिनु भयो । नेपालले ओलीमाथि आरोपको अर्को बुंदा पनि थप्नु भयो । ‘निरंकुश’ ओली भनेर । र, उहाँको पछि लाग्नेहरूले त्यही दिनदेखि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘निरंकुश’ देख्न थाले । एमाले कब्जाको आफ्नो प्रयास ओलीले असफल पारेपछि प्रचण्ड र माधवहरूले ओलीलाई ‘प्रतिगमनकारी, तानाशाही र निरंकुश’ भन्नु कुनै अनौठो होइन । अनौठो चाहिँ के हो भने नेपाली काङ्ग्रेसको महाधिवेशनमा काङग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुरले ‘मलाई जिताएनौ भने फेरि ओलीको तानाशाही शासन सुरु हुन्छ, निरंकुशता सुरु हुन्छ’ भनेर भोट माग्नु साच्चै अनौठो हो । देउवाले काङग्रेसको महाधिवेशनमा सभापतिमा चुनाव हार्दा ओलीको तानाशाही शासन कसरी सुरु हुन्छ, निरंकुशता कसरी सुरु हुन्छ ? सायद बोल्ने क्रममा प्रधानमन्त्री देउवा उत्तेजित हुनु भयो वा आफ्ना गठबन्धनका पछुवाहरूको भावना बोल्नु भयो । जे होस् उहाँले नबोल्नु पर्ने कुरा बोल्नु भयो । महाधिवेशनमा उहाँले सभापति पद जित्नु भयो । तर, उहाँले त्यही भाषणमा नजानिदो गरी ओलीलाई मात्र आफ्नो प्रतिद्वन्द्वी र राष्ट्रको एक मात्र नेता भन्ने आसय व्यक्त गरेर गठबन्धनका घघडान नेताहरूलाई निराश बनाई दिनु भयो ।
ओलीको विरोध गर्नेहरूले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जान खोज्नुलाई प्रतिगमनकारी कदम भनेका छन् । यदि प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्ने हो भने प्रजातन्त्र प्राप्तिपछि पहिलो प्रतिगमनकारी गिरिजाप्रसाद कोइराला, दोस्रो मनमोहन अधिकारी, तेस्रो शेरबहादुर देउवा र चौथो केपी शर्मा ओलीलाई मान्नुपर्ने हुन्छ । कोइरालालाई गणतन्त्र स्थापनाका पिता, अधिकारीलाई स्वच्छ छविका आदर्शवादी नेता र देउवालाई आफूहरूलाई वैतर्णी तार्ने अगुवाको रुपमा स्वीकार गर्ने अनि ओलीलाई चाहिँ प्रतिगमनकारी देख्ने विडम्बना पूर्ण दृष्टिको कसरी मुल्याङ्कन गर्ने ? अनि जनताले किन र कसरी विश्वास गर्ने ? जापान, दक्षिण कोरिया, इजरायल र युरोपका मुलुकहरूमा प्रतिनिधिसभा विघटन र निर्वाचन भई रहन्छ । त्यसलाई कुन रुपमा लिने ? जनतामा जानुलाई प्रतिगामी कदम भन्ने हो भने के जनताको निर्णय प्रतिगामी हुन्छ भनी मान्नु पर्ने हो? के काठमाडौंका शक्ति कुलीनहरुको निर्णय मात्र प्रगतिशील हुन्छ भन्ने मान्नु पर्ने हो ?
ओलीमाथि अर्को निरंकुशको आरोप लगाइएको छ । त्यो आरोप लगाउनेहरूले आफ्नाहरूलाई ओलीले मन्त्री नबनाएको, राजदूत नबनाएको, संवैधानिक आयोगहरूमा भर्ती नगरेको, पार्टीमा एकलौटी गरेको र बैठकमा बस्ता आफूहरूलाई राम्रो कुर्सी नदिएको भनेका छन् । ओलीले आफ्नाहरूलाई पद नदिँदा बेजोड निरंकुशता देख्नेहरूले आफूले आफैंलाई नियाल्दा निरंकुशता के हो छर्लङ्ग देखिने थियो ।
विरोधका लागि झुठा आरो लगाउनु सजिलो हुन्छ पुष्टि गर्न भने गाह्रो हुन्छ । त्यसमा पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले त अर्काको पार्टी भित्रको निरंकुशता नऔंल्याए पनि हुन्छ । किनभने उहाँहरूले आफ्नै पार्टी भित्रका पाखा लगाइएका सहयोद्धाहरूलाई ‘निरंकुशता’ भनेको के हो भनेर सोधे मात्र पनि मुखभरिको जवाफ पाउनु हुनेछ । वास्तवमा ओली प्रतिको डाहा, इश्र्या, क्रोध र क्षोभले ग्रसित मनोग्रन्थी बुर्लुक्क उफ्रिएका बेला यसखाले सिल्ली आरोप लगाउन सकिन्छ । तर, राष्ट्र र जनताप्रति उत्तरदायी हुँ भन्ने नेताले आफ्नै कार्यकर्ता र जनताले समेत नपत्याउने घैमल आरोप लगाउँदा आफ्नो धरातल खस्कियो कि भनेर हेर्न सके राम्रो । सबै पार्टीका नेताहरूको काम गराइको ढाँचा हेर्दा ‘सबै ओली हुन खोजेको तर नसकेको’ अवस्था देखिन्छ । महाधिवेशन गर्दा होस् कि पार्टीका पदाधिकारी छान्दा होस् ओलीकै पदचाप पछ्याउने जमर्को नगरेका होइनन् । तर सकिरहेका छैनन्, लैनो पाडाले जस्तो खुट्टा लरबराएर अन्तै टेक्न पुगेका छन् ।
पार्टीहरू
नेकपालाई अदालतले मान्यता नदिएपछि एमाले र माओवादी आआफ्नो घर फर्किन बाध्य भए । अदालतको उक्त निर्णयले सबै भन्दा मर्माहत माओवादी हुन पुग्यो । एमाले उत्साह साथ सङ्गठन विस्तारमा लाग्यो भने माओवादी अलमलियो । सिन्धुलीका नेता हरिबोल गजुरेलको घरमा पुगेर माओवादी अध्यक्ष प्रचण्डले आफूले एमाले कब्जा गरिसकेको अवस्थामा सर्वोच्च अदालतले ‘मेरै खप्परमा घन प्रहार ग¥यो’ भन्ने भनाई राख्नु भएको थियो ।
वास्तवमा प्रचण्डले एमाले कब्जा गर्न भगिरथ प्रयत्न गर्नु भयो । एमालेको सुदृढ सङ्गठन, अनुशासित कार्यकर्ता पङ्त्ति, व्यवस्थित कार्यालय, सूर्य चिन्ह कब्जा गर्न पाएको भए प्रचण्डले नेपालमा १०–२० वर्ष धुलो उडाएर शासन गर्न पाउँछु भन्ने सोच्नु भएको थियो । तर, उहाँ असफल हुनुभयो । र, भाषणहरूमा बारम्बार भन्नुभयो ‘हामीलाई एमाले जस्तो बन्नु छैन’ । त्यो भनाई सुनेपछि उहाँकै सहकर्मीहरूले ‘एमाले जतिको बन्न पाए त हुन्थ्योनी कमरेड सकिदैन र पो’ भन्ने जवाफ दिए । टिप्न नसके पछि अङ्गुर अमिलो भएको पुष्टि गर्ने कोसिस गर्नु नै व्यर्थ थियो तर अहिले पनि उहाँ त्यही कोसिसमा हुनुहुन्छ ।
पार्टीहरूको साङ्गठनिक अवस्थाको लेखाजोखा गर्दा माओवादी निकै कमजोर देखिन्छ । सङ्गठनका अवयवहरू खुस्किएका छन् । जुइनाहरू चुडिएका छन् । बैद्य, बाबुराम, बादल, विप्लव, रायमाझी, भट्ट र प्रभु साहाजस्ता नेताले माओवादीलाई खण्डहर मात्र रहने गरी भत्काउनु भयो । त्यस बाहेक जिल्ला जिल्लाबाट माओवादीहरू एमालेतिरै प्रवेश गर्ने क्रम जारी छ । यसरी झनपछि झन माओवादीको सङ्गठन खिनौटे बन्दै खुम्चिदै गएको देखिन्छ ।
यता एमालेबाट चोइटिएर बनेको नेकपा समाजवादीको अवस्था सेपमा परेर बढ्न नसकेको ठिट लाग्दो विरुवाको जस्तो देखिन्छ । तत्कालीन एमाले नेता वामदेव गौतमले २०५४ सालमा एमाले फुटाउनु भएको थियो । चोइट्याएको होइन । किनभने वामदेवसँग ४५ प्रतिशत नेता कार्यकर्ता गएका थिए । र महाकाली जस्तो जल्दोबल्दो मुद्दा पनि थियो, त्यस्तो हुँदा पनि चुनावी नतिजाले वामदेवलाई एक सिट समेत प्राप्त नभएको देखायो।
जतिसुकै कुर्लिएर हुँकार गरे पनि चुनावी राजनीतिमा लागिसकेपछि निर्णय गर्ने भनेको मतदाताले नै हो । तसर्थ अहिलेका पार्टीहरूको निर्णय गर्ने पनि जनताले नै हो । पार्टीहरू को कति पानीमा छन् भन्ने पनि स्थानीय र प्रतिनिधिसभा निर्वाचनले मात्र प्रष्ट पार्ने छ । अहिले माधवजीसँग महाकाली जस्तो सशक्त मुद्दा छैन, सङ्गठनमा हुनु पर्ने नेता कार्यकर्ता छैनन् । तसर्थ भन्नै पर्ने हुन्छ गफले चिउरा भिज्दैन । सबै दलका नेताहरूले ऐना अगाडि उभिएर आफ्नो अनुहार हेर्नु भयो भने ओलीलाई गाली गर्न छाड्नु हुनेछ ।
नेकपा विभाजन पछि नेपाली काङ्ग्रेसले सबैभन्दा ठूलो दल बन्ने उद्घोष गरेको छ । अरु कमजोर भएको आँकलनपछि काङ्ग्रेसले अरु भन्दा आफू दह्रो भएको ठान्नु अस्वभाविक पनि होइन । काङ्ग्रेसमा कार्यकतर्न उत्पादन र सङ्गठित गरिरहनु पर्दैन । काङ्ग्रेसका कार्यकर्ता र मतदाता आफ्नै प्रकारका छन् । मधेसमा काङ्ग्रेसी गढ भत्किएको छ । यो भत्काउने काम मधेसी दलहरूले गरेका हुन । काङ्ग्रेस कमजोर बन्ने मुख्य कारण आन्तरिक कलह नै हो । अहिले पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कलहको विउ रोप्न थाली सक्नु भएको छ ।
जब काङ्ग्रेसमा आन्तरिक कलहको विउ रोपिन्छ तब चुनावमा दोस्रो ठूलो पार्टी बन्न पुग्छ । २०५१ सालदेखि काङ्ग्रेसको इतिहास यस्तै लेखिएको छ । राजनीतिक विश्लेषण गर्दा र जनभावना बुझ्दा अब हुने चुनावमा पनि प्रतिस्प्रर्धी भनेका एमाले र काङ्ग्रेस नै हुन । अहिलेसम्मको अवस्था र धरातलीय यथार्थले यस्तै चित्र देखाएको छ । देउवा पार्टीलाई एकढिक्का बनाउन र मिलाएर लान कोसिस गर्ने नेता होइन । उहाँ पार्टी भित्र निरंकुश हुन र तानाशाही बन्न रुचाउनु हुन्छ।
किन ओलीमाथि आरोप ?
भाग्यमा विश्वास गर्ने देउवा अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँ हम्मेसि कुनै नेतालाई पनि नराम्रो गरी भन्नुहुन्न । तर, सभापति पदमा विजयी हुनका लागि देउवाले आफ्ना कार्यकर्तालाई ‘यदि मलाई जिताएनौ भने हामीले फेरि निरंकुश र प्रतिगमनकारी ओलीको शासन भोग्नुपर्छ’ भन्ने वाक्य प्रयोग गर्नुभयो । यसलाई देउवा बहकिनु भएको साथै प्रचण्ड र माधव नेपालको शब्द सापट लिएर बोल्नु भएको वा ओली जतिको आफू बन्न नसकेकोमा मनको पीडा पोख्नु भएको भन्न सकिन्छ । प्रचण्ड र माधवजीहरू भने ओली प्रतिको औडाहा, इष्र्या र आहारिसले उखरमाउलो भएपछि मनको भडास पोख्न ओलीलाई गाली गर्नुहुन्छ । वास्तवमा तत्कालीन उग्र मओवादीलाई लाइनमा ल्याउन ओलीले पनि माओवादी माथि वचन वाण प्रयोग गर्नु भएकै थियो । त्यसपछि पनि ओलीले माओवादीलाई खुइल्याउने काम गर्न भने छोड्नु भएन । भित्ते राष्ट्रपति देखि कुनै दिन धरहराको टुप्पामा चढेर ‘माओवादी कहाँ छ’ भनेर सिला खोज्ने बनाउँछु भन्ने ओली नै हो ।
तर, नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले भने ओलीप्रति कटाक्ष गर्दै नबोल्दा नै वेश हुन्छ । किनभने माधव कस्तो हुनुहुन्छ भन्ने सवालमा नेता राधाकृष्ण मैनालीले निकै वर्ष अघि मोटो किताब नै लेख्नु भएको छ ।
किताबले माधव नेपालको वास्तविक पोल खोलेको छ । ‘मेरो चिन्तन र वास्तविकता’ नामक उक्त पुस्तक एकपटक पल्टाएर त्यहाँ छापिएका लेखका शीर्षकहरू मात्र पढ्नु भयो भने माधव नेपालले त्यो किताब ठाउँको ठाउँ च्यात्नु हुनेछ । माधवजीका बारेमा सबभन्दा जानकार त केपी शर्मा ओली नै हुनुहुन्छ । जब नेकपा एमालेमा माधव नेपाल १५ वर्षसम्म प्रमुख बन्नुभयो तब उहाँको निरंकुशता र तानाशाही शासन पार्टी भित्र सुरु भयो । राधाकृष्ण मैनालीलाई यसरी लखेट्नु भयो कि फर्किएर आउने समय र ठाउँ दिनु भएन । माधव नेपालले मैनालीलाई थमाउनु भएको पछिल्लो स्पष्टीकरणको जवाफ लेख्दै गर्दा यही पङ्त्तिकारका अगाडि राधाकृष्णले पीडादायी आँशु झार्नु भएको छ । उहाँले त्यो दिन ‘माधव नेपालले गर्दा म आफैंले बनाएको पार्टीबाट आज जवरजस्ती खेदिएँ, निकालिएँ र धपाइएँ’ भन्दै बिदा मागेर जानु भएको थियो । पछि पनि माधव नेपालले मैनालीलाई लखेट्न छोड्नु भएन । २०५४ सालमा एमाले फुटाउन पनि माघव नेपालको अहंकार र तानाशाही हर्कतले महत्वपूर्ण भुमिका खेलेको थियो ।
माधवजीले केपी ओलीलाई पनि पार्टीबाट निकाल्न भरमग्दूर प्रयास गर्नु भयो । तर, केकेजाति नमिलेर सक्नु भएन । आफू पार्टीको सर्वेसर्वा हुँदा पार्टीको बैठक महिनौं नबोलाएपछि केपी ओलीले ‘बैठक बोलाई पाऊँ’ भन्ने लिखत बुझाउदा ‘हुन्छ म तोक लगाई दिउँला’ भनेर केपीलाई रुखो जवाफ दिने पनि माधव कामरेड नै हो । र, केपी ओलीलाई नौं महिनासम्म कुनै पनि मञ्चमा बोल्न नदिने साथै काठमाडौं छाडेर बाहिर जान नदिएर एक प्रकारको नजरबन्दमा राख्न सक्ने व्यक्ति पनि माधवजी नै हो । यसर्थ माधवजीले केपी शर्मा ओलीलाई निरंकुश वा तानाशाह भन्नु सवर्दा व्यर्थ हो ।