राजनीतिको कुरा अब नगर्दा भयो । सप्पै नेता ढाँटको पुस्तक र कार्यकर्ता पुस्तकालय बनेपछि केको राजनीतिको कुरा गर्नु ! अब उद्योगधन्दा खोःने, कृषि व्यवसाय गर्ने, पशुपालन, तरकारी खेति, फलफूल र जडिबुटीलगायतका उत्पादनमूलक काम गरेर निर्यात गर्छु भन्ने मान्छे निर्माण गर्नुपर्छ । पारि चाइनातिरकाले हाम्रो देशलाई ‘अदक्ष श्रमिक उत्पादन गरेर निर्यात गर्ने मुलुक’ भन्न थाले । मलेशिया, सिङ्गापुर र भियतनामको विकास मोडल अहिले देखिनै लागू गरेर नेपाल नै नयाँ बनाउने आदर्शका नेता–गफ जनताले धेरै सुनीसके । अब भने दस्तावेजीकरण गर्ने र आदर्शका फोस्रा धक्कु लगाउने नेता गणलाई पत्याउने ठाउँ कहीँकतै बाँकीरहेन। जनताले बुझेका छन्– भाषणले पेट भरिदैन, गफले चिउरा भिज्दैन ।
हाम्रा नेताहरू सामाज उत्थानको कुरा गर्दैनन्, राष्ट्र विकासको कुरा गर्दैनन्, उनीहरूलाई जसरी पनि चुनाप जित्नु पर्ने पिरलो छ । फेरि मन्त्री, प्रधानमन्त्री बनेर सम्पत्ति जोड्न पाइँदैन कि भन्ने पिरलो छ । आफ्नो दर्शन, विचार, नीति, जाँगर र लक्ष कहाँ छुट्यो थाहा छैन, आफ्ना सहवर्गीय सहयोद्धा, सहविचारधारकको जमात कता छिरलियो अत्तोपत्तो छैन । साम्राज्यवादी र विस्तारवादीसँग विभिन्न प्रकारले समाजवादको भिख र चुनाप जित्ने मन्त्र माग्दैछन् । र, भाषणमा फेरि पनि आदर्शको हुँकार छरेर भ्रम सिर्जना गर्दैछन् ।
नमस्कार है विध्वांसे काका ! अब माओवादीको महाधिवेशन पनि सकियो । केके पास गरे ? केके सत्य बोले, केके भ्रम छरे ? एमाले, राप्रपा र हाम्रो नेपाली कांग्रेसको भन्दा फरक केके समेटेर दस्तावेज तयार गरे ? अनि आदर्शका गफ बढी नै आए होलान त्यस्ता कुरा जनता र कार्यकर्ताले कतिको पत्याए ? यस्तै उस्तै कुरा बुझ्नु परो भनेर हिउँ पन्छाउदै आको हौ काका ! कुरा त तिमी पनि मिलाएर गर्न जानिहाल्छौ, यसो परिपाठ लगाउन ।
के परिपाठ लगाउनु, हेर भिरघरे ! हाम्रो महाधिवेशन भनेको एमाले, कांग्रेस र राप्रपाको जस्तो होइन । खुलेर छलफल भयो, तर्कवितर्क भए, अध्यक्ष काम्रेड प्रचण्डले प्रस्तुत गरेको विधानमाथि निर्मम बहस भयो । त्यसबाट राष्ट्र र जनताले चाहेको, सोचेको जस्तै सामाजिक उत्थान र देश विकासको लागि अति आवश्यक दस्तवेज सर्लक्क पारित भयो ।
अनि काका ! लेखानाथ राम कार्की, न्यौपानेहर्ले पेस गरेको फरक विचार कता हरायो ? लेखनाथले त पार्टी तहसनहस पार्ने प्रचण्ड नै हुन भने क्यारे ! हुन त कार्यकर्ताले भनेर कुनै पार्टीमा केही हुनेवाला छैन । तर, न्यौपानेले यथार्थ पोल खोल्दै दह्रो दनक दिएछन् । सबै पार्टीमा एकादुई मात्रै भए पनि लेखनाथ जस्ता व्यक्ति निस्किए भने नेताको सातो जाने थियो ! एक दुई जना पछुवालाई ‘प्रचण्ड पथ’ नभै भाछैन । प्रचण्ड पनि महाफुर्के रान ! पार्टी सकिएको थाहा छैन दुई जना नेताले जे भन्यो त्यही पत्याएको अभिनय गरेर हिडेका छन् ।
हेर भिरघरे ! जिब्रो चवाएर के कुरा गर्नु, हाम्रो महानविचारक, विश्व सर्वहारा वर्गका एक मात्र नेता, राष्ट्रनायक, उच्च छलाङका जन्मदाता काम्रेड प्रचण्डले एमाले कब्जा गर्ने योजना फेल भएपछि आफ्नै माओवादी पार्टी सुदृढ गर्न लाग्नु पथ्र्यो । एमालेको सुदृढ सङ्गठन, सूर्य चिन्ह, जबज, व्यवस्थित पार्टीपङ्ती कब्जा गर्न सकेको भए अहिले हामी एक लम्बर पार्टी बन्ने थियौ । अब अहिलेकै अवस्थामा चुनाप हुने र कांग्रेससँगको गठबन्धन टुट्ने हो भने हाम्रो पार्टी छैटौँ लम्बरतिर धकेलिन्छ । यसमा कुनै दुबिधा छैन ।
आज चाहिँ मनको कुरा बोलेउ है विध्वंसे काका ! कांग्रेससँगको गठबन्धनको कुरा चाहिँ राष्ट्रियसभाको चुनापसम्म मात्र हो भनेर बुझ्दा हुन्छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनापमा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्छ । हाम्रो लागि कम्युनिष्ट विभाजित भएको अवस्थामा हुन लागेको चुनापमा बहुमत ल्याउन सजिलो छ । फेरि गठबन्धन तन्काउने कुरा पनि असम्भव हो । किन भनेनी काका ! कांग्रेस र कम्युनिष्टको बाटै फरक हो । अनि सधैंभरी कांग्रेसको पछुवा बनेर कम्युनिष्टले हिड्नु पनि हुँदैन । कांग्रेस पछ्याउने कम्युनिष्टलाई आफ्नै कार्यकर्ता र मतदाताले के भन्लान ! कांग्रेसको बैसाखी टेकेर लक्षमा पुगिदैन भन्ने प्रचण्ड र माधवले बुझेदेखि सप्पैलाई राम्रो हुने थियो ।
तैंले भनेको कुरा ठिकै हो । तर, के गर्नु ! आफ्नो खुट्टा दह्रो नभएपछि बैसाखीकै भरमा ताते गर्नुपर्छ। नत्र लैनो पाडो जस्तो हुर्रेर अर्को कान्लामा बजारिन बेर छैन। प्रचण्ड र माधव काम्रेडको भर नै कांग्रेस बनेको छ । आफ्नो पार्टी दह्रो नभएपछि अर्काले ‘देला र खाम्ला’ भन्दै हेर्दै बस्ने त हो नि ! अरू उपाय छैन। अदालतले गर्दा यस्तो भएको हो । नत्र हाम्रो काम्रेडले एमाले कब्जा गरी सकेका थिए। न्यायाधीशहर्ले खप्परमा नहानेको भए…!
अब बिलौना गरेर केही हुँदैन काका ! हावाको पार्टी निर्माण गरेको रछ अनि के गर्नु । ‘रिस खा आफू बुद्धि खा आर्को’ भनेको यही हो । अब माधव नेपालसँग अंगालो मार्ने अनि ‘तिमी हामी जाउ उधै उधै, कैले रुदै कैले मन बुझाउदै’ भन्ने गीत गाएर टोलाउने । यस्तो विरक्त लाग्ने कुरो नगर काका! बरू तिमार्को महाधिवेशनमा लेखनाथ न्यौपानेले राखेको फरक मतको कदर गर्दै सुध्रने कोसिस गर । होइन भने अर्को महाधिवेशनमा माओवादीले यति कार्यकर्ता पनि पाउँदैन । हेर २ लम्बर प्रदेशबाट माओवादीका निर्वाचित जनप्रतिनिधि नगर प्रमुख र अध्यक्ष ७ जना, उपमेयर उपाध्यक्ष १० जना, वडा अध्यक्ष ८० जना गई सके । अब चुनाप ताका झन धेरै जान्छन् ।
त्यस्ताहरू जादै गर्छन् । बरू लेखनाथको कुरा चाहिँ गम्भीर र मनन गर्नै पर्ने खालको छ । तर, त्यस्ता कुरा अब माओवादी नेताले लागु गर्न सक्तैनन्। जनताबाट टाढा टाढा गै सके । अब फर्किने ठाउँ छैन । त्यो धनसम्पत्ति, त्यो मोजमस्ती, त्यो शानसौकत र त्यो तामझाम जनताको गाँउमा कहाँ मिल्छ ! उहिलेका कुरा खुइलिए । क्रान्तिको कुरा नगरे हुन्छ ।
लौ काका ! आज चाहिँ तिमीले मनको कुरा बोलेकै हो । भडास् पोख्यऊ । अब म लागे घरतिर ।
जै नेपाल ।