नेकपा एमालेको चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले धेरैको मथिङ्गल खलखल्याई दियो । केही ब्यक्तिलाई विक्षिप्त बनायो भने केही ब्यक्ति प्रलापपूर्ण अभिब्यक्ति दिन बाध्य भए । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जाइलाग्नु पर्ने बाध्यताका कारण उनीहरूले एमाले समाप्त भएको घोषणा गर्नसमेत भ्याए । गगन थापा, पुष्पकमल दाहल जस्ता केही नेताहरू एमाले बढार्ने ‘भ्याकुम क्लिनर’ निर्माण गर्ने फ्याक्टरीको खोजीमा भौतारिए । ओली विरोधी केही नेताहरू ‘पोल्टिकल डिप्रेशन’को सिकार भए ।
दशौ महाधिवेशनले नेकपा एमालेलाई एकताबद्ध, सशक्त, जुझारू र शक्तिशाली बनायो । एमालेका विरोधीहरू पुर्पुरोमा हात राखेर महाधिवेशनको उद्घाटनमा आएका जनता गन्दै बस्न बाध्य भए । चितवनको आफू एकमात्र नेता भएको दावा गर्ने एक ब्यक्तिले एमालेको महाधिवेशनमा आएका जनतालाई पैसा र धाकधम्कीका भरमा आएको भन्ने आरोप लगाए । अर्का एक सानो पार्टीका ठूलो नेताले ‘ओलीको एमालेलाई लाल्टिन बालेर खोज्नु पर्छ’ भनिदिए ।
उनीहरूले नेपाली जनता धेरै बुझ्ने भई सकेका छन् र यो २०५२ देखि २०६० सालसम्मको समय पनि होइन भन्ने कुरा विर्सए जस्तो छ । अहिलेका जनताले कुन पार्टीको कार्यकर्ता पङ्ति कस्तो छ, कुन पार्टीको जनधार कति छ, कुन पार्टीका नेताले ब्रम्हलुट गरेको फैसा थुपारेका छन्, नेताहरू मध्ये कुन नेता रवाफिलो, नाटके, भड्किलो र विदेशीले समेत धनाड्य भनेर औंल्याएको ब्यक्ति हुन भन्ने बुझेका छन् । अहिले भयातुर बनेर एमालेका अध्यक्ष ओली र एमालेलाई सराप्नुको कुनै तुक छैन । किन लडिस् मङ्गले आफ्नै ढङ्गले भन्ने उखान सम्झदै आराम गर्दा हुन्छ ।
विभिन्न दलका नेताहरू मात्र होइन आमसञ्चारका माध्यामहरू एमाले र एमाले अध्यक्ष ओली विरुद्ध सङ्गठित रुपमा कन्दनी कसेर लागे । कान्तिपुर, नयाँ पत्रिकालगायतका पत्रपत्रिका, केही एफएम रेडियो र टेलिभिजन, विभिन्न अनलाइन न्यूज पोर्टल, युटुव र सामाजिक सञ्जालले एमाले अध्यक्ष ओली विरुद्ध एकोहोरो शङ्ख फुके । उनीहरूले शङ्ख फुक्न थालेको १७र१८ महिना हुन थाले पनि महाधिवेशन छेको पारेर फुकेको शङ्ख भने विराट राजाको गाई हरण गर्न गएका कौरवहरूले फुकेको शङ्खको आवाज जस्तै थियो । जसरी कौरवले फुकेको शङ्खको आवाज दिगदिगान्तर फैलिएको तर वेकामे स्याल हुइँया सावित भयो यिनीहरूको पनि ठिक त्यस्तै भयो । जब जनता वौरिएर चितवनमा अर्जुनको पाञ्चजन्य फुक्न थाले तब मात्र स्याल हुइँया गर्नेहरूको अपवित्र आत्मा पीडाले छटपटायो । उनीहरू भित्रैदेखि रोए, तडपिए, छटपटाए, मुरमुरिए र आखिर झोक्राउँदै ओलीको एमाले समाप्त हुने कल्पना गर्दै विलाउनेका फेदतिर ओरालो लागे ।
कतिपय पत्रकारले कुहिगन्धे पीतपत्रकारिता नगर्न र पत्रकारिताको सामान्य धर्म पालना गर्न अनुरोध गर्दै सम्पादकहरूलाई पत्र समेत लेखे । तर, निमकको सोझो गर्नुपर्ने वाध्यताको घनले कुच्याएको मन–मस्तिष्क बोकेका सम्पादकहरूले त्यो सल्लाह मानेनन् । बरु झन उत्साहित बनेर सम्पादकीय, लेख र समाचार मार्फत एमालेको छेउमा उभिएर विष वमन गरिरहे । मालिकले लगाएको काम जस्तोसुकै होस् फत्ते गर्नु कामदारको कर्तब्य हुन जान्छ अहिले पनि उनीहरू त्यो काम तल्लीन भएर पुरा गर्दै छन् ।
नेकपा एमालेको दशौँ महाधिवेशन नयाँ इतिहास रच्दै सम्पन्न भयो । महाधिवेशन भब्य, सभ्य, सफलरुपमा सम्पन्न भएपछि विरोधी दलका केही नेता र एमाले अध्यक्ष ओलीको विरोध गर्न खटाइएकाहरूको आत्मा पीडाले रोयो । जब सौराहामा एमालेका केही पद बाहेक अन्य पदमा निर्वाचन हुने भयो तब ती कुण्ठाग्रस्त अभिसप्तहरूले ‘हार्दा को हार्छ’ भन्ने अडकलवाजी सुरु गरे । उनीहरूले माओवादी फुटाएर आएकाहरू उठेका पदमा मात्र चुनाव हुनु नै माओवादीबाट आएका नेताहरूलाई हराएर पाखा लगाउने ‘भित्री ओली योजना’ हो भनेर प्रचार गरे । भोलिपल्ट माओवादीबाट आएकाहरूले चुनाव जितेको उनीहरूले थाहा पाए । तब फेरि लेखे ‘हेर हेर आफ्ना त्यस्ता पुराना र योग्य नेताहरूलाई हराएर माओवादीबाट आएका चैतेहरूलाई जिताएको ! यस्तो पनि पार्टी हुन्छ’ भन्ने समाचार बनाएर बग्रेल्ती छरे । जे गरे पनि खोट देखाउने काममा खटेका ज्यालादारीहरूले सबै काममा खोट नै लगाए । यसलाई एमालेजनले कसरी लिए त्यो भने भविष्यले नै बताउला ।
विधान अधिवेशन भई सकेको हुनाले त्यहाँ विधान बारे छलफल गर्नु थिएन । त्यहाँ नारायणी किनारमा उर्लिएको जनलहर, देश–विदेशबाट आएका अथिति पाउना र नेता–कार्यकर्तालाई स्वागत गर्नु थियो । जे गर्नु थियो त्यो एमालेजनले सफलतापूर्वक सम्पन्न गरे । तर, त्यही सफलतामा अन्य पार्टीका कतिपय नेताले आफू समाप्त भएको दृष्य देखे । नेकपाकालमा जब १९ पेजको छोडपत्र ओली समक्ष प्रस्तुत गरियो तब एउटा झुण्डले एमाले आफ्नो कब्जामा भएको गलत धारणा बनायो । त्यसै बेला आफूहरूले गम्भीर गल्ती गर्दै ओलीलाई तीन पटकसम्म साधारण सदस्य समेत नरहने गरी नकालेको कुरा उनीहरू अहिले पनि सम्झन चाहदैनन् । त्यसैगरी उनीहरू कपटपूर्ण खेलोफड्को गर्दै परमादेशबाट सत्ता प्राप्त गरेको पनि जनतालाई भन्दैनन् । ओलीलाई असफल बनाउने एक मात्र निर्विकल्प योजनाको भुत्ते हतियार बोकेर अहिले पनि भड्खालामा परेको बिर्सिएर अग्रगामी छलाङ मारेको रुखो कल्पनामा मस्त छन् ।
नेकपाका ऋषि कट्टेलले मुद्दा जित्दा ओलीले ‘सेटिङ’ गरेको देख्नेहरूले ‘नेपाली काङग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्य श्री शेरबहादुर देउवालाई भोलि दिनको ५ बजे भित्र प्रधानमन्त्री पदमा सपथग्रहण गराउनु’ भनेर परमादेश गराउँदाको ‘सेटिङ’ लाई विरालाले गुहु लुकाएझैं लुकाउन कोशिस गरे । तर भेद खुलिहाल्यो । न्ययालयका न्यायाधीशलाईसमेत सत्ताको भागबन्डा गर्नेहरूलाई जनताले राम्रोसँग चिनेका छन् भन्ने नर्विसिए हुन्छ। कसले सेटिङ गरेको थियो र कसले थिएन भन्ने पनि जनको अदालतले निर्कियोल गर्छ । अब आत्तिनुको कुनै अर्थ छैन । प्रतिगमन सच्चिएको ‘नेता बकबास’ को लल्लौरी विल्लौरी पनि जनताले रुचिकर मानेनन् । अब एमाले विरोधी तत्वसँग चुनावमा ओलीको विरोध गर्ने नारा बाहेक अरु कुनै नारा छैन ।
काङ्ग्रेससँग मिलेर सत्ताको भरमार उपयोग गरिरहेका ‘वामहरू’ चुनावमा काङ्ग्रेसको टेको नपाए पार्लाकपुर्लुक लड्ने अवस्थामा छन् । उनीहरूसँग जरोकिलो, थातथलो, साथसहयोग काङ्ग्रेस बाहेक अन्य केही छैन । जब जनतासम्म जाने पहुँच हुँदैन तब चुनावमा जानुको कुनै अर्थ रहँदैन र त्यस्तो बेला कतै त्यान्द्रो फेला परिहाल्छ कि भन्ने सोच्नु अस्वभाविक पनि होइन। अहिले ती वामहरू ‘आफू जित्न सकिदैन एमालेलाई जसरी पनि हराउनु पर्छ’ भनेर सात गाउँ डुवानउने सल्लाह गर्दै छन् । यता नेपाली काङ्ग्रेस भने आफूसँग लिसो बनेर लेपासिएका वामहरूसँग खुशी छैन । काङ्ग्रेसका नेताहरूको बेला बेला आउने भनाइहरूले यसको पुष्टि गरेको छ । गठबन्धनका केही नेताले प्रतिनिधिसभा चुनावसम्म यो गठबन्धन कायम रहने निर्णय भई सकेको छ भने पनि त्यस्तो हावा कुरा नपत्याउन काङ्ग्रेस नेताले आफ्ना कार्यकर्तालाई भन्न थालेका छन् । यसले प्रतिगमन सच्याएर उच्च छलाङ मार्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई ‘अग्रगामी सत्ता’ बुझाउन पुगेका वामहरू विलखबन्धमा परेका छन् ।
राष्ट्र र जनताका लागि आर्थिक, सामाजिक र राजनीतिक विकासका योजनाहरू निर्माण गर्नु दलहरूको कर्तब्य हो । जुन नेताले जनता सुखी हुने, देशमा विकास गर्न सकिने योजना प्रस्तुत गर्छ जनताले त्यही नेतालाई विश्वास गर्छन् । अहिले कतिपय ओली विरोधी ‘वाम’ हरूले आफ्नो योजना नै ओलीको विरोध गर्नुलाई बनाएका छन् । उनीहरूले ओलीको विरोध गर्नु नै जनता सुखी हुनु र देश सम्पन्न हुनु हो भन्ने विषयमा विद्यावारिधि गर्दै छन् । र, त्यही विद्यावारिधिको कागज देखाएर भोट माग्न जनता सामु जाने निर्णय गरेका छन् ।
यस लेखोटलाई कतिपयले ओली भक्तिको नमुना ठान्लान । कतिपयले अन्य ‘वाम’ प्रतिको नकारात्मक टिप्पणी मान्लान । तर, मित्र छातीमा हात राखेर भन्नुहोस् अन्य ‘वाम’का ती नेताहरूले जनता र राष्ट्रहितका कुन योजना ल्याए, कुन विचार र पद्धतिको वकालत गरे ? र, आजसम्म ओलीलाई गाली नगरी कुन भाषण पुरा गरे ? यस्तो लाग्छ, उनीहरुका पार्टीको दूरदृष्टि भनेकै ओलीलाई देखाइदिने हो । ब्यक्तिगत रिस र अहङ्कारले बनेको पार्टी र जनाधार नभएको नेता कति दिन टिक्ला ? निकट भविष्यले आफ्नो फैसला सुनाउने नै छ । त्यो फैसला पक्कै पनि परमादेशमा नभएर जनादेशमा आधारित हुनेछ ।