बडा दशैं र नर्सिङ पेशा

धेरैले दशैं हिन्दू धर्मावलम्बीहरुको मात्र पर्व हो, यो आम जनसमुदायको साझा महान पर्व हुन सक्दैन भन्ने तर्क अघि सार्ने गरेका छन् । म एक नर्सिङ पेशाकर्मी हुनुका साथै किरात धर्म मान्ने लिम्बू जातिको सन्तान हुँ । दशैं पर्व हिन्दूहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको मौलिक, साझा र महान पर्व हो यसलाई भव्य, सभ्य र अति वैज्ञानिक तवरबाट नेपालीको मौलिक संस्कृतिका रुपमा पहिचान कायम गर्नका लागि निरन्तरता दिनु पर्दछ भनी म यहाँ तर्क गर्दैछु ।

महान पर्व वडादशैंमा आश्विन शुक्ल पक्षको दिन घटस्थापना गरी त्यसको विशेष पूजा पाठ गरी नव दुर्गा माताको पूजा आरधाना गर्ने प्रचलन छ। घटस्थापनाका दिनदेखि नौ दिनसम्म दुर्गाका विभिन्न नौ रुपको पुजा पाठ गरिने गरिन्छ र दशौं दिनमा ज्येष्ठ नागरिकको हातबाट अबिर, दही, अक्षता मिसाएर बनाएको रातो टीका निधारमा थाप्ने, त्यस्तै गहुँ, जहु, मकै आदिको जमरा कानमा सिउरिने र उहाँहरुबाट सुस्वास्थ्य, चिरायु, उत्तरोत्तर प्रगतिको कामना सहित धन र ऐश्वर्य प्राप्तिको आशीर्वाद ग्रहण गर्ने प्रचलन छ। मान्यजन र आफन्तको आर्शीवाद सन्तानमाथि सदा रहन्छ तर दशैं यस्तो चाड हो जसमा आफ्ना मान्यजनबाट औपचारिक रुपमा आशीर्वाद थाप्ने गरिन्छ। मलाई आफ्ना मान्यजनबाट आशीर्वाद थाप्दा गर्व लाग्छ, ग्लानी हुँदैन।

धर्म भनेको के हो? यो जीवन पद्धति सहज र व्यवस्थित तरिकाले चलाउन अपनाइने ठोस सामाजिक पद्धति हो । कुनै पनि धर्मले मानव हित विपरीत काम गर्न प्रेरित गर्दैनन् । र, धर्मको नाममा राष्ट्रिय एकता, सहिष्णुता, सार्वभौमिकता कायम गर्ने पद्धतिमा भाँजो हाल्ने काम गरिनु हुँदैन भने मेरो ठम्याइ छ।

नर्सिङ सेवा पनि मानवीय हितका लागि अति सूक्ष्म तवरबाट अभिप्रेरित भै उत्पति भएको वैज्ञानिक विषय हो । यसको सिद्दान्त भनेकै नै मानज जीवनको पहिलो आधार स्तम्भ स्वास्थ्यलाई मध्यनजर गरी काम गर्नु हो ।

स्वास्थ्य सेवाको सवालमा मानवीय स्वास्थ्यमा सुरक्षा कवचको रुपमा काम गर्नु यसको प्रमुख धर्म नै हो। त्यस्तै दशैं पर्व पनि मानवको सुरक्षाको खातिर कतै महिषासुर राक्षसको बध नव दुर्गा माताले गर्नु भएको बहादुरीपूर्ण कार्यपछि प्रारम्भ भएको हो भन्ने चलन छ भने कतै कतै रावण माथि रामले जीत हासिल गरेपछि सुरु भएको भन्ने भनाई छ।

नेपालमा जे भए पनि असत्य माथि सत्यको जीत, अधर्म माथि धर्मको जीत, पापमाथि पुन्यको जीतको ठोस संदेश प्रवाह गर्ने पर्वको रुपमा दशैं मनाइँदै आएको छ। यो महान पर्व मनाउन नेपालमा एक महिनाको तलब दशैं पेश्की स्वरूप प्रदान गर्ने प्रावधान राज्यस्तरबाटै कायम गरिएको छ। त्यस्तै राष्ट्रिय पर्वको रुपमा मनाउन दशैं बिदा दिने चलन छ।

महान पर्व बडादशैंमा आश्विन शुक्ल पक्षको दिन घटस्थापना गरी त्यसको विशेष पूजा पाठ गरी नव दुर्गा माताको पूजा आरधाना गर्ने प्रचलन छ। घटस्थापनाका दिनदेखि नौ दिनसम्म दुर्गाका विभिन्न नौ रुपको पुजा पाठ गरिने गरिन्छ र दशौं दिनमा ज्येष्ठ नागरिकको हातबाट अबिर, दही, अक्षता मिसाएर बनाएको रातो टीका निधारमा थाप्ने, त्यस्तै गहुँ, जहु, मकै आदिको जमरा कानमा सिउरिने र उहाँहरुबाट सुस्वास्थ्य, चिरायु, उत्तरोत्तर प्रगतिको कामना सहित धन र ऐश्वर्य प्राप्तिको आशीर्वाद ग्रहण गर्ने प्रचलन छ। मान्यजन र आफन्तको आर्शीवाद सन्तानमाथि सदा रहन्छ तर दशैं यस्तो चाड हो जसमा आफ्ना मान्यजनबाट औपचारिक रुपमा आशीर्वाद थाप्ने गरिन्छ। मलाई आफ्ना मान्यजनबाट आशीर्वाद थाप्दा गर्व लाग्छ, ग्लानी हुँदैन।

दशैं पर्वलाई नर्सिङ पेशाकर्मीको हैसियतबाट नियाल्दा धेरै नै वैज्ञानिक, मानव उपयोगी भएको अनुभूति भएको छ। पोहोर २०७७ सालको दशैंमा म आफैं कोरोनाबाट संक्रमित भै एकान्त बासमा थिएँ। यो महामारीमा धेरै डर–त्रासको माहौल हुँदा पनि एकान्त बासबाट यो कोरोना बिरुद्ध नर्स पेशाकर्मीको नाताले आराम नगरी नर्सिङका शङ्ख ध्वनि फुकी रहेँ। नव दुर्गा माताको स्मरण गर्दै, अन्तरमनबाट नमन गर्दै र उहाँको स्तुति गाउँदै सम्पूर्ण मानव जातिका अगाडि संकटको बादल बनी राक्षसको रुपमा फैलिरहेको कोरोना बिरुद्ध एक जुट भई लड्नका लागि सबै स्वास्थ्य पेशाकर्मीहरु माझ सही संदेशको शङ्खध्वनि फुकिरहेँ। विदेशमा बसी काम गरिरहनु भएका नर्सिङ पेशाकर्मी साथै चिकित्सकहरुले आ–आफ्नो स्थानबाट सक्दो साथ र सहयोग पनि गरे । त्यसबेला मैले २०७७ सालको दशैं कोरोना महामारी बिरुद्ध भएको अनुभूति गरेँ।

यसपालीको बडादशैं धर्मको आडमा पाप गर्ने र पापीलाई साथ दिनेहरू बिरुद्ध शङ्खधोष गर्दैछु। झोसपोल गरेका भरमा जागीर खानेहरू, अतितको आफ्नो हैसियत बिर्सनेहरु, आफूले गरेको प्रतिबद्धता तोड्नेहरु, जुत्ताका तलुवा पनि चाट्न पछि नपर्ने हरामी स्वाँठहरु बिरुद्ध यो शंख ध्वनि हो। साथै आफै नर्स र स्वास्थ्यकर्मी भै नर्सको शोषण गर्ने अपराधिक मनस्थिति भएकाहरुको बिरुद्ध यो शङ्ख ध्वनि हो। हो यो शङ्खघोष रोकिने छैन, कहिलेकाही अरूको कुरो सुनेर नर्सहरू बीचको बैठकमा आएर नर्स नै काम नलाग्ने, नर्स बढी भएका छन्, एउटालाई जागिरबाट निकाले पछि अरु ठाउँमा आउँनेछ भनी धम्काउनेहरुको बिरुद्ध यो शङ्खघोष हो।

यदि आफूलाई समयमा नै नसच्याउने हो भने तिनका सबै नौटंकी बन्द गराउनु पर्छ, यो नै यसपालीको विजय दशमीको नव दुर्गा माताले दिएको आशीर्वाद बनोस् । यो आशीर्वादलाई जसरी भए पनि जीवन र समाजमा लागू गराउनु छ। अधर्मीहरुको सातोपुत्लो उडाउनु छ र धर्मका नाममा गरिने सबैखाले बेईमानीलाई निमिट्यान्न पार्नु छ ।

नर्सिङ र यो विजय दशमीको एकअर्का बीच अन्तर सम्बन्ध गाढा छ । त्यसैले यसलाई अझ वैज्ञानिक तवरले परिमार्जन गरी नर्सिङ पाठ्यक्रममा नै राखेर मानव उत्पत्तिको संकृतिले खेल्ने भूमिका बारे र त्यसको स्वास्थ्यमा भएको सम्बन्ध बारे बहस र अध्ययनको विषय बनाइनु पर्दछ।

नर्सिङको प्रमुख भूमिका नै स्वास्थ्यको सवालमा सुरक्षा कवचको भूमिका निभाउनु हो। वर्तमान परिवेशमा विश्वमा बिरामीको सुरक्षा ठूलो चुनौतीको विषय बनेको छ । त्यसलाई पूर्ण रुपमा लागू गराउने प्रमुख स्वास्थ्यकर्मी भनेकै नर्सिङ हो। स्वास्थ्य सेवा उपभोग गर्ने सवालमा आर्थिक, मानसिक, सामाजिक, शारीरिक र आध्यात्मिक कुनै पनि क्षेत्रबाट, कुनै पनि आयामबाट असुरक्षित अनुभूति कसैले गर्न नपरोस, यसैलाई प्रमुख उद्देश्य राखी नर्सिङ सेवा प्रवाह गरिनु पर्दछ। माता नव दुर्गाले पनि मानव कल्याणका लागि आफ्ना विभिन्न नौं रूप लिएर पापीको बध गरी दिनु भएकोले यो पर्व मनाइँदै आएको विश्वास आम नेपालीहरु माझ छ।

विश्व कोरोना महामारीको संक्रमणमा लपेटीदाँ आफ्नो ज्यानको पर्वाह नगरी दिन रात अस्पतालका कोरोना वार्ड र सघन कक्षमा खटिने पनि नर्स नै हुन्। यो शक्ति, यो प्रेरणा हाम्रा नर्सहरू माझ जरूर माता नव दुर्गाले प्रदान गरेकी हुन भन्ने विश्वास जागेको छ। त्यसैले विगतको अनुभूति र वर्तमानको चुनौती दुवैलाई विजय दशमीसंग दाँजेर हेर्दा नर्सिङ र माता नव दुर्गा एकअर्का बीच प्रगाढ सम्बन्ध छ भन्ने विश्वास जाग्नु कुनै नौलो र अनौठो नहोला जस्तो लाग्दछ।

आमालाई नबुझ्ने, दिदी, बैनी, छोरी चेलीको इज्जत दिन नसक्ने, सरल भाषामा भन्नु पर्दा नारीको सम्मान गर्न नजान्नेहरु महिषासुरकै कुनै अवतार हुन । आफ्ना दिदी, बैनी, आमा, माइजु, भान्जी, छोरी मात्र नारी अरु अ–नारी कदापि हुन सक्दैन।  त्यसैले नर्सिङ पेशाकर्मी माथि शोषण गर्नु भनेको महिषासुरको राक्षसीपन अवलम्बन गर्नु हो जुन प्रवृत्ति नेपाल सरकार र निजी स्वास्थ्य संस्थाहरुमा प्रशस्त देख्न पाइन्छ।

अन्य स्वास्थ्यकर्मीहरुको बढुवा हुनु, स्वास्थ्य कार्यालयमा नेतृत्व सम्हाल्न पाउनु तर अस्पतालको प्रमुख व्यक्ति नर्सिङ पेशाकर्मीलाई नारी भएकोले नै ओझेलमा पार्नु पनि पक्कै सत्तामा रहेका ती मान्छे भित्र विद्यमान राक्षसीपनकै नतिजा हो। त्यसैले यसपालीको विजया दशमीमा मुलुकमा कायम रहेको राक्षसीपन बिरुद्ध शङ्खघोष गर्नु आवश्यक छ र यो शङ्ख ध्वनि तबसम्म निरन्तर बजी रहने छ जबसम्म नर्सिङ पेशाकर्मीहरुले न्याय पाउने छैनन् । अन्त्यमा, वडा दशैंको सबैलाई मङ्गलमय शुभकामना ।

Facebook Comments
Ramesh
Comments (0)
Add Comment