बा-आमा देवता हाम्रा उनकै वंश हौँ सब
उनकै देन हौँ हामी जहाँ जे जत्ति छौँ सब
हामी आदर सम्मान यी वृद्ध पिँडीमा गरौँ
माया भाव लिई साथ जाऔं बोलौँ खुसी छरौँ ।
जन्माए सृष्टि देखाए टेकाए धर्ती सुन्दर
ताते, तोते सिकाएर अघि बढ्न थपे बल
आमाले मुटुको टुक्रा निकालेर ठुलो गरिन्
आफ्नो छाती चुसाएर दरिलो आँत यो दिइन् ।
बाबाले कामका बोझ उचाल्दै हौसला थपे
हाम्रा निश्पट्ट आँखामा ज्ञानको ज्योतिले भरे
शिक्षा दीक्षा सँगै मानो छानो लालनपालन
दुःखमा पैंजरी खेल्दै प्रेरणा अघि बढ्नको।
सृष्टिको चक्र यो जानौँ घुम्ने गर्छ सधैं अहो
मान्छेले जन्मिनासाथ मर्नु पर्ने अवश्य हो
हामीलाई बनाएका योग्य मानिस विश्वका
हाम्रा लागि सबै अर्पे धन सम्पत्तिभित्रका ।
उनका छेउमा जाऔं वेदना छन् भने बुझौँ
अवस्था घाउ यो दिन्छ त्यस्तोमा आँसु ती पुछौँ
बुढ्यौलीमा सबैलाई जानैपर्दछ पर्दछ
समस्या वृद्ध वृद्धाका वार्ताले हल गर्दछ ।
हेर यो आजको पुस्ता कता के कामको कुरा
घरमा बस्न एक्लै छ वृद्ध पुस्ता कठैबरा
बोल्दैनन् घरमा केही बा -आमा छन् कुनातिर
खाना बाहिर नै खान्छन् बस्ने घुम्ने छ बाहिर ।
त्यसैले अब हामीले मायाँ छर्न सिकौँ सकौँ
सपना देख्दथे आँखा तिनलाई पढौँ चिनौँ
हाम्रा वंश र आस्थाका केन्द्र हुन् वृद्ध त्यो पिँडी
बोल्दै बोलाउँदै जाऔं माया सिद्धिन्न बाँडिई ।