ग्रामीण समाजशास्त्रका प्राध्यापक ई.एम. रोजर्सले सन् १९६२ मा डिफूजन अफ इनोभेसन पुस्तकमार्फत् नवज्ञानकोे प्रसारसम्बन्धी सिद्धान्त सार्वजनिक गरे । यो सिद्धान्त आमसञ्चार माध्यमबाट सम्प्रेषित सन्देश ग्रहणबाट व्यक्तिले नयाँ विचारधारा, प्रविधिलगायतका कुराहरु सिक्ने अवसर पाउँछ भन्ने अवधारणामा आधारित छ । यसले कसरी, किन र कुन दरमा प्राविधिक ज्ञानहरु अन्य किसानहरु समक्ष पुग्दछ भन्ने विषयलाई उच्च महत्व दिएको छ। कुनै ज्ञान, जानकारी वा शिक्षाप्रद सामग्री सञ्चार माध्यमबाट दिएर मात्र पुग्दैन, त्यसलाई समाजका सदस्यहरुले आत्मसात गर्न पनि तयार हुनुपर्दछ।
कृषकलाई उन्नत वीउविजन अनुसरण गर्न सक्ने बनाउन र उत्पादनमा बृद्धि गर्न कृषिसम्बन्धी ज्ञानको औचित्य र हामीले नलिए कसले लिने भन्ने कुरा मनन गर्न संज्ञानात्मक क्षमता अभिबृद्धि गर्नुपर्दछ । यसका लागि रोजर्सकै सिद्धान्तलाई पालना गर्दै प्रयोग नगर्नेलाई प्रयोग गर्ने बनाउन उनीहरुमा चेतना जागृत गर्न आवश्ययक हुन्छ । कृषकले कसैको लहैलहैमा लाग्नु भन्दा पनि प्राविधिक ज्ञान दिने व्यक्तिहरु, अग्रणी किसानहरु आदिबाट सिक्ने संस्कारको विकास गर्नुपर्दछ । यसका अतिरिक्त सञ्चारमाध्यमलाई पनि निरन्तर प्रयोग गर्र्नुपर्नेहुन्छ । त्यसो त कृषि विज्ञको सहयोगमा आफूले खेती गर्दै सिकेका अनुभवलाई पनि आधार बनाउन सकिन्छ।
रोजर्स नवज्ञान प्रसारमा मत निर्माता वा बुजु्रक वर्गको भूमिका अधिक रहने धारणा राख्छन् । यो कुरा केही हदसम्म नेपाली समाजमा पनि लागु हुन्छ । निरक्षर समुदाय र पुरातन सोच भएका समाजमा ती मत निर्माताहरु प्रभावशाली गनिन पुग्छन् । सर्वसाधारण कृषकहरुले आमसञ्चारका माध्यमबाट दिएका सन्देशहरु सिधै बुझ्ने र विश्लेषण गर्ने क्षमता राख्दैनन् र यस्तो समाजमा मत निर्माताको उच्च महत्व रहन्छ । तर साक्षरता र सञ्चार माध्यमको पहुँच बढिरहेको तथ्यलाई ध्यानमा राख्दा मत निर्माताहरु मात्र मिडिया सन्देशका विश्लेषणकर्ता होइनन् । रोजर्सको सिद्धान्तको प्रयोग एसिया, अफ्रिका र ल्याटिन अमेरिका जस्ता मुलुकहरुमा कृषि विकास, स्वास्थ्य र परिवार नियोजन जस्ता विषयहरुमा महत्पवूर्ण जानकारी जनसाधारणमा पुर्याउने कामका लागि प्रयोग भइरहेको पाइन्छ । त्यसैले उनको यो सिद्धान्त कृषि विज्ञान, सञ्चार, स्वास्थ्य, समाजशास्त्र र प्रविधिका क्षेत्रहरुमा समेत प्रयोग हुन्छ ।
रोजर्सको मतमा सञ्चार प्रक्रियामा सहभागीहरुमध्ये एकले सन्देश तयार पार्ने, वितरण गर्ने र अन्ततोगत्वा उनीहरुमा आपसी समझदारी सिर्जना गर्दछ । सञ्चारको पश्चिमेली यो मान्यता समझदारीमा मात्र सीमित हुनुहुदैन । उनका अनुसार नवज्ञान, सञ्चारमाध्यमहरु, समय (टाइमिङ) र सामाजिक प्रणाली गरी चार तत्वहरुमार्फत प्रसार हुन्छ । कुनै पनि नयाँ, ज्ञान प्रविधि अन्य माध्यमहरुबाट प्रसार गर्नुृ भन्दा पनि सञ्चार माध्यमबाट दिइदा त्यसलाई आत्मसात गर्न सजिलो र प्रभावकारी हुने सञ्चारविद्हरु र मनोबैज्ञानिकहरु बताउँछन् । प्रसिद्ध सञ्चारविद् ड्ेनिस
मक्याइलले पनि नवज्ञानको प्रचारप्रसार कृषि क्षेत्रमा मात्र होइन स्वास्थ्य, सामाजिक र राजनीतिक जीवनमा पनि उत्तिकै उपयोगी हुने धारणा राखेका छन् । उनी भन्दा अघिका प्रसिद्ध सञ्चारविद् विल्वरस्राम पनि आमसञ्चार माध्यमले नवज्ञानको प्रसारमा विशेष भूमिका खेल्ने भन्दै नयाँ विचार एवं ज्ञान उत्तरबाट दक्षिण र दक्षिणबाट शहरी क्षेत्र साथै शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा पुर्याउने माध्यम आमसञ्चार माध्यम नै भएको प्रष्ट्याँउछन् ।
रोजर्सका अनुसार नवज्ञानको प्रसारमा चेतना, रुचि, मूल्यांकन, परीक्षण र आत्मसात वा अस्वीकार गरी पाँच अवस्था रहेका छन् । पहिलो अवस्थामा आमसञ्चार माध्यमहरुले चेतना बढाउने काम गर्ने र तिनै चेतना एवं ज्ञानगुनका कुरा अन्तरवैयक्तिक सञ्चारका प्रक्रियाबाट समुदायमा जाने र त्यस्तो सन्देश दिनुमा आमसञ्चार माध्यम बढी प्रभाशाली मानिन्छ । वास्तवमा मिडिया समाज परितर्वन गराउने शक्तिशाली औजार पनि हो । उनका अनुसार पुरानो समाजमा जतिबेला आमसञ्चार माध्मयहरुको उपस्थिति थिएन त्यतिबेला एक मानिसले अर्को मानिसलाई भन्ने वा अन्तरबैयक्तिक सञ्चार प्रक्रियाद्धारा नवज्ञानको प्रसार हुने गरिन्थ्यो । तर आजकल यो कार्य आमसञ्चारका माध्यमबाट हुन्छ । यस सन्दर्भमा आमसञ्चारका प्राध्यापक डिफ्लेवरले भने आधुनिक समाजमा आमसञ्चार माध्यमले छिटो र बृहद् मात्रामा सूचना उपलब्ध गराउने र सामाजिक परिवर्तनतर्फ प्रेरित गराउँछ भनेका छन् ।
किन र रोलेन्सले गरेको एक अध्ययन अनुसार कृषि क्षेत्रमा ज्ञानको प्रसारमा परिवर्तन उन्मुख हुने अग्रणी किसानको बुझाई स्तर र आर्थिक हैसियतले पनि कृषि ज्ञान प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसैगरी एल्टन र टिडिङले गरेको अर्को अध्ययन अनुसार उत्पादक कृषक, कृषि भूमिको आधार, बजारस्थिति, कृषि उत्पादनको विविधता, कृषिबजार वा बजारीकरण आदिलाई आधार मानी कृषि ज्ञानको प्रसार भएन भएको मूल्यांकन गर्न सकिन्छ । अर्काथरी सञ्चारविद् भने शैक्षिक कृषिप्रणाली, कृषकको सामाजिक पृष्ठभूमि र संगठनात्मक परिवर्तनले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने मत राख्छन् ।
कृषकलाई उन्नत वीउविजन अनुसरण गर्न सक्ने बनाउन र उत्पादनमा बृद्धि गर्न कृषिसम्बन्धी ज्ञानको औचित्य र हामीले नलिए कसले लिने भन्ने कुरा मनन गर्न संज्ञानात्मक क्षमता अभिबृद्धि गर्नुपर्दछ । यसका लागि रोजर्सकै सिद्धान्तलाई पालना गर्दै प्रयोग नगर्नेलाई प्रयोग गर्ने बनाउन उनीहरुमा चेतना जागृत गर्न आवश्ययक हुन्छ । कृषकले कसैको लहैलहैमा लाग्नु भन्दा पनि प्राविधिक ज्ञान दिने व्यक्तिहरु, अग्रणी किसानहरु आदिबाट सिक्ने संस्कारको विकास गर्नुपर्दछ । यसका अतिरिक्त सञ्चारमाध्यमलाई पनि निरन्तर प्रयोग गर्र्नुपर्नेहुन्छ । त्यसो त कृषि विज्ञको सहयोगमा आफूले खेती गर्दै सिकेका अनुभवलाई पनि आधार बनाउन सकिन्छ । साथै नयाँ कृषि उत्पादनलाई सिधै आत्मसात गर्ने भन्दा पनि त्यसलाई परीक्षण गरेरमात्र अवलम्वन गर्नुपर्दछ । यसको उदाहरण नेपालमा गत वर्ष तराईका किसानले कृषि विभागबाटै सिफारिश गरिएका उन्नत मकैको बीऊ लगाए तर धेरै उत्पादनको आशा गरेको किसानहरुले फल पाउन सकेनन् । ठूलो नोक्सानी बेहोर्नुपर्यो । सिफारिस गरेकै धान खेती गर्दा गेडा फल्नुपर्नेमा भूसैभूस फलेको अर्को घटना पनि छ । यसको मतलव ज्ञान प्रसार गरेर मात्र पनि हुदैन, पटक पटकको परीक्षण बिना कृषि विभागले उन्नत भनी सिफारिश गरेको मकैको बीऊ लगाउदा कृषकहरु मर्कामा परे । यसबाट के पाठ सिक्न सकिन्छ भन्दा ज्ञान प्रसार गरेर मात्र हुँदैन त्यसलाई परीक्षण नगरी किसान माझ पुर्याउँदा त्यो प्रत्युपादक पनि हुन सक्छ । हुन त सिद्धान्तकार रोर्जसका अनुसार कृषकले आफूमा निहित ज्ञान भन्दा पनि पछि पाएको ज्ञान सरल र उपयोगी ठहरिएमा कृषकले पुरानो ज्ञान छोड्छ र ऊ नयाँ ज्ञान लिन तयार हुन्छ । वास्तवमा नवज्ञान प्रसारको अन्तिम प्रतिफल भनेको आत्मसात, कार्यान्वयन र सिकेको ज्ञानलार्ई संस्थागत गरिनु पनि हो ।
रोजर्सको नवज्ञानसम्बन्धी ढाँचा सबैभन्दा पहिले अमेरिकामा परीक्षण गरिएको थियो । यसबाट उनीहरु आम्दानी र निर्णय प्रक्रियामा अघि बढ्ने मौका पाएको देखिन्छ । नाइजेरियन सरकारले समेत लामो समयसम्म उक्त कार्यक्रम प्रसार गरी महिला कृषकहरुलाई लाभान्वित बनाउने योजना लिएको हो । तसर्थ कृषि प्रसार सेवालाई विस्तार गरी नेपालको कृषि उत्पादनलाई पनि बृद्धि गर्न र नेपाली कृषकहरुलाई आधुनिकीकरणतर्फ लैजान विशेष प्रसार कार्यक्रम ल्याउनुपर्ने खाँचो देखिन्छ ।
मुलुकमा राजेगारी नभएर लाखौं युवा समुदाय विदेसिनु पर्ने बाध्यतालाई कम गर्न र कृषिमा आधुनिकीकरण गरी बाञ्छित प्रतिफल हासिल गर्न कृषिसम्बन्धी नवज्ञानको सिद्धान्तलाई व्यवहारमा ल्याउन सके उत्तम हुने थियो । आर्थिक सर्वेक्षण २०७७ ÷७८ का अनुसार कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने ६० प्रतिशत जनसंख्या यसै क्षेत्रमा आधारित छन् । नेपालमा एक प्रतिशत युवाले पनि कृषिमा सपना देख्दैनन् । वर्षभर २१ प्रतिशत जमिनमा मात्र सिंचाई सुविधा पुगेको छ भने १५ प्रतिशतले मात्र आधुनिक वीउवीजन प्रयोग गर्दछन् । अधिकांश कृषकको खेती प्रणाली परम्परागत छ । हामीकहाँ कृषिलाई सम्मानित पेशाका रुपमा हेरिदैन । किसान बाहेक कसैले पनि कृषिमा निरन्रता दिन चाहदैनन् । बजारीकरणको समस्या छ । कृषिमार्फत् देशलाई उन्न्नति गर्ने हो भने यान्त्रिकरण हुनुपर्दछ । किसानलाई प्रोत्साहन र कृषि विचौलिया मुक्त बनाउनुपर्दछ । यसमा राज्यको दायित्व हुन्छ ।
वैमौसमी तरकारी, फलफूल खेती, माछा पालन, कुखुरापालन र उन्नत खेती लगायतका कृषि प्रणाली र फाइदा हुने फसल वा नगदेबाली एवं खेतीबालीबारे किसानहरुलाई ज्ञान दिनु आवश्यक हुन्छ । यस स्तभ्मकारले सन् २०१५ मा नेपालको ग्रामीण क्षेत्रमा किसानहरुमा रेडियो कार्यक्रमको प्रभावलाई लिएर गरेको एक अध्ययन अनुसार रेडियोबाट प्रसारित कृषि कार्यक्रम सुन्ने किसानहरुमा कृषिसम्बन्धी चेतना बढी पाइएको र रेडियो कार्यक्रम नसुन्ने किसानहरुमा कम पाइएको निष्कर्ष निकालेको छ । नियमित कृषि कार्यक्रम सुन्ने किसानहरुको संज्ञान, चेतना, दृष्टिकोण र व्यबहारमा धरै फरक पाइएको छ ।
सञ्चारमाध्यमको प्रयोगबाट ग्रामीण जनताको जीवनस्तर उकास्न र विकासमा उनीहरुलाई परिचालन गर्न निकै सहज भएको अध्ययनले देखाएको छ । ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादकत्वमा बृद्धि ल्याउन र उनीहरुलाई उन्नत खेतीका नयाँ तरीका र प्रविधि सिकाउन रेडियो माध्यम उपयोगी देखिन्छ । त्यसो त कृषि कार्यक्रम निरन्तर रुपमा रेडियोबाट प्रसारण गर्न सके कृषकहरुको कृषिप्रति रहेको परम्परागत विश्वास र धारणामा परिवर्तन ल्याउन सकिन्छ । आमसञ्चारका माध्यमबाट पातलै रुपमा भने पनि प्रसारित कृषि कार्यक्रम प्रभावित भएर विदश जाने मनस्थिति बनाएका युवाहरुसमेत कृषि व्यवसाय रोज्न पुगेको र राम्रो आम्दानी गर्न सकिन्छ भनेर कृषि पेशालाई रोजेका समाचारहरु हाम्रै सञ्चारमाध्यममा यदाकदा सम्प्रेषण भएको पाउँछौ । त्यसैले कृषिलाई विकास गर्ने राज्यको नीतिमा ग्रामीण सञ्चारलाई उपयुक्त रुपमा प्रयोग गर्ने र विशेषखालको रणनीति तयार पार्न ढिला भैसकेको छ ।