जदौ ! दहाल यज्ञनिधि । रेडियो नेपाल । यी एक अर्काका पूरक भए केही दसक । यसका सारथी उनै यज्ञनिधिले यो संसारबाट बिदा लिएको आज तीन वर्ष भयो।
उहाँले जदौ शब्दलाई मलजल गर्नुभयो । वटवृक्ष बनाउनुभयो । भोर्लाको लहरा जसरी फिजार्नु भयो । नेपाली समाजमा केहीले यसलाई रुचाएनन् । धेरैका लागि भने यो प्रिय शब्द भयो । यो शब्द सुन्नासाथ दहाल यज्ञनिधिलाई सम्झने अवस्था बन्यो ।
अन्त्य शाश्वत सत्य छ । टार्ने कुनै औषधि छैन । कुनै विधि बनेको छैन । कुनै निर्माण वा सिर्जना वा उत्पत्ति नहुन पनि सक्छ । टुङ्गो हुँदैन । अन्त्य चाहिँ निश्चित छ ।
मेरा मामाका जेठा छोरा उहाँको त्यही सत्यसँग भेट भएको दिन हो आज । सनातनी बोलिचालीमा भन्दा आज उहाँको श्राद्धको दिन । ‘धार्मिकीरहित समाजवाद मेरो आह्वान हो’ (जदौका निबन्धको ‘लेखोट’ बाट) भन्ने उहाँ श्राद्धको पक्षमा हुनुहुन्नथ्यो । त्यसैले आजको दिनलाई उहाँको स्मृतिमात्र ।
उहाँ ‘निःसर्त सरल मानव मेरा सत्पात्र हुन्’ भन्नुहुन्थ्यो । त्यसैको प्रतिफल हो- जदौ शब्दको प्रयोग । अभिवादनको अर्थ दिने यो शब्द अर्थ संकुचन भएर टाक्सिएर रहन वाध्य थियो । विद्रोही स्वभावका उहाँलाई किन मनपर्दथ्यो र यो कुरा ! त्यसैले उहाँले विद्रोहको हतियार बनाउनुभयो जदौ शब्दलाई ।
उहाँले जदौ शब्दलाई मलजल गर्नुभयो । वटवृक्ष बनाउनुभयो । भोर्लाको लहरा जसरी फिजार्नु भयो । नेपाली समाजमा केहीले यसलाई रुचाएनन् । धेरैका लागि भने यो प्रिय शब्द भयो । यो शब्द सुन्नासाथ दहाल यज्ञनिधिलाई सम्झने अवस्था बन्यो ।
नातामा म उहाँको भानिज भाइ । पाँच बैनी फुपूमध्ये साहिलीको छोरो म । धरानमा पढ्न बस्दा उहाँले मलाई पनि सँगै राखेर पठाउनुभयो । त्यस अर्थमा म उहाँसँग तुलनात्मकरुपमा नजिक भएँ ।
धरानमा रहँदा उहाँको बल भनेको उमेर थियो । उमेर अलिक छिप्पिएपछि पठ्न थाल्नुभएको थियो । उहाँका सहपाठी अलिक कम उमेरका हुन्थे । त्यसैले उहाँले सबैको अभिभावकसरहको भूमिका निर्वाह गर्नुहुन्थ्यो ।
धेरै समय घर बस्नुभयो । त्यसो हुँदा उहाँमा व्यवहारसम्बन्धी ज्ञान बढी नै थियो । कोसँग कुन लवजमा कुरा गर्ने भन्ने भलिभाँती जान्नुहुन्थ्यो । गुरुहरुलगायत सबैका प्रिय हुनुहुन्थ्यो ।
प्रवेशिका (एसएलसी) परीक्षा दिएर उहाँ काठमाडौँ पस्नुभयो । म धरानमै रहेँ । झण्डै पाँच वर्षपछि काठमाडौँमै भेट भयो । त्यसबीचमा उहाँमा आएको परिवर्तन पत्याइनसक्नु पाएँ मैले ।
भाषामा उहाँ धनी हुनुहुन्थ्यो । शब्दज्ञान प्रशस्त थियो । मीठोगरी बोल्नुहुन्थ्यो । संस्कृत भाषाको ज्ञान उहाँका लागि थप योग्यता भयो । सार-स्वरसहित वेद पाठ गरेकाले उहाँ स्वर त्यसैपनि खुलेको थियो ।
अभावले मानिसलाई परिश्रमी हुन वाध्यपार्छ । परिश्रमले व्यक्तित्व निखार्छ । उहाँका हकमा पनि त्यही भयो । उपल्लो दर्जाको अभावमा हुनुहुन्थ्यो । कहाँ गएर के गर्दा हुन्छ भन्ने ध्याउन्नमा रहनुहुन्थ्यो । अभाव टार्न दैनिक ज्यालादारी त के कुरा भयो र !
गुजाराका लागि विदेशिनेको एकै एकै खालको अवस्था हुन्छ । शरीरले खान माग्दा खानेकुरा हुँदैन । खानेकुरा हुँदा शरीर लिँदैन । खान मिल्दैन । बल हुञ्जेल कमायो । केही जम्मा गर्यो । केही भएपछि रोगको उपचार गर्दै ठीक्क हुन्छ ।
उहाँले माध्यमिक विद्यालयको शिक्षक भएर काम गर्नुभयो । रेडियो नेपालमा करारमा रहेर कार्यक्रम सञ्चालक हुनुभयो । कहिले काहीँ ट्युसन पढाउने क्रममा पनि लाग्नुभयो । नाचघरमा कलाकारका रुपमा काम गर्नुभएन कि !
भाउजू सुधा आचार्य पनि जागिरतिर लाग्नुभयो । सालाखाला राम्रै कमाइ हुनथाल्यो । पैसाको ज्यादै सदुपयोग गर्नुहुन्थ्यो । खर्चको व्यवस्थापन कसरी गर्ने भन्नेमा राम्रो जानकारी हुनुहुन्थ्यो । एक एक हिसाब राख्नुहुन्थ्यो । केही रकम जम्मा हुनासाथ जग्गामा लगाउन पनि पछि पर्नुभएन ।
खै कहाँबाट आयो कुन्नि ? दहाल यज्ञनिधिमा मिर्गौलाको समस्या देखियो । मैले थाहा पाएसम्म २०४० सालदेखि यो रोगको उपचारमा रहनुभयो । एकपल्ट त मिर्गौला नै फेर्नुभयो ।
पैतिस वर्षको यो अवधिमा २३ वर्ष त उहाँले हेमोडाइलेसिस नै गराउनुभयो । करिब करिब खाजा नै पुग्नेगरी औषधि खानुपर्दथ्यो । डाक्टरको फिस अलग्गै । डाइलाइसिस त्यत्तिकै महँगो । मिर्गौला फेर्दाको खर्च त कति हो कति !
मिर्गौलाको समस्याले उहाँका अरू दुई भाइ र एउटी बहिनीलाई पनि छाडेन । लिएरै गयो । उहाँका माहिला भाइ पुष्पनिधि दहालले पनि मिर्गौला फेर्नुपर्यो । कान्छा भइ शिवनिधि र बहिनी दुर्गाले पनि डाइलासिसको भुक्तमान खप्नुपर्यो । सीमा नाघेको खर्च भयो ।
मैले देखेको, सङ्गत गरेको आधारमा उहाँ सोझो हुनुहुन्थ्यो । सरल स्वभाव । अन्याय र पीडा देख्न नसक्ने । प्रतिवाद गरिहाल्ने ।
त्यतिबेला अर्थात् २०३०-३४ तिर रेडियो नेपालको दर्जा चानचुने थिएन । त्यहाँ पसेर हेर्न पनि सोर्स चाहिन्थ्यो । २०४५ सालमा म काठमाडौँ आएर यज्ञनिधि दाजुको घर नजिकै डेरा गरेर बसेँ । उहाँको घरमा रेडियो नेपाल हेर्न मन छ भन्ने काठमाडौँभन्दा बाहिरबाट आएकाहरु प्रसस्तै भेटेको छु ।
पञ्चायती व्यवस्थाको उखर्माउलो चलेको समय थियो त्यो । दहाल दाइ भने रानीपोखरी पाकशालामा हुने राजनीतिक गतिविधिबाट दीक्षित हुनुहुन्थ्यो । अर्थात, उहाँ पञ्चायती व्यवस्थाको विरोधी ।
काम गर्न सजिलो थिएन । रेडियो नेपालमा उहाँले २०३४ देखि ५६ सालसम्म काम गर्नुभयो । त्यसबीचमा धेरै स्पष्टीकरण दिनुपर्यो । कतिपटक त काम गर्नै नपाउने अवस्था बन्यो ।
रेडियोमा काम गर्दाको अवस्था उहाँ अनुकुल थिएन । यति हुँदा हुँदै पनि उहाँका कार्यक्रम अब्बल रहे । नेपाली स्रोतामाझ सर्वाधिक लोकप्रिय बने । यस अर्थमा उहाँ नेपाली भाषा, साहित्यका साथै संस्कृतिबारे जन-रेडियो प्रस्तोताका रुपमा सम्झन्छु । उहाँको यो योगदान अमूल्य छ । आजका दिन दाजुलाई यसरी नै सम्झेँ ।
जदौ !