विज्ञान, विकास र जर्नल

विज्ञान तथ्यमा आधारित अनुसन्धानमा निर्भर गर्दछ जसका निम्ति विश्वविद्यालय तथा अनुसन्धान संस्थाका प्राध्यापकहरुले विद्यार्थीलाई आफ्ना अनुसन्धानमा संलग्न गर्ने गर्दछन्। यो नयाँ तथ्यहरु खोजी गर्ने तथा नयाँ पिंढीलाई समेत तालिम दिई विज्ञानको खोजलाई निरन्तरता दिने प्रयोग हो। अहिलेको समयमा जुन देशहरुले शिक्षा र अनुसन्धानमा पर्याप्त लगानी गरेका छन् त्यही रुपमा विकासको फल समेत पाएका छन्।

विकास र अनुसन्धान एक अर्कासँग अत्यन्त निकट छन् किनकि तथ्यमा आधारित विकास नै दिगो हुन्छ। अनि नयाँ खोज तथा अनुसन्धानलाई प्रकाशन पश्चात अरु अनुसन्धाताले परख गर्ने र निखार गर्ने अवसर पाउँछन्। यसरी भएका खोज अनुसन्धानका आधारमा नयाँ टेक्नोलोजी विकास गर्न सकिन्छ जसले तथ्यमा आधारित रहेर गरिने विकासलाई टेवा दिन्छ। कुनै पनि वैज्ञानिक खोज एकैपटक जादु जस्तो गरी आउने होइन, यो त एकपछि अर्को गर्दै, असफल अनि सफल हुँदै, निखारिंदै जाने प्रकृया हो जसको निम्ति पहिलेका अनुसन्धानहरु बलियो आधारका रुपमा रहने गर्दछन्।

अहिले वैज्ञानिक जर्नलमा आफ्ना शोध प्रकाशन गर्ने लहर विद्यावारिधि गर्ने विद्यार्थीमा मात्र नभै स्नातकोत्तर गर्नेहरुमा समेत बढिरहेको छ। विद्यावारिधि गर्ने विद्यार्थीको निम्ति त यो एउटा आधारभूत आवश्यकता नै हो, चाहे नेपालमा होस अथवा विदेशमा। सरसर्ती हेर्दा यो एक किसिमले प्रतिस्पर्धा कै रुपमा देशभित्र साथसाथै विदेशमा अध्ययन गर्ने सबै विद्यार्थीबीच चलेको छ।

तर के सबैले अनुसन्धान गर्नु पर्छ? शायद पर्दैन। के धेरैले विद्यावारिधि गर्दैमा शिक्षाको स्तर माथि जान्छ? शायद जाँदैन। यो त प्रत्येक देशले आफ्नो आवश्यकता अनुसारका जनशक्ति उत्पादन गर्नुपर्छ र त्यही मुताबिक विश्वविद्यालयहरुलाई अनुरोध गर्नु पर्ने हुन्छ। जुन देश कृषिमा आधारित छ त्यहाँ कृषि उत्पादनशीलतालाई बढावा दिन सक्ने जनशक्ति चाहिन्छ। त्यसैगरी, जलस्रोतको धनी देशहरुले विद्युत विकास गर्न सक्ने इन्जिनियर उत्पादन गर्नु उचित हुन्छ। भनाइको तात्पर्य, सरकारले उच्चशिक्षा प्रदायक संस्थाहरुलाई आफ्नो देशमा कस्ता किसिमका जनशक्ति उत्पादन गर्दा उपयुक्त हुन्छ भनी बहस गरेर निर्णय गरेमा विकासको निम्ति अरुको मुख ताक्नु पर्दैन र त्यही नै दिगो विकासको जग बन्न जान्छ।

विकास र अनुसन्धान एक अर्कासँग अत्यन्त निकट छन् किनकि तथ्यमा आधारित विकास नै दिगो हुन्छ। अनि नयाँ खोज तथा अनुसन्धानलाई प्रकाशन पश्चात अरु अनुसन्धाताले परख गर्ने र निखार गर्ने अवसर पाउँछन्। यसरी भएका खोज अनुसन्धानका आधारमा नयाँ टेक्नोलोजी विकास गर्न सकिन्छ जसले तथ्यमा आधारित रहेर गरिने विकासलाई टेवा दिन्छ। कुनै पनि वैज्ञानिक खोज एकैपटक जादु जस्तो गरी आउने होइन, यो त एकपछि अर्को गर्दै, असफल अनि सफल हुँदै, निखारिंदै जाने प्रकृया हो जसको निम्ति पहिलेका अनुसन्धानहरु बलियो आधारका रुपमा रहने गर्दछन्।

आधुनिक विज्ञानको विकास संगसंगै वैज्ञानिक अनुसन्धानलाई लिपिवद्द गरिराख्नका लागि जर्नल प्रकाशनको थालनी भएको पाइन्छ। पहिले यस्ता जर्नलहरू कागजी पुस्तकका रुपमा प्रकाशित हुने गर्दथे र यसको उपलब्धता अत्यन्त गाह्रो थियो। यस्ता जर्नलहरू बिभिन्न देशहरुमा रहेका विश्वविद्यालयहरुले आदानप्रदान गर्ने र किनेर ल्याउनु पर्ने, अनि प्रकाशित भएको लामो समय पछि मात्र उपलब्ध हुने गर्दथ्यो । नेपालमा त १९९० को दशकसम्म पनि त्रि.वि. को पुस्तकालयमा केही सिमित जर्नलहरू उपलब्ध हुने गर्दथे। त्यो पनि त्यति प्रयोग नहुने हुँदा धुलो टक्टकाएर हेर्नु पर्ने हुन्थ्यो ।

मैले विदेशी अनुसन्धाताहरुसँग धेरै पटक जर्नलको बारेमा कुरा गर्ने अवसर पाएको छु, व्यक्तिगत रुपमा र सभा सम्मेलनमा समेत। यस क्रममा नेपालमा भए गरेका अनुसन्धान र यसका प्रकाशनका बारेमा समेत छलफल भएका थिए । उनीहरुका अनुसार यस्ता कतिपय लेखहरु हुन्छन् जसको खोजी अनुसन्धाताहरुले सम्बन्धित देशकै जर्नलहरुमा पाउने आशा गर्दा रहेछन्। तर हामी धेरै अनुसन्धाताहरु विश्व चर्चित जर्नलहरुमा प्रकाशन गर्ने लालसा राख्ने गर्दछौं।हुन पनि हो, आँफुले गरेको कामको प्रतिफल राम्रो जर्नलमा प्रकाशित गरेर पाइन्छ भने किन नगर्ने? अहिले जर्नलहरु मापन गर्ने गणितीय अंकहरु समेत उपलब्ध छन्, जस्तै इम्प्याक्ट फ्याक्टर (Impact Factor), साइट स्कोर (Cite Score), क्वार्टाइल (Quartiles, Q1–Q4) इत्यादि । यस्ता मापन पुस्तकालयहरुले आफ्नो रेकर्डका लागि प्रयोग गर्न बनाएको भएता पनि अहिले यो सर्वव्यापी भएको छ र यही आधारमा हामीहरु जर्नलको स्तर मापन गरिरहेका छौँ ।यस्ता मापनहरु विशेष गरेर प्रकाशित भएका अनुसन्धान कृतिहरु अरु अनुसन्धाताले कतिपटक आफ्नो लेखमा प्रयोग गरे भन्ने आधारमा तय गरिएका हुन्छन्। अहिले, कतिपय प्रसिद्दि कमाइसकेका जर्नलहरु त आफ्नो विश्वसनीयताका लागि गणितीय हिसाबकिताब आवश्यक नरहेको जिकिर समेत गरिरहेका छन्।

नेपालमा समेत यहाँ भए गरेका अनुसन्धानलाई लिपिवद्ध गर्नका लागि जर्नल प्रकाशन शुरु गरेको दशकौं भैसक्यो ।अहिले आएर यो संख्या मनग्गे भएको छ, नेप्जोल (NepJOL) भन्ने पोर्टलमा मात्रै यसको संख्या आजको मितिसम्म २२९ पुगिसकेको छ। हाम्रा विश्वविद्यालयहरुले अहिले जर्नललाई दुइवटा वर्गमा बाँडेका छन्, स्थानीय र अन्तर्राष्ट्रिय।आफ्नै देशभित्र प्रकाशन हुने जर्नललाई हामीहरु स्थानीय जर्नल भन्ने गर्छौं। विद्यावारिधि गर्नेहरुले दुबैमा (स्थानीय र अन्तर्राष्ट्रिय) प्रकाशन गरेको हुनुपर्ने जस्ता नियमहरु समेत स्थापित हुन थालेका छन्। त्यसैले धेरैजसो विद्यार्थीका शोधकार्यका लक्ष्य बनेका छन् स्थानीय जर्नल। मलाई त लाग्छ जर्नलको कुनै सिमा हुनुहुँदैन, जसरी ज्ञानको सिमा हुँदैन।

समग्रमा भन्नु पर्दा जर्नलको गुणस्तर र विश्वसनीयता बढाउने भनेको सो जर्नल चलाउने सम्पादक टीम कस्तो छ र यसले प्रकाशन पूर्व हुने समिक्षा कसरी गर्दछ भन्ने कुरामा धेरै आधारित हुने गर्दछ। त्यति मात्र नभएर प्रकाशन नैतिकताका कुराहरु पनि जोडिन पुग्दछन्। अरुका लेखहरु चोरी गरेर (पुरै अथवा केही अंश) आफ्ना नाममा प्रकाशित गर्नेहरुलाई रोक्नको निम्ति जर्नलले कस्ता उपाय अपनाएको छ? साथै, तथ्यलाई तोडमरोड गरेर प्रकाशित गरेको थाहा भएमा अन्तर्राष्ट्रिय मान्यता अनुरुप कार्यवाही गर्छ कि गर्दैन भन्ने विषयहरु समेत विश्वसनीयताका आधारहरु हुने गर्दछन्। यस्ता सबै प्रक्रियाहरु सम्बन्धित जर्नलले सबैले पढ्न मिल्नेगरी स्पष्टसँग उल्लेख गरेको हुनुपर्दछ जुन ‘प्रकाशन नैतिकता समिति (Committee on Public Ethics)’ ले प्रस्टसँग उल्लेख गरेको पाइन्छ।

कतिपय देशहरुमा नैतिक अपचलन गरेको भनी विवादित अनि प्रमाणित भएपछि आफ्नो पद सधैंका लागि गुमाएका प्राध्यापक र मन्त्री समेत हामीले देखिसकेका छौँ, भलै हाम्रो देशमा त्यस्ता व्यक्तिहरुलाई पुरस्कृत गरेको दृष्टान्त ताजै छ।  यदि नैतिक बिचलन रोक्न सबै प्रकाशक, सम्पादक टिम अनि अनुसन्धाताहरुले हातेमालो गरेमा हाम्रा स्थानीय जर्नलहरू विश्वासको कसीमा राम्रो दरिने कुरामा दुइमत छैन। त्यसो गर्न सकेमा नेपाली अनुसन्धाता मात्र होइन विदेशी अनुसन्धाता समेत हाम्रा जर्नलहरुमा प्रकाशन गर्न लालायित हुन सक्नेछन्। कोशिस जारी राखौं, हाम्रै पालामा नेपाली जर्नलहरु अन्तर्राष्ट्रिय रुपमा प्रतिष्पर्धी बनाऊँ ।

Facebook Comments
Chhatramani
Comments (0)
Add Comment