विश्वविद्यालयमा अध्यापनमा संलग्न भएको झण्डै दुई दशक पुग्नै लाग्दा म फेरि औपचारिक रुपमा विद्यार्थी हुन पुगेको थिएँ । भारतको राजधानी स्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा सन् १९९९ को जनवरीमा विद्यावारिधीमा नाम दर्ता गरेँ । झण्डै आधी उमेरका सहपाठीहरुसंग कक्षा कोठामा बसेर पढ्दा, एक प्रकारको नौलो उर्जा महशुस भइरहेको थियो । एक अरबको जनसंख्याबाट छानिएर आएका १६ जना विद्यार्थीसंगैको म १७ औं बन्न पुगेको विद्यार्थीलाई कमसेकम साक्षर भएर जान सकेँ भने पनि आफुलाई धन्य मान्ने मनस्थिति बनाएको थिएँ । अरावली चट्टानको श्रृंखलामाथि करीब एक हजार एकड जमिनमा फैलिएको रैथाने जंगलभित्र, वन्यजन्तु, चराचुरुंगी तथा पतली वासस्थान भएको पूर्ण प्राकृतिक तथा मनोरम परिवेशको क्याम्पस हाता २४ सै घण्टा जागा रहन्थ्यो । दिनको निर्धारित समय मात्रै काम गर्ने बानी त्यो पनि औसत आयुको झण्डै आधा उमेर बिताइसकेको मलाई त्यो जाँगर र तदारुकतामा बानी पर्न केही समय नै लागेको थियो ।
विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय थाहा भयो अर्को हप्ता । शुल्क संरचना पुनरावलोकन भएछ । छिमेकी दक्षिण एशियाली मुलुक, गरीब तथा अतिकम विकसित राष्ट्रबाट पढ्न आएका विद्यार्थीहरुलाई संयुक्त राष्ट्र संघको विकास सूचकांक, प्रतिव्यक्ति औसत आयको आधारमा सामाजिक न्याय झल्किने गरी । खास गरी एशियाली र अफ्रिकी मुलका विद्यार्थी लाभान्वित भए त्यो निर्णयले, त्यसका लागि उनीहरुले आवेदन भने बुझाउनु पथ्र्यो समिति समक्ष । हासीको विशेष परिस्थितिलाई मूल्याङ्कन गरी भैपरि आउने शुल्क एक सय डलर बाहेक अन्य शुल्क छुट भएछ । नाम जस्तै उस्को हाँसो फिर्ता आएकोमा म लगायत हामी सबै संगसंगै खुसी भयौं ।
नाम मात्रको प्राज्ञिक स्वतन्त्रता, अझ व्यवहारमा नोकरशाही तथा चाकरी पद्धतीमा चलेको प्रणालीमा वर्षौ उकुसमुकुसमा बिताएको मलाई, खुला प्रतिस्पर्धा, प्राकृतिक न्याय र समाजवादी दर्शनलाई मार्गदर्शक सिद्धान्त बनाएको विश्वविद्यालयको वातावरण काम गर्न एकदमै अनुकुल र प्रेरणादायी थियो । विदेशी विद्यार्थीलाई आकर्षण गर्ने राम्रो वातावरण भएर होला मैले नाम दर्ता गराएको ताका ३५/३६ देशका विद्यार्थीहरु पढ्थे । एशियाली तथा अफ्रिकी मूलुकका धेरै थिए । यूरोप र अमेरिकी मूलुकको पनि प्रतिनिधिमूलक उपस्थिति थियो ।
विश्वविद्यालयमा विषय र विधागत संरचना त्यही अनुकुल गठन गरिएको थियो । विदेशी विद्यार्थी लक्षित एउटा कार्यालय नै थियो एकजना प्राध्यापक सल्लाहकारले हेरदेख गर्ने गरी । त्यस्तै विदेशी विद्यार्थी संगठनको हित हेर्ने सम्बन्धी छुट्टै संस्थागत संरचना रहन्थ्यो । स्वदेशी विद्यार्थीका लागि शुल्क, छात्रावास सुविधा लगायत सबै कुरा अनुदानमा आधारित थियो भने अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा फरक शुल्क संरचना । हामीले पढ्ने ताका स्वदेशी विद्यार्थीले शिक्षण शुल्क रु १२० प्रति सत्र तिर्दा हुन्थ्यो, बाँकी खर्चका लागि पनि अधिकांशले छात्रवृत्ति पाउथे । अन्तराष्ट्रिय विद्यार्थीको हकमा शिक्षण शुल्क अमेरिकी डलर ७५० र भैपरि आउने एक सय गरी प्रति सत्र ८५० डलर जम्मा थियो । विकसित राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति आयको आधारमा त्यो राशी सामान्य हुन्थ्यो होला । तर खास गरी दक्षिण एशियाली तथा अफ्रिकी मुलुकबाट आएका विद्यार्थीलाई भने त्यही रकम धान्न धौधौ परेको बुझिन्थ्यो ।
अन्तर्राष्ट्रिय विद्यार्थी संगठनको पहिलो तथा परिचय कार्यकम थियो विद्यार्थी क्लबको सभाकक्षमा । इराकबाट आएका परमाणु वैज्ञानिक, इरान, भियतनामबाट आएका वरिष्ठ अर्थशास्त्री, केन्याका रसायन शास्त्री, लगायत अरमेनिया, दक्षिण कोरियाबाट कुटनीतिक रणनीतिमा विद्यावारिधी गर्न आएका थुपै्र अन्तराष्ट्रिय मित्रहरुसंग परिचय भयो । त्यसमध्ये श्रीलंकाबाट भाषाविज्ञानमा स्नातक पढ्न आएकी एउटी मृगको पाठो झैं चन्चले केटीले सबैको ध्यान खिचिरहेकी थिई । असाध्यै हंसिली र निश्छल भावले उ सबैंसंग एकै ढङ्गले परिचय गर्दै गइरहेकी थिई । संगै उभिएका केन्याका साथी बेन्सन ओगेहा र मेरो अगाडि आइपुगेर दाहिने हात अगाडि बढाउँदै बत्तिसा दाँत देखाएर अंग्रेजीमा उस्ले भनी ‘म हासांगना’ छोटकरीमा ‘हासी’ भन्दा हुन्छ, ‘श्रीलंकाबाट’ । हामीले आ–आफ्नो परिचय दियौं । मसंग उसले संवाद दोहोरयांउदै भनी म बुद्ध धर्माबलम्बी हुँ, कुनै दिन बाबुआमा लिएर तिम्रो देशको लुम्बिनी जन्मस्थल आउनेछु ।’
अन्तर्राष्ट्रिय विद्यार्थीकी सल्लाहकार प्राध्यापक रेखा रङ्गराजनले विश्वविद्यालयको तर्फबाट सबैलाई औपचारिक रुपमा स्वागत गर्नु भएपछि खानपान, नाचगानमा लागे सहभागीहरु, म भने रात निकै भइसकेकोले विहानको १ बजेतिर आफ्नो छात्रावासतर्फ लागें ।
शुक्रवारको नियमित कक्षा सकेपछि साँझ स्टुडेन्ट क्लबमा भेट्ने तालिका थियो अन्तर्राष्ट्रिय विद्यार्थी संगठनको । एशियाली मुलुक प्रतिनिधित्व गर्ने कानून संकायकी एकजना निकै टाठी, क्षमताशाली विद्यार्थी थिइन् प्रेसिडेन्टमा भने, बेल्जियमबाट आएका अर्थशास्त्र विषयमा विद्यावारिधी गर्दै गरेका अलिक परिपक्व उमेरका साथी सेक्रेटरीको भूमिकामा थिए । यूरोप, अमेरिकाका साथीहरु पनि विभिन्न पदमा रहेर घर बाहिरको यो अन्तर्राष्ट्रिय लाग्ने परिवारमा हामी समय समयमा नियमित कार्यक्रम गर्ने गथ्र्यौं । अन्तराष्ट्रिय विद्यार्थी संगठनले आफ्नो तर्फबाट दुई जनालाई सल्लाहकारको भूमिका दियो, केन्याको बेन्सन ओगाया र मलाई । बेन्सन नैरोबी स्थित विश्वविद्यालयमा प्राध्यापन गर्थे, शायद कुनै प्राज्ञिक प्रशासनिक पदमा रहदैं अध्ययन विदामा आएका थिए, म पनि विश्वविद्यालयमा झण्डै दुई दशकदेखि संलग्न थिएँ पठनपाठनमा । उमेर, अनुभवको आधारमा हामीलाई त्यो भूमिका दिइएको हुन सक्थ्यो ।
प्रथम सत्र सकिएर दोस्रो सत्र सुरुमात्र भएको थियो । वार्षिक कार्यक्रम तर्जुमा गर्ने भनी अन्तर्राष्ट्रिय विद्यार्थी संगठनले बैठक राख्यो । असाइन्मेन्टको चाप एवं परीक्षाको चटारो नभएकोले धेरै विद्यार्थी भेला भएका थिए । सधैं हसमुख देखिने चन्चले हासी गम्भिर मुद्रामा चुपचाप बसिरहेकी थिई । बेन्सनले जिस्क्याउदै सोध्यो हासीलाई ‘के भयो ?’ भनेर । गम्भिर हुँदै उसले जवाफ दिई ‘मेरो घरमा समस्या परेकोले मैले पढाई बीचैमा छोडेर फर्किनु पर्ने हो कि?’
बेन्सनले स्तब्ध हुँदै सोधे ‘आफ्नो समस्या संगठनमा किन राख्दिनौ, केही उपाय निस्किन्छ कि ?’
ब्यापारी बाबुले बिदेशी मुद्रामा शुल्क तिर्ने गरी आफुलाई पढ्न पठाएको, परीवारको जेठो सन्तान हुनुको नाताले बाबुआमाको आफ्नो पढाइमा उल्लेखनीय लगानी भएको र सोही अनुसारको पढाई गर्ने आफ्नो सोच तथा कर्तब्यका बाबजुद, अहिले परीवारको एकमात्र कमाउ सदस्य बाबु क्यान्सरबाट पीडित हुन पुगेका कारण घरायसी खर्च, उपचार खर्च आदि पछि मात्र पढाई खर्च पठाउन सक्ने एवं अध्ययन शुल्क महंगो भएकोले आफु उपाय पहिल्याउन नसकी अन्यौलमा रहेको चिन्ता व्यक्त गरिन् उनले ।
वेन्सनले मसंग छुट्टै कुरा गर्दै एकपटक केही उपाय छ कि सोचौं र संगठनमा कुरा गरौं भने । उनी र म छुट्टै सरसल्लाह गर्न लाग्यौं । स्वदेशी र विदेशी विद्यार्थी बीचको फराकिलो शुल्क संरचना नै कारक तत्व हो भन्ने हामीलाई लाग्यो । विश्वविद्यालय स्थापनाको प्रस्तावनामा उल्लेखित सामाजिक न्याय समाजवाद उन्मुख भावनालाई तेस्रो विश्व र गरीब राष्ट्रबाट पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई त्यो प्रस्तावनाको भावनाले समेट्न नसकेको साझा राय हाम्रो बन्यो । स्वदेशी विद्यार्थीको विविध समूहलाई समेट्न त गण्तन्त्र भारतको संविधानमा मुखरित भावना नै काफी थियो, पिछडिएको वर्ग, जाति क्षेत्र आदिको आधारमा । तर ज्ञानको ज्योती फिजाउने पवित्र उद्धेश्यले स्थापित विश्वविद्यालयमा प्रतिस्पर्धाबाट आएका हासी जस्ता विद्यार्थीले अवसर गुमाउनु हुँदैन जस्तो मानेर हामीले अन्तर्राष्ट्रिय विद्यार्थी संगठनलाई अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार प्राध्यापक मार्फत विश्वविद्यालय प्रशासन र आवश्यकता परे बोर्ड अफ ट्रष्टिजसम्म अनुरोध गर्ने निर्णय गर्यौ ।
हामीले अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार प्राध्यापक रेखा रंगराजनसंग भेट गर्यौं र मानवीय आधार तथा सामाजिक न्यायको लागि एउटा अपेक्षित विद्यार्थीलाई परेको यो सममस्या सम्बोधनका लागि पहलकदमी एवं समन्वय गरिदिनुहुन अनुरोध गर्यौं । ‘आवश्यक कागजात सहित एउटा विस्तृत निवेदन तयार गर्नु शिक्षाध्यक्षसंग म समय लिइराख्छु र विद्यार्थी कल्याण हेर्ने डीनलाई पनि जानकारी गरांउछु’ भन्नुभयो ।
हासीले कुरियर मार्फत बाबुलाई लागेको विमार लगायत आवश्यक कागजात मगाइन् । औचित्य दर्शाउने निवेदन लेख्न बेन्सन र मैले सघायौं ।
अर्को साता प्राध्यापक रंगराजनले हासीलाई अन्तर्राष्ट्रिय विद्यार्थी संगठनको अध्यक्ष, बेन्सन र म सहित शिक्षाध्यक्षसंग भेट गराउनु भयो । इतिहास विषयका ख्यातिप्राप्त प्राध्यापक हरवंश मुखिया शिक्षाध्यक्ष हुनुहुन्थ्यो, प्राज्ञिक समाजवादी चिन्तक र विद्यार्थीप्रति असाध्यै शुभेच्छुक र सहयोगी । समस्या सम्बोधनप्रति उहाँको सहानुभुतिपूर्ण सोच महशुस गर्न सकिन्थ्यो । आर्थिक मामिलासंग गांसिएको एवं नीतिगत निर्णय लिनुपर्ने विषय भएकोले कार्यकारिणी तहमै छलफल गर्नुपर्ने बताउनुभयो शिक्षाध्यक्ष प्राध्यापक मुखियाले । दुई दिन पछि जस्तो लाग्छ मलाई, शिक्षाध्यक्षका सूचना अनुसार हामीसंगै हासीलाई उपकुलतिको कार्यकक्षमा बोलाइयो । पारमाणविक जीव विज्ञानका ख्यातिप्राप्त वैज्ञानिक प्राध्यापक आशिष दत्ता उपकुलपति हुनुहुन्थ्यो तिनताका र उहाँका लगत्तै पूर्व उपकुलपति तथा गणतन्त्र भारतका तत्कालीन राष्ट्रपति श्री के.आर.नारायणन् जवाहरलाल नेहरु विश्वविद्यालयका कुलाधिपति हुनुहुन्थ्यो । कार्यकारी पदाधिकारीहरु वरिपरि रहनु भएको ठूलो कार्यकक्षमा बीचको कुर्सीमा हासीलाई बस्न भनिएको थियो । विद्यार्थी पंक्तिबाट साक्षी स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थी संगठनकी अध्यक्ष, बेन्सन र म एक छेउमा कुर्सीमा बसेका थियौं ।
“विश्वविद्यालयले अवलम्बन गरेको शुल्क संरचना स्वीकार गरेर प्रवेश लिएपछि निर्धारित शुल्क तिर्नु पर्दैन र ?” भन्ने प्रश्न उपकुलपतिले हासीलाई गर्नुभएपछि उनी जवाफ दिन नसकेर संवेदनशील हुन थालिन् । “बुबाको अपर्झटको बिमारी र कमाउने एकमात्र सदस्य हुनुको कारण पढाई सुचारु राख्न पाउने आफ्नो एकमात्र याचना रहेको” उनले रुदैं भनिन् ।
हाम्रो पूर्व सल्लाह मुताविक नै विश्वविद्यालयको प्रस्तावनामा उल्लेख भएको सामाजिक न्याय र समाजवाद उन्मुख विश्वविद्यालयको ध्येयलाई मध्यनजर राख्दै तेस्रो विश्व र गरीब राष्ट्रबाट पढ्न आएका क्षमताशाली विद्यार्थीलाई उक्त प्रस्तावना मुताविक हाल नसमिटएको सन्दर्भमा उक्त समूहका विद्यार्थीको शुल्क संरचनामा पुनर्विचार गरिनु पर्ने कुरा मैले अनुरोेध गरें । प्रा. आशिष दत्ताले ‘नेपालबाट आएका मेरो थरकाको हकमा पनि त्यो आवश्यक छ र ?’ भनी मजाक गर्नुभयो । सम्मानजनक भाषमा मैले उहाँको मजाकको जवाफ फर्काएपछि तपाइहरुले निर्णय छिटै पाउनुहुन्छ भनी हामीलाई बिदा गर्नुभयो ।
विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय थाहा भयो अर्को हप्ता । शुल्क संरचना पुनरावलोकन भएछ । छिमेकी दक्षिण एशियाली मुलुक, गरीब तथा अतिकम विकसित राष्ट्रबाट पढ्न आएका विद्यार्थीहरुलाई संयुक्त राष्ट्र संघको विकास सूचकांक, प्रतिव्यक्ति औसत आयको आधारमा सामाजिक न्याय झल्किने गरी । खास गरी एशियाली र अफ्रिकी मुलका विद्यार्थी लाभान्वित भए त्यो निर्णयले, त्यसका लागि उनीहरुले आवेदन भने बुझाउनु पथ्र्यो समिति समक्ष । हासीको विशेष परिस्थितिलाई मूल्याङ्कन गरी भैपरि आउने शुल्क एक सय डलर बाहेक अन्य शुल्क छुट भएछ । नाम जस्तै उस्को हाँसो फिर्ता आएकोमा म लगायत हामी सबै संगसंगै खुसी भयौं ।
दोस्रो सत्रको आधा जस्तो समय बितेको हुदोँ हो सेप्टेम्बरको दोस्रो साता । सिमित अध्ययन विदालाई ध्यानमा राख्दै शोध प्रस्तावनामा काम गर्दै गर्नु भन्ने शोध सुपरिवेक्षक प्राध्यापक रामाकृष्णन्को सुझावलाई मानेर म निकै चापमा काम गर्दै थिएँ । समय व्यवस्थापनका लागि म हप्ता दिनको तालिका बनाएर काम गर्दै थिएँ । पढाई र अनुसन्धान प्रस्तावनामा एकैसाथ ।
मेरो ढोका ढक्ढकाएको आवाज आएकोले ढोका खोल्न गएँ । हासी हातमा सेतो, पंहेलो गुलाबको गुच्छा बोकेर ‘बुवा यो तपाइलाई आजको विशेष दिनमा उपहार’ भन्दै सबै दांत देखाएर खुलेर हांसी । संवाद अंग्रेजीमा भए पनि ‘बुवा’ को सम्बोधन नेपालीमा गरेकोले मलाई लाग्यो सिन्हालीमा पनि शायद त्यसै भनिन्छ । मैले उसलाई कोठाभित्र आउन भनें । उस्ले कृतज्ञता जाहेर गरी बुवाको बिमारीको अवस्थामा उस्लाई साथ दिएर विश्वविद्यालय पदाधिकारीलाई कुरा बुझाउन नसकेको भए शायद उ पढाई छाडेर जाने थिई । परदेशमा अभिभावकत्व प्रदान गरेकोमा अब उप्रान्त उस्ले मलाई ‘बुवा’ सम्बोधन गर्नेछ । सामान्य मानवीय कर्तब्य निर्वाह गर्दाको त्यो अनुग्रहले म हर्षविभोर भएँ । उसको बुवाको स्वास्थ्य अवस्थाको जानकारी लिएँ । नेपालीमुलका केटी साथीहरुबाट सिकेर उस्ले बुवा भन्न जानेकी रहिछ र बाबुको मुख हेर्ने दिन पारेर फूलको गुच्छा लिएर भेट्न आएकी रहिछ ।
शायद २००१ के अन्त्यतिर हुनुपर्छ, क्यान्सरको सफल उपचार पश्चात् निको भएर हासीका आमाबुवा भारत भ्रमण आएका थिए । हासीले ‘मेरो बुवा’ भन्दै मसंग चिनाएकी थिई । २००२ मा म फर्केँ पढाई सकेर, आफ्नै संसारमा ब्यस्त रहन थालें । करीब १०र१२ वर्षपछि एउटा इमेल पढ्न पाएँ । हासीको रहेछ.। बिहा गरिछ श्रीलंकाकै केटासंग, स्वीटजरलेण्डको जेनेभामा बस्तिरहिछ, दुइटा छोराछोरी रहेछन् ।
सूचना प्रविधिको जमानाको सुविधाले बिगत पाँचसात वर्षदेखि फेसबुक, मेसेन्जर मार्फत त्यो मीठो ‘बुवा’ सम्बोधन सुन्न थालेको छु, बुवाको मुख हेर्ने दिन र मेरो फेसबुकले मनाइदिने गरेको जन्मदिन । पढ्न जाँदा फेला परेकी त्यो छोरीलाई मेरो ह्दयदेखिकै असिम माया तथा सधैं हांसिरहने शुभकामना ।