पैतालो उड्न सक्दैन !

हे पैतलामुनिका धुला हो !
उड न उड, तिमी त उड्न सक्छौ
पैतालो उड्न सक्दैन ।

हावासँग मिली उड्न सक्छौ
जति तेजिलो होस्, घाम छेक्न सक्छौ
पुगी टाकुराको पनि टाकुरामा
छरेर बीऊ उमार्न सक्छौ ।

थिचिन्छौं सधैं नै किन पैतालाले ?
आँखामा परेर कदम रोक्न सक्छौ
धुलो भई धुलो झैं सधैं धर्तीमा छौ
उड न आकाशमा तिमी उड्न सक्छौ
पैतालो उड्न सक्दैन ।

लिई पानी साथी तिमी धर्तीमाथि
उमारेर वृक्ष फलाइदिन सक्छौ
किन मिचिएका किन थिचिएका ?
उड न धुला हो, तिमी त उड्न सक्छौ
पैतालो उड्न सक्दैन ।

थियौ तिमी चट्टान, बन्यौ धुलो अहिले
नियति यो तिम्रो तिमी फेर्न सक्छौ
आफ्नै हो धर्ती यो तिम्रो स्वरूप
उड जाऊ आकाश तिमी जित्न सक्छौ
पैतालो उड्न सक्दैन ।

Facebook Comments
chatyang
Comments (0)
Add Comment