नर्स भन्ने बितिक्कै आम नेपालीहरूको मन मस्तिष्कमा सेतो पहिरन, सारी, चोलो लगाएर स्वास्थ्य सेवामा समर्पित महिलाहरूको स्वरुप झल्झली आउँछ।
पुरुष नर्सको अपरिहार्यता महशुस गर्ने थुप्रै महिला नर्सहरु हुनुहुन्छ । नर्सिङ सङ्घका १८ औं कार्य समितिका निवर्तमान अध्यक्ष लगायत ईपि नर्स सुशीला पौडेल, रोशनी श्रेष्ठ भक्तपुर, थाक्छि शेर्पा बौद्ध, सफलता श्रेष्ठ पोखरा, शारदा बाराकोटी, हेमा थापा वीरगन्ज, लक्ष्मी चौधरी राजविराज, सुनिता गुप्ता जनकपुर, उपेन्द्र यादव धरान, अजिता बराल विराटनगर, शिला सुब्बा धनकुटा, तुलसा अधिकारी झापा, लक्ष्मी के सी ओली बाँके, रमिला विष्ट महेन्द्रनगर, सुमन गिरी श्रेष्ठ नेपालगन्ज, कमला ज्ञवाली बुटवल, प्रज्ञा श्रेष्ठ भैरहवा, मुना सिलवाल पोखरा, पवित्रा खनाल पाल्पा, आयुष्मा अर्याल तौलिहवा आदिको अपरिहार्यताका बारेमा वकालत गर्नु हुने प्रतिनिधि नर्सहरु हुनुहुन्छ। उहाँहरु नर्सिङ परिषद्मा पुरुष नर्सको आवश्यकताका पक्षमा समेत हुनुहुन्छ।
तर नर्स भन्नाले महिलाहरु होइनन भन्ने कुरा विश्वका अभ्यासहरुले पुष्टि गरिरहेका छन् । नेपालमा पनि विक्रम संवत २०४३ देखि दस प्रतिशत पुरुषले अध्ययन गर्न पाउने व्यवस्था त्रिभुवन विश्वविद्यालयका डिन चिकित्सक प्राचार्य श्री मदन प्रसाद उपाध्यायले सुरु गर्नु भएर नेपालमा नवीन सोच प्रस्तुत गर्नु भयो।
उहाँमा नेपाली स्थास्थ्य सेवा प्रणालीका बारेमा कति राम्रो भिजन थियो भन्ने कुरा यसले प्रमाणित गर्छ । तर २०४६ सालमा भर्ना लिए पछि पुरुष नर्सले पढ्न पाउने कोटा बन्द गराइयो । उहाँ बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधिकारिक पदमा हुँदा बिना कोटा खुला प्रतिस्पर्धा नै गराई दिनु भयो जसमा २० जनाको कोटामा ११ जना पुरुषहरूले बिएस्सी नर्सिङ पढ्न पाए। यसरी नर्सिङमा पुरुषहरु पढ्न पाउने अवसरलाई कार्यान्वयन गर्नु हुने अग्रजहरु सबैलाई हृदय देखि नमन गर्दछु।
आजका दिनसम्म नेपाल नर्सिङ परिषद्को आधिकारिक सूचना अनुसार जम्मा १५० जना पुरुष नर्सहरू दर्ता छन् जुन जम्मा ०.१५ प्रतिशत मात्र हुन आउँछ । जबकि अमेरिकामा १२ प्रतिशत, बेलायतमा १०.८ प्रतिशत, अस्ट्रेलियामा ८.५ प्रतिशत, क्यानाडामा ८ प्रतिशत त्यस्तै साउदीमा ३२ प्रतिशत र इरानमा २० प्रतिशतको हाराहारीमा छन पुरुष नर्सहरु कार्यरत छन्। त्यस्तै कति अफ्रिकन मुलुकहरूमा त नर्सका रुपमा पुरुषहरु छन् ।
त्यस्तै उपलब्ध विवरण अनुसार इस्वी सम्बत् १९५५ मा अमेरिकन सेनाका लिउ टीनान्ट एडवार्ड प्रथम पुरुष नर्सको रुपमा कार्य गरेका थिए। इस्वी संवत् १९७० मा अमेरिकामा पुरुष नर्सको संख्या २.५ प्रतिशत थियो भने अप्रिल, २०२१ मा यो संख्या तीन गुनाभन्दा बढी वृद्धि भएको छ । तर नेपालको अवस्था अमेरिकाको प्रथम चरण १९७० इस्वी संवत्को संख्या भन्दा पनि धेरै कम छ।
यस्तै महामारी विपद् व्यवस्थापन, भौगोलिक विषमताका लागि अति उत्तम र अपरिहार्य पुरुष नर्सको अवधारणा ल्याउनु पक्कै पनि नेपालको स्वास्थ्य सेवामा कुनै अवरोध थिएन र छैन पनि । त्यसलाई निरन्तरता दिन नखोजिएको पनि होइन। तर कतिले आफ्नो औकात भन्दा परको कुरा सम्झेर चाहेनन । एकल महिला नेतृत्व भएकोमा पुरुषको उपस्थितिले त्यो तोडिन सक्दछ भन्ने महिला नर्सहरुले आभास गरे र अहिले पनि चाहँदैनन् । यसको यथेष्ठ प्रमाणहरू विद्यमान संग छन्।
इस्वी सं. १८९८ मा विश्वभरीका नर्सहरुलाई एकै छाता मुनी एकत्रित गर्ने, नर्सहरुको सामाजिक, आर्थिक अवस्था मजबुत बनाउने, स्तरीय शिक्षा र कार्य कुशलता बनाउने अवधारणा राखेर अन्तर्राष्ट्रिय नर्सिङ परिषद् गठन गरिएको थियो । परिषद्को १४ जनाको कार्य समितिमा हाल एक जना पुरुष नर्स छन् र यसको नीति नियम कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकारीमा पुरुष नर्स हावर्ड काट्टोन छन् । त्यस्तै भारतको नर्सिङ परिषद्को अध्यक्ष दिलीप कुमार छन् । अस्ट्रेलिया नर्सिङ तथा मिड वाइफ बोर्डमा तीन जना पुरुष नर्सहरु छन् । बेलायतमा नर्सिङ तथा मिडवाइफ काउन्सिलको कार्यकारिणी समितिमा पुरुष नर्स छन् तर नेपालको नर्सिङ परिषदमा भने हालसम्म पुरुष नर्सलाई समावेश गरिएको छैन। नेपालमा हालसम्म किन पुरुष नर्स नीति निर्माण तहमा स्वीकार गर्न सकिएको छैन यसबारेमा चिन्तन हुनु जरुरी छ ।
के पुरुष नर्स नेपालको लागि अभिशाप हो त? यक्ष प्रश्न यही ठडिएको छ। वर्तमान सरकार विविद क्षेत्रबाट घेराबन्दीमा रहेर पनि आफ्नो नवीन सोच अनुरूप दृढकासाथ आम नेपालीको खुसी र समृद्धिका लागि निरन्तर अघि बढी रहेको छ। डेढ दशकसम्म दल सञ्चालन गर्न शीर्ष नेतृत्वमा बसेका र प्रधानमन्त्रीको कार्यभार सम्हाली सकेका नेताहरु नै अहिले सरकार र पार्टीलाई धेरावन्दीमा पार्न उधत्त छन् तर पनि वर्तमान एमाले नेतृत्व उनीहरुलाई समावेश गर्ने प्रयास गर्दै अधि बढिरहेको छ।
वास्तवमा इतिहासको नवीन कार्यका लागि यो सरकारको नेतृत्व अरुभन्दा पृथक छ भन्नका लागि पनि यसपाली पुरुष नर्सलाई नर्सिङ परिषद्को अध्यक्षमा आसिन गराउँदा उत्तम हुन्छ नै । अहिलेसम्म महिलाले नै नेतृत्व गरी रहेको अवस्थामा उनीहरुको नेतृत्वमा हासिल हुने कुराहरुको परिणाम देखिइसकेको छ । यस्तो अवस्थामा एक पटक पुरुष नेतृत्वलाई मौका दिएर नयाँ सम्भावना हेर्नु समग्र नर्सिङ जगतकै लागि हितकर हुन्छ भन्ने कुरामा म विश्वस्त छु । अझ निकैं आकार ग्रहण गरिसकेको निजी स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व हुन सक्यो भने अझ राम्रो परिणाम आउन सक्छ ।
अहिले सम्म नर्सिङ परिषद्ले सामान्य नर्सको हितमा कार्यहरु समेत गर्न सकेको देखिदैन। नर्सहरुको न्यूनतम मासिक तलबसम्म पनि तोक्न नसक्दा हजारौं नर्सहरु शोषणमा पिल्सिएका छन्। नर्सहरुलाई ख्याति प्राप्त ठूला ठूला अस्पतालहरूले अप्राविधिक कार्यालय सहयोगीभन्दा पनि कम तलब दिने गरेका लज्जास्पद अवस्था कायमै छ। त्यस्तै विभिन्न सरोकारवालाहरुसंग पर्याप्त सहकार्य गर्न पनि सकिएको छैन्।
मलाई लाग्छ– कोरोनाको वर्तमान महामारीमा यदि पुरुष नर्सको उपस्थिति अहिलेकोभन्दा ज्यादा भएको भए अवस्था अर्कै हुने थियो । यसको अनुभूति मेडिकल एसोसिएसनका अध्यक्ष लोचन कार्की, डेण्टल तथा हाईजिनका माइकल देवकोटा, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा, सहकर्मीहरु, अध्ययन गर्ने स्वास्थ्यकर्मीहरू सबैले महशुस गरेका हुनुपर्छ भन्ने विश्वास राख्दछु । पुरुष नर्स महिलाको समस्या बारे कति संवेदनशील हुन्छन् भन्ने बारेमा विद्यार्थी छँदामा गुरु आमाहरु स्त्री रोग विज्ञ अचला वैध, सरस्वती उपाध्याय, पिङ्ला अमात्य, यमुना सुवाल, किरण दवाडी, अम्बिका राई, सिनियर म्याम र दिदीहरू सबैलाई महशुस भएको कुरा बताउने गर्नुभएको थियो । त्यस्तै शैक्षिक संस्थामा हाम्रा विद्यार्थी नर्सहरुले पनि पक्कै महसुस गरेको हुनुपर्दछ भन्ने विश्वास लिएका छु।
केही स्वार्थ झुण्डहरुले किन पुरुष नर्सहरुलाई देखि सक्दैनन? के नर्सिङ पेशाका लागि पुरुष नर्स अभिशाप नै हो त?
त्यसो हो भने झापा भद्रपुरमा नर्सिङ प्रशाशक सम्हाल्दै आउनु भएका विशेश्वर प्रसाद चौधरी, झापा दमकमा अपरेशन थिएटर सम्हाल्दै आउनु भएका रामनारायण दहित, बिपी कोइराला विज्ञान प्रतिष्ठानमा इमर्जेन्सी, सर्जरी विभाग र अर्थो विभाग, विराटनगर सामुदायिक अस्पताल सम्हालेका अमित सुवेदी, जनकपुर, वीरगन्ज सरकारी, निजी अस्पताल, मेडिकल कलेज शिक्षण अस्पताल, पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज शिक्षण अस्पताल, सरकारी क्यान्सर अस्पताल भरतपुर, बुटवल सरकारी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल, धनगढी प्रसुति वार्ड, आँखा अस्पताल गेटा, पाल्पा मिसन अस्पताल, प्रसुति गृह थापाथली, प्रहरी अस्पताल, कान्ति अस्पताल महाराजगञ्ज र भक्तपुर अस्पतालमा बीमारीसंग प्रत्यक्ष सम्पर्कमा रहेर कार्य सम्पादन गरिरहेका नर्सहरु के लायक छैनन त ?
झापा भद्रपुर, धारान बी पी, पूर्वाञ्चल विश्व विद्यालय गोठाटार, जनकपुर, वीरगन्ज, हेटौडा, भरतपुर, सिटिइभिटी सानोठिमीमा शिक्षण पेशा अपनाएका नर्सहरु स्तर विहिन छ त?
पुरुष नर्सको अपरिहार्यता महशुस गर्ने थुप्रै महिला नर्सहरु हुनुहुन्छ । नर्सिङ सङ्घका १८ औं कार्य समितिका निवर्तमान अध्यक्ष लगायत ईपि नर्स सुशीला पौडेल, रोशनी श्रेष्ठ भक्तपुर, थाक्छि शेर्पा बौद्ध, सफलता श्रेष्ठ पोखरा, शारदा बाराकोटी, हेमा थापा वीरगन्ज, लक्ष्मी चौधरी राजविराज, सुनिता गुप्ता जनकपुर, उपेन्द्र यादव धरान, अजिता बराल विराटनगर, शिला सुब्बा धनकुटा, तुलसा अधिकारी झापा, लक्ष्मी के सी ओली बाँके, रमिला विष्ट महेन्द्रनगर, सुमन गिरी श्रेष्ठ नेपालगन्ज, कमला ज्ञवाली बुटवल, प्रज्ञा श्रेष्ठ भैरहवा, मुना सिलवाल पोखरा, पवित्रा खनाल पाल्पा, आयुष्मा अर्याल तौलिहवा आदिको अपरिहार्यताका बारेमा वकालत गर्नु हुने प्रतिनिधि नर्सहरु हुनुहुन्छ । उहाँहरु नर्सिङ परिषद्मा पुरुष नर्सको आवश्यकताका पक्षमा समेत हुनुहुन्छ ।
हामीले बुझ्नै पर्छ, कुनै पनि पेशा महिला वा पुरुष एक पक्षको आधिपत्यमा पूर्ण हुन सम्भव छैन र हुँदैन पनि । बुवा, दाजुभाइ नभएको घर कहीँ छैन । के परिवारका पुरुष सदस्यले पीडा मात्र दिने गरे? चुरो कुरो यसमा नै छ । गैर नर्सहरूले हेर्ने दृष्टिकोण अर्कै होला तर आफ्नै पेशाका नर्सहरुले पुरुष नर्स माथि किन सम्मानजनक नजरले हेर्न नसकेका हुन भन्ने पक्ष गम्भीर भएको छ। यदि सही कुरो हो भने पुरुष नर्सहरुलाई किन नर्सिङ परिषद्को अध्यक्षका लागि मन ठूलो गरी सिफारिस नगर्ने ?
झुटको खेती गर्ने र भए नभएको आक्षेप लगाउने रोगबाट नर्सिङ पेशा ग्रसित छ । साथै पुरुष नर्सहरू समाजमा आफ्नो भूमिका कन्फ्युज हुने भएपछि प्राध्यापक डाक्टर ओम बराल, प्राध्यापक डाक्टर पशुपति महत आदि जस्ताले नर्सिङ पेसाबाट आफुलाई अर्कै पेशामा रूपान्तरण गरेका घटना छन् । अरु पनि त्यसो गर्ने थुप्रै पुरुष नर्सहरु हुनुहुन्छ । तर उनीहरु नर्स नै हुन, तीन वर्ष घोटिएर यो विषय पढेका हुन र माथिल्लो पढाई नर्सिङ पृष्ठभूमिबाटै निरन्तरता दिएका हुन। त्यसैले गर्व गरेर लेख्दैछु म नर्स हुँ । मेरो पेशा नर्सिङ हो तर कसैले पनि पुरुष नर्सलाई अभिषापको रुपमा अनुभूति नगरुन भन्ने लाग्दछ। फ्लोरेन्स नइटिङ्गेल यो मामिलामा चुकेकी हुन भनी लेख्दा अनर्थ नलाग्ला भन्ने विश्वास पनि गर्दछु। नर्सिङ पेशामा मात्र महिला समावेश गरिएको र नर्सिङ परिषद्को अध्यक्ष जस्तो अति संवेदशील पदमा पुरुष नर्सको आवश्यकता महशुस नहुनु आफैंमा दुर्भाग्य पनि हो।
त्यसैले म यस क्षेत्रमा क्रियाशील सबैसंग पुन सोध्न चाहन्छु पुरुष नर्स नर्सिङ पेशाका लागि अभिशाप हो या वरदान? यदि वरदान हो भने नर्सिङ परिषद्मा एक पटक किन पुरुष नर्सलाई सिफारिस गर्न हिचकिचाउने?
यस कार्यमा नवीन सोचका साथ वर्तमान सरकारलाई किन सहयोग नगर्ने? यसलाई अन्यथा नलिनुहोस्, आऔं एक अर्कालाई सहयोग गरौँ, नर्सिङ परिषद्मा यसपाली पुरुष नर्सलाई नेतृत्व सम्हाल्न अग्रसर गराऔं र पुरुष नर्सको सहभागिता नर्सिङ जगतमा वरदान हो, अभिशाप होइन भन्ने दरो प्रमाण पेश गरौँ।