ग्रामीण सञ्चार र सहभागिता 

विकासोन्मुख मुलुकहरुमा ग्रामीण जनताको जनजीवनमा ब्यापक परिवर्तन ल्याउने लक्ष्यका साथ ग्रामीण सञ्चारको अवधारणा जन्मिएको हो । विभिन्न सञ्चारशास्त्रीहरुले ग्रामीण सञ्चारलाई विकासको सहभागितामुलक चिन्तनसंग जोडेर अघि बढाए । उनीहरुका अनुसार स्थानीय मानिसहरुको आबश्यकता र चाहनालाई पुरा गर्न उनीहरुलाई नै मूलधारमा समेट्नुपर्ने हुन्छ । त्यसमा पनि स्थानीय व्यक्तिहरुबीच सञ्चार अनिवार्य हुन्छ ।

विभिन्न सञ्चारशास्त्रीहरुले परस्परको संवादलाई जोड दिदै संवाद भएपछि मात्र सार्थक सञ्चार रहने मत राखेका छन् । वास्तविक ज्ञानको परिकल्पना सञ्चारवाट मात्र सम्भब हुने कुरामा जोड दिए । ग्रामीण सञ्चार एउटा यस्तो मौलिक प्रणाली हो जसमा गाँउमा सूचना वा ज्ञानप्राप्त गर्ने, प्रशोधन, वितरण, सम्प्रेषण र आत्मसात गरी न्यायसंगत वातावरणको निर्माण हुन्छ । ग्रामीण सहभागिता बृद्धिका धेरै उपायहरुमध्ये सञ्चार पनि एक हो । ग्रामीण सञ्चारका माध्यमहरु जस्तै स्थानीय पत्रपत्रिका, सामुदायिक रेडियो, सामुदायिक टेलिभिजन आदि हुन सक्छन् । नेपालको साक्षरता दर, भौगोलिक स्थिति, आर्थिकस्तर आदि पक्षहरुबाट हेर्दा रेडियो सबैभन्दा उपयोगी र सान्दर्भिक माध्यम हो । नेपालमा  दुई दशकदेखि ग्रामीण क्षेत्रहरुमा सामुदायिक रेडियोहरु खुल्ने क्रम व्यापक भएकाले रेडियोबाटै राम्रो, स्थानीयता सुहाउदो र प्रभावकारी सन्देश जारी गर्न सकिन्छ । त्यसो त सामुदायिक रेडियो ग्रामीण आवाजलाई मुखरित गर्ने साधन पनि हो ।

मूलधारका मिडियाबाट उपेक्षित, वञ्चित र पाखा लगाइएका वर्गको उत्थान गर्न ग्रामीण सञ्चार निकै भरपर्दो हुन्छ । यसै सन्दर्भमा सामाजिक चेतना अभिबृद्धि गर्दै विकासलाई सघाउनु महत्वपूर्ण मानिन्छ । निरक्षरता, लैंगिक र जातीय विभेद, छुवाछुत हटाउन एवं यातायात र दुरसञ्चारका पूर्वाधारका अतिरिक्त ग्रामीण सञ्चारका साधनहरुलाई सशक्त ढंगमा अघि बढाउनु आवश्यक हुन्छ । नेपालमा सञ्चारमाध्यमकै कारण साक्षरता बृद्धि, सामाजिक जातीय र वर्गीय असमानताका क्षेत्रमा आशातित बृद्धि भएको छ । गाँउको विकासमा जनसहभागिता बढाउन र योजनाहरुलाई दीगो बनाउन ग्रामीण सञ्चारले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हुन त नेपालमा विकासका लागि सञ्चार अवधारणाको सुरुआत पहिलो सञ्चार योजना २०२८ बाटै भएको हो । स्थापनाकालदेखि लामो समयसम्म नेपाल टेलिभिजनको मूल नारा नै विकासका लागि सञ्चार भन्ने रहेको थियो । यसै गरी सञ्चार नीतिहरु क्रमशः सञ्चार नीति, २०४९, सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९, आमसञ्चार नीति, २०७३ ले पनि सञ्चारका पूर्वाधारहरुको विकास गरी ग्रामीण क्षेत्रलाई सबल बनाउने लक्ष्य राखको पाइन्छ ।

ग्रामीण सञ्चारलाई माथिबाट तल मात्र होइन तलबाट माथि अर्थात दोहोरो सञ्चारतर्फ उन्मुख गराई स्थानीयस्तरको विकासमा जोड दिनै पर्दछ । युनेस्कोले सन् १९७७ मा सहभागितामूलक सञ्चारको दृष्टिकोण सार्वजनिक गरेको थियो । यसो लगत्तै सञ्चारमा स्थानीय सहभागिता, प्रतिनिधित्व मात्र नभई समुदायलाई नै स्वब्यवस्थापन गर्न दिए सामुदायिक विकास सम्भब हुने तथ्य तेस्रो मुलुकहरुमा फैलिएको पाइन्छ ।

वास्तवमा स्थानीय व्यक्ति र समुहको विचारधारा र आवश्कयतालाई जोड दिनकै लागि सहभागितामूलक सञ्चारको अवधारणा ल्याइएको हो । अहिले विश्वमा सहभागितामूलक सञ्चारको अवधारणालाई विकासको एउटा दर्शनकै रुपमा अघि बढाएको पाइन्छ । त्यसो त विकासप्रति रुची राख्नेले सहभागिता बिना स्रोत साधनको  परिचालन गर्न गाहो पर्दछ भन्ने कुरा बुझिसकेका छन् । नेपालमा पनि यो अवधारणाले केही ठाँउ पाउन थालको छ । तर यसका लागि उचित सञ्चार नीतिहरु, रणनीतिहरु तथा कार्यक्रमहरु अख्तियार गर्नुपर्ने हुन्छ । विकासोन्मुख मुलुकहरुको अभ्यासले के देखाँउछ भने सहभागिताको अभावमा कयौं विकास निर्माण परियोजनाहरु असफल भएका छन् ।

सञ्चारविद् डार्गनका मतमा सञ्चार र सहभागिता दुई अलग शब्द भएपनि यिनीहरु एउटै विचारधारालाई बुझ्ने र बाड्ने शब्दाबली हुन । उनको मतमा सञ्चार प्रक्रियामा प्रत्येक समुदाय र सामाजिक समूहलाई सामग्री उत्पादन छनौट गर्न अवसर दिइनुपर्दछ भने सांस्कृतिक विविधतालाई सम्मान गर्नुपर्दछ ।

वास्तवमा भन्ने हो भने सहभागितामूलक सञ्चार बिना ग्रामीण विकास सम्भव हुँदैन । सहभागितामूलक सञ्चारले प्रजातान्त्रिकरणलाई सघाउँछ र उपेक्षित एवं अल्पसंख्यक वर्गलाई सशक्तीकरण गर्दछ । त्यसैले सामुदायिक जनसरोकारका कुरामा समाजका सदस्यहरुबीच बहस र छलफल हुनुपर्दछ । नेपालमा विकासका क्षेत्रमा सहभागिताको प्रयोग नभएको होइन तर सञ्चारमा सहभागिता प्रयोग चाहिँ केही समयदेखि मात्रै सुरु भएको हो । ग्रामीण क्षेत्रमा विद्यमान गरीबी र पछौटेपनलाई हटाउन तथा यसबाट मुक्ति पाउन बिकास योजनामा सहभागिता जुटाउन, कार्यान्वयन र अनुगमन गर्न ग्रामीण सञ्चार नै निर्बिकल्प हो । सहभागिता सञ्चारका माध्यमहरुबाट पनि जुटाउन सकिन्छ ।

सञ्चारले चमत्कारिक परिवर्तन ल्याउँछ भन्ने कुरामा नवज्ञानको प्रसार सिद्धान्तका सिद्धान्तकार रोजर्सले उल्लेख गरेका छन् । यता विकास सञ्चारविद् लर्नर भन्छन् जति मात्रामा सञ्चार माध्यमको प्रयोग गर्ने बानी हुन्छ त्यति नै आधुनिकीरण गर्न र सहभागिता बढाउन सम्भव हुन्छ । मूलतया सञ्चारका माध्यमबाट समुदायमा चेतनास्तर परिवर्तन गर्न सकिन्छ । मानिसमा चेतना र आद्यात्मिक विकासका माध्यमद्वारा स्थानीय स्रोतसाधनको उपयोग र परिचालन सम्भव हुन्छ । चेतनाको विकासबिना भौतिक विकासको सार्थकता नहुने भएकाले सञ्चारलाई ग्रामीण विकासको एउटा महत्वपूर्ण औजारको रुपमा लिइन्छ ।

Facebook Comments
Shreeram
Comments (0)
Add Comment