अहिले हामी यस्तो कठिन मोडमा उभिएका छौँ, जहाँ महामारीका कारण मृत्यु पलपल जिस्किँदै टाउकामाथि मडारिइरहको छ । को कतिखेर टिपिन्छ, टुङ्गो छैन । हिजो सारसौँदो भएको मान्छे टिपिन बेर छैन । सामाजिक सञ्जालका भित्ता नयाँ नयाँ समवेदनाले भरिएका छन् । पत्रपत्रिकाका पृष्ठहरूमा मृत्युले प्रमुखता पाइरहेको छ । एक किसिमले डरसँगै संवेदना समेत हराउँदै गइरहेको छ । यस्तो बेला जुनकुनै मान्छेको मृत्यु पनि मानवीय संवेदनाको खबर नबन्ने बेला भइरहेको छ । को बित्योे, कसको परिवारलाई कत्रो बज्रपात भयो जस्ता खबर अब सुन्ने, बुझ्ने धैर्य हराउँदै गयो । किनभने घण्टामा कति मरे सङ्ख्यामा मृत्युका खबर फैलन थालेका छन् । यस्तो बेला कोही एक प्रिय मान्छेको निधनमा मात्रै शोक मनाउनु र स्मृति लेख्नु पनि असान्दर्भिक जस्तो बन्न थालिसकेको छ ।
अकालमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि र परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै म एकजना मेरा प्रिय व्यक्तिको निधनको शोक मनाउन यहाँ केही पङ्क्ति लेख्न बाध्य छु । बाध्य यस कारण कि महामारीले मृत्यु यति धेरै सामान्यीकरण भइरहेको बेलामा पनि म ती व्यक्तिको असामयिक निधनबाट यति विचलित बनेँ— हरेक दिन मेरो मानसपटलमा तिनै व्यक्ति घुमिरहन्छन् । हो, उन}लाई श्रद्धाञ्जलि दिन म केही शब्द यहाँ लेख्दैछु । ती व्यक्तिको नाम हो ब्रजेशराज शर्मा प्याकुरेल । मैले सधैँ ब्रजेश दाइ भनेर बोलाउने नाम । नेपाली पत्रकारिताको लामो कालखण्डको इतिहास अङ्कन गरेको दैनिक पत्रिका समाजका प्रबन्ध सम्पादक, वरिष्ठ पत्रकार ब्रजेशराज शर्माले अपत्यारिलो ढङ्गले असामयिक रूपमा यो धर्ती छोडेको आज १३ औँ दिन भएछ ।
दैनिक समाजका संस्थापक सम्पादक मणिराज उपाध्यायका सुपुत्र ब्रजेशराज शर्मा ६७ वर्षका हुनुहुन्थ्यो । बेलुका सारसौँदै सुतेको मान्छे बिहान परिवारले थाहा पाउँदा सकिइसकेको अवस्थामा भेटिएको खबर मैले बरिष्ठ पत्रकार तीर्थ कोइरालाबाट पहिलोपल्ट थाहा पाउँदा मलाई विश्वास गर्न गाह्रो भयो । उहाँसँगका लामो समयदेखिका उठबसका क्षण सम्झनामा आइरहे । शिवरात्रीभन्दा ४÷५ दिनअघि मात्रै वरिष्ठ पत्रकार मेरा मित्र रघु मैनाली, ब्रजेश दाइ र मैले चिया खाएर छुटेका थियौँ । उहाँ इन्दु भाउजुको उपचारका लागि पर्सिपल्ट भारत जाँदैहुनुहुन्थ्यो । भारतबाट फर्केपछि भेटघाट गर्ने कुरा भएको थियो तर त्यो भेटघाटको दिन फेरि कहिल्यै आएन ।
मणिबाबुले २०५४ सालमा २०११ सालदेखि निस्केको दैनिक समाज बन्द गर्ने निर्णय गर्दा अगाडि बढ्न ब्रजेश दाइसँग अर्को कुनै पेशा वा व्यवसाय थिएन । सानै उमेरमा जान्ने हुँदादेखि नै अक्षर, प्रेस, खबर, विचार, छपाइ, वितरण देखेका ब्रजेश शर्माले एएएलसी दिएदेखि नै दैनिक समाजको व्यवस्थापनको जिम्मेवारी लिनुभएको थियो । समाज बन्द भएपछि भूषण, रोशन र सुसमलाई पढाउन ब्रजेश दाइले धेरै पापड पेल्नुप¥यो । अहिले उनीहरू आफ्नो खुट्टामा उभिने प्रयास गरिरहेका थिए । उनीहरूलाई ‘पापु’ को अभिभावकत्व अझै चाहिन्थ्यो । तर दाइलाई हार्ट अट्याकले सुुतेकै ठाउँमा उठ्नै दिएन । अस्वाभाविक र अपत्यारिलो निधन । बिहानै सबेरै उठेर बिहानको हावा खान कुनै बेला त डिल्लीबजारदेखि स्वयम्भूसम्म आउने बानी थियो । कोरोना र निषेधाज्ञाका कारण शोकमा परेकी इन्दु भाउजु र परिवारलाई बोलाउन जान सकिएन । फोनमा जेठा छोरा भूषणसँग कुरा भयो । उच्च रक्तचाप बाहेक केही समस्या थिएन भनेर उनले सुनाए ।
मैले मेरो पुरानो डायरी पल्टाएर हेरेँ । असाध्यै धेरै ठाउँमा ब्रजेश दाइको नाम भेट्टाएँ । पुरानो अल्बम पल्टाएँ । ब्रजेश दाइसँगका फोटा भेटिए । मेरो स्मृतिपटलमा ब्रजेश दाइसँगका उठबसका घटनाहरू चलचित्र झैँ यी १३ दिनभित्र कैयन पटक घुमिरहे । पहिलोपल्ट २०४१ साल बैशाखमा म दाजुहरूसँग भेटघाट गर्न विराटनगरबाट बुवालाई लिएर काठमाडौँ आएको थिएँ । दाजुहरू हृदय र सोम लुइँटेल दैनिक समाजमा काम गर्नुहुन्थ्यो । म बिहानको समय सिधैँ दैनिक समाजको डिल्लीबजारस्थित कार्यालयमा बुवालाई लिएर आइपुगेको थिएँ । त्यही बेला पहिलोपल्ट ब्रजेश दाइलाई मैले देखेको थिएँ । उहाँले नै हामीलाई दैनिक समाजको कार्यालयमा राखेर दाुजहरूको डेरामा खबर गर्न मान्छे पठाइदिनुभएको थियो । दाजुहरू आइन्जेल उहाँले बुवा र मसँगै बसेर कुरा गर्नुभयो र कालो चिया खुवाउनुभयो । ठूलो, अग्लो ज्यान, फराकिलो निधार, चटक्क मिलेको कपाल, हँसिलो अनुहार, टिसर्ट र लुङ्गी लगाएको युवा नै ब्रजेश दाइ हुनुहुँदो रहेछ । पछि दाजुले भनेर उहाँको नाम थाहा पाएँ ।
२०४४ सालको भदौमा मेरा बुवा डिल्लीप्रसाद लुइँटेलको निधन भएपछि हृदय दाजु व्यवहारका कारण घर फर्कनुपर्ने भयो । म विराटनगरमा त्यसबेला पूर्वाञ्चल साप्ताहिकमा काम गरिरहेको थिएँ । म हृदय दाजुको ठाउँमा काम गर्न काठमाडौँ आउनुपर्ने भयो । २०४४ साल माघ १४ गते म दोस्रोपल्ट काठमाडौँ आएँ र सिँधै दैनिक समाजकै कार्यालयमा छिरेँ । किनभने दैनिक समाजको कार्यालय सजिलै पुग्न सकिने ठाउँमा थियो । दोस्रो भेट ब्रजेश दाइसँग त्यही बिहान भयो ।
ब्रजेश दाइले पहिले त चिन्नुभएन । तीन वर्षअघि बुवालाई लिएर आउँदा एकैछिन उहाँसँग भेट भएको सम्झाएर म हृदयको भाइ भनेपछि उहाँले सम्झिनुभयो । म पातलो ख्याउटे केटो थिएँ । अनि हृदयले गरेको काम गर्न सकिन्छ त भनेर सोध्नुभयो । मैले विराटनगरमा कम्पोजिङ, प्रुफिङ र रिपोर्टिङ सबै काम गरेको मान्छे हुँ, मजाले गर्न सक्छु भन्ने उत्तर दिएपछि उहाँले हाँसेर खै भन्नुभयो । अब हेर्दै जाऊँ, अहिले तिमी आराम गर्न सोम, हृदयको डेरामा जाऊ भनेर मलाई घरमा भातभान्छाका लागि राखिएका पण्डित केटो नारायण न्यौपानेसँग पठाइदिनुभयो ।
मैले केही समय काम गर्नासाथै मलाई ब्रजेश दाइले मन पराउन थाल्नुभयो । म कम्पोज गर्थेँ, प्रुफ हेरिदिन्थेँ र परिआउँदा समाचार पनि बनाइदिन्थेँ । हृदय दाजुको उहाँले असाध्यै प्रशंसा गर्नुहुन्थ्यो । मणिबाबुसँग हामी डराउँथ्यौँ तर ब्रजेश दाइसँग हामी खुल्थ्यौँ । उहाँ पनि के छ भाइ हो भनेर सोधिरहनुहुन्थ्यो । ब्रजेश दाइको परिवारसँग हाम्रो पारिवारिक सम्बन्ध नै थियो । इन्दु भाउजुले असाध्यै माया गर्नुहुन्थ्यो । उहाँले चाडबाडमा त्यहीँ खुवाउनुहुन्थ्यो । दशैँमा हाम्रो लागि खसी किन्न÷छान्न ब्रजेश दाइ गइदिनुहुन्थ्यो । हाम्रै डेरामा खसी ढालेपछि त्यहीँ ब्रजेश दाइ र हामी मिलेर पकाइबनाइ गरी खान्थ्यौँ ।
म विराटनगरमा कमर्स पढेको मान्छे । पत्रकारितापट्टि लहसएिपछि त्यही विषयमा गुणस्तर ल्याउने अठोटका साथ आरआर कलेजमा पत्रकारिता पढ्न थालेँ । पत्रकारितामा आई ए उत्तीर्ण गरेपछि मैले ब्रजेश दाइलाई भनेँ, दाइ अब म कम्पोज चाहिँ गर्दिनँ । मलाई सम्पादकीय सेक्सनमा काम दिनुपर्छ । उहाँले एक बचन केही नभनी हुन्छ भन्नुभयो । त्यो उहाँको निकै उदारवादी भावना र मप्रतिको स्नेह थियो । त्यसरी मैले चटक्कै कम्पोजिङ छोडेर त्यही पत्रिकाको सम्पादकीय शाखामा पूर्ण पत्रकारका रूपमा काम गर्न थालेँ ।
मणिबाबु, ध्रुवहरि अधिकारी, राजेन्द्र दाहाल, ओम खड्का र मोहन मैनाली जस्ता असल र अब्बल अग्रज पत्रकारहरूबाट पनि म प्रेरित थिएँ । तर मलाई पत्रकारिताको एकलौटी काम दिने कि नदिने भन्ने प्राधिकार चाहिँ ब्रजेश दाइमै थियो । उहाँले हुन्न भनेको भए शायद् मेरो पत्रकारिताको बाटो अरु कतै मोडिन वा अर्कै ढङ्गले नागबेली परेर जान सक्थ्यो होला वा टुट्न पनि सक्थ्यो होला। मूल जिम्मेवारी कम्पोजिङ भएको केटालाई त्यो विश्वास गर्नु ठूलो कुरा थियो । त्यसका लागि म ब्रजेश दाइप्रति सधैँ ऋणी रहनेछु । एउटा अचम्मको संयोग, पछि मैले २०५१ सालमा ब्रजेश दाइसँगकै मतभिन्नताका कारण समाज दैनिक छोडेको थिएँ । तर पनि त्यो व्यावसायिक दृष्टिकोण नमिलेको कुराले ब्रजेश दाइ र मेरो सम्बन्धमा कहिल्यै चिसोपन आएन । उहाँ मलाई फोन गरिरहनुहुन्थ्यो । म बेलाबेलामा उहाँलाई र मणिबाबुलाई भेट्न उहाँको घर गइरहन्थेँ । उहाँ मेरो डेरामा पनि पुगिरहनुहुन्थ्यो ।
२०७३ को मंसिरतिर मणिबाबु विरामी भएर अस्पताल भर्ना भएको खबर ब्रजेश दाइले नै मलाई गर्नुभएको थियो । बरिष्ठ पत्रकार ओम खड्का र म शिक्षण अस्पताल पुगेका थियौँ । २०७३ साल पुस २७ गते बिहान म र नयाँ पत्रिकाका पत्रकार मेरा मित्र भवानीश्वर गौतम मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता पढ्दै गरेका विद्यार्थीलाई भ्रमण गराउने क्रममा पाल्पा पुगेका थियौँ । त्यहीँ मेरा मित्र रघु मैनालीले मणिबाबु बितेको खबर फोनबाट मलाई सुनाउनुभयो । मैले ‘म टाढा भएकाले आउन सकिनँ, मिल्यो भने ब्रजेश दाइलाई मणिबाबुको एउटा स्मारिका निकाल्नुपर्छ भन्ने आइडिया दिनु है’ भनेँ । त्यो कुराले बरिष्ठ पत्रकार रघु मैनालीलाई पनि घत परेछ र उहाँले ब्रजेश दाइलाई बोलाउन जाँदा त्यो प्रस्ताव राख्नुभएछ । ब्रजेश दाइले राम्रो कुरा हो भन्नुभएछ । त्यसैका आधारमा पत्रकारिताका सतिसाल नामको मणिराज उपाध्याय स्मृति ग्रन्थ निस्क्यो । त्यसमा दैनिक समाजमा कुनै न कुनै समयमा काम गरेका प्रायः सबै पत्रकारका लेख समेटिएका छन् । त्यो पुस्तक निकाल्ने कुरामा पनि रघुजी र मसँगै ब्रजेश दाइले खट्नृु भएको थियो । पुस्तक निकाल्ने क्रममा उहाँ तीन पटक मेरो घर पनि आउनुभएको थियो ।
उहाँले केही समयअघिदेखि दैनिक समाजको पुराना फाइलबाट समाजको फेसबुक बनाएर पोष्ट गर्दै आउनुभएको थियो । त्यसको सुरुवाती भनाइ लेखिदिन भन्नुभएपछि मैले लेखिदिएको थिएँ । ब्रजेश दाइसँग मिलेर नेपाली पत्रकारिताको केही खोजमूलक काम गर्ने विचार मेरो र रघुजीको थियो, त्यो अधुरै रह्यो । ब्रजेश दाइले दैनिक समाजका फाइल हेर्न जाने जोसुकैलाई घरको ढोका खुला राख्नुभएको थियो । मणिबाबु बितेर गए पनि समाजको बिरासत ब्रजेश दाइले संरक्षण गरेर राख्नुभएको थियो ।
२०११ सालदेखि २०५४ सालसम्मका दैनिक पत्रिकाको फाइल बनाएर घरमा राख्नु ठूलो कुरा हो । ब्रजेश दाइले कुनै बेला प्रेस काउन्सिललाई समाजका फाइल डिजिटलाइज गर्न प्रस्ताव गर्नुभएको थियो । तर एक प्रति डिजिटल फाइल आफूलाई पनि दिनुपर्छ भनेपछि प्रेस काउन्सिल नेपालले ती फाइल लिन मानेको थिएन । यो आफैँमा बिडम्बना हो । अब समाजका ती फाइलको संरक्षणको चिन्ता पत्रकारिता प्रेमीहरूले गर्नुपर्ने बेला आएको छ ।
यो शिवरात्रीभन्दा केही दिन पहिले ब्रजेश दाइले इन्दु भाउजुलाई उपचारका लागि भारत लैजानुअघि मलाई मणिराज उपाध्यायको शिव भजन शिवरात्रीमा परिसंवाद्मा राख्न दिनुभएको थियो । तर उहाँले मेसेन्जरमा फाइल पठाउँदा अधुरो पठाएकाले मैले परिसंवाद्मा राख्न सकिनँ । शिवरात्रीका दिन उहाँले भारतबाटै मलाई बिहानै फोन गर्नुभएको थियो । त्यही नै हाम्रो अन्तिम कुराकानी हुन पुग्यो ।
ब्रजेश दाइ, तपाईँ मलाई आफ्नै दाइजस्तै लाग्नुहुन्थ्यो । तपाईसँग म मन खोलेर कुरा गर्थेँ, रिसाउँथेँ, जिस्किन्थेँ र हामीबीचमा पारिवारिक कुरा पनि हुन्थ्यो । अहिले मलाई लाग्दैछ, यो त तपाईले सबै खुट्का लगाउनुभएको पो रहेछ । तपाईको आत्माले शान्ति पाओस् दाइ । भावपूर्ण श्रद्धाञ्जलि । शोकमा रहनुभएकी इन्दु भाउजु, भतिजहरू भूषण, रोशन, सुसम र परिवारमा गहिरो समवेदना । अब नउठ्ने गरी दैनिक समाजको मूल खम्बा भाच्चिएकोमा भारी मन बनाएका समाज अल्मुनाइका मेरा अग्रज र कनिष्ठ सबै सदस्य र शुभचिन्तकहरूमा सहानुभूति !