बाघका अगाडि श्यालको ढुनुमुनु

फुटानी

काका नमस्कार है ! काकी खै त ! अनि खबरखाबर के छ, कसो छ । सुनाउँछौ कि भनेर आको नि काका !

हौ भिरघरे ! खबर खासै राम्रो छैन है । तिमार्को काँग्रेसका सभापति देउवाले गर्दा हाम्रो माओवादी केन्द्र पनि बोल्नै नसक्ने गरी इन्तु न चिन्तु भयो ।

पानीमा भिजेको मुसा जस्तो भयो भनन काका ! मुसा थियौ मुसा नै भयौ । मुसाले हाती हुन खोज्दैमा हुने हो र ! अहिले एमाले बाघ जस्तो गर्जिन्छ, माओवादी स्याल जस्तो तर्सिन्छ, हाम्रो कांग्रेस हात्ती जस्तो लम्किन्छ । एमालेका अगाडि माओवादीको यो चुरुफुरु त बाघका अगाडि श्यालको ढुनुमुनु जस्तै हो काका ।

लु… त्यस्तो चैं होइन । हाम्रो प्रचण्ड काम्रेडको गर्जनले सप्पैको मुटु थर्किन्छ । अहिले केही समय दशाले जुक्त पारेर होला उनी अलि झेक्राएका छन् । अब फेरि गर्जिने अबस्था आइसकेको छ ।

लौ काकी पनि आई पुगिन् । चिया पसलतिरबाट के खबर ल्यायौ काकी ! त्यहाँ कोको गफाष्टक भेला भाका थिए ?

को हुनु भिरघरे ! रुवावासी डाडाँको ठूले चै झोक्रार बसिराको थियो । निलकण्ठे चैं ‘हामीले भनेकै हो नि, अहिले नै हामी बहुमतमा छैनौं, पहिले तिमार्ले सरकारलाई देको समर्थन फिर्ता गर’ भनेर, अहिले ‘हिस्रिक बुढी हरियो दाँत’ भने जस्तै भयो तिमार्लाई भन्दै थियो ।

ए भनेपछि ओली सरकार नढल्ने भएछ । कठैबरा ! प्रचण्डलाई पनि राजनीति गर्न गाह्रो भयो । ‘लथालिङ्ग पार्टी, भताभु वुद्धि’ भनेको यही हो । हुन पनि नीति, सिद्धान्त, विचारको कुरा होइन । पद र कुर्सीको कुरा थियो । केपी ओलीलाई कुर्सीबाट झारेर आफू प्रधानमन्त्री बनी हाल्ने हतारोमा दौडिदा चिप्लिएर लडे ! उठ्नै नसक्ने गरी पछारिए !

हाम्रो एमालेसंग निहुँ खोज्नेहरु प्राय सबै समाप्त हुन्छन् । अदालतले पहिलो फैसला गर्दा लड्डु खाए हतारिएर, अर्को फैसला गर्दा इन्तु न चिन्तु भए पछारिएर । आखिर ‘घर न थर, रुवावासी डाडाँको भर’ ।

के कुरो गर्छे झुम्री ! कुरै नबुझी बोल्छे । यहाँ मदेशी दलका नेताले गर्दा मात्र ओलीको सरकार टिकेको छ । नत्र अस्ति समाप्त भै सक्थ्यो । आफ्नो बहुमत नभएसम्म देउवा नचटपट्याउने, मदेशी नेता ओलीतिरै बल गर्ने । अनि दोष जति काम्रेड प्रचण्ड माथि !

हौ काका ! सरकारलाई देको समर्थन फिर्ता लिन नसक्ने लोतिखरेले ओलीको बिरोध गर्नु भनेको बाघका अगाडि स्याल कराउनु जस्तै हो । नेकपा हुँदा आफ्नै अध्यक्षलाई सत्तोसराप गरेर १९ पेजको छोडपत्र बुझाउँदा नै सोच्नु पर्दैनथ्यो, अब पार्टीमा खैरियत छैन भनेर !

ठिक भनिस् भतिज । ‘ओली त कम्युनिष्ट नै होइन, झापा विद्रोह पनि मैले गरेको’ भन्दै हिड्ने माधव नेपाल जस्तो ब्यक्तिलाई बोकेर वैतर्णी पार हुन खोजेका थिए, स्वाहा भए । टुप्पातिर बसेर फेद ढाल्नेहरु समाप्त हुदै पर्छ । सकिनु पर्नेहरु सकिनु पर्छ ।

बाठी न हो झुम्री ! यो सरकार ढल्दा चुनाप हुने डर भएर मात्र हो । नत्र प्रचण्ड काम्रेडले अस्तिनै समर्थन फिर्ता लिई सक्ने थिए । जनता पनि उस्तै, अदालत पनि उस्तै, निर्वाचन आयोग र अख्तियार पनि उस्तै ।

ठिक हो । काकाले अहिले चैं समर्थन गर्न लायक कुरा गरे । अदालत, अख्तियारहर्ले पनि अपराधीलाई मात्र कारवाही गर्न खोज्छन् । कुन चै दिन सभामुखको मुद्दा पनि हेर्छ होला ! क्यान्टेनमेण्ट र काभ्रेको मुद्दाले बन्चराले रुखमा हाने जस्तो यिनार्को गिद्धी उछिट्टिने गरी खप्परमा हान्ने हो कि भन्ने डर पो भयो ।

हाम्रा नी हातमा दही जमाको छैन भतिज । एमाले, कांग्रेस एक्कैचोटी समाप्त पार्ने क्षमता हामी पनि राख्छौ । अहिले ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ’ भने जस्तै भाको छ ।

त्यस्तै हो काका आफ्नो औकात भुलेपछि । पार्टी, कार्यकर्ता जनता नभएपछि नेता थुप्रिने र गफ चुट्ने मात्र त हो । चुनापमा सर्बनाक हार ब्यहोर्नु भन्दा त बरु यही सरकारलाई देको समर्थन फिर्ता नलिनु नै जाति !

माओवादीलाई त सारै अप्ठ्यारो भो नी भतिज ! निल्नु न ओकल्नु । मदेशी दललाई पनि दोष दिने ठाउँ छैन । उनर्लाई जुन सरकार आए पनि फरक पर्दैन । सप्पैको नाडी छामी सकेका छन् । उनर्को माग बरु ओलीले नै पुरा गर्लान अरुबाट सम्भव छैन । यो कुरा मदेशी नेताले बुझेका छन् ।

हाम्रो प्रचण्डले पनि त्यस्ता माग तुरुन्तै पुरा गर्न सक्छन् । रेशम चौधरीलाई दिल्ली पुगेर भेट्ने पनि हाम्रै प्रचण्ड थिए । अहिले आएर ओलीले मात्र उनर्को माग पुरा गर्न सक्छन् भन्नु वाइयात कुरा हो। हाम्रो शक्ति हुन्थ्यो भने एक मिनेट पनि ओलीलाई सत्तामा टिक्न दिने थिएनौं ।

त्यही त काका ! शक्ति भए बाघ भै हाल्थ्यौ नि, शक्ति नभएर त स्याल भएका छौ ! अब ओलीलाई देको समर्थन फिर्ता लिए पनि नलिए पनि चुनाप गराउने भनेको ओलीले नै हो । हाम्रो नेपाली काँग्रेसको सभापति देउवा दाइ पनि चुनापमा जानुपर्छ भन्दैछन् । मदेशीदलको ठूलो पंक्ति पनि चुनापै भन्दै छ । तिमार्को माओवादी मात्र चुनापमा जानुलाई ‘प्रतिगमन’ ‘निरंकुशता,’ ‘दक्षिणपन्थी’ आदि इत्यादि भन्दै बसेको छ ।

के कुरा गर्छस् भिरघरे ! हामी फेरि एक पटक बौरिने छौं । हाम्रै कारणले अहिलेसम्म तिमार्ले रजगज गरेका छौ । अब हामी सहेर बस्तैनौं ।

नसहे के गर्छौ ? हामीले १० वर्षसम्म तिमार्को आतङ्क सह्यौं । अब मरेको स्याल हौ, के नै गर्छौ र ! साँचो कुरो भन्दा तिम्रा कन्सिरी तान्छन्, काका । लौ म लागें गाउँतिर ! अर्को दिन भेटौंला !

जे नेपाल !

Facebook Comments
Phutani
Comments (0)
Add Comment