गुम्दै गए चेतना

कविता (छन्द: शार्दूलविक्रीडित)

भन्दै उत्तम हेम पित्तलकनै डुक्रेर साँढेसरि

पैसाले, बलले खिचेर दुनियाँ दासै बनाई वरी

सारा सत्य र तथ्य लोप गरदै गाएर झूटोपना

यो नेपाल सखाप पार्छ दलले गुम्दै गए चेतना॥१

 

पर्दा लाग्दछ लोभ पाप बटुले यो चञ्चले नेत्रमा

साह्रै नै कमजोर हुन्छ प्रतिभा सम्पूर्ण नै क्षेत्रमा

बाँझो बन्दछ देशको विजयको उत्थानको कामना

यो नेपाल सखाप पार्छ दलले गुम्दै गए चेतना॥२

 

नेपाली जनता उठौँ सजग भै छोडेर निन्द्रा अब

यो नेपाल बनाउने विषयमा बन्दै चनाखो सब

बोकी पक्ष विपक्ष भाँडिन गए  पालेर दुर्भावना

यो नेपाल सखाप पार्छ दलले गुम्दै गए चेतना॥३

 

बोकाले न त दाइँ हुन्छ दुहुनू पाइन्छ साँढे कतै

हाली पङ्ख उडेर चन्द्र नचुमी को भोग्छ ऐरावतै

खै जन्मे नर मर्द आज खलको गर्ने दह्रो सामना

यो नेपाल सखाप पार्छ दलले गुम्दैगए चेतना॥४

 

गोजी भर्न सधैँ मिली भगतमा ठेक्का लगाएपछि

भ्रष्टाचार गरेर राष्ट्र ढुकुटी सक्नै सघाएपछि

सोसी रक्त गरीबको दिन दिनै बल्झाउँदै वेदना

यो नेपाल सखाप पार्छ दलले गुम्दैगए चेतना॥५

 

गर्दा काम पचासको शय भनी ढाँटेर खाएपछि

किर्ते काम गरेर राष्ट्र ढुकुटी आफ्नै बनाएपछि

बस्दा काम भुलेर देश जनको गर्दैन क्वै सामना 

यो नेपाल सखाप पार्छ दलले गुम्दै गए चेतना॥६

Facebook Comments
ramsharan
Comments (0)
Add Comment