जिन्दगीका भोगाईबाट सिक्ने अवसर मध्ये २०६५ श्रावणदेखि करीब ४ वर्ष त्रिभूवन विश्वविद्यालय (त्रिवि) विज्ञान तथा प्रविधी अध्ययन संस्थानको सहायक डीन भएर काम गर्दाका केही घटना मेरा लागि उम्दा उदाहरण रहेका छन् । मुलुकको जेठो र पुरानो विश्वविद्यालयको प्रणालीभित्र रहेका त्यस्ता घटनाक्रमले नेपालभित्रै रहेर उच्च शिक्षा हासिल गर्ने आम नेपाली खास गरी विद्यार्थीसंग सम्बन्धित यी घटनाक्रम चासोका विषयवस्तु रहनेछन् ।
नियमको प्रावधानभित्र रहेर त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको स्नातकोत्तर एवं प्रविधी तर्फका केही स्नातक तहको परीक्षा सञ्चालन गर्नु मेरो पदीय जिम्मेवारी रहन्थ्यो । परीक्षा मात्र भने पनि विश्वविद्यालयको संरचनात्मक एवं प्रणालीगत आधारभित्र रहेर विज्ञहरुको सूची बनाउने, अद्यावधिक गर्ने, इच्छुक विद्यार्थीहरुका लागि प्रवेश परीक्षा संयोजन तथा सञ्चालन, योग्यता मापदण्ड निर्धारण, प्रश्नपत्र निर्माण, मध्यस्थतीकरण (moderation), उत्तर पुस्तिका परीक्षण, संपरीक्षण, सारणीकरण र प्रक्रियागत आधार पूरा गरी परीक्षाफल प्रकाशन गर्नुपर्दथ्यो । पुनर्योग नियमसम्मत प्रावधान थियो । त्यसमा सम्लग्न हुन पनि थप समय आवश्यक पर्दथ्यो। यसका अलावा आन्दोलनबाट थिग्रिदैं गएको परिवेशमा धर्ना, घेरा, गाली गलौज, धम्की र कुर्सी जलाउने सम्मका क्रियाकलाप सामान्य बन्दथे ।
सम्वत् २०६१/०६२ को आन्दोलनको सफलतापछि लिकमा फर्केको राजनीति पश्चात् त्रिविले झण्डै १३ महिनापछि मात्र उपकुलपति पाउन सक्यो । बाँकी तलका अङ्ग समेत तदर्थ हिसाबमै चल्ने क्रममा २०६५ सालको साउन अन्तिममा विज्ञान तथा प्रविधी अध्ययन संस्थानको सहायक डीनको रुपमा मलाई नियुक्ति गरियो । साँझ चार बजे नियुक्तिपत्र संगै विज्ञान तथा प्रविधी अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको सदस्य सचिवको जिम्मेवारी बुझे पश्चात् थुप्रिएर रहेका कामको कारण स्थिति विवरण नबुझी घर आउन पनि मिलेन ।
बन्दै गरेको समाज, स्थायीत्व प्राप्त नगरेको राजनीतिक प्रणाली भित्र संस्थाहरु पनि संस्थागत भइनसकेका हुँदारहेछन् भन्ने कुरा उमेर, भोगाई र विकसित एवं पुराना संस्थाहरु देखेर पढेर र भोगेर मात्र जान्ने विषयवस्तु हो भन्नेमा कसैको दुईमत नहोला । बेलायती उपनिवेशवादी प्रणालीबाट स्थापित भारतका पटना, कलकत्ताा विश्वविद्यालयबाट प्रशिक्षित त्रिभुवन विश्वविद्यालयका संरचनात्मक जगहरु सोही अनुसार हुने नै भए । त्यतिखेर करीब आधा शताब्दीको उमेर अनुभव भएता पनि अन्यत्रका विश्वविद्यालयको तुलनामा प्रणालीगत सुदृढीकरण बाँकी रहनुलाई अन्यथा मान्न सकिएन ।
तिनताका दश वर्षे द्वन्द्व पश्चात्को सामाजिक राजनीतिक परिवेश थिग्रिइसकेको थिएन । सापेक्षित चेतनशील जमातको सघन उपस्थिति रहेको विश्वविद्यालयमा सामाजिक घटनाक्रमका साना झट्कादेखि ठूला प्रभावसम्म आम चरित्र कै रुपमा रहने भयो । नेपालको सन्दर्भमा त पुरानो र झण्डै ९० प्रतिशत विद्यार्थी समेट्ने त्रिभुवन विश्वविद्यालय यसको अपवाद हुने कुरै रहेन ।
नियमको प्रावधानभित्र रहेर त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको स्नातकोत्तर एवं प्रविधी तर्फका केही स्नातक तहको परीक्षा सञ्चालन गर्नु मेरो पदीय जिम्मेवारी रहन्थ्यो । परीक्षा मात्र भने पनि विश्वविद्यालयको संरचनात्मक एवं प्रणालीगत आधारभित्र रहेर विज्ञहरुको सूची बनाउने, अद्यावधिक गर्ने, इच्छुक विद्यार्थीहरुका लागि प्रवेश परीक्षा संयोजन तथा सञ्चालन, योग्यता मापदण्ड निर्धारण, प्रश्नपत्र निर्माण, मध्यस्थतीकरण (moderation), उत्तर पुस्तिका परीक्षण, संपरीक्षण, सारणीकरण र प्रक्रियागत आधार पूरा गरी परीक्षाफल प्रकाशन गर्नुपर्दथ्यो । पुनर्योग नियमसम्मत प्रावधान थियो । त्यसमा सम्लग्न हुन पनि थप समय आवश्यक पर्दथ्यो । यसका अलावा आन्दोलनबाट थिग्रिदैं गएको परिवेशमा धर्ना, घेरा, गाली गलौज, धम्की र कुर्सी जलाउने सम्मका क्रियाकलाप सामान्य बन्दथे ।
मधेश आन्दोलनको प्रभावले पूर्वको राजविराजदेखि नारायणीको बिरगञ्जसम्म त्रिभुवन विश्वविद्यालयलाई मर्यादा कायम गरेर परीक्षा चलाउन हम्मेहम्मे परेको परिस्थिति थियो र सुरक्षाको जिम्मा जनपद प्रहरीका साथै सशस्त्रबाट पनि लिनुपर्छ कि भन्ने प्रस्ताव समेत उठेको थियो । विज्ञान तथा प्रविधी अध्ययन संस्थानको परीक्षा शाखा केन्द्रीय कार्यालय स्थित खुला क्षेत्रमा अवस्थित भवनभित्र रहेको र सुरक्षा संयन्त्र पनि सामान्य भएकोले ड्युटीमा रहेको पालेलाई पन्छाउदै कहिलेकाँही हतियार सहितका बिद्रोही खेमा समर्थक विद्यार्थीहरु गोप्य कोठासम्मनै पुगिदिन्थे । परीक्षाको गोपनीयता कायम गर्नुपर्ने जिम्मेवारी, साथै गोप्य शाखामा काम गर्ने कर्मचारी, संलग्न प्राध्यापकलाई आश्वस्त पार्नुपर्ने दायित्वबोध साथै आफ्नै सुरक्षाको अनिश्चयबोधको स्थितिमा सन्तुलन कायम गर्नु वास्तवमै कठिन थियो । कहिलेकाँही हुने बन्द हड्तालले लामो समयदेखि थाति रहेका काम घटाउन, आफ्नो वासस्थान भीमसेनगोला बानेश्वरदेखि कीर्तिपुरसम्मको पैदल यात्रा थप सकसपूर्ण हुन पुग्थ्यो । त्यति गरेर पनि परीक्षा लिएको आठ महिनामा प्रकाशित हुंदै गरेको परीक्षाफलको अवधी छोट्याएर ६ महिनामा झार्न मात्र सफल भइएको थियो । गर्नुपर्ने काम, आवश्यक चरण, उपलब्ध जनशक्ति र स्रोत प्रभावकारी कार्यान्वयन हुन सके यो अवधी तीन महिनामा सीमित गर्न सकिने मेरो आंकलन थियो । जिम्मेवारी सम्हालेको ६ महिनापछि मैले सोही अनुसारको कार्य योजना ल्याएको थिएँ । ६ महिनामा परीक्षाफल प्रकाशित गर्न सक्नु जिम्मेवारी सम्हालेपछिको आधा वर्षमा हात लागेको अन्तरिम उपलब्धी थियो ।
‘ढिलो परीक्षा भइदिओस्’ भनी परीक्षा सार्न डेलिगेशन आउने तर परीक्षा सकिएपछि ‘छिटो परीक्षाफल प्रकाशनको अपेक्षा राख्ने’ विद्यार्थीको स्वाभावजन्य मनोविज्ञान हाम्रो जस्तो विश्वविद्यालय प्रणालीमा स्वभाविक मान्न म बानी परेको थिएँ । परीक्षा हलमै कहिलेकाँही ‘प्रश्नपत्र कठीन वा पाठ्यक्रम बाहिरका’ भन्ने गुनासो पनि आउँथे । यसका अलावा परीक्षा हलमै उत्तर पुस्तिका च्यात्ने जस्ता अराजक गतिविधी यदाकदा भए पनि तिनलाई पनि सम्बोधन गर्नुपर्दथ्यो । केही प्राध्यापक तथा विभागीय प्रमूख समेत उत्तरपुस्तिका संपरीक्षण सकेर विभाग पुगी हाम्रो त काम सक्यौं अब रिजल्ट निकाल्ने काम डीन अफिसको हो भनी परीक्षा शाखा घेर्न विद्यार्थी पठाउँथ्ये ।
विश्वविद्यालय सेवामा रहेका प्राध्यापक खासगरी विभागीय प्रमुखको नैतिक शिक्षामा अन्तरबोध नआइकन हाम्रा परीक्षा प्रणालीको छिद्र आफैं टालिने कुरा भएन । परीक्षाफल प्रकाशन पश्चात् परीक्षाफल वा प्राप्ताङ्कमा गुनासो गर्न आउनेको संख्या छ महिनाको दौरान कम हुँदै गएको थियो । मैले जिम्मेवारी सम्हालेको एक वर्ष करीब हुँदो हो पद्धति बस्दै गएकोले काम गर्न क्रमशः सहज हुँदै आइरहेको थियो । भूगर्भ शास्त्र दोस्रो वर्षका विद्यार्थीको पुरै कक्षा एकदिन कार्यालय समय शुरु हुने बित्तिकै एउटा समस्या लिएर डीन कार्यालय आयो । दोस्रो वर्ष प्रथम पत्रको लब्धांकमा अनुपस्थित लेखिएको एकजना विद्यार्थी, हामी सबैजना परीक्षामा उपस्थिति भएका तर ‘उ एकजना मात्र कसरी अनुपस्थित लेखियो’ भन्ने डेलिगेशनको जिज्ञासा थियो । प्रथम वर्षमा सर्वाधिक अङ्क ल्याउने, दोस्रो वर्षमा बाँकी विषयमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी एउटा विषयमा मात्र कसरी अनुपस्थित हुन सक्छ भन्ने सम्पूर्ण विद्यार्थीको प्रश्न थियो । परीक्षा सञ्चालक समितिको सदस्य सचिवको हैसियतमा लब्धाङ्कपत्रमा हस्ताक्षर मेरै हुन्थ्यो, लब्धाङ्क पत्र हेरें र म अक्क न बक्क परें । समितिको निर्णय अनुसार नतिजा प्रकाशन गरिने हुँदा मैले एक्लै केही निर्णय दिन नसक्ने हुँदा, डीनसंग सल्लाह गरीकन, “विद्यार्थीहरुलाई समस्या खुलाउदै विभागीय प्रमुखको सिफरीस सहितको निवेदन परीक्षा समितिमा दिन” सुझाव दिएँ ।
झल्यास्स तीन दशक अगाडिको आफूले भागेगेको एउटा घटना चलचित्र झैं मेरो दिमागमा फरफरि घुम्न थाल्यो । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरबाट बिएस्सी उत्तिर्ण गरेर आफ्नो अनुकुलतामा एक वर्षपछि काठमाडौं आएको बेला ट्रान्स्कृप्ट लिन जाँदा एक सेमेष्टरको मार्कसीट नै पाउन सकिएन र ट्रान्स्कृप्ट बन्न छ महिना धाउनु परेको थियो मैले । धेरै पत्राचार र दौडधूप पश्चात, उपकुलपति, सहकुलपति हुँदै कुलपतिकोमा निवेदन लेखेपछि अन्त्यमा एकै नाम भएको नेपालगञ्जको क्याम्पस्को घर्रामा मेरो मार्कसीट भेटिएको थियो । तीनताका विद्यार्थी हुँदा आफूले भागेको पीडा र हैरानी मैले ती पीडित विद्यार्थी भाइको आँखामा प्रत्यक्षा पढ्न पाइरहेको थिएँ ।
विद्यार्थी भर्नाको संख्यात्मक चाप बढेपनि यथास्थितिमा रहेको प्रणालीले कतै विद्यार्थीहरुको गुनासो वास्तविक नै हुनुपर्छ भन्ने मलाई लागिरहेको थियो । सामान्यतः अस्वस्थ प्रतिस्पर्धा र आरिसे प्रवृत्ति रहेको विद्यार्थी मनोविज्ञानमा एउटा साथीका लागि सम्पूर्ण कक्षा नै उल्टेर आउनु एवं बाँकी विषयमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी, प्रथम वर्षमा प्रथम स्थान हासिल गरको विद्यार्थीले एउटा विषय त्यो पनि प्रथम पत्र नै छोड्यो भन्ने कुराले शङ्काको लाभ दिइ दिइरहेको थियो । सांझ सञ्चालक समितिको बैठक थियो । समस्याका बारेमा जानकारी गराएँ । विभागीय प्रमुखको सिफारिस सहित निवेदन आएमा नियम सम्मत प्रक्रियामा जान सकिने बारे राय निस्कियो ।
दुईतीन दिनपछि नै समस्या उल्लेख गर्दै “सामेल भएको परीक्षाको उत्तरपुस्तिका जाँच गरी परीक्षाफलमा पुनर्विचार गरिपाऊँ” भन्ने कक्षाका सम्पूर्ण विद्यार्थीको हस्ताक्षर माथि विभागीय प्रमुखको सिफारिस सहितको निवेदन प्राप्त भयो । परीक्षा सञ्चालक समितिले प्रमाण हेर्दा ती विद्यर्थीको त्यो दिनको हाजिरी देखियो । सञ्चालक समितिमा अवशिष्ट अधिकारको प्रयोग गरेर समितिले सदस्य सचिवलाई उक्त मितिमा सञ्चालन भएका परीक्षाका पोका भित्र उक्त पुस्तिका अलमल हुन सक्ने अन्दाज गर्दै हेर्ने निर्णय गर्यो । सदस्य सचिवको हैसियतले म आफैं सम्लग्न भइ उल्लेखित मितिमा सञ्चालित विषयका परीक्षाका प्रथम पत्रका पोका हेर्दै जादाँ, ती विद्यार्थीको त्यो दिनको परीक्षाको उत्तरपुस्तिका अर्कै विषयको पोकाभित्र परेको पाइयो । जुन विषयको परीक्षा भइसकेको उत्तर पुस्तिका पोका भित्र त्यो कपी पाइएको थियो, परीक्षक रहेका ती बरिष्ठ प्राध्यापकले अर्को विषयको उत्तर पुस्तिका आफूले परीक्षण गरेको पोकाभित्र रहेको परीक्षा शाखालाई जानकारी गराउनुपर्ने थियो । उत्तरपुस्तिका परीक्षा निर्देशिकामा त्यो स्पष्ट जानकारी गराइएको हुन्थ्यो । परीक्षण हुन बाँकी उत्तरपुस्तिका त पाइएको थियो तर परीक्षाफल प्रकाशित भइसकेकोले विद्यमान समस्या समाधान गर्न परीक्षा सञ्चालक समितिले नीतिगत निर्णय गर्नुपर्दथ्यो ।
परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको दिन विषयगत उत्तरपुस्तिका रुजु गर्नेदेखि उत्तरपुस्तिका भेटिएको पोकाभित्रका विषय परीक्षकसम्मले यो जानकारी गराइदिएको भए यो त्रुटी हुन पुग्ने थिएन । युवावयमा आफूले भोगेको पीडाले निचोरिदा म त्यो विद्यार्थीको मनमा के चलिरहेको होला भनेर सोच्दै थिएँ । अन्तरमुखी स्वाभावको साथीप्रति लक्षित गर्दै एकजना सहपाठी, अवसाद (depression) मा गइसकेको हाम्रो साथीले अनपेक्षित कुनै दुर्घटनाको बाटो नरोजोस् भनेर हामी एक्यवद्धता जनाउन आएका हौं भन्ने उनीहरुको भनाइले परिस्थितिको गम्भिरताप्रति सचेत गराएको थियो ।
समयक्रममा परीक्षा सञ्चालक समितिको बैठक बस्यो र नियमानुसार उक्त उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्यो । उत्तरपुस्तिका परीक्षण पश्चात् सारणीकरण भई अन्तिम नतिजा प्रकाशन गर्दा ती विद्यिार्थीको प्राप्ताङ्क सबैको भन्दा बढी हुन पुग्यो। परीक्षा सञ्चालक समितिमा अवशिष्ट अधिकार प्रयोग गरी संशोधित परीक्षाफल प्रकाशित भयो, तिनै विद्यार्थीले सर्वाधिक अङ्क प्राप्त गरे समग्रतामा । विद्यार्थी पंक्ति सबै आएर परीक्षा सञ्चालक समितिलाई धन्यवाद दिए । प्रणालीगत त्रुटी सच्याउँदा विद्यार्थी प्रति त न्याय गर्न सकियो नै । परीक्षा हलदेखि परीक्षणसम्म संलग्न कर्मचारी अथवा प्राध्यापकलाई लापरवाहीबाट सतर्क वा सचेत गराउन भने सकिएन । परीक्षक रहेका प्राध्यापक त वरीष्ठ मध्येका पर्नुहुन्थ्यो । कतिपयलाई त गल्ती महशुस गर्ने अभ्यास पनि थिएन ।
घटना भएको केही वर्ष पछि । खानी विभागमा कार्यरत मेरा एकजना गाउँले भाइले सुनाउदै थिए “त्रिवि भूगर्भ शास्त्रको स्नातकोत्तर तहको परीक्षामा भएको लापरवाहीले अवसादका कारण झण्डै ज्यान गुमाउनु परेको भन्ने एकजना भाइ मेरै मातहतमा काम गर्छ, उस्ले तपाईको नाम उल्लेख गर्दैथियो” । मैले ‘के सन्दर्भमा’ भनेर सोधें । “गुनासो सुनिदिनु भयो र समस्या समाधानमा पहल गरिदिनु भयो भन्ने” बारेमा भनी उनले बताए ।
हाम्रो परीक्षा प्रणालीमा रहेको एउटा छिद्र पहिल्याउन सकेर तात्कालीन समस्या सम्बोधन मार्फत एकजना मेधावी युवा त कर्मक्षेत्रमा खटिरहेको रहेछन् भन्ने कुराले थोरै भए पनि सन्तोष लाग्यो आफ्नो कर्तब्य निर्वाहप्रति । अरु कति मेधावी र प्रतिभाशाली युवा विद्यार्थीहरु हाम्रो प्रणालीभित्र थाहै नपाइ पिसिइरहेछन् र हामी कति जागरुक र सचेत हुँदै गइरहेछौं ? हाम्रो बर्तमान र भविष्यप्रति शिक्षालाई पेशा, ब्यवसाय, जीवनशैली जे मान्ने भए पनि यस प्रश्नले समाधान सहितको उत्तर खोजिरहेको छ ।