फूल अर्पन्छु लौ प्रेमका निम्तिमा

भ्यालेन्टाइन कविता

प्रेम आदर्श हो मानवी भावको

प्रेम नै जिन्दगीको सहारा ठुलो

प्रेमले खोल्छ बाटो यता हाँस्नमा

फूल अर्पन्छु लौ प्रेमका निम्तिमा ।१

 

मानवी भावना प्रेमले युक्त होस्

आसुरी भावना फेरि देखा न होस्

जीव होऊन् यसै भावना साँच्नमा

फूल अर्पन्छु लौ प्रेमका निम्तिमा ।२

 

दम्भ छाडे भने प्रेम हो पाइने

लोभ बिर्से भने प्रेम हो गाइने

फक्रने फूल हो प्रेमकै लोभमा

फूल अर्पन्छु लौ प्रेमका निम्तिमा ।३

 

बाबु आमा सबै प्रेममा बाँधिने

भाइ साथी यसै सूत्रमा जोडिने

पुत्र पुत्री सबै मोहका दक्षिणा

फूल अर्पन्छु लौ प्रेमकै निम्तिमा ।४

 

यो गुलाफी थुँगा प्रेम नै बोल्दछ

प्रीतिका गीतका धार नै खोल्दछ

लौ गुलाफी थुँगा हातले सम्झना

फूल अर्पन्छु लौ प्रेमका निम्तिमा ।५

छन्द : स्रग्विणी

Facebook Comments
GhanaShyam
Comments (0)
Add Comment