धर्तीको अन्त्य 

चट्याङ-प्रहार

अचानक कोक्रोको नाति रोयो 

त्यसलाई आमाको दूध खुवाउने बेला भयो 

बेला त मेरो पनि खाजा र ओखती खाने हो 

थाहा छैन, आज बुहारी घर फर्कन किन ढिलो गरेकी हो? 

 

मेरी बुढीले उसका सुकेका लाम्टा चुसाउन खोजी, नातिले मानेन 

मैले कोक्रो हल्लाएँ, थुम्थुम्याएँ, नाति चुप लागेन 

बुढी सकिनसकी आँगनको डिलमा गएर परपर हेरी 

बुहारी फर्किन लागेको नदेखेर निरास आँखाले मतिर हेरी 

 

अचानक मनमा अत्यास लागेर आयो   

विदेशिएको छोरोको झल्झल्ती सम्झना आयो

बुढी खुइय गर्दै आएर मेरो नजिक पसारो परी 

रुँदै गरेको नाति हेरी र मैले नदेख्ने गरी आफ्नो आँसु पुछी 

 

मैले दसौँ पटक फोन गरेँ, बुहारीको फोन उठेन  

उता फोन लाग्दैन, यता नाति चुप लाग्दैन  

बुढीले आँसु झार्दैमा खाजा र  खाना पाक्दैन 

ऊ थर्थरे हातले केही समाउन सक्दिन, मलाई घुडोले उठ्न दिँदैन 

 

  

फुलो परेकै आँखाले बुढीले मलाई ट्वाल्ल हेरी  

मलाई प्रश्न सोध्दै थिई  -“बुहारी फर्किइनन् भने ?

मेरो हतास मनले प्रतिप्रश्न गर्‍यो, छोरो फर्कियो भने ?

नबोलेरै हाम्रो संवाद पूर्ण भयो, मानौँ आज धर्तीको अन्त्य भयो !

 

सूर्य सुलुत्त चिप्लिएर पश्चिमको डाँडोमुनि लुक्यो, मैले रोक्नै सकिनँ 

बुहारी फर्कने आस जोगाइराख्न पनि सकिनँ 

बुढी टोलाएर अँध्यारो आकाश हेरे जस्तो लाग्यो, मैले प्रस्ट देखिनँ 

कोक्रोको शान्त नाति हेर्न मन लाग्यो तर हेर्ने आँट गरिनँ !

Facebook Comments
chatyang
Comments (0)
Add Comment